प्युठान, नेपालको मध्य पहाडी, समुन्द्री सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको छ । राष्ट्रिय जनगणना २०७८ (२०२१) अनुसार १३०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्युठानमा २३२,०१९ जना मानिसहरूको बसोबास रहेको छ । जुन पालिका अनुसार सबै भन्दा थोरै १५ हजार ६ सय ४६ जना मल्ल रानी गाउँपालिकामा र धेरै ४२ हजार १ सय ३० जना प्युठान नगरपालिकामा बसोबास रहेको पाइएको छ । यस जिल्ला अहिले लुम्बिनी प्रदेशमा अवस्थित छ जुन साविक मध्य पश्चिमाञ्चल बिकासक्षेत्र र राप्ति अञ्चल भित्र पर्दछ ।
हाम्रो देशको अस्थिर राजनीति र अनियन्त्रित सङ्घीय शासन प्रणाली कछुवा गतिमा हिँडिरहेको छ । यो सब हुनुमा फाइदा र बेफाइदा छन नै । यि कुराहरुले देशको भौतिक विकास र पश्चिमी सभ्यताको अनुसरण बढी जस्ता विषयमा प्रभाव रहन्छ । यी कुराले हाम्रो देशको आर्थिक, सामाजिक र वातावरणमा के प्रभाव परेको छ बुझेका छौ त ? पक्कै पनि छौ र छैनौ पनि होला किनभने हामीलाई समय अनुसार रूप बदल्न मन लाग्छ ।
तर बदल्ने कसरी त्यो हामीले कसरी गर्ने सल्लाह सुझाव लिएका छौ त ? पक्कै पनि छैनौ किनभने अब कसले गर्ने युवा कि बुढा व्यक्तित्वहरू ? जबकि २०७९/८० को तथ्याङ्क अनुसार त हामीले १ लाख २० हजार युवालाई एन ओसी दिलाएका छौ र १४.७ लाखलाई पासपोर्ट (Ministry of Foreign Affairs, 2022-23)। हामी खुसी हुनुपर्छ कि १५ लाख मानिस नेपाल बाहिर रोजगारीका लागि गएबापत रेमिटेन्स भित्रिएको छ । यसो हुनाले हाम्रो देशको कुल ग्रहास्थमा पर्न गएको प्रभाव त हामीले बुझेकै छैनौ जुन अहिले कृषि क्षेत्रमा ३४% बाट २३.९ % मा झरेको छ । हामीले ने रु १६१२ बिलियन को आयात गरेका रहेछौ जुन हाम्रो निर्यात भन्दा १० गुणा बढी रहेको छ (ने रु १५७ बिलियन) ।
हाम्रो प्युठान भौगोलिक दृष्टिकोणले एकदमै उत्पादनमूलक क्षेत्रमा अवस्थित रहेको छ । प्युठानको उत्पादनलाई नियाल्दा यहाँ आम्दानी राम्रो दिएका प्रजाति अल्लो, टिमुर, अदुवा, बेसार, कालो गहत, कालो मास, सुन्तला, केरा, आरु बखडा, आदिको व्यावसायिक खेती रहेको पाइएको छ । हामीलाई हरेक वर्ष दुई प्रजातिका बाली लगाउँछौ खाद्यान्न बाली र नगदे बाली । यी बालीहरूको प्रोत्साहन प्युठानमा एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय तथा स्थानीय निकायले जानकारी गराइराखेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७७ ले राष्ट्रिय प्राथमिकताका बाली/बस्तु जुन निर्यात गर्न सकिने खाद्यान्नको रूपमा अनुसूची १ मा तोकेको थियो । कार्यक्रम अन्तर्गत बाली तथा बस्तु उत्पादनमा कृषकलाई प्रोत्साहन गरेको भनिएको छ । बस्तु दिएर वा प्राविधिक सल्लाह तथा सहयोग गरेर प्रोत्साहन त गरियो तर के यो परियोजनाको सफलता हामीले देखेका छौ ? प्युठानको कति खाद्य वस्तु निर्यात गरियो ? प्रश्न छ ।
यसमा बाझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गर्ने कार्यक्रम रहेको थियो। तर अनुगमनका नाममा हाम्रो जिल्लामा न त प्राविधिक सल्लाह नै दिएको पाइएको छ न त पूर्णरुपमा काम भयो भएन भन्ने टिप्पणी कसैले गरेको छ । राजनैतिक पहुँच भएकोले आफ्नो भलो पाउँछ यदि पहुँच भएन भने कुभलो हुन्छ । हो कति अनुदान त बेवारिसे गएका छन् । के साँच्चै लक्षित वर्गले कृषि सामाग्री तथा अनुदान पाएका छन् स्थानीय सरकारबाट ?
