News Portal

रेडियो सुन्नुहोस्

गर्जेनी सम्झाउने त्यो लिवाङ ‘ओखरपाटाको’ दुर्घटना

यसरी भयो दुर्घटना !

एलबी थापा२०७८ माघ २५
९९५ पटक
२०७८ माघ २५

गर्जेनी दुर्घटनाको झल्को दिने गरी प्यूठानमा शनिवार जिप दुर्घटनामा परेको छ । लगातारको हिउँदे झरी संगै बेहुली लिएर गएको जिप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनाले गौमुखी गाउँपालिका–६, को लिवाङ गाउँ शोकमा डुबेको छ । बिहिवार र शुक्रवार दिनभर पानी परेकोले सडक चिप्लो थियो । शुक्रवार राति दुलही लिएर गएको गएको ग १ ज ५०९२ नं. को जिप दुर्घटनामा ६ जना घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । एकै परिवारका ३ सहित उज्यालो नहुँदै भएको विवाहको जन्ती बोकेको जिप दुर्घटनाको खबरले २०६१ साल माघ ८ गते गर्जेनीमा भएको घटनालाई सम्झाएको छ ।

यो दुर्घटनामा विजुवार टारी स्थित एकै गाउँका ४१ जनाले ज्यान गुमाएका थिए । ट्रयाक मात्र खोलिएका सडकमा ओभरलोड सहित पुराना सवारी साधन यात्रुका लागि काल बनेका छन् । शनिवारको लिवाङ दुर्घटनामा एकै परिवारका ३ जना बसन्त खड्का, श्रीमती बसन्ता खड्का र छोरी एलिसा खड्का सहित खिम बहादुर खत्री, नन्दी खड्का, केशरी खड्का, बल बहादुर बुढा मगर, बिपना जि.सी.को मृत्यु भएको हो । ‘चालकले सडकमा खसेको ढुङ्गा छल्न खोज्दा दुर्घटना भएको हुन सक्ने देखिन्छ’, प्यूठान प्रहरी प्रमुख सत्यनारायण थापाले भने, ‘वर्षाले भिजेको सडकको छेउबाट गाडी खसेको छ ।’ पीडितको तत्काल उद्धार हुन नसकेकाले मृत्यु हुनेको संख्या बढी रहेको थापाले बताए ।

दुर्घटनामा दुलाहा दान बहादुर खड्का र दुलही रिमा जि.सी. घाइते छन् । ‘म लामो समयसम्म चट्टानमा फसेको थिएँ’, दुलाहा खड्काले भने, ‘मसँग मेरो फोन थिएन मद्दतको लागि चिच्याएको धेरै समयपछि गाउँलेहरुले थाहा पाएर उद्वार गरेका हुन् ।’ समयमै उद्धार नहुँदा धेरैको ज्यान गयो,’ दुर्घटनामा बाँचेका दुलाहा खड्काले भने । रातिको समयमा दुर्घटना भएको र पानी परेकोले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाई छ । सुरक्षाकर्मी र स्थानीयवासीले ढिलो उद्वार गरी घाईतेहरुको प्यूठान अस्पताल ल्याएका थिए ।

घाइते दुलही रिमाको भैरहवामा उपचार भइरहेको छ । यिनको दाहिने हात भाँचिएको छ । दुलाहा खड्का सामान्य घाइते भएका हुन् । जिप दुर्घटनामा घाइते साबित्रा जि.सी., नरेश खड्का र हरी बुढामगरको उपचार गराइरहेका छन् । दुलही भित्राएर नयाँ घरजम गर्ने बेलामा दुलाहा दान बहादुर नव दुलही रिमाको भैरहवामा आफन्ती सहित कुरुवा बसेका छन् । यो घटनामा परी काका बसन्त, काकी बसन्ता र भतिजी एलिसालाई गुमाउनु परेको छ । यहाँ घरमा कुनो बारेको बेला उनी श्रीमतीलाई अस्पतालमा कुरुवा छन् । दुर्घटनामा यिनले दाजु खिम बहादुर, दिदी केसरी, माइली आमा नन्दी, साली बिपना र आफन्ती जिपका साहु बल बहादुर बुढालाई गुमाएका छन् ।

यसरी भयो दुर्घटना !

शुक्रवार साँझ ४÷५ बजे लिवाङबाट दुलही लिन नौबहिनी गाउँपालिका–६,लुङमा जन्ति लिएर जिप हिडेको थियो। घरबाट हिँडेको करिव डेढ दुई घण्टामा दुलाहा दान बहादुर खड्का आफ्ना छिमेकी र नातेदार सहित लुङ पुगेका हुन्। दुलहीको घरमा केहिँ नियमित नित्य कर्म टिका र मालासँगै माइती पक्षले दुलही रिमा जि.सी.लाई अन्माएर कर्मघर पठाए। तर घरसम्म पुग्न पाइनन ।  माइति घरबाट हिँड्दा राती करिब ११ बजेको थियो । शनिवारको दिन नयाँ घर प्रवेशमा शुभ नहुने धार्मिक मान्यताका आधारमा १२ नबज्दै दुलही लिएर खड्का परिवार हिडेका हुन् ।

