News Portal

रेडियो सुन्नुहोस्

जीवनोपयोगी शिक्षण विधि नै गुणस्तरीय शिक्षाको आधार हो

खुम बहादुर थापा
७७६ पटक

आजका दिनमा जताततै गुणस्तरीय शिक्षा भएन भन्ने गुनासो सुन्न पाइन्छ । गुणस्तरीय शिक्षा भनेको के हो ? कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने ? शिक्षाको दार्शनिक सामाजिक आधारमा यसका अर्थहरु फरक फरक होलान् तर हामीलाई कस्तो शिक्षा चाहिएको हो र के गर्न सकियो भने हाम्रा नानी बाबुहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्लान् ?

सामाजिक आर्थिक सुधारमा सहयोग गर्न सक्ने शिक्षा , जिपनोपयोगी शिक्षा , बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन सक्ने शिक्षा । यही त हो गुणस्तरीय शिक्षा । यही भएन भनेर हामी बहस गरिरहेका छौं आजका दिनमा । कतै–कतै भएको पनि देखिन्छ । कतै नभएको पनि देखिन्छ । आम शिक्षामा यो हुुनु पर्ने हो । सबै बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउनु पर्ने हो । त्यही भएन जो हुनु पर्ने हो । यसकालागि को दोसी हो ? सरकार, शिक्षक, अभिभावक ?

गुणस्तरीय शिक्षाको वहसलाई ब्यबहारमा कसरी उतार्ने ? जिम्मेवारी कस्ले लिने ? सरकार, शिक्षक, अभिभावक, । सरकारले निति बनाउने । शिक्षकले सिकाउने । अभिभावकहरुले बिद्यालयको ब्यबस्थापकीय जिम्मेवारी हस्तान्तरण गर्न ब्यबस्थापन समिति गठन गरिदिने । आफ्ना बालबालिकाहरुलाई कापी कलम लुगाफाटो खानपान ब्यबस्था मिलाई बिद्यालय पठाउने । आफ्ना बालबालिकाहरु असामाजिक र अमर्यादित काम कुरामा बहकियलान् कि भनेर चनाखो रहने । यी तीनै कुराको तारतम्य नमिल्नाले हाम्रो शिक्षाले आम बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन सकेन ।

मेरो आफ्नो अनुभव र भोगाईमा घरेलु हिंसक अभिभावकहरु बाहेक अरु अभिभावकहरुको कुनै पनि दोषभेटाउन सकिन । सरकारको शिक्षा नीति अत्यन्तै गरिव परिवारकालागि केही बोलेको पाइन । बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुमा बिद्यालय ब्यबस्थापन सम्वन्धि ज्ञानको कमी छं । त्यसको दोष प्रधानाध्यापकले लिनु पर्दछ किनभने बिद्यालय ब्यबस्थापन समितिको सदस्य सचिव उनी नै हुन् ।

बिद्यालयमा के कस्ता कार्यहरु गर्नाले बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् भन्ने बिषयका जानकार प्रधानाध्यापक नै हुन् । प्रधानाध्यापकले बिद्यालयको समग्र सुधारमा बिद्यालय ब्यबस्थापन समितिलाई हिंडाउन सकेनन् । राजनीतिको पनि प्रभाव पर्न गयो । राजनीतिको गर्नु बिकास र समग्र सुधारका लागि हो भन्ने बुझाई भएन । राजनीतिका नाममा प्रपञ्च रचना गर्न मात्र जानियो। बिद्यालयमा कक्षागत शिक्षक दरवन्दि सरकारले दिन नसक्नु ठूलो दोष हो ।

