News Portal

रेडियो सुन्नुहोस्

नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिह्नसहित तयार

झुलेनी समादारदाता२०७८ भाद्र २
५७१ पटक
२०७८ भाद्र २

काठमाडौँ — पाँच महिना लामो एकता प्रयास असफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई सहजीकरण गरिदिएको छ ।

नेपाल समूहका नेता विरोध खतिवडाले एकताको अन्तिम कोसिसमा लागेको र अध्यादेश जारी हुने बेलासम्म प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने बताए । ‘नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार छन्,’ उनले भने, ‘एकताको सम्भावना करिब–करिब सकिएको हुँदा अध्यादेश जारी हुनेबित्तिकै आयोग जाने तयारी छ ।’

 

नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि लगत्तै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन भएको छ ।

 

स्थायी कमिटीका एक नेताका अनुसार दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइएको छ ।

अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको पनि पर्याप्त हुनेछ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । त्यसमा अझै केही थपिने नेताहरूको दाबी छ । राष्ट्रिय सभामा आफ्ना ९ सांसद रहेको यो समूहको दाबी छ ।

 

नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ । यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एकता बदर गरेलगत्तै ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच राजनीतिक र सांगठनिक मुद्दामा विवाद छ । विवाद व्यवस्थापनका लागि भएका प्रयास असफल भएको भन्दै नेपाल समूहले अलग्गै पार्टी घोषणाको गृहकार्यमा जुटेको हो ।

 

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको एक नेताले बताए । ‘पार्टीको नाममा विभिन्न विकल्पमा छलफल भएको छ । त्यसका लागि केही साथीहरूलाई जिम्मा दिएको छ,’ ती नेताले भने, ‘चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुन सक्छ तर टुंगिएको छैन । थप विकल्पको खोजी भइरहेको छ ।’

 

केन्द्रीय कमिटीको पदाधिकारीमा अध्यक्ष र वरिष्ठ नेता राख्ने तय भएको छ । तर अरू पदाधिकारी राख्ने वा नराख्ने भन्ने टुंगो लागेको छैन । ‘अध्यक्ष र वरिष्ठ नेताबाहेक अरू पदाधिकारीका विषयमा कुनै तयारी छैन । अहिले अरू पदाधिकारी नराख्ने भन्ने पनि छ,’ ती नेताले भने । केन्द्रीय कमिटी कति सदस्यीय भन्ने टुंगो लागेको छैन । तर, ६० देखि ९० सदस्यीय बनाउने विषयमा छलफल भइरहेको एक नेताले बताए ।

 

उता, नेपालनिकट मानिएका स्थायी कमिटीका अधिकांश सदस्यले भने विभाजनमा नजान जोड गरेका छन् । स्थायी कमिटीका एक सदस्यका अनुसार भीम रावल, युवराज ज्ञवाली, अमृत बोहरा, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरूले पार्टीभित्रै रहेर संघर्ष गर्नु नै उत्तम विकल्प हुने धारणा राखेका छन् । मुकुन्द न्यौपाने, वेदुराम भुसाल र रघुजी पन्तले भने ओलीसँग सहकार्यको सम्भावना सकिएको निष्कर्षसहित विकल्पमा अगाडि बढ्न सुझाव दिएका छन् ।

 

‘फागुन २८ को निर्णयबाटै एमाले विभाजन गरिएको थियो, हामीले त्यसलाई रोक्न निरन्तर कोसिस गर्‍यौं तर हामी जसरी अगाडि बढ्यौं, अर्को पक्ष ठीक उल्टो हिँड्यो । एकताको कुरा त गर्ने तर व्यवहारमा एकतालाई बल पुग्ने खालको कुरा देखिएन,’ उनले भने, ‘त्यसले गर्दा नयाँ ढंगले जानुपर्ने बाध्यकारी अवस्थामा पुर्‍यायो । बाध्यकारी कदमकै रूपमा हामी अगाडि बढ्न खोज्दै छौं ।’

 

उनले केही नेताले अलग भएर जान हुँदैन भन्ने विचार राखेकाले मतभेद भएको बताए । ‘एउटा विचार जसरी भए पनि केपी ओलीकै नेतृत्वमा बसेर जाऔं भन्ने छ,’ उनले भने, ‘त्यहाँ बसेर विचार, सिद्धान्त, व्यवहार मिल्दैन त्यसैले कम्युनिस्ट विचारधारालाई अँगाल्ने र त्यहीअनुसार पार्टी चलाउने हो भने अलग ढंगले सोच्नुपर्छ भन्ने अर्को विचार छ ।’

 

स्रोतका अनुसार नेता नेपालले घनश्याम भुसाललाई नयाँ पार्टीको महासचिव बन्न प्रस्ताव गरेका छन् । तर स्वयं भुसाल भने एकताको प्रयासमा छन् । जनवर्गीय संगठनका कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘दिउँसो घनश्याम भुसाल आउनुभएको थियो र उहाँले एकताका निम्ति अन्तिम प्रयत्न गरौं कमरेड भन्नुभयो । म अध्यक्ष कमरेडसँग कुरा गर्न जान्छु, तपाईंले भन्नुपर्‍यो, के–के कुरा गर्ने हो भन्नुभयो । मैले उहाँलाई पठाएँ,’ नेपालले भने, ‘अदालतको फैसलापछि ओलीले गरेका सबै निर्णय फिर्ता लिने र अब यस्ता निर्णय नगर्ने । दोस्रो, पहिला भनिएका वचन सबै पूरा गर्ने । उहाँले यी दुई विषयमा केपी कमरेड सहमत हुनुभयो भने तपाईं पनि सहमत हुनुहुन्छ भनेर सोध्नुभयो । मैले हुन्छ भनें । उहाँ जानुभएको थियो । तर, ओलीले मसहित १४ सांसदलाई कारबाही गर्नुभयो ।’

