लौ, फेरि कोरोनाको महामारी फैलिदै गयो । दिनदिनै कोरोना सङ्क्रमणको दर बढ्दै गयो भन्दै कोरोना रोकथाम तथा न्युनिकरणको नाममा सरकारले पछिल्लो समयमा विद्यालय बन्द गर्ने जुन अपरिपक्व निर्णय गरेको छ, त्यसप्रति लाखौ विद्यार्थीहरू असन्तुष्टि भएका छन । अभिभावकहरूको चर्काे विरोध छ । शिक्षकहरू पनि सहज रूपमा काम पाएका छैनन् ।
कोरोनाको तेस्रो लहर आयो । हाम्रो नगरपालिकामा पनि खतराको घण्टी बज्यो भन्दै आम नागरिकलाई भयभित पार्नु राम्रो काम हैन । बरू नयाँ भेरियन्ट सँग कसरी सामना गर्ने ? खोपको दायरा कसरी व्यापक गराउने ? खोप नलगाएका निश्चित उमेर समुहका बालबालिकाहरूलाई कसरी खोप कहाँ र कहिले लगाउने भन्ने कुरालाई तिव्र पारिनु पर्दछ । कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएमा पि.सि.आर, आर.डि.टि. चेकजाँच गरेर पोजेटिभ आएमा त्यस्ता व्यक्तिहरूलाई होम आइसोलेसन र थप उपचारमा ध्यान दिनुपर्छ । जाडोयाम भएकोले अधिकांश बालबालिका तथा बृद्धअवस्थाको उमेर समुहका नागरिकहरू चिसोबाट अलि बढी प्रभावित हुने भएकोले केन्द्र देखि स्थानीय सरकारका स्वास्थ्य केन्द्र, स्वास्थ चौकीहरू र अस्पतालमा ज्वरो, रूघा,खोकीका औषधी व्यवस्थापन गर्नु पर्ने अहिलेको आवश्यकता हो । विद्यालयमा त्यस्ता औषधीहरू निशुल्क वितरण गर्ने कार्य गर्नु पर्दछ ।
सबै क्षेत्र खुल्ला रहदा विद्यालयहरूलाई मात्र सरकारले ताकेता गर्नु राम्रो हैन । लोकसेवा तयारीका कक्षाहरू, शिक्षक सेवाका तयारी कक्षाहरू रोकेको खै त ? के त्यहाँ भिडभाड छैन । आम नागरिकको जीउ धनको सुरक्षा गर्ने हो भने सबै रोकिनु पर्दछ । हिजो आज विभिन्न पार्टीहरूको महाधिवेशन, मेला, जात्रा र पर्वहरूको उद्घाटनले के कोरोना सर्दैन ? विद्यालय शान्ति क्षेत्र हो । विद्यार्थीले शान्त वातावरणमा पढ्न पाउनु पर्छ । उनिहरूलाई मास्क, सेनिटाईजरको प्रयोग गरेर भएपनि विद्यालय आउन अभिप्रेरित गर्नुपर्छ । दुरदराजमा रहेका बालबालिकालाई ईन्टरनेट र अनलाईनको शिक्षा प्रभाककारी छैन । झापामा कारोना देखियो भनेर प्युठानमा बन्द गर्नु, काठमाडौंमा कोरोना फैलियो भनेर सुदुर पश्चिमका विद्यालयहरू बन्द गर्नु जायज कुरा होइन ।
कोराना कहिले सम्म रहन्छ ? कोरोना नियन्त्रण कहिले सम्म हुन्छ ? यस्को बारेमा स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका वैज्ञानिकहरू समेत अन्योलमा छन । झण्डै दुई शैक्षिक सत्र ध्वस्त भएको नेपालको शिक्षा क्षेत्र फेरि तहस–नहस हुने अवस्थामा छ । प्युठानको डि.सि.सि.एम.सि.ले पनि कोभिड रोकथाम र नियन्त्रणको नाममा बर्षे बिदा कट्टी हुने गरि जिल्ला भरका सबै विद्यालयहरू यहि आउदो माघ १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । के १६ गतेबाट कोरोना नफैलने भएको छ त ? के १६ गतेबाट भौतिक रूपमा पठन पाठन हुने सम्भावना छ त ?
यसरी लामो समयसम्म विद्यालय बन्द गरिनु राम्रो कार्य हैन । विद्यार्थीमा यसले चिन्ता, कुन्ठा, नैराष्यताको भावना सृजना गर्दछ । अब त अधिकांश बालबालिकाहरुले खोप पनि लगाएका छन । शिक्षकलाई पनि खोप दिएको छ । यस बर्षका बार्षिक परिक्षाहरू पनि नजिक आउदै छन । बरू स्वास्थ्य मापदण्डका सबै नियमहरू पालना गरेर, जोखिमको अवस्था अध्ययन गरेर विद्यालय खोल्नु पर्दछ । स्थानीय सरकारले पनि यसमा ध्यान दिन जरूरी छ । अन्यथा लाखौ विद्यार्थीको सुनौलो भविष्यमाथि खेलवाड नगरियोस् ।