News Portal

रेडियो सुन्नुहोस्

खुसी र पिडाको त्यो एकै दिन “भाद्र १४”

नोमराज पौडेल १७ भदौ २०७७
१४२६ पटक
१७ भदौ २०७७

अहिलेको बर्तमान परिस्थिति निकै जटिल छ। जिल्लामा बढ्दो कोरोना संक्रमणले भयावहको रुप लिन्छ कि भन्ने त्रास बढिरहेको छ। कोरोनाको समस्या एक ठाउँमा कायम रहँदै गर्दा यसका कारणले समाजमा अन्य समस्या पनि सिर्जना हुन थालेका छन्।
राज्य अहिले कोरोना भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा केन्द्रित छ। तीन वटै सरकार संघ, प्रदेश र स्थानिय सरकारले अन्य गतिबिधि भन्दा कोरोना संक्रमणबाट बच्नका लागि के गर्न सकिन्छ भन्ने बिषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। यो राज्यको सहि कदम पनि हो।
कोरोनाका कारणले आर्थिक, सामाजिक ,भौतिक, साँस्कृतिक लगाएतका विविध क्षेत्रमा असर पारेको छ। यि समस्या कोरोना भाइरसका कारण मानिसको स्वास्थ्य भन्दा ठूला नभएता पनि यसको दिर्घकालिन असर भने निकै हुँदो रहेछ। देश पुर्ण रुपमा लकडाउन भएको गत चैत्र ११ गते देखि हाल सम्म आइपुग्दा ५ महिना पुरा भएको छ। यो वीचमा कोरोनाका कारण अर्थतन्त्र धरासायी त बनेकै छ। साँझ विहान छाक टार्न गाह्रो हुने श्रमजीविहरुको त बेहाल नै हुने देखिन्छ भने बैदेशिक रोजगारमा गएर जीविकोपार्जन गरिरहेकाहरुलाई के खाने भन्ने बिषयले पिरोल्न थालेको छ।

शकंर परियारलाई जुम्रीबाट काठ्माण्डौं पठाउँदा हाम्रो तर्फबाट रु पाँच हजार शकंरको दाई सागर परियारलाई हस्तान्तरण गरिदै

