News Portal

रेडियो सुन्नुहोस्

लन्डन विश्वविद्यालयमा कुसुन्डा वक्तालाई निम्ताे

झुलेनी संवाददाता २४साउन २०७८ प्यूठान
६०९ पटक
२४साउन २०७८ प्यूठान

कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् ।

कमला कुसुन्डा

बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन उनले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट बुधबार राहदानी लिएकी हुन् । अब उनी बेलायत यात्राको पर्खाइमा छिन् । ‘अब बेलायत जान्छु र नयाँ ठाउँमा घुम्छु,’ उनले भनिन्, ‘त्यहाँ हाम्रो भाषा बोलेर सुनाउँछु । मेरो भाषा फैलाउँछु ।’

रोल्पाको रुन्टीगढी गाउँपालिका–९ सखीस्थित टुनिबोट गाउँमा हुर्केबढेकी कमला कुसुन्डा भाषाकी एक्ली वक्ता हुन् । टुनिबोटमा बस्दै आएका कमलाका दाजु लालबहादुर कुसुन्डा आफ्नो मातृभाषाबारे खासै जानकार छैनन् । ‘मैले बुबाआमाबाट भाषा सिकेकी हुँ,’ ४८ वर्षीया कमलाले भनिन्, ‘दाइ राम्रोसँग बोल्न सक्नुहुन्न, त्यसैले उहाँले यो भाषा सिक्न सक्नुभएन ।’ कुसुन्डा भाषाका अध्येता उदय आलेमगरका अनुसार लन्डन विश्वविद्यालयको निम्तोमा आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन वक्ताका रूपमा कमलालाई पनि लन्डन पुग्ने निम्तो छ ।

कुसुन्डा भाषाबारे अध्ययन गर्दा कमलालाई वक्ताका रूपमा त्यहाँ लैजान आलेले विश्वविद्यालयसँग समन्वय एवं प्रस्ताव गरेका हुन् । ‘मैले अनुसन्धान गरेको विषय पनि कुसुन्डा भाषासम्बन्धी हो,’ आलेले भने, ‘वक्तालाई पनि एकपटक त्यहाँ लैजान सकूँ र भाषाबारे थप अध्ययन बढाउन सकूँ भनेर मैले विश्वविद्यालयसँग यो प्रस्ताव गरेको हुँ । विश्वविद्यालयले स्वीकृति दिएको छ ।’ लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा भाषा जोगाउन पाएकामा खुसी लागेको उनले प्रतिक्रिया दिए ।

यसअघि कुसुन्डा भाषासम्बन्धी शब्दकोशसमेत प्रकाशित गरिसकेका उनले लन्डनमा वक्ताका रूपमा कमलालाई लैजान पाउँदा कुसुन्डा भाषालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने दाबी गरे । आलेले मगर र थारू भाषा र संस्कृतिबारेमा अध्ययन गर्दै छन् ।

केही वर्षयता दाङस्थित लमही–६ कुलमोडमा बस्दै आएकी कमलाको बिहे भने गैरकुसुन्डासँग भएको हो । उनको बिहे खत्रीसँग भए पनि कुसुन्डा भाषा वक्ताका रूपमा कमलाले अरूलाई पनि सिकाउन लागिपरेकी छन् । केही वर्षअघि भाषा आयोगको आयोजनामा दाङमा कुसुन्डा भाषाको औपचारिक कक्षासमेत सञ्चालन गरिएको थियो । तत्कालीन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आफैंले आएर कुसुन्डा भाषाबारे अध्ययन र कक्षा चलाउन सक्रियता देखाएका थिए । नातामा कमलाकी दिदी पर्ने ज्ञानीमैया कुसुन्डा आफ्नो भाषाकी अग्रज वक्ता थिइन् । उनको दुई वर्षअघि ८४ वर्षको उमेरमा निधन भएको हो । जीवितै रहेको ज्ञानीमैयाले बेलायत जान पाउने थिइन् । उनको अवसानपछि कुसुन्डा भाषाकी सक्षम वक्तामा रूपमा अब कमला एक्ली हुन् ।

