News Portal

रेडियो सुन्नुहोस्

विपदमा सत्तापक्ष र प्रतिपक्षको सहकार्य

दीपा घर्ती फिचर
९७९ पटक
फिचर

सत्तापक्षले गरेको गतिविधिहरुमा प्रतिपक्षले निगरानी राख्नु,कतिपय बिषयको बिरोध गर्नु संसदीय ब्यवस्थामा स्वभाविक मानिन्छ। यसलाई विपक्षीको धर्म हो भन्ने पनि चलन छ। तर कतिपय गाउँ तहमा भने सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरेका उदाहरण छन्।
प्यूठानका गाउँ तहमा प्रतिपक्ष र सत्तापक्षको राम्रो सहकार्य छ। ऐरावति गाउँपालिका वडा नं. १ दाङबाङमा उपनिर्वाचन भयो। प्रमुख राजनितिक दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) र नेपाली कांग्रेसका उम्मेद्वारबिच कडा प्रतिष्पर्धा भयो। जिल्लामा ३ वटा वडामा मात्र उपनिर्वाचन हुने भएकोले दुवै दलका जिल्ला भरका नेता कार्यकर्ता आफ्नो उम्मेद्वारलाई जिताउन लागि परे।
दाङबाङमा नेकपाबाट उम्मेद्वार भएका द्रोण प्रसाद पाण्डेले नेपाली कांग्रेसबाट उम्मेद्वार भएका अमर रेश्मीमगरलाई ९ मतको झिनो मतान्तरले पराजित गर्नुभयो। पराजित भए पनि रेश्मीले पाण्डेलाई माला लगाएर बधाई दिनुभएको थियो। ऐरावति वडा नं.१ दाङबाङका अध्यक्ष पाण्डेले चुनावमा आफुले जिते पनि विकास निर्माण लगाएतका विभिन्न गतिविधिमा आफुहरुको सहकार्य राम्रो रहेको बताउनुहुन्छ।
चुनावमा भोट गन्दा जस्ले जिते पनि जनताले भोट दुवैलाई दिएकै हो पाण्डेले भन्नुभयो–“ जनताको सेवा हामी मिलेर गछौं।” कोरोनाको विश्वब्यापी संकटको बेला आफ्नो वडामा सञ्चालन गर्ने गतिविधिमा उनीहरु सँगै एउटै मोटरसाइकलमा हिडेर नागरिकको सेवा गरेका छन्। दाङबाङ माध्यमिक बिद्यालयमा क्वारेन्टाइर्नमा राखेका १० जनालाई ब्यवस्थापन कसरी गर्ने, के गर्ने भन्ने बिषयमा समेत छलफल भएको, पाण्डेसंग ९ मतले पराजित भएका रेश्मी मगर बताउनुहुन्छ। चुनावमा भोटको राजनिति सधै गर्न हुन्न युवा नेता रेश्मीले भन्नुभयो–“उहाँले सहयोग, सल्लाह सुझाव माग्नुहुन्छ मैले पनि सहयोग गरेको छु आज मैरै मोटरसाइकलमा आएका हौं।”
जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्की सहितको टोली दाङबाङ माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनको अनुगमनमा गएका बेला वडा अध्यक्ष पाण्डे र रेश्मीमगर एउटै मोटरसाइमा आए। उनीहरुलाई देखेर जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले आफुलाई खुसी लागेको भन्दै सधै सहकार्य गर्न आग्रह गर्नुभयो। हामी सभ्य राजनितिज्ञ बन्न सकेका छैनौं प्रमुख आचार्यले भन्नुभयो–“ विपदको बेला दुवैको सहकार्य राम्रो देखियो, विकास निर्माणमा पनि यसै गरि जानुहोला विकास मिलेर मात्र सम्भव छ।” त्यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले जिल्लाको विकट गाउँमा जनताको सेवा मिलेर गरेको देख्दा अरुलाई पनि सिकाई हुने भन्दै छलफल गर्दै सँगसँगै यसरी नै मिलेर जान सुझाव दिनुभयो। हामी पनि यहि चाहान्छौं उहाँले भन्नुभयो–“तपाईहरुलाई यहाँको प्रहरीले पनि साथ दिन्छ। प्रहरी चौकी निर्माणको लागि जग्गा दुबै मिलेर जुटाईदिनुहोला।”
केहि साथीहरुले प्रहरी चौकीलाई जग्गा दिने सवालमा राजनिति गर्न खोज्नुभएको छ उपनिर्वाचनमा पराजित रेश्मीले भन्नुभयो –“हामी दुबैले छलफल गरेका छौं, बजेट फ्रिज हुन दिदैनौं, जग्गा निःशुल्क मिलाईसकिएको छ।” रेश्मीको यो भनाई आएपछि प्रहरी प्रमुख कार्की निकै खुसी हुँदै भन्नुभयो–“दुवैलाई बधाई दिन चाहान्छु नेता भनेको यस्तो हुनुपर्दछ।”