स्थानीय र हाइब्रिड खाद्य बाली र नगदे बाली
(धान, गहुँ, जौँ, मकै, र कोदो इत्यादि)
“एक हाइब्रिड दुई आनुवंशिक रूपमा विविध अभिभावकहरू बिचको क्रसको पहिलो पुस्ताको सन्तान हो।”
स्थानीय र हाइब्रिड खाद्य बाली र नगदे बाली प्रजाति आखिर कुन कुन हुन् भन्ने कुरा जान्न जरुरी छ । आजको आधुनिक युगको कुरा गर्दा समयानुकूल रही जलवायु परिवर्तनबाट हुने क्षतिलाई न्यूनीकरण गर्न हाइब्रिड बालिको प्रोत्साहन गरिएको पाइएको छ। जसको प्रभाव हाम्रो स्वदेशी तथा स्थानीय प्रजातिमा परेको छ। उदाहरणमा रातो मार्सी र मकैको कथा सुनौँ। यही विषयलाई लिएर खुसी राम तिवारी लगायतका लेखकहरूले २०२३ मा प्रकाशित गरेको अनुसन्धानमुलक लेख छ जसमा नेपालले आफ्नो विविध भौगोलिक क्षेत्र र उत्पादन स्थलहरूमा उत्पादन गर्न सकिने अनाज र तरकारीको गुणस्तरीय हाइब्रिड बीउ निर्यात गर्ने र आत्मनिर्भर बन्ने लक्ष्य राख्नुपर्छ । सामान्यतया हाइब्रिड प्रजातिले २०-२५% बढी उत्पादन दिन्छ। हामीले नेपालमा वार्षिक ७३% तरकारीको बिउ र ६०% भन्दा बढी मकै र धानको हाइब्रिड बिउ आयात गर्छौ भनेर आकलन गरिएको छ ।
कहाँ गयो मार्सी धान
के यो जुम्लामा मात्रै सीमित छ। हैन पक्कै पनि छैन किनभने उत्पादनको सीमितता वातावरण र जलवायु परिवर्तनले मात्र गराउँछ भन्ने बुझ्नु पर्छ । के सी पौडेलले २००५ मा गर्नु भएको अनुसन्धान अनुसार रातो मार्सी धानलाई चिसो मौसम सहन सक्ने वंशाणुगत गुण रहेको हुँदा २००० देखि ३५०० मिटर सम्मको उचाइमा पनि खेतीगर्न योग्य रहेको भनिएको छ । तर प्युठान नगरपालिकाको स्थानीयका अनुसार ८०० मिटरको यस झिम्रुकको फाटमा पनि पुर्खाहरूले रातो मार्सीकै स्वाद आउने सेतो मार्सी लगाउने गरेको पाईको छ । रातो मार्सी र सेतो मार्सी यस क्षेत्रमा उत्पादन गर्न कम गर्नुको कारण जलवायु परिवर्तनले गर्दा समयमा स्याहार नपाएको र हाइब्रिड प्रजातिको धेरै प्रयोग रहेको छ। यद्यपि अहिले यस फाट क्षेत्रमा नभएपनि प्युठान नगरपालिकाको जुम्रीकाँडा, गौमुखी गाउँपालिका को पूजा, नौबहिनी गाउँपालिका को डाम्री, तथा स्याउलिबाङ इत्यादि चिसो क्षेत्रमा रातो मार्सी लगाएको पाइएको छ । सेतो र रातो मार्सी सुगर भएको व्यक्तिले खान मिल्ने, कम कोलेस्ट्रोल रहेको, मुटु रोग ठिक गर्ने, उच्च रक्तचापमा नियन्त्रण हुने, ब्रेष्ट क्यान्सर हुनबाट बचाउँने जस्ता औषधिय गुण पनि रहेको पाइएको छ। यस्तै कुरा मकैको पनि बुझौँ प्युठानका स्थानीयका अनुसार स्थानीय मकैको १ घुँगा तर ठुलो, मिठो, र खादा नरम मजाले चपाउन सकिने तर हाइब्रिड मकैको २ घुँगा तर सानो, अलि कम मिठो, र खादा अलिक साह्रो तर मजाले चपाएर खान सकिने पाइएको छ ।
स्थानीय धान: सेतो मार्सी, रातो मार्सी, जर्डन, आँग
तर कहिले सम्म लगाउने ?
