News Portal

रेडियो सुन्नुहोस्

सम्झनामा खगुलाल गुरुङ : अधुरो नौलो जनवाद

गिरुप्रसाद भण्डारी२०७८ असौज ६, प्यूठान
१०९८ पटक
२०७८ असौज ६, प्यूठान

कुनै सयम कम्युनिस्ट पार्टी हुँ भन्दा जेल जानुपथ्र्यो । त्यसैले त्यो बेला प्यूठानमा कम्युनिष्ट पार्टीको विउ पनि थिएन । बाहिर पढ्न गएकाहरु पनि जिल्लामा आएर कम्युनिस्ट भन्न सक्दैनथे । यस्तो बेला खगुलाल गुरुङ सहित ७ जनाले पहिलो पटक प्यूठानमा कम्युनिस्ट पार्टी गठन गरे । यसको नेतृत्व गुरुङ र मोहोनबिक्रम सिंहले गरेका थिए ।

विसं.१९७५ भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा गाउँमा जन्मिएका उनी १९८४ मा प्यूठानको नारीकोटमा बसाइ सरे । हाल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बुबा खिमबिक्रमसँगको संगतले नै उनी राजनीतिमा लागेको बताउथे । पछि मोहनविक्रम संगै गुरुङ राजनीतिमा भुमिगत भए । विशेष गरेर उनीहरुले नै प्यूठान आसपासका जिल्लामा कम्युनिस्ट विचार फैलाए ।

गुरुङले बसालेको कम्युनिस्ट पार्टीको जगले नै प्यूठान, रोल्पा, अर्धाखाँर्ची, बाग्लुङ, रुकुम लगायत जिल्ला कम्युनिस्ट बिचारको किल्ला मानिन्छ । यसैको जगमा यो क्षेत्रमा धेरै कम्युनिस्ट नेता, सभापति, सांसद, मन्त्री भए । रोल्पाबाट चुनाव लडेर पुस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत भए । रोल्पाको थवाङमा महिनौ बसेर गुरुङले कम्युनिस्ट पार्टीको जग हालेका थिए ।

कम्युनिस्ट राजनीतिमा लागेकाले गाउँका केही अगुवा व्यक्तिहरुले गुरुङलाई जग्गा भोग चलन गर्न दिएका थिएनन् । यस्तो अवस्थामा गुरुङले त्यो बेला प्यूठानको ओखरकोट, नारिकोट क्षेत्रमा एकछत्र दवदवा रहेका खिमविक्रमको सहारा लिन परेको थियो । ‘सधै मित्र मित्र मात्र हुदैनन्,’ गुरुङले भन्थे, ‘मित्र ठानेका खिमबिक्रलाइ ‘महासामन्त’ घोषणा गररे विद्रोह गर्न परेको थियो ।’ खिमविक्रम विरुद्ध वर्गीय र नैतिक आचरणको विषयमा विद्रोह गरेको गुरुङ बताउथे ।

२००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीलाई प्यूठानमा विस्तारित गर्न मुख्य श्रेय मोहनविक्रमसिंह र खगुलाललाई जान्छ । उनीहरुकै नेतृत्वमा २००९ सालमा प्यूठानको रातामाटामा पहिलो पटक कार्यकर्ता प्रशिक्षण आयोजना गरेका थिए । त्यस यता कम्युनिष्ट पार्टीको कार्यकर्ता उत्पादन क्रम बढेको ठानिन्छ । सुरुमै उनीहरुले तीन महिने शिविर चलाए । त्यसैबेला पाण्डेडाँडामा बसेर ७ जनाको कमिटी बनाएका थिए । संस्थापक ७ मध्ये अब मोहनविक्रम सिंह मात्र जीवित छन् ।

रातामाटामा शिबिरको प्रशिक्षक खगुलाल नै थिए । गुरुङकै नेतृत्वमा प्यूठानको झिमरुक फाँटमा ‘साहु’हरुले अधिंया लगाउँन दिदा किसानलाई ठग्ने बिषयमा पहिलो हात हाले । गुरुङले पंक्तिकारलाइ त्यो बेलाको आन्दोलन बारे बडो रोचक ढंगले सुनाएका थिए । यो बेला जग्गा अधिया लगाउने चलन थियो । जग्गा मालिकले अधिया लगाउनेलाइ थोरै मात्र आम्दानी दिन्थे । हामीले बराबर भाग लागाउनु पर्छ भनेर अधिया लगाउने किसानको पक्षमा लाग्यौ ।

