News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा नदीजन्य निर्माण सामग्रीको मुद्दा

–गिरुप्रसाद भण्डारी२०८२ जेठ १४
१४०८ पटक
२०८२ जेठ १४

जिल्लामा हिजोआज खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा निकाल्न रोक लगाउने विषयले निकै माहौल तातेको छ । आर्थिक वर्ष सकिनै लाग्दा खोलाबाट गिट्टी,बालुवा निकाल्न नपाउँदा ठेक्कापट्टा मार्फत अन्तिम अवस्थामा पुगेका निर्माणका योजनाहरू अलपत्र अवस्थामै छन् । चालु आर्थिक वर्षमै सक्नु पर्ने गरी ठेक्का भएका दर्जनौँ योजनाहरूको काम ठप्प छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट व्यवस्था भएर थालिएका सडक, भवन निर्माण सामग्री अभावले अधुरै हुने देखिन्छ । निजी भौतिक संरचना बनाउन थालेकाहरूले पनि नदीजन्य निर्माण सामग्रीको झमेला बेहोर्नु परेको छ ।

स्थानीय तहले ठेक्का निकालेर कानुनी प्रक्रिया अनुसार स्थानीय सरकारलाई कर तिरेर समेत सहज रूपमा निर्माण सामग्री निकाल्ने वातावरण बनाउन नसक्नु सरोकार राख्ने पक्षको लाचारी हो ।

जिल्लाको विकास निर्माणको कामको रेखदेख गर्ने प्रमुख अख्तियारी प्राप्त प्रमुख जिल्ला अधिकारीलाई नै खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउनु परेको छ । प्रहरीले खोलामा एक्स्काभेटर, डोजर नियन्त्रणमा लिँदै स्थानीय सरकारलाई बुझाउने गरेको छ । स्थानीय सरकारले जरिवाना गरिरहेका छन् । निर्माण व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराइरहेको छ । यो विषयमा यस अघिका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले टुङ्गो लगाउन सकिनन् । अहिलेका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले समेत यो विषय टुङ्गाउने छाँट काट छैन । जिल्ला समन्वय समितिका समन्वय प्रमुख धरम बहादुर जि.सी.ले अगुवाइ गर्नुपर्ने दायित्व हो । गरेका छैनन् । स्थानीय तह प्रमुखहरू कसैले पनि पहल कदमी लिएको पाइँदैन । जिम्मेवारी रहे पनि जिम्मेवारी बहन गरेका छैनन् । खोलामा अनावश्यक दोहन हुन रोक्नु प्रहरी, प्रशासन, सरोकारवाला निकायको दायित्व हो । रोक्नु पर्छ । तर,स्थानीय तहले ठेक्का निकालेर कानुनी प्रक्रिया अनुसार स्थानीय सरकारलाई कर तिरेर समेत सहज रूपमा निर्माण सामग्री निकाल्ने वातावरण बनाउन नसक्नु सरोकार राख्ने पक्षको लाचारी हो । जिल्लाका दर्जनौँ योजनाहरू नदीजन्य निर्माण सामग्री अभावले ठप्प हुने अवस्था हुँदा बेखबर जस्तो हुनु झन् ठूलो लाचारीपन हो । सेवाग्राहीलाई गर्ने अन्याय हो । विकास निर्माणको कार्यमा जिल्लालाई नै पछाडि धकेल्नु हो । स्थानीय तहहरूले वातावरण प्रभाव मूल्याङ्कनमा लाखौँ रुपैयाँ खर्च गरेर ठेक्का निकालेका छन् । कुन–कुन ठाउँबाट कति–कति मात्राका निकाल्न सकिन्छ ? भन्ने कुरा आईइइ रिपोर्टमा उल्लेख गरिएको छ । निकाल्न सकिने ठाउँहरूको सरोकारवाला निकायहरूको संयुक्त टोलीले अनुगमन गर्न सक्छ । त्यसपछि सहजीकरण गर्न सकिन्छ । गरेका छैनन् । स्थानीय तहहरूले घाटगद्धी गर्न सक्छन्। गरेका छैनन् ।

प्यूठानका ९ वटै स्थानीय तहले गिट्टी बालुवाको ठेक्का हरेक वर्ष निकाल्दै आएका छन् । तर, ठेक्का पारेका व्यवसायीले सहजै नदीजन्य निर्माण सामग्री उठाउन पाएका छैनन् ।