 

ओलीले नै ढोका बन्द गरेकाले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको जानकारी नेपालले दिए, बरु आगामी निर्वाचनमा ओलीसँग सहकार्य हुन सक्ने उनको भनाइ छ । ‘केपी ओलीले पार्टीभित्र माधव नेपालका निम्ति ढोका बन्द भयो भनिसक्नुभयो । यो स्थितिबाट गुज्रिरहेको हुँदा हामी पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौं । अब पार्टीलाई पुनर्गठन गरिनेछ, क्रान्तिकारी पार्टीमा रूपान्तरण गरिनेछ । आन्दोलनको झन्डा बुलन्द गरिनेछ,’ नेपालले भने, ‘हामीले नयाँ पार्टी खोलिहाल्यौं र पार्टी पुनर्गठनको झन्डा बुलन्द गरिहाल्यौं भने पनि ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने एकताको ढोका खुला हुनेछ । अहिले, भोलि, तीन महिनापछि वा चुनावमा हामी सँगसँगै पनि लड्न सकौंला । सिटको तालमेल गर्न सकौंला, चुनावपछि एकताबद्ध हुन सकौंला ।’

 

विभाजनमा ओली जिम्मेवार : नेपाल

 

एमाले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेकाले विद्रोहको विकल्पमा जानुपरेको बताएका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेकै दिन मंगलबार जनवर्गीय संगठनहरूलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । नेपालले कारबाहीबाट विचलित नहुने र आफ्नो मिसनमा अगाडि बढ्ने स्पष्ट पारे ।

 

‘केपी ओलीले पार्टीभित्र माधव नेपालका निम्ति ढोका बन्द भयो भनिसक्नुभयो । उहाँले हिजो भएका सहमति पालना गर्ने पक्षमा छैन भन्नुभयो । मलाई गद्दारको उपाधि दिनुभएको छ, देशद्रोही भन्नुभएको छ र अनेक आरोप लगाउनुभएको छ । उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ,’ उनले कार्यकर्तालाई भने ।

 

नेपालले पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउन ओलीको कार्यशैलीलाई जिम्मेवार ठहर्‍याएका छन् । ‘पार्टीमा दुई–दुई जना पूर्वप्रधानमन्त्री भएका नेतालाई पन्छाइयो । आफू नै सर्वेसर्वा र शक्तिशाली अनि ज्ञानगुनको महासागर भएको ठान्दै अरूलाई पूरै अपमान गर्ने गरी ओली अगाडि बढ्नुभयो,’ उनले भने, ‘फलस्वरूप पार्टीको शक्ति, ऊर्जाले सरकारलाई लोकप्रिय बनाउन सकेन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा रहेका त्रुटिको पार्टीमा कहिल्यै समीक्षा भएन । पार्टीका कमिटी सक्रिय हुन सकेनन् । पार्टीलाई यो अवस्थामा पुर्‍याउने काम केपी ओलीले गर्नुभयो ।’

 

पछिल्लोपटक एकताका लागि भएका प्रयासमा ओली गम्भीर नभएको नेपालको आरोप छ । ‘पछिल्लो अवस्थामा एकताको नयाँ प्रयास भए । हामीले इमानदारीपूर्वक प्रयास अगाडि बढेका होलान् भन्यौं । विश्वास नहुँदा नहुँदै पनि शंकाको लाभ दिएको हो । अगाडि सारिएका कुरा व्यवहारमा पुष्टि हुन्छ भने त्यसलाई पत्याएर जानुपर्छ, आग्रह पाल्नु हुँदैन भन्यौं,’ नेपालले ओलीको नियतमाथि प्रश्न उठाउँदै भने, ‘वार्ता टोली गठन भयो । तर, वार्तामा पनि नाटक मात्र भए । जे–जे सहमति भए र जे–जे सहमति गर्छु भनिएका थिएँ, त्यसको पालना भएन । ओली एकलौटी ढंगले अगाडि बढ्नुभयो ।’

 

तर, नेपालले ओली वा अन्य कोही शक्तिसँग सहकार्यका लागि आफ्ना सर्त पनि अगाडि सारेका छन् । ‘हाम्रो सर्त हुनेछ– सही विचारमा आधारित एकता । यसरी हामी पार्टी र आन्दोलनलाई बलियो बनाउन चाहन्छौं । मुख्य रूपमा पार्टी र आन्दोलनमा प्रतिबद्धप्रति नयाँ उत्साह जगाउन चाहन्छौं । हामी विचार र नीति मिल्नेसँग सहकार्य गर्ने छौं । हामी संकीर्णताको सिकार हुने छैनौं ।’ बबिता शर्मा/कान्तिपुर दैनिक

 

 

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...