कक्षाकोठाको सबै जिम्मेवारी बहन गर्ने जिम्मा लिएका शिक्षकहरुको दोष पनि उत्तिकै जिम्मेवार छ र त्यो दोषको घनत्व सरकार, अभिभावक र ब्यबस्थापनको दोष भन्दा पनि वजनदार छ । गुणस्तरीय शिक्षा प्राप्तीका लागि बालबालिकाहरु निर्दोष छन् । बालबालिकाहरुलाई शिक्षकहरुले ज्ञानको भोक जगाउन सकेनन् । बालबालिकाहरु हुर्कदै जाँदा उनीहरुले प्राप्त गर्ने ज्ञानका क्षेत्रहरु फराकिलो हुँदै जानु पर्ने गरि निर्माण गरिएको पाठ्यक्रमका निर्धारित सिकाई उपलब्धिहरु पुर्णरुपमा हाँसिल गराउन शिक्षकहरुले सकेनन् । जस्काकारण बालबालिकाहरुको सिक्ने भोक सुस्त बन्यो । यो सिक्ने र सिकाउने भोक बालबिकास र प्राथमिक तहमै जाग्नु पर्ने हुन्छ ।

जगमै भोक जागेन । हुर्के बढेका बालबालिकाहरुमा सिक्ने भोक जगाउन सकिन्छ तर लामो प्रयास गर्नु पर्ने हुन्छ जुन प्रयासहरु शिक्षकको हातबाट उम्किसकेको हुन्छ । यो नै हाम्रो असफलता हो । असफलताको सृङ्खलामा शिक्षा सरोकारवालाहरु पनि क्रमश निरास बन्दै जान्छन् । उनीहरुको आत्मबिश्वास घट्दै जान्छ । गुणस्तरीय शिक्षाका लागि समाजका सबै अवयवहरु भौतारिनु सिवाय अरु बिकल्प हुन्न । बालबालिकाहरु साक्षर हुन्छन् ।

शिक्षाले उनीहरुको जीवनलाई जीबिकोपार्जनमा सहयोग गर्दैन । उनीहरुले जीबिकोपार्जनका लागि ज्ञान र बिज्ञानको उपयोग गर्न सक्दैनन् । यही होइन त हामी आम अभिभावक , बालबालिका र शिक्षकहरुको अवस्था ? यो हुन नसक्दा हामी वहसमा जोडिन थाल्यौ. कि गुणस्तरीय शिक्षा भएन । बहस गर्नु एउटा पक्ष हो तर उपलब्धिमुलक कार्य गर्न सक्नु अर्को पक्ष हो जस्लाई ठोस रुपमा मापन गर्न सकिन्छ ।

बालबालिकाहरु हरेक वर्ष हुर्किरहेका हुन्छन् । उनीहरुको हुर्कने क्रम र गुणस्तर शिक्षाको तारतम्य मिल्नु पर्ने हो । यो तारतम्य मिलेन । भवन, कक्षाकोठा, बिज्ञान प्रयोगशाला, पुस्तकालय, शौचालय, घेराबार, सूचना प्रबिधि प्रयोगशाला, शैक्षिक सामाग्री केही पनि भएन त्यसैले हामीले भने जस्तो शिक्षण गर्न सकेनौं भन्ने शिक्षकहरुले पनि बिद्यालयमा जीवनोपयोगी शिक्षण गर्न सकेनन । जीवनोपयोगी शिक्षण गर्न ज्यादै सजिलो छ । ज्ञान र बिज्ञानका सुत्रहरुलाई ब्यबहारमा कसीलगाएर जीवनका भोगाईमा सादृष्य गर्दैप्रयोग गरेर , प्रयोग गर्न लगाएर गरिने शिक्षण प्रबिधि हो ।

यो प्रबिधिले शिक्षकहरुलाई सिक्ने र सिकाउनेका रुपमा मुल्यांकन गर्दछ । पुरानै ढर्रामा हिड्ने शिक्षकहरुबाट यो संभव छैन । पुराना ढर्राका शिक्षकहरुलाई सजिलो तरिकाबाट यो शिक्षण प्रबिधि हस्तान्तरण गर्न सक्नु पर्दछ । यो प्रबिधिको मुलमन्त्र भनेको म जान्दैन तर जान्नका लागि प्रयास गरिरहन्छु भन्ने हो । यो भावना शिक्षकहरुमा जगाउन मनोबिज्ञानका सुत्रहरु प्रयोग गर्नु पर्छ जस्ले शिक्षकहरुमा ज्ञानको भोक जागोस् । गुणस्तरीय शिक्षाका लागि समस्याका जरामा हामीहरुले काम गरेनौ । पीपलको चौपारीमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।