नागरिकका हरेक सवाललाई उठाउनु हामी पत्रकारहरुको दायित्व हो। विशेष गरि नागरिकका समस्याहरु राज्यसम्म पुर्याउने र राज्यले दिने सेवा सुविधा देखि संचालन गर्ने कार्यक्रमहरु नागरिक स्तरसम्म जानकारी दिई आपसमा पुलको रुपमा काम गर्नुपर्ने दायित्व पनि हामीमा छ। मैले करिब ११ बर्ष अघिबाट श्रमजीविहरुको पक्षमा कलम चलाउँदै उनीहरुको हक अधिकारको निम्ति धेरै आवाज उठाई रहेकै छु। मैले र म आवद्ध मिडिया लिस्ने जनसञ्चार साप्ताहिकको कार्यकारी सम्पादक तथा सिखबर.डट.कमको सम्पादक भएको हुनाले म र मेरो टिमले विभिन्न समयमा नागरिकको जटिल समस्यालाई आम नागरिक सम्म ल्याएर समस्या समाधान गर्ने प्रयास स्वरुप अभियान पनि संचालन गरिरहेकै छौं। विकास निर्माणमा भएका अनियमितताका बिषय देखि किसान , मजदुरका समस्या पनि उठाईरहेकै छौं। यो धेरैलाई अवगत नै छ।
हामी माक्र्सबादलाई आत्मसात गर्ने श्रमजीवि पत्रकारहरु पनि हौं। गरिब ,किसान ,मजदुर असहाय तथा निमुखा बर्गका मान्छेकै नेतृत्वमा राज्य संचालन हुनुपर्दछ र शासकहरुले यिनै गरिब ,किसान ,मजदुर असहाय तथा निमुखाको पक्षमा राज्य संचालन गरेको हुनुपर्दछ भन्ने मान्यता राख्ने दर्शन नै माक्र्सबादी दर्शन भएकोले यहि विचारलाई आत्मसात गरि कलम चलाईरहँदा कलमकै माध्यमबाट यस्तै गरिब ,निमुखा नागरिकको ज्यान बचाउन म लगाएत मेरो टिम लागिरहेकै छ। २२ बर्ष देखि कुकुर बाँध्ने साङ्लोले बाँधिएर बसेका चुजाँका मेघ बहादुर के.सीको उद्धार होस् वा फोप्लीकी १० बर्षिय बालिका शोभी पुन होस् वा प्यूठान नगरपालिकाका ८ को ९ महिनाको प्रकाश नेपाली होस् वा खैराकी सुनिता नेपालीको होस् वा खुट्टाको क्यान्सरबाट पिडित चुजाँकै ६० बर्षिय किर्तिमान नेपालीलाई समाचार लेखेर धेरै सहयोगीदाताहरुको सहयोगमा बचाएको एक दुई बर्ष भन्दा बढि भएको छैन्। यि बिषयमा हामीले पहिले पनि चर्चा गरिसकेका छौं।
श्रमजीवि दुखी गरिब निमुखा नागरिकको समस्या हाम्रो नजरमा पर्दछन्। श्रमजीवि कै पक्षमा बढि बोल्ने,लेख्ने वैचारिक धरातल भएकै हुँनाले पनि हुन सक्छ हामीले यि नागरिकको समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्ने प्रयास गरिरहेका छौं।
आज तपाईहरुको माझ यहि श्रावण २४ गते देखि भदौ १५ गते सम्म करिब एक महिनाको बीचमा केहि अत्यन्तै निम्न वर्गका नागरिकको समस्यालाई कलमको माध्यमबाट समस्या समाधान गर्ने कोसिस गरेको अनुभूतिको बारेमा जानकारी गराउँदै छु। यो किन पनि भन्न मन लाग्यो भने यो कोरोनाको जटिल परिस्थितिमा हामीले निकै पिडामा भएका केहि ब्यक्तिहरुको समस्यालाई लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर डट कम अनलाईन मार्फत सार्वजनिक गरि यो आर्थिक मन्दीको बेला सहयोग गर्ने सहयोगी मनहरुलाई हौसला र सबैलाई एउटा सिकाई पनि हुन सक्छ भन्ने मनसायले यो अनुभूतिजन्य लेख कोर्न खोजेको छु ।
यहि मिति २०७७ श्रावण २३ गते नौबहिनी गाउँपालिका वडा नं. ८ फोप्लीमा घर पोत्ने माटो लिन जाँदा गाउँका २ जना एक महिला र एक बालिका पुरिन्छन्। खनिरहेको माटोको ढिस्को भत्किए पनि उनीहरु बाहिर निस्कन खोज्दा बाँच्न सफल त हुन्छन्। तर दुवैजनाको खुट्टा भाँचिन्छ। उनीहरुलाई स्थानियहरुको सक्रियतामा एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बिजुवार ल्याइएता पनि दुवै जनाालाई जिल्ला अस्पताल बिजुवारमा उपचार सम्भव नभएपछि डाक्टरले बाहिर राम्रो अस्पतालमा पठाउन सिफारिस गर्दछन्।
महिलाको घरको आर्थिक स्थिति राम्रो हुन्छ उनलाई उनको आफन्तले वुटवल लैजान्छन्। छिमेकी एउटै गाउँ थर पनि एउटै आफन्त पर्ने एक महिला वुटवल गईन उनको एउटा खुट्टा मात्र भाँचिन्छ तर उनी संगै माटोमा पुरिएर खुट्टा भाँचिएकी अर्की बालिकाको दुबै खुट्टा भाँचिएको हुन्छ तर उनको आमा पनि थिईनन्। बुवा भारतमा कोरोनाका कारण बेरोजगार बनी बसेका छन्। उनलाई उपचार गर्ने पैसा नभएपछि बिजुवार अस्पतालको बेडमा छोडेर अर्कोसंगै खुट्टा भाँचिएको महिलालाई आफन्तले बुटवल लगेर जान्छन्। नौंबहिनी गाउँपालिका वडा नं ८ फोप्लीकी १२ बर्षिय सुस्मिता नेपाली आर्थिक अभावले अस्पतालको बेडमा छट्पटिएकी थिईन्।  उनको एकरात अस्पताल मै बित्यो। उनको हजुरआमाले उनलाई बुटवल लैजाने कुरै भएन्। आफुसंगै खुट्टा बाँचिएकी साथी बुटवल उपचारमा गईसकेकी थिईन। अर्को दिन श्रावण २४ गते लिस्ने जनसञ्चार साप्ताहिकका ब्यवस्थापक बोम बहादुर परियार र सिखबर डट कमका अध्यक्ष तथा पत्रकार महासंघ प्युठानका सह सचिव हरि भण्डारी बिहान मर्निङवाक गर्दै अस्पताल पुग्नुभएको थियो। उहाँहरुले सुस्मिताको बिषयमा अस्पतालमा कार्यरत डा. सुनिल सुनारबाट थाहा पाउनु भयो। त्यो खबर बोम बहादुर परियारले मलाई जानकारी गराउँनु भयो। एउटै गाउँको बिरामी एउटा एम्बुलेन्समा बुटवल गइसकेको छ , अर्को आर्थिक अभावले अस्पतालको बेडमा। हामीलाई यो बिषयले निकै छोयो। हरि जी त एउटै गाउँको उहाँले जसरी नि सुस्मितालाई बचाउँने भन्नुभयो। उनलाई हरि जीले हामी केहि गछौं है नआत्तिनु भनेर न्युज लेख्न सुरु गरियो। उनको दुबै खुट्टा भाँचिएको हुनाले अप्रेशन गर्नुपर्ने अवस्था थिया।े खर्चको एकिन भएको थिएन तर हामीले सधै जसो लेखेको समाचार र चलाएको अभियानलाई माया गरि सहयोगीदाताहरुले सहयोग गरिदिनुहुन्छ कि भन्ने आशा त थियो नै । सुस्मिताको बिषयमा सिखबर डट कम अनलाईनमा समाचार प्रकाशन भयो। लिस्ने जनसञ्चार साप्ताहिकमा पनि राखियो। पत्रिका र अनलाइनको आधिