


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनाको दाबी भुक्तानी गरेको छ । पछिल्लो २ महिनाको अवधिमा मात्र शाखाले एकैपटक तीन वटा मृत्यु दाबी र एक घातक रोग दाबी गरी ४ वटा दाबी रकम हस्तान्तरण गरेको छ ।
प्यूठान नगरपालिका–४ थापाडाँडाका ६१ वर्षीय देवबहादुर भण्डारीलाई मिर्गौला रोगबाट पीडित भएका कारण घातक रोग वापत १० लाख र मृत्युपछि थप १० लाख साथै बोनस ८२ हजार ५ सयसहित २० लाख ८२ हजार ५ सय भुक्तानी गरिएको कम्पनीका प्यूठान शाखा प्रमुख चुरामणी पौडेलले जानकारी दिए । भण्डारीले १२ वर्षे अवधिका लागि बीमा गरे पनि तिन किस्ता मात्र भुक्तानी गरेका थिए ।
त्यस्तै, सरुमारानी गाउँपालिका–६ बुढीचौरका ३६ वर्षीय ताल बहादुर पुनमगरलाई जण्डिस संक्रमणका कारण मृत्यु भएपछि . ४ लाखको बीमांक र बोनस बापत १३ हजार ८ सय गरी ४ लाख १३ हजार ८ सय दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । पुनमगरले १५ वर्षे बीमा अवधिमा पहिलो वर्षको किस्ता मात्रै तिरेका थिए।
मल्लरानी गाउँपालिका–३ बर्बोटका ४५ वर्षीय ठाकुर पौडेलको भारतमा रोजगारीको क्रममा हृदयघातका कारण मृत्यु भएपछि २ लाख ५० हजारको मृत्यु दाबी रकम र वोनस बापत ३३ हजार ३ सय ३३ रुपैयाँ गरी २ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ उपलब्ध गराइएको कम्पनीले जनाएको छ।१५ वर्षे अवधिको बीमा गरेका पौडेलले ४ किस्ता मात्र भुक्तानी गरेका थिए ।
बीमालेखनको सर्तअनुसार प्रिमियमको केही किस्ता मात्र भुक्तानी भए पनि, यदि घटना बीमा अवधिभित्र घटेको छ भने कम्पनीले सम्झौताअनुसार पूर्ण दाबी रकम उपलब्ध गराउने नीति अवलम्बन गर्दै आएको प्यूठान शाखाका प्रमुख पौडेलले बताए । उनले भने, “बीमा भनेको जीवनमा आउने अनपेक्षित संकटको क्षणमा आर्थिक सहारा हो, त्यसैले हामीले हकवालालाई समयमै भुक्तानी दिन प्राथमिकता दिएका छौं।” उनका अनुसार ४ बीमा दावीमा २७ लाख ७९ हजार ६ सय ३३ रुपैयाँ कम्पनीले भुक्तानी गरेको जनाएको छ । समयमै भुक्तानीले ग्रामीण क्षेत्रमा बीमाप्रति विश्वास बढाउने र थप नागरिकलाई बीमा कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ पौडेलले बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनामा समयमै दाबी भुक्तानी गर्दै आएको बताएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