जन्तीको जिपमा दुलाहा तर्फका परिवार बाहेक दुलहीसँगै उनकी बहिनी बिपना र साबित्रा जि.सी. सवार थिए । बिपनाको दुर्घटना स्थलमै ज्यान गएको छ भने साबित्रा उपचाररथ छिन्। लुङ देखि लिवाङ र लिवाङ देखि लुङ पैदल हिड्न करिब डेढ दुई घण्टाको बाटो हो । तर जिप वा गाडीमा यत्ति नै समय लागेपनि सुविधा हुने भएकाले जिप रिजर्व गरी खड्का परिवार लुङ आएका थिए । लुङ–दिहाल्ना हुँदै लिवाङ जानको लागि कच्ची बाटो भएकाले दुलहीको परिवारले यो बाटो हुँदै जान अस्विकार गरेको थियो। तर त्यो बाटो नजाने जि.सी. परिवारलाई आस्वासन दिदै दुलहि लिएर जिप लुङबाट बाहाने झरेको थियो ।

बाहाने बाट बाग्दुला–मच्छी हुँदै लिवाङ जान केहिँ लामो समय लाग्ने भएकाले बाहानेबाट खवाङ हुँदै लिवाङ जाने निधो जिपमा सवारहरुले बनाएका थिए । ग्रामीण कच्ची सडक, झरी र हिउँ नियमित परिरहेको भएपनि छोटो बाटो हुने भन्दै यहि बाहाने–खवाङ–पुजा–दिहाल्ना हुँदै लिवाङ जानको लागि जिप प्रस्थान गरेको थियो । घरमा दुलहि भित्राउनको लागि दुलाहाको घर परिवार र आफन्तहरु जुटेका थिए । घर पुग्न करिब १०÷१५ मिनेट मात्रै बाँकि थियो । थोरै उकालो भएको घुम्टि पार गरेपछि घरमा पुग्न सकिन्थ्यो । लिवाङ ओखरपाटा पुग्नै लाग्दा यहिँबाटै जिप दुर्घटनामा परेको हो । यतिबेला रातीको करिब १ बजेको थियो। स्थानीय थम्मन बहादुर पुनले यति राती कहाँबाट गाडी आएको होला भनी नियाली रहेका थिए। उनी शौच गर्नका लागि बाहिर आएका थिए ।

एक्कासी गाडी गुडेको आवाज बन्द भयो र ड्याम्म आवाज आयो। त्यसपछि उनले अमृत बहादुर वलीलाइ खवर दिए । गाडी खसेर हो वा यत्तिकै हो स्थानीय नेगन बहादुर खत्रीले हार गुहार गरेको आवाज सुनेर गाउँलेहरुलाइ खवर गरे । अमृतले दिपक वलीलाई खवर गर्दा रातीको पौने २ बजेको थियो । दिपकले इलाका प्रहरी कार्यालय लिवासे खवर गर्दा २ बजेको थियो ।

इलाका प्रहरी कार्यालयका प्र.स.नि. उदय डाँगी र प्रहरी रबि चन्द घटनास्थल पुग्दा ३ बजेको थियो । दुर्घटनास्थल पुग्दा सडकको कुनामा ढुङ्गा खसेको थियो । बाटो चिप्लो र छिपछिपे थियो । यहि ढुङ्गो कटाउन लाग्दा गाडी ढिकमा पुग्दा दुर्घटनामा परेको हुनसक्ने स्थानीयको अनुमान छ । उनीहरुका अनुसार गाडी घिस्रिएर, चिप्लिएर दुर्घटनामा परेको हुनसक्ने अनुमान मिल्दैन ।

राती करिब २ बजेको समयमा भएको दुर्घटनाको खवर दुलाहा आफैले आफन्तलाई दिएका हुन्। रातीको समय भएकाले समयै उद्वार हुन नसक्दा घटनास्थलमै ६ जनाले ज्यान गुमाउनुपरेको स्थानीय पदम के.सी.ले बताए। ‘जिप खोल्सामा खसेकाले समयमै उद्वार हुन सकेन’ उनले भने, ‘हिउँ परिरहेको र चिसोका कारण घाइतेहरुको ज्यान गएको हुनसक्छ ।’ उनका अनुसार जिप सडक छेउँबाट करिब २ सय मिटल तल खोल्सामा खसेको थियो ।

गाउँपालिकाद्वारा किरिया खर्च

गाउँपालिकाद्वारा ५० हजार किरिया खर्च जिप दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई गौमुखी गाउँपालिकाले ५०÷५० हजार राहत दिने भएको छ । हालका लागि किरिया खर्च स्वरुप जनही ५० हजारका दरले ८ जनाको परिलाई राहत उपलब्ध गराउने निर्णय भएको अध्यक्ष विष्णु कुमार गिरीले बताए । यसका लागि गाउँपालिकाले ४ लाख रूपैयाँ बजेट तत्कालै व्यवस्था गरेर उपलब्ध गराइने उनले बताए । गाउँपालिकाले आइतवार शोक बिदा दिएको थियो । एकैपटक दुर्घटनामा ८ जनाको निधनले गाउँपालिका मर्माहत भएको भन्दै विज्ञप्ति जारी गरी एक दिनका लागि कार्यालयले शोक बिदा दिएको थियो। यसैबिच स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले पनि किरिया खर्च स्वरुप मृत्यु भएका परिवारलाई ५०÷५० हजार रुपैयाँ उपलब्ध गराउने कार्यालय प्रमुख घनश्यामले बताए ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...