ज्ञानीमैया र कमलालाई आयोगले कुसुन्डा भाषाका स्रोत व्यक्तिका रूपमा खटाएको थियो । उनीहरू त्यस सन्दर्भमा काठमाडौंसम्म पनि पुगेका थिए । आयोगले कुसुन्डा भाषा सिकाएबापत दुवैलाई मासिक ३ हजार भाषिकवृत्ति रकम प्रदान गरेको थियो । दाङमा सञ्चालन गरिएको कुसुन्डा भाषा कक्षामा सहभागी भई भाषा सिक्न कमलाकी भाउजू बेलमतीसमेत पुगेकी थिइन् । कमलाका दाजु लालबहादुरले बोल्न नसक्ने भएकाले कमलाकै पहलमा भाउजूलाई सहभागी बनाइएको अध्येता आलेले बताए । गाउँकै पुनमगरकी छोरी बेलमतीसँग एक दशकअघि विवाह गरेका लालबहादुरकी १० वर्षकी एउटी छोरी छन् ।

रोल्पाका एक्ला कुसुन्डा लालबहादुरको परिवारका लागि सरकारले घरसमेत बनाइदिएको छ । उनलाई स्थानीय सरकारले समेत सहयोग गर्दै आएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए । ‘लोपोन्मुख जाति र भाषा जोगाउन हामीले सक्ने साथ सहयोग दिँदै आएका छौं,’ अध्यक्ष बुढाले भने ।

कुसुन्डा विकास समाजले देशभर कुुसुन्डाको संख्या २ सय ७३ जना रहेको तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये दाङमा ९८ र रोल्पामा ३ जना छन् । केही वर्षअघि दाङमा भाषा कक्षा चलाउँदा रोल्पा, दाङ र प्यूठानबाट २२ जना सिक्न पुगेका थिए । सिकाउनका लागि कुसुन्डा भाषालाई चार चरणमा विभाजित गरिएको थियो । पूरै ३ सय ६० घण्टा पढाइ भएकामा पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहार गर्दा बोलिने भाषा सिकाइएको थियो । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी र तेस्रो चरणमा पाठ्यक्रममा आधारित भाषा सिकाइ थियो भने चौथो चरणमा कुसुन्डा भाषाका शब्दावली, व्याकरणसम्बन्धी जानकारी दिइएको आयोगले जनाएको छ ।

दाङको लमहीस्थित कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार वनमै रमाउने, खेतीपाती नगर्ने र जंगलमै डुलिहिँड्ने कुसुन्डाको पुर्ख्यौली चलन हो । वनमा रहँदा समूह बनाएर बस्ने, कन्दमूल खाने, धनुकाँडबाट सिकार खेल्ने र मागेर जिउ पाल्ने परम्परागत गतिविधि रहेको उनले बताए । ‘तर, अहिले भाषा जोगाउन आपत् छ,’ धनबहादुरले भने, ‘हाम्रो समाज वनबाट गाउँमा सरेपछि हाम्रा आनीबानीमा पनि फरकपन आएको छ ।’

अध्येता आलेका अनुसार वनमै बस्ने भएकाले कुसुन्डालाई ‘वनराजा’, ‘कुसुन्डा’, ‘वनकरिया’ लगायतका नामले चिनिन्छ । कुसुन्डाको बाक्लो बसोबास रहेको लमहीको कुलमोड छेउको वन क्षेत्र हो । त्यहाँ रोल्पा र प्यूठानबाट बसाइँ सरेका कुसुन्डा बस्छन् । कुसुन्डा समुदायलाई सहयोग गर्दै आएका लमही नगरका प्रमुख कुलबहादुर केसीले पहिले कुसुन्डा भाषा संरक्षण गर्न भाषा कक्षा चलाइएको र हाल जीविकोपार्जनमा सहयोग गर्दै आएको बताए । कुसुन्डाजस्तै नगर प्रमुख केसी पनि रोल्पाबाटै बसाइँ सरेर लमही झरेका हुन् ।

-कान्तिपुरदैनिकबाट

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...