नेपालको संविधान २०७२ जारी भएसँगै संवैधानिक रूपमा विभिन्न तहका सरकारहरू जनप्रतिनिधिले सञ्चालन गरिरहेका छन्। जनताको आवश्यकता, समस्या, चासो र मागका विषयहरू अव मुख्यतया जनप्रतिनिधिका कर्तव्यका विषयहरू बनेका छन् । त्यसले जनप्रतिनिधिको रिक्ततालाई पूर्णता दिँदै आफ्ना शासकीय अधिकारहरू आफ्ना प्रतिनिधिहरूबाट सुनिश्चित गर्नका लागि स्थिर व्यवस्था निश्चित भएको छ । यद्यपि, राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले सामाजिक संरचनाको संवेदनशीलतालाई ख्याल नगरी अगाडि बढ्दा कतिपय साझा मुद्धाहरु, एजेन्डा, विषयहरू भने कमजोर बन्दै गएका छन् । पछिल्लो समय सरकारी कार्यालयहरूका सार्वजनिक छलफलका विषयहरू पनि बिस्तारै खुम्चिँदै गएका छन् ।
संविधान र कानुनले निर्दिष्ट गरेको हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप स्थिर, मजबुत र स्थायित्व प्रदान गरेर नागरिकमाझ लोकप्रिय बनाउनका लागि कानुनको शासनको साथसाथै त्यसमा साझा अपनत्व, नागरिक समाजको बलियो उपस्थिति र आमसञ्चार क्षेत्रको प्रभावकारी पहुँच स्थापित गर्न जरुरी छ । तर, यो महत्त्वपूर्ण जिम्मेवारीबाट शासक र प्रशासकहरू चुक्दा व्यवस्थामाथि दिनानुदिन प्रश्न उठ्न थालेका छन् । नागरिकमा निराशा बढ्दो छ । कानुनबमोजिम जनप्रतिनिधि नीति निर्माता, राष्ट्रसेवक कार्यान्वयनकर्ता हुन भने भूमिकाको हिसाबले नागरिक समाज सरोकारवाला र आमसञ्चार जगत यी सबै पक्षबिच सेतुको भूमिकामा रहेर काम गर्ने जगत हो । आम नागरिक, नीति निर्माता र कार्यन्वयनकर्ताहरु माझ नागरिकको भौतिक तथा भावनात्मक सहभागिता एवं अपनत्वलाई स्थापित गर्न महत्त्वपूर्ण पक्षको रूपमा सञ्चार जगत रहन्छ ।
जब नीति निर्माता र कार्यान्वयनकर्तालाई नागरिक समाजको अपनत्व र सञ्चार जगतको आवश्यकता बोध कम हुँदै जान्छ तब व्यवस्थामाथि गम्भीर प्रश्नहरू उठ्न थाल्छन् । नागरिकका गुनासा र प्रश्नहरूको सही समयमा उचित तवरबाट सम्बोधन गर्नका लागि उनीहरूको अपनत्व र उपस्थितिलाई बढवा दिइनुपर्दछ । सबल नागरिक समाज, र प्रभावकारी सञ्चार जगत एवं पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रका विशेषता मात्र होइनन्, स्थायित्वका महत्त्वपूर्ण आधारहरू पनि हुन् । समाजमा विभाजित भावनाहरूलाई एकीकृत गरेर विभिन्न विचार, धारणा एवं उपस्थितिको सुनिश्चितता नागरिक समाजले गर्दछ । यसर्थ सर्वपक्षीय छलफललाई चार दिवारभित्र सीमित नगरेर आम नागरिकको बिचमा पुर्याउन यसका सबै सरोकारवालासँग उचित समन्वय गरी प्रभावकारी बनाउन समयमै ध्यान दिइनुपर्छ ।