मान्छेले बेल्चा, फरुवाले निकालेर ट्याक्टर, टिप्पर भरेर बोक्दा प्रहरीले रोक्दैन । प्रविधिले फड्को मारेको आजको युगमा बेल्चाले लोड गरेर ट्याक्टर, टिप्पर भरेर काम गर्न निर्माण व्यवसायीलाई सम्भव हुँदैन । ठेक्का निकाल्ने निकायले पनि त्यसरी ठेक्का निकालेका हुँदैनन् । जिल्लामा दररेट बनाउँदा पनि त्यसरी मूल्य कायम गरिएको हुँदैन । यो कुरा धेरैले बुझेका छन् र पनि बुझ पचाइरहे जस्तो गरिरहेका हुन्छन् । खोलामा एक्स्काभेटर,जेसीबी, ट्याक्टर,टिप्पर देख्दा बित्तिकै आफ्नो निश्चित स्वार्थ पूरा नभएको निहुँमा प्रहरी, प्रशासनमा उजुरी गरेर जिल्लाको विकास निर्माणको गतिलाई नै अवरोध गर्ने गरी उजुरी गर्नु सरासर विकास विरोधी कार्य हो । कतिपय नागरिक अगुवाको नाममा यो कार्य समेत भएको पाइन्छ । यो राम्रो होइन । सुरुमा खोलाबाट निर्माण सामग्री स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार साबिकको जिल्ला विकास समितिले ठेक्का निकाल्थ्यो । जिल्लाभरमा झिमरुक र माडी नदिका विभिन्न नाकामा निकालेको ठेक्काले जिल्ला विकास समितिले राजस्व उठाउँथ्यो । २०६२/०६३ को आन्दोलनपछि तीन तहको सरकार बन्यो । त्यसपछि स्थानीय तहको सरकार कार्यान्वयन भयो । खोलाको नदीजन्य निर्माण सामग्रीको अधिकार स्थानीय सरकारमा गयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहहरूले कानुन अनुसार खोलामा वातावरण प्रभाव मूल्याङ्कन गरी ठेक्का निकाल्न थाले । उठेको राजस्व ऐन अनुसार प्रदेश सरकारलाई ४० प्रतिशत र स्थानीय तहलाई ६० प्रतिशत बाँडफाँड हुने ऐनमा व्यवस्था छ । प्यूठानका ९ वटै स्थानीय तहले गिट्टी बालुवाको ठेक्का हरेक वर्ष निकाल्दै आएका छन् । तर,ठेक्का पारेका व्यवसायीले सहजै नदीजन्य निर्माण सामग्री उठाउन पाएका छैनन् ।

जिल्लामा निर्माण सामग्री सहजरुपमा उठाउन नपाएको, जरिवाना तिरेको, अनावश्यक दुःख पाएको निर्माण व्यवसायीका अनगिन्ती गुनासा छन् ।

यस वर्ष जिल्लामा सबै भन्दा धेरै प्यूठान नगरपालिकाले १ करोड ५ लाख रुपैयाँ राजस्व बुझ्ने गरी व्यवसायीसँग गिट्टी बालुवाको ठेक्का सम्झौता गरेको छ । सहज रूपमा निकाल्ने वातावरण नगरपालिकाले समेत बनाउन सकेको छैन ।

निर्माण सामग्री अभाव झेलेका योजनाहरू

प्यूठान नगरपालिका –१ स्थित चेरनेटा–सालघारी – सोत्रे सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल अन्तर्गत एःबी कन्स्ट्रक्सन मार्फत निर्माण भइरहेको छ । यो सडकमा पलम, नाली, वाल निर्माणको काम सकेर ग्राभेलको लागि जेठ ११ गते निर्माण व्यवसायीले भलाबाङस्थित माडी नदीबाट निर्माण सामग्री उठाउँदै गर्दा प्रहरीले रोक्यो । यो घटनामा प्यूठान नगरपालिकाले ९ हजार जरिवाना गरायो । सडकमा हिजोआज निर्माण व्यवसायीले काम रोकेका छन् । अन्य काम सकेर (सब वेस) राख्नको लागि तयारी गरेको अवस्थामा प्यूठान नगरपालिका–४ स्थित एनसेल टावर–टारी– ढुंगेठाटी, बिजुवार–ढुंगेठाटी सडकको काम पनि निर्माण सामग्री उठाउन नपाएर रोकिएका छन् । निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय प्यूठान मार्फत पत्र लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । नगरपालिकामा धाएका छन् । तर, अझै निकास निस्केको छैन ।

झिमरुक गाउँपालिका – ७ स्याउली घारीमा निर्माण सामग्री उठाउन रोकियो । १५ हजार जरिवाना गराइयो । यहाँको पिँडाल्ने जाने पुल निर्माणको कामलाई अवरोध भएको निर्माण व्यवसायीको गुनासो छ । बाग्दुला – दम्ती सडक निर्माण गर्दा पनि अवरोध भयो । बिजुवार–थापा डाँडा जाने सडकमा काम गर्न सहज भएन । जेठ १० गते निर्माण व्यवसायीको टिप्पर झिमरुक गाउँपालिका – ३ लामासेरामा नियन्त्रणमा लिएर जरिवाना तिराइयो । जिल्लामा निर्माण सामग्री सहजरुपमा उठाउन नपाएको ,जरिवाना तिरेको, अनावश्यक दुःख पाएको निर्माण व्यवसायीका अनगिन्ती गुनासा छन् । यो आर्थिक वर्षको अन्त्य हुन करिब डेढ महिना मात्र बाँकी छ । तत्काल निर्माण सामग्रीको सहजता गराउन सकिएन भने दर्जनौँ योजनाहरू अधुरै हुने सम्भावना धेरै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...