८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।
सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य सम्पन्न हुने नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए ।
८ वर्षदेखि सवस्टेशन नबन्दा जिल्लामा कुनै एक ठाउँमा समस्या हुँदा जिल्लाभरकै विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । “अहिले त्यो सवस्टेशनको तेजस्वी इन गरेर त्यसलाई आउट गर्ने काम गरिरहेका छौ ।” कार्यालय प्रमुख दासले भने–“त्यसबाट निस्कने लाइनमा समस्या छ, त्यसको लागि हामी गहन छलफलकै क्रममा छौ ।”
सवस्टेशनको लागि बाग्दुला–विजुवार लगायतका स्थानमा जनघनत्व बढी भएका कारण विद्युतको लाइन जोड्न समस्या परेको उनको दासले बताए । दुई देखि तीन महिनाको समयमा दम्तीको सवस्टेशन सञ्चालनमा आउने कार्यालय प्रमुख दासले दाबी गरेका छन् ।
दम्तीको सवस्टेशन नबन्दा मर्मत, बुट्यान काट्ने जस्ता कार्य गर्दा ठुलो क्षेत्रमा विद्युत् अवरुद्ध हुने समस्या छ । पटक÷पटक लाइन जाँदा नागरिकले सास्ती खेपिरहेका छन् । लाईनमा फल्ट भए वा बिग्रिएको समयमा १ देखी २ घण्टासम्म मर्मतका लागि समय लाग्ने तर फल्ट नभएको खण्डमा १०÷१५ मिनेटमा लाइन आउने प्रमुख दासले बताए ।
अनियमित विद्युत् आपूर्तिका कारण अस्पताल, दुग्ध व्यवसाय, विद्युतीय मेसिन चलाउने क्षेत्रमा निरन्तर हैरानी खेप्नुपरेको छ । झ्याप्प झ्याप्प आउने जाने लाइनले अस्पतालमा ल्याब, एक्सरे, अप्रेसन गर्ने मेसिनमा असर पुग्ने गरेको जिल्ला अस्पताल विजुवार प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताए । त्यस्तै, अनियमित विद्युतका कारण दूध, दही, बेकरी लगायत सामाग्री बिग्रेर समस्या भएको जुम्रीमा डेरी सञ्चालन गरिरहेका जीवन पौडेलले गुनासो गरे । बिजुवार भौकामा कम्प्युटर इन्स्टिच्युट चलाइरहेका मनिष सिं खत्रीले भोल्टेज कम आउँदा कम्प्युटर आफै बन्द हुने र छिट्टै तातिने समस्या खेपिरहेको बताए ।