प्रथम भित्रिकोट प्यूठान महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन् ।
प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको सांसद थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले जिल्लाको विकासका लागि सबैको सहकार्य हुनुपर्ने बताएका छन् । आफ्ना आवश्यकताहरू पुरा गर्नका लागि घचघच्याउन र चलायमान हुन सुझाव दिँदै सांसद थापाले स्थानीय तहको प्राथमिकता र आवश्यक योजनाको प्राथमिकिकरण बारे स्थानीय तहले नै विशेष चासो दिनुपर्ने उनले बताए ।
प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । १३ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य, प्रदेश सभा सांसदहरू तुलसीराम शर्मा र निमा गिरी, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुखहरू लगायतले मन्तव्य राखेका थिए ।