कुटी र झोपडीमा पनि सकिन्छ भन्ने मर्म बुझेनौं । बिद्यालयको भौतिकपुर्वाधार कुर्दा कुर्दै बालबालिकाहरु हुर्कदै गए उनीहरुले शैक्षिक तह उपलब्धि बिहिन भएर पार गर्दै गए । शिक्षकहरुको जोस जाँगर मर्दै गयो । राज्यको शासन बदलियो । बिश्वमा बिज्ञान प्रबिधिले चमत्कार गर्दै गयो तर शिक्षाका मन्दिरहरुमा कुनै फरक देखिएन ।

ब्यबस्थापन समितिका पदाधिकारीहरु, राजनेताहरु सबैले बिद्यालयको भौतिक पुर्वाधार बिकास गरेर शिक्षामा गुणस्तर कायम हुन्छ भन्ने मान्यता राखे । यो मान्यता सहायक हो आवस्यक पनि छ । प्रमुख कुरा शिक्षकको शिक्षण कला हो जस्ले ज्ञान ब्यबहार र सीपलाई बालबालिकाहरुमा सजिलै गुणकारी बनाएर हस्तान्तरण गर्न सक्छ ।

बिद्यालयको भौतिक पुर्वाधारको जोरजाम गर्न हामीहरुले कम्मर कस्यौं र कसीरहेका छौं ।कम्मर कसीर¥यो । कसेको कस्यै छ । तर बिद्यालयहरु कहिल्यै पुगीसरी भएनन् । सरकारले यसो गरे हुन्छ कि उसो गरे हुन्छ भन्दै बिभिन्न योजनाहरु बनाउदै आयो । कहिले प्राथमिक शिक्षा परियोजना ल्यायो । कहिले बिद्यालय क्षेत्र सुधार योजना त कहिले बिद्यालय सुधार योजना तर जे हुनु पर्ने हो त्यो भएन केही आंसिक सफलता बाहेक केही प्राप्त भएन ।

जे हुनु पर्ने हो त्यो कस्तुरीको बास्नादार बिना शिक्षकहरुमा छ भन्ने कसैले जान्न र खोज्न सकेन । आफूसँग भएको बास्नादार कस्तुरीको बिना शिक्षकहरुले पनि चाल पाउन सकेनन् । यो चाल नपाउने क्रम २०४६ सालको परिवर्तन पछि बिकशित भयो भन्ने मेरो अनुभव रहेको छ । यो चालनपाउने क्रम किन बढ्दै गयो खोजको बिषय बनेको छ ।
बिद्यालयको भौतिक सुधार र हाम्रा नानीबाबुहरुको हुर्कदो क्रममा सामिप्यता ल्याउन सकेनौ ।

भौतिक सुधार होला र राम्रो गरि सीकाउँला भन्दै हाम्रा शिक्षकहरुका दिनहरु बित्दै गए।शिक्षकहरुको यो पर्खाइमा टाठा बाठा अभिभावकहरुले आफ्ना नानीबाबुहरुको सुन्दर भविष्य देखेनन् । चुप्प लागेर उनीहरुले आफ्ना नानीबाबुहरुलाई निजी बिद्यालयमा भर्ना गर्न थाले , सुगाको रटाई गराएर भए पनि राम्रो अंकमा नानीबाबुहरुलाई उतिर्ण गराए । सुगारटाई न हुनु भन्दा राम्रो भयो उनीहरुलाई तर बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुृन सकेन ।

