झुलेनी नेटवर्क २०८३ असोज २० गते



२०८३ असोज २० गतेआज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले अनेकौँ आरोह–अवरोह पार गर्दै स्थानीय आवाजलाई राष्ट्रिय बहससम्म पु¥याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जिल्लाका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा विकास निर्माणका विषयलाई नागरिकसमक्ष पु¥याउन यहाँका पत्रकार र सञ्चारकर्मीले गरेको योगदान स्मरणीय छ। पत्रकारिता केवल समाचार लेख्ने र प्रसारण गर्ने माध्यम मात्र होइन, यो समाजको ऐना र नागरिकको आवाज पनि हो। स्थानीय तहमा हुने गतिविधि, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, अनियमितता, विकृति तथा नागरिकका समस्या उजागर गर्न जिल्लाको पत्रकारिता अझ जिम्मेवार र सक्रिय हुन आवश्यक छ। सत्य, तथ्य र निष्पक्षतालाई आधार बनाएर समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको मूल धर्म हो।
पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पत्रकारिताका चुनौती पनि थपिएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रभाव, अपुष्ट सूचना, हतारमा समाचार सम्प्रेषण गर्ने प्रवृत्ति र पत्रकारितामाथि बढ्दो दबाबले विश्वसनीयता जोगाउने चुनौती थपेको छ। यस्तो अवस्थामा पत्रकारले सत्यतथ्यको गहिरो खोज, स्रोतको पुष्टि र आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्छ। पत्रकारिता कसैको पक्ष वा विपक्षमा होइन, सत्य र जनहितको पक्षमा उभिन सक्नुपर्छ। २५ औँ स्थापना दिवस केवल उत्सव मनाउने अवसर मात्र होइन, विगतको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने अवसर पनि हो। पत्रकार महासंघ प्यूठानले जिल्लाको पत्रकारिताको व्यावसायिक विकास, पत्रकारको क्षमता अभिवृद्धि, श्रमजीवी पत्रकारको अधिकार संरक्षण र सुरक्षित पत्रकारिताको वातावरण निर्माणमा अझ प्रभावकारी भूमिका खेल्न आवश्यक छ। बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारलाई प्रविधिमैत्री, अनुसन्धानमुखी र जिम्मेवार बनाउनेतर्फ पनि ध्यान दिनुपर्छ।
स्थापना दिवसका अवसरमा विगतमा पत्रकारिताको विकासमा योगदान पु¥याउने अग्रज पत्रकारप्रति सम्मान व्यक्त गर्दै वर्तमान पुस्ताले उहाँहरूले देखाएको बाटोलाई अझ फराकिलो बनाउन सक्नुपर्छ। विश्वसनीय पत्रकारिता, सशक्त पत्रकार र सचेत नागरिक—समृद्ध समाज निर्माणका महत्वपूर्ण आधार हुन्। २५औँ वर्षमा प्रवेश गरेको नेपाल पत्रकार महासंघ प्यूठान शाखाको यात्रा अझ सशक्त, स्वतन्त्र, मर्यादित र जनमुखी बनोस—स्थापना दिवसको हार्दिक शुभकामना ⁄
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