कृषि क्षेत्रमा किसानले छिटो र उन्नत जातको धेरै उत्पादन हुने खाद्यान्नको रोजाई सन् १९५१ देखि गरिरहेको पाइएको छ । हालको यस्तै खालको बिउको रोजाई भइरहेको छ। भटमास जस्ता तेलहन प्रजाति देखि आँप, सुन्तला, जस्ता फलफूल प्रजाति सम्म हाइब्रिड नै रोजाई भइरहेको छ । यस्तो रोजाइले हाम्रो स्थानीय प्रजातिमा रोग प्रतिरोधात्मक क्षमताको विकास भइसकेको हुन्छ तर हामी स्थानीय प्रजाति त्यागेर अन्य हाइब्रिड प्रवृत्ति बढाएका छौ । जसमा अझै अध्ययन हुन बाकी रहेको विभिन्न विषय त छदैछन त्यसमाथि छिमेकीले विभिन्न प्रजाति प्रयोग गर्दा खाद्यान्न प्रजातिमा विभिन्न रोग सङ्क्रमण हुने गरेको पाइएको छ । यसरी सङ्क्रमण रोक्न हामीले अनिवार्य विषादी प्रयोग गर्ने सोच्छौ, जसको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न गएको छ ।
भनिन्छ नि हिरा हाम्रो माटोमै हुन्छ भनेर । तर हामीले त्यही माटोलाई आज अधिक मात्रामा विषादी तथा बाह्य मलको प्रयोग गरी उत्पादन शक्ति कतै घटाएका त छैनौ । माटो विज्ञका अनुसार हाम्रो माटोमा एकदमै सूक्ष्म जीवहरूको बसोबास रहेको छ जसले बिरुवालाई आवश्यक तत्त्वहरू बनाइदिने र आफूले पनि केही फाइदा लिने गर्दछ । हो आजका दिनमा हामी मानिसले जस्तै माटोको आफै खाना बनाउन सक्ने क्षमता घटाई रहेका छौ । हो हामीले माटोको उर्वर शक्तिलाई घटाउँदै छौँ । धानमा हामीले स्थानीय प्रजाति छोडेर सावित्री, शङ्कर, मकवानपुर १, २, ३, ४, हंसराज, शेर-४५, जि-१०(धेरै उत्पादन दिने), आदि। मकै पहेँलो र सेतो प्रजाति । गहुँमा स्वर्गद्वारी, भृकुटी, आदि ।
यी हाइब्रिड प्रजातिको प्रयोग गर्दा युरिया र डिएपि जस्ता मल अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने मान्यताको कारण आज माटोको उब्जाउ शक्ति घट्दै गएको छ । तर के हामीले स्थानीय प्रजाति उत्पादन गर्दा बजारको मल प्रयोग गरेका छौ ? पक्कै पनि छैनौ । किनभने हाम्रो स्थानीय प्रजाति आफ्नै वातावरणमा अनुकूलन भएको छ । यसको मतलब स्थानीय बिरुवाले जहिले पनि आफ्नो लागि चाहिने आवश्यक खाद्य पदार्थ आफै उत्पादन गर्ने गर्छन् । नुरहाना याह्या को अध्ययनले युरियाको अधिकतम प्रयोग बाट वायुमण्डलमा प्रभाव परि ग्लोबल वार्मिङ्ग हुन्छ जुन १ टन N2O = उत्सर्जन २९८ टन CO2 बराबर रहेको मान्यता छ । कार्बन डाइअक्साइड वायुमण्डलमा उत्सर्जन भई वातावरणमा प्रभाव पार्नु भने जलवायुमा परिवर्तन ल्याउनु हो । युरिया मलले बिरुवालाई आवश्यक पोषण तत्त्व (नाइट्रोजन, फस्फोरस, पोटासियम) दिने र उत्पादन शक्ति बढाउला तर माटो आफैको उब्जाउ शक्ति क्षमता बिस्तारै घटाउने र कार्बनको उत्सर्जनले ग्लोबल वार्मिङ्ग हुने छ । माटोमा युरिया र डी.ए.पी. मलको बढी प्रयोगले अम्लीयपन बढ्ने गर्दछ जसले बिस्तारै उर्वर शक्ति घटाउँछ । यस्तो समस्या आउँदा अनिवार्य मलको प्रयोगमा रुचि बढेको पाइएको छ। यस्तै हामीले स्थानीय प्रजाति र उत्पादन गर्ने प्राचीन प्रक्रियालाई मार्दै गएका छौ ।
