जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ । जिल्लाभरका ८० विद्यालय मध्ये १८ विद्यालयको नतिजा शून्य छ । ३ हजार ७ सय ३५ जनाले परीक्षा दिएकोमा १२ प्रतिशत ४ सय ४४ विद्यार्थी मात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए ।
नतिजा कमजोर आएकाले यस वर्ष नतिजामा सुधारकालागि शिक्षक, विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया कार्यक्रम गरिएको कार्यालय प्रमुख खड्काको भनाई छ । त्यसको लागि स्थानीय तहले अनुगमनलाई तीव्रता दिन थालेका छन् । नयाँ संविधानले शिक्षा क्षेत्र स्थानीय तहलाई जिम्मा दिएको छ । स्थानीय तह र सम्बन्धित विद्यालयले पनि शैक्षिक सुधारका विभिन्न प्रयासहरू थालेको बताउँदै आएका छन् । तर, नतिजा सुधार गर्न भने सकेका छैनन् ।
स्थानीय तहको ठुलो लगानी रहेको शिक्षा क्षेत्रको नतिजा कमजोर आएपछि सरोकारवाला झस्किएका छन् । विद्यालय सुधारका कार्यक्रम देखी शिक्षक राख्नका लागि गाउँपालिका अनुदानका कारण जिल्लाका हरेक पालिकाको करोडौँ रुपैयाँ खर्च भएको छ । गाउँपालिका अनुदानमा शिक्षक राखिएपछि जनतालाई पैसा उठाएर निजी श्रोतबाट शिक्षक राख्नुपर्ने बाध्यता त हटेको छ । तर, लगानीको तुलनामा नतिजा भने निकै कमजोर देखिएको छ ।
नतिजा कमजोर भएपछि विद्यालयहरूले शैक्षिक सुधारका लागि विभिन्न रणनीतिहरू थालेका छन् । शून्य नतिजा ल्याएका विद्यालय मात्र नभएर कमजोर नतिजा भएका विद्यालयले समेत शैक्षिक सुधारको रणनीति बनाएर लाग्न लगाएको खड्काले बताए । विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन धेरै विद्यालयको रणनीति छ । विद्यालय समय बाहेक साँझ बिहानको समयमा विद्यार्थीहरूलाई अतिरिक्त कक्षाहरू सञ्चालन गरिएको अमर मा.वि भिङ्ग्रीका प्रधानाध्यापक वासुदेव खनालले बताए ।
त्यसै गरी जिल्लाका विद्यालयहरूले विद्यार्थी, शिक्षक र अभिभावकबिच अन्तरक्रिया गरेर शैक्षिक सुधारको प्रयास थालेका छन् । नतिजासँगै त्रिपक्षीय अन्तरक्रिया गरिएको नौबहिनीको अन्ध नाशक माध्यमिक विद्यालय लिघाका प्रधानाध्यापक नेपाल सिंह पुरीले बताए ।
विद्यालय सँगै स्थानीय तहहरूले पनि शैक्षिक सुधारका रणनीति बनाउन थालेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार र दायित्व स्थानीय तहमा रहेकाले स्थानीय तहले विद्यालयको भौतिक संरचना, जनशक्तिमा अनुदान र सिप तथा क्षमता विकासका कार्यक्रमको शीर्षकमा ठुलो रकम खर्च गरेका छन् । अपेक्षाकृत नतिजा नआएपछि नियमित अनुगमन, मासिक परीक्षा मार्फत मूल्याङ्कन लगायतका रणनीति बनाएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले बताए ।
१८ विद्यालयको शून्य नतिजा
प्युठान नगरपालिकाको शून्य नतिजा ल्याउने एक मात्र विद्यालय शिद्व मा.वि जुम्रीकाँढा हो । भने सरुमारानी गाउँपालिकाको खड्केश्वरी मा.विको नतिजा शून्य छ ।
नौबहिनी गाउँपालिकाको नमुना विद्यालयको रूपमा स्थापित लुप्लुङ मा.वि लुप्लुङ सहित अन्ध नाशक मा.वि लिघा, गाबै मा.वि गाबै, बराह मा.वि झिम्प, जनज्योति मा.वि लुङ्ग, र शिव मा.वि स्याउलिवाङले एक जना पनि उत्तीर्ण गराउन सकेनन् ।
ऐरावती गाउँपालिकामा जनता मा.वि च्युरापानी, महेन्द्र मा.वि सराङ्गवेशी, दाङ्बाङ मा.वि अमिली, मोती मा.वि बरौला, धर्माेदय मा.वि जाबुने र जनकल्याण मा.वि रानिवास को नतिजा शून्य भएको छ । स्वर्गद्वारी नगरपालिकामा ने.रा मा.वि कोचिबाङ्ग, बाल संस्कृत मा.वि धरमपानीका कुनै पनि विद्यार्थीहरू पास भएका छैनन् भने माण्डवी गाउँपालिकामा गणेश मा.वि तिराम, सुन्नानी मा.वि मर्कावाङ्गको नतिजा शून्य छ ।