‘किसान ठग्नेहरुको रातभरि पहिचान गथ्र्यौ । साहुको धानको खराइमा झण्डा गाड्थ्यांै । किसानलाई अधिया धान बुझेको भरपाइ गराउथ्यौं ।’ किसान ठग्नेहरुलाई कारवाही गर्ने र किसानलाई मोहीयानी हक अन्तर्गत जग्गा दिलाउने त्यो बेलाको उद्देश्य थियो । यसपछि प्यूठानमा कम्युनिस्ट पार्टी निकै पपुलर भएको गुरुङ सुनाउथे । अखिल नेपाल किसान संघ प्यूठान गठन गरेर जिल्लाभर अधिया आन्दोलन चलाएका थिए । यही क्रममा २०११ सालमा मोहनविक्रम सिंह, रुमबहादुर पाण्डे, सिद्धिमान सिंह, नन्दलाल गुरुङ र हेमराज पण्डित सहित खगुलाल पनि पक्राउ परे । १९ महिना पछि २०१३ सालमा जेलबाट छुटे ।

२०१५ सालको संसदीय चुनावमा उनी क्षेत्र नम्बर ८४ बाट नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित भएपछि रोल्पाको थवाङ क्षेत्रमा संगठनको आधार निर्माण गर्ने जिम्मेवारी लिई त्यहाँ पुगेका थिए । जेल बस्दा नै भेट भएका रोल्पा थबाङका बर्मन बुढालाई उनले नै कम्युनिस्ट बनाएका हुन् । २०४८ सालमा रोल्पामा जनमोर्चाका तर्फबाट संसदमा निर्वाचित भएका बुढामगरलाइ गुरुङकै नेतृत्वका जिताइएको थियो । त्यबेला थबाङबाट कम्युनिष्टलाई सबै भोट परेको थियो ।

प्यूठान र रोल्पा क्षेत्रका कम्यूनिस्ट कार्यकर्ता सबैका गुरुङ अग्रज मानिन्छन् । सम्मान र मर्यादाका हिसाबले साझा नेताका रूपमा कम्यूनिस्टहरुले गुरुङलाइ लिन्थे । २०७२ मंसिरमा गम्भीर बिरामी परेर काठमाडौंमा उपचार गर्न पुग्दा गुरुङलाई सबै कम्यूनिस्टहरु मिलेर अभिनन्दन गरेका थिए । मोहनविक्रम सिंहको संयोजकत्वमा अभिनन्दन समारोह समिति नै बनाइएको थियो ।

कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाओवादीका तत्कालीन अध्यक्ष पुष्पकलम दाहाल, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य, एमाले उपाध्यक्ष वामदेव गौतम, नेकपा (माले) का महासचिव एवं तत्कालीन उपप्रधानमन्त्री सी.पी.मैनाली, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, नेकपा (संयुक्त) का अध्यक्ष गणेश शाह र एमाओवादी नेता लीलामणि पोख्रेल लगायत नेपालका विभिन्न कम्युनिस्ट घटकका शीर्ष नेताहरुको उपस्थितिमा अभिनन्दन गरिएको थियो ।
त्यसबेला सबै कम्युनिस्ट एकै ठाउमा आएर सम्मान गर्दा निकै खुसी भएको गुरुङले सुनाउथे ।

उनी आजजीवन नेकपा मसालमा प्रतिबद्ध रहे । ‘उनी भन्थे, ‘नेपालमा नौलो जनबाद ल्याउने हो भने कम्यूनिस्ट मिल्नुको विकल्प हुदैन ,’ तर, मिल्दैनन् ।’ सम्भवत: नेपालमै सबैभन्दा जेठा १०४ वर्षीय नेता गुरुङको कम्युनिस्टहरु चीराचिरा भएकै बेला असौज ३ गते भौतिक अवसान भएको छ । हार्दिक श्रद्धाञ्जली

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...