

२०८२ पाैष २४ गते आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।
निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।
काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।
साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् । माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने छ । ४० दिनमा उनीहरुले चौतिस हजार सात सय छयत्तर रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न आठ सय छ्यालिस रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