कार्यक्रममा सहभागि स्वास्थ्य पत्रकार मञ्च प्यूठानका संयोजक नोमराज पौडेलले गाउँ तहमा राजनितीक प्रतिष्पर्धा हुने भन्दै गाउँबाट राम्रो राजनितीक संस्कारको बानी बसाल्न खोज्नु आफैमा राम्रो रहेको बताउनुभयो। उहाँले यो सानो विकट ठाउँ भएपनि नमुना कार्य रहेको भन्दै यसले गाउँलाई नै फाइदा हुने बताउनुभयो।
अहिले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खानेलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार राहत वितरण नभएको र जसले जितेको छ त्यहाँ आफ्ना कार्यकर्तालाई राहत वितरण गरिरहेको समाचार आफुले सुनेको भन्दै ऐरावति १ का अध्यक्ष पाण्डेले आफुले सर्वपक्षिय समिति बनाएर कुनै पनि विवाद नआउने गरी काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो–“ रेश्मी जि र म सँगसँगै छौं, जनमोर्चाका साथीहरुलाई पनि समितिमा राखेर अहिले तथ्यांक संकलन गर्दैछौं, सबै मिलेर काम गर्ने हो विवाद हुन दिदैनौं।”
त्यस्तै प्यूठान नगरपालिका वडा नं. ५ माझकोटमा पनि वडा अध्यक्ष र विपक्षीबिच राम्रो सहकार्य छ। स्थानिय तहको निर्वाचनमा तत्कालिन ने.क.पा (माओबवादी केन्द्र)बाट उम्मेद्वार बनेका दुजबहादुर बैजाली र नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका कमान सिंह पुन बीच कडा प्रतिपष्र्धा भयो।
उनीहरुको मत बरावर ३ सय ९४ भएपछि गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेद्वार कमान सिंह पुन बिजयी भएका थिए। परिणामले हामीलाई मिलेर काम गर भनेको हो कमान सिंह पुनले भन्नुभयो–“गोला प्रथाबाट म अध्यक्षको कुर्चीमा भए पनि यो जित दुबैको हो मैले बैजाली जी संगको सल्लाह, सुझाव लिएर काम गरेको छु।”
चिठ्ठामा पराजित भए पनि बैजाली निर्वाचित वडा अध्यक्ष जत्तिकै खट्छन्। अहिले लकडाउनको समयमा दुबै मिलेर जनचेतनामुलक कामहरु वडामा संचालन गरेका छन्। वडाका महत्वपुर्ण बैठकमा बैजाली छुट्दैनन्। वडा अध्यक्ष पुनले भन्नुभयो–“ सहकार्य मै वडाका गतिविधिहरु सञ्चालन गरेको छु।”
नौबहिनी गाउँपालिका वडा नं. ८ फोप्लीमा सर्वदलिय समिति बनाएर वडाका गतिविधि सञ्चालन गरिएको छ। स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट ओबिराम बि.कले निकै फराकिलो ६ सय भन्दा बढि मतले बिजयी भएका थिए। वडाको विकास निर्माणमा नै सम्पुर्ण दलका साथीहरुलाई समेटेर आएको छु । नियमानुसार त पर्दैन अध्यक्ष बि.कले भन्नुभयो–“विकास सबैको हो जितको घमण्ड मैले कहिल्यै गरिन् सबै मिलेर काम गरे गाउँको विकास छिटो हुन्छ।” उहाँले कोरोना संक्रमणबाट बच्नको लागि वडामा सर्वपक्षिय समिति बनाएर संक्रमण नियन्त्रणमा लागेको बताउनुभयो। वडा अध्यक्षको संयोजकत्वमा सबै दलका प्रतिनिधिहरु सदस्य रहेका छन्। सर्वपक्षिय बैंठकले वडाका सबै बस्तीबस्तीमा पुगेर बिदेशबाट फर्किएका, गरिब, असहायहरुको लगत लिने निर्णय समेत गरेको छ। यसको लागि वडामा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरुले समेत सहयोग गर्ने गरेका छन्। वडामा कोरोना भाइरस संक्रमण हुन नदिन लकडाउनको पुर्ण पालनामा ध्यान दिएको नेपाली कांगे्रसका वडा अध्यक्ष हुमलाल भण्डारीले बताउनुभयो। वडाअध्यक्षले हामीलाई पनि बोलाउनु भयो सल्लाह सुझाव माग्नुहुन्छ भण्डारीले भन्नुभयो–“ यो उहाँको राम्रो पक्ष हो,हामी पनि सहकार्य गरेर वडाको विकासमा लाग्नेछौ।” राहत वितरणको कामलाई पनि वडामा सर्वपक्षिय समितिले नै गर्दैछ। सर्वपक्षिय समितिले गर्दा कुनै दलको कार्यकर्तालाई राहत बाँडेको आरोप लाग्दैन बास्तविक गरिबको पत्ता लाग्छ र उसले राहत पाउँछ कांग्रेसका नेता भण्डारीले भन्नुभयो–“वडा अध्यक्षले विवाद रहित काम गर्नुभयो यो आफैमा राम्रो कुरा हो।”
वडा तहमा जस्तै गाउँपालिका र जिल्ला तहमा पनि नेताहरु बीच एकरुपता देखिएको छ। नेपाल सरकारले तोकिएको मापदण्ड अनुसार राहत बाँड्नको लागि सहज होस् भनेर सर्बपक्षिय समिति बनाएर वडामा काम गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) ऐरावति गाउँपालिकाका अध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो। उहाँले यो संवेदनशील बिषय भएको भन्दै उहाँले भन्नुभयो–“ हामी जनताको गरिबी र भावनाप्रति राजनीति गर्न हुन्न भन्नेमा एकमत छौं बास्तविक किसान र गरीखाने वर्गले राहत पाउनबाट छुट्ने बातावरण तयार हुन दिन हुन्न।”
नेपाली कांग्रेसका नेता तथा गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले आफुहरु राहतकै कारण विवादमा नफस्ने भन्दै सर्वपक्षिय समिति बनाएर लकडाउनमा गरीखाने बर्गको घरमा चुलो निभ्न नदिने योजनामा रहेको बताउनुभयो। उहाँले धनीले राहत पाएको समाचार सुन्ने गरेको भन्दै सबै दलका साथीहरु राखेर गाउँपालिकाले त्यस्तो आलोचना हुने गरि काम हुन नदिने बताउनुभयो।
स्वर्गद्वारी नगरपालिका नेकपाले जितेको नगरपालिका हो। यहाँ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले एउटा पनि वडा जितेको छैन।तर नगरपालिकाले राहत कोष स्थापना गरेको कोषमा नेपाली कांग्रेस नगरकमिटीले ३१ हजार रुपैयाँ बरावरको राहत जम्मा गरेको छ। विपदको बेला सत्तापक्ष र प्रतिपक्षको सहकार्य राम्रो हुनुपर्दछ नेपाली कांग्रेस स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष तिलक सुनारले भन्नुभयो–“ यतिबेला हामीले नगरपालिकालाई सहयोग गरेका छौं।”
जिल्ला तहमा पनि राजनीतिक दलका नेताहरुले आफ्ना नेता कार्यकर्तालाई श्रमजीवी गरीखाने बर्गप्रति राजनीति नगर्न आग्रह गरेको बताउनुभयो। कोरोना भाइरस संक्रमणका कारण विश्व नै महामारीको विपत्तिमा छ नेपाली कांग्रेस प्यूठानका सभापति अमर प्रसाद भण्डारीले भन्नुभयो –“ गरिबप्रति राहत कै बिषयलाई लिएर राजनीति गर्नु महापाप हो,हामीले जितेको ठाँउ साथीहरुलाई भनेको छु सत्यतथ्यमा टेकेर सर्वपक्षिय समिति बनाएर काम गर्नुस र नजितेको ठाउँमा गाउँपालिका,वडाअध्यक्षलाई सहयोग गर्नुस्।” उहाँले लकडाउनलाई पालना गर्नु र कोरोना भाइरसको बिरुद्धमा एकजुट भएर लड्नुपर्ने बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का जिल्ला अध्यक्ष तुल्सीराम शर्माले एकद्धार प्रणलीबाट राहत बाँड्ने सरकारी निर्णयको पुर्ण पालना गर्दै यस्तो बेला सबै एकजुट हुनुपर्ने बताउनुभयो। सबै साथीहरुलाई आग्रह गरेको छु उहाँले भन्नुभयो–“ स्थानिय सरकारलाई सहयोग गर्ने र एकद्धार प्रणालीबाट राहत वितरण गरी एकजुट भएर कोरोना भाइसबाट बच्नुको विकल्प छैन्।” वडा, गाउँपालिका र जिल्ला तहमा नै सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने आवश्यकता रहेको नेता शर्माले बताउनुभयो।लेखक ः दीपा घर्ती प्यूठानबाट राससमा रिर्पोटिङ गर्ने जिल्लाको बरिष्ठ पत्रकार हुन्।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...