हाम्रो लोकसेवा र प्राबिधिक शिक्षाकालागि हुने परिक्षा सुगारटाइमा आधारित भएकाले उनीहरुलाई राम्रो भयो । उनीहरुको राम्रो देखेपछि सुूस्तरी सबै लहलहैमा लाग्दै गए । सबै मानिसलाई त नभनौ प्रायः मानिसहरुकोस्वभाव लहलहैमा लाग्ने खालको हुन्छ ।

बिद्यालयको भौतिक अवस्था राम्रो भएपछि राम्रो तरिकाले बालबालिकाहरुलाई सिकाउँला भन्दै गर्दा बालबालिकाहरुको हुर्कदो क्रमले शिक्षकहरु र अभिभावकहरुलाई छोड्दै गए । कति भूरे , कति पछारिए , कतिले जीवनलाई सार्थक बनाए तर धेरैले जीवनलाई साक्षरभन्दा बढि बनाउन सकेनन् । नानीबाबुहरुको हुर्काइ भूराई र सार्थकजीवनसँग उनीहरुकोशिक्षकहरुको साइनो गाँसिएन । शिक्षकहरु दालभात र डुकुमा सिमित हुँदै आत्मबिश्वास गिराउँदै , निजी बिद्यालयहरुमा आफ्ना नानीबाबुहरुलाई भर्ना गरि उज्यालो भविष्यको कल्पनामा रमाउन थाल्यो । उसले आफ्ना जस्तै अरुका नानीबाबुको भविष्य उज्यालो बनाइदिन खोजेन ।

सरकारी बिद्यालयमा हुर्कर्दै भूरेको र सरकारी जागिरे बनेको कर्मचारी, क्रान्तीमा जीवन आहुती गर्छु भन्ने नेताजी र हुने खानेहरुलाई सरकारी बिद्यालयमा बिश्वास भएन । सबै भांैतारिदै निजी बिद्यालय मा पुगे , त्यहीं उनीहरुले आफ्ना सन्तानको भविष्यदेखे ।

गुणस्तरीय शिक्षाका बारेमा बहस गर्न उनीहरु नै लागि परेका छन् जस्का नानीबाबुहरु निजी बिद्यालयमा पढ्छन् । सरकारी बिद्यालयमा पढाउनेहरु अन्जान छन् । उनीहरु चुप्प छन् र शान्त छन् । उनीहरुलाई भविष्यको कुनै चिन्ता छैन । उनीहरुको चिन्ताबिहिनतामा शिक्षाका धेरै योजनाहरु बने । परिणाम सुन्य मात्र हात लाग्यो । उनीहरुको चिन्ताबिहिनतामा शिक्षक गुरुले जीपनोपयोगी शिक्षण गरेर मात्र मल्हम लगाउन सकिन्थ्यो । त्यो भएन । ती शान्त अभिभावकहरुमा उनका बालबालिकाहरुको सुन्दर भविष्यको हुटहुटी जगाउन सकिन्थ्यो । अभिभावकहरु ठिक भएनन् भनेर आफ्ना दोषहरु लुकाइर¥यौं ।

सरकारका निती र बिद्यालयको भौतिक अवस्थामा खोंट देखाउँदै आफ्नो शिक्षण क्षमतामा निखारपन शिक्षकहरुले ल्याउने प्रयास गरेनन् । हाम्रा शिक्षकहरु शिक्षाशास्त्रका बिज्ञ छन् । उनीहरुसँग शिक्षण गर्ने भरिपुर क्षमता छ त्यो क्षमता किन लुकेको छ ? त्यसलाई किन उनीहरुले बाहिर ल्याउन सकेनन् ? यसतर्फ सरोकारवालाहरुको ध्यानै गएन । शिक्षकहरुमा भएको अपार क्षमता बरालियो त्यसको खोजी हुनु जरुरी छ ।

पीपलको बोटमुनी, चौपारीमा पनि कलात्मक तरिकाले शिक्षण गर्न सकिन्छ । बासको टहरोमा पनि सकिन्छ । खोलाका तिरमा पनि , जंगलमा पनि । शिक्षण कला हो र यो बिज्ञान पनि हो । यो कला र बिज्ञानको प्रयोग शिक्षकहरुले नगरेसम्म गुणस्तरीय शिक्षा हाम्रालागि कल्पना र बहसको बिषयमात्र बन्ने छ । गुणस्तरीय शिक्षाकालागि पहिलो सर्त शिक्षण कला त्यसपछि अरु भन्ने मान्यता सर्बप्रथम शिक्षकहरुले स्वीकार्नु पर्दछ ।

कक्षाकोठा र बालबालिकाहरुको मालिक हाम्रा शिक्षकहरु हुन् । हाम्रो नेपालको सन्दर्भमा शिक्षाका कुरा गर्दा नाम चलेका केही औंलामा गन्न सकिने निजी तथा सरकारी बिद्यालयहरु बाहेक अधिकांश बिद्यालयहरुमा गुणस्तरीय शिक्षा छैन । यो अवस्था बालबिकास देखि उच्चशिक्षा सम्म देख्न पाइन्छ । शिक्षकहरुले बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउने सृजनात्मक शिक्षण गर्न सकेनन् । उनीहरु सृजनशिल नै भएनन् । फगत कक्षाकोठामा आउने र कराउने मात्र भए । उनीहरु भकभके शिक्षक भए । प्रयोग गर्ने र नतिजा देखाउने । प्राप्त नतिजाहरुलाई जीवनोपयोगी शिपमा उपयोग गर्ने तरिका शिक्षकहरुले बालबालिकाहरुमा हस्तान्तण गर्न सकेनन् । आजको चुरो समस्या यही हो ।

आजको प्रतिस्पर्धात्मक बिश्वमा पञ्चायतकालको भन्दापनि भकभके शिक्षाले हाम्रा भविष्य कस्तो होला अनुमान सहजै गर्न सकिन्छ । हरेक बिद्यालयका कक्षा कोठामा भैरहेको शिक्षण प्रकृयालाई अवलोकन गर्दा प्रष्टै भै हाल्छ कि बालबालिकाहरुले बिषय बस्तु बुझेका छैनन् । यसमा मेरो भर्खरैको तितो अनुभव छ । बिद्यालयको नाम नभनौं कक्षा ८ मा अध्ययनरत बालबालिकाहरुलाई त्रिभुजका ३ वटा भित्रीकोणहरुको योगफल , सीधारेखाको कोण , भिन्न दशमलव र प्रतिशतको अवधारणा बारे सामान्य ज्ञान पनि नभएको पाएँ । उनीहरुको सिकाइ स्तर कक्षा ४ को जत्ति पनि छैन । नेपाली अक्षरहरुको बान्की सरकारी बिद्यालयका सबै बालबालिकाहरुको एउटै छ ।

राम्रा बान्की परेका अक्षरहरु कसैले पनि लेख्न सक्दैनन् । यो दोष कस्को ? अभिभावक , बालबालिका , शिक्षक कि सरकार ? कक्षाकोठाको भकभके शिक्षणकला नै गुणस्तरीय शिक्षाको बाधक हो । पाठ्यक्रमले तोकेका बिषयगत शैक्षिक उपलब्धि सो संग सम्वन्धित शैक्षिक सामाग्री र शिक्षण प्रकृयाका बारेमा शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका , स्नातक गरेका शिक्षकहरु अन्जान हुनुको रहस्य के छ ? मेरो बिचारमा शिक्षकहरु स्वअध्ययन गर्दैनन् ।