क्यानडाका प्राध्यापक डा. सुजेन सिमार्ड भन्नु हुन्छ माटोमा रहेका सूक्ष्म जीवहरू बिरुवासँग जोडिएका हुन्छन् । यी जीवहरूले आवश्यक पोषण तत्त्वहरू एउटा बिरुवा देखि अर्को बिरुवामा साटा साट गर्न सहयोग गर्दछन्। तर यी जीवहरू माटोको उर्वर शक्तिका आधारमा सक्रिय र आफ्नो कार्य सञ्चालन गर्ने गर्छन्। यस्तो प्रक्रियामा स्थानीय प्रजातिले मात्र धेरै सक्रियता देखाउँछ ।
जस्तै केराउ जस्ता अन्य तेलहन बालीमा रहेका राईजोबियम ब्याक्टेरियाहरू तथा च्याउ जस्ता प्रजातिमा रहेको बिरुवालाई जोड्ने धागा भन्दा साना तारहरू हुने गर्छन् । यिनले एउटा बिरुवाबाट अर्को बिरुवामा खाद्य पोषण तत्त्व आदान प्रदान गराउन सहयोग गर्दछन् ।
स्थानीय बिउ हराउँदै जानुको कारण ?
- उत्पादनमा हाइब्रिडको रोजाई,
- खाद्य उत्पादन प्रणालीमा अनिवार्य मल प्रयोग गर्नु,
- जलवायु परिवर्तनको कारण स्याहार नपाउनु,
- स्थानीयसँग बिउ संरक्षणको लागि बिउ बैङ्कको व्यवस्था नरहेको: स्थानीय बिउ संरक्षण गर्ने ठाउँ,
- स्थानीयमा चेतनाको कमी,
- स्थानीय रोजाई र संरक्षणमा कमी,
- स्थानीय प्रजातिको शैक्षिक अनुसन्धानमा कमी, आदि ।
तपाईँलाई म अनुकूलन को अर्थ भन्छु है एउटा उदाहरण दिएर
यदि नेपालमा वा नेपालबाट कुनै व्यक्ति अन्य क्षेत्र वा देशमा बसोबास गर्न जान्छ भने उसलाई त्यही कै परिवेश अथवा वातावरणमा भिज्नु पर्ने हुन्छ । त्यसका लागि त्यहाँ आफै मिहिनेत गर्नुपर्छ अथवा जे दिन्छन् त्यही खानुपर्ने हुन्छ आफै बनाउने आट आउँदैन किन त्यसो भन्दा खर्च समय र पैसाको धेरै हुन्छ धेरै जना फास्ट फुड मनपराउछन् जस्तै चाउचाउ, बर्गर, पिज्जा, म:म, आदि जुन स्वास्थ्यको हिसाबमा अस्वस्थ हुन्छ । आँखा चिम्लेर सोचै त हामी गाउँघरमा हुँदा के गर्छौ ? पक्कै पनि छिमेकीको खाद्यान्न चोरेर खायौ होला अथवा छिमेकीसँग साटा साट गरेर खायौ पनि होला । यस्तै प्रक्रिया बालीहरूमा पनि हुन्छ । मैले भन्न खोजेको बुझ्नु भयो होला।
-(प्युठान नगरपालिका-०४, जुम्री, प्युठान निवासी लेखक विध्यार्थी हुन् । लेखमा समावेश भएका विषयहरू लेखकका निजी विचार हुन् । सामाग्री तयार गर्दा प्रयोग गरिएका सन्दर्भ सामाग्री र तथ्यसँग स्वयं जिम्मेवार छन् ।)