स्वअध्ययन नगर्ने, शिक्षण योजना नबनाउने र तयारी बिना कक्षाकोठामा प्रवेश गर्ने अनजान शिक्षकबाट गुणस्तरीय शिक्षाको आसा गर्नु आकाशको फल आँखा तरि मर जस्तै हो। तयारी बिनाको भकभके शिक्षणले बालबालिकामा ज्ञान बिज्ञानको धारणहरु प्रयोग्यात्मक सिपमा हस्तान्तरण हुन सक्दैनन् । एकातर्फ शिक्षकहरुको घाँटी कराएर सुकेको छ,, अर्कोतर्फ बालबालिकाले ज्ञानको बोध गर्न सकेको छैन ।

ज्ञानको बोध गरि ज्ञानलाई सीपमा रुपान्तरण गर्न नसकिएको शिक्षालाई कसरी गुणस्तरीय शिक्षा भन्ने ?शिक्षाशास्त्रका दार्शनिक आँखाले अवलोकन गर्ने हो भने बिद्यालयहरुका कक्षाकोठामा बिजोग मात्र देख्न सकिन्छ । शिक्षक लाचार हँुदै भन्छ , शिक्षाशास्त्रका दर्शनहरु मैले जानेको छु तर म कक्षाकोठामा यो लागु गर्न सक्दैन । सरकारले शैक्षिक सामाग्री दिन्छ । तालिम दिन्छु । राम्रो कक्षा कोठा दिन्छ । ल्यापटप कम्प्युटर दिन्छ । शिक्षक निर्देशिका दिन्छ । पुस्तकालय दिन्छ ।

बिज्ञान प्रयोगशाला दिन्छ । सबै दिंदापनि शिक्षक लाचार हुँदै भन्छ म कक्षाकोठामा शिक्षाशास्त्रका दर्शनहरु प्रयोग गर्न सक्दैन । उसले गुनासो गर्छ , मैले ७ पिरियड पढाउनु परेको छ । कक्षामा धेरै बिद्यार्थी छन् । बिद्यार्थी अनुशासनहिन छन् । अभिभावकमा बिद्यालय प्रति चासो छैन । प्रधानाध्यापक असल छैन । हाम्रो स्टाफमा मेल छैन । बिद्यालयमा राजनीति हुन्छ । शिक्षकले समस्याहरु ओकल्छ तर समाधान देख्दैन ।

शिक्षकले ओकल्ने समस्याहको थुप्रोमा सरकार, बालबालिकाहरु र अभिभावकहरु पुरिएका छन् । जहाँ समस्या त्यहाँ समाधान भन्ने कुरा किन बिद्यालयहरुमा लागु हुन्न ? के बिद्यालय भनेको समस्याहरुको थुप्रो हो ?समस्याहरुलाई समाधान गर्ने सृजना होइन ?शिक्षकहरुको सृजनात्मक कर्ममा नै गुणस्तरीय शिक्षा संभव छ । अरु सबै सहायक पक्ष हुन् । सरकारी बिद्यालयहरुको आँगनबाट बाहिर बसेर गुणस्तरीय शिक्षाको बहस गर्नुको कुनै अर्थ छैन ।

सरकारी बिद्यालयहरुमा शैक्षिक सुधार गरि गुणस्तर बृद्धि गर्न मन बचन र कर्मले जुटौं । यो संभव छ । सृजनात्मकता रचनात्मकता र ज्ञान र बिज्ञानका अवधारणाहरुलाई जीवनोपयोगी बनाउनु नै गुणस्तरीय शिक्षा हो । यसकालागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहन्छ । हाम्रा स्थानीय सरकारहरु गुणस्तरीय शिक्षाका लागि सफल बन्दै जाऊन् शुभकामना ।

(स्तम्भकार खुम बहादुर थापा क्षेत्री नेपाल सरकारका निवृत शिक्षक , नेपाल पत्रकार महासंघ प्यूठान शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष, शैक्षिक सुधार योजना सुझाव कार्यदल गौमुखी गाउँपालिका  र प्यूठान नगरपालिका प्यूठानका बिज्ञ सदस्य हुन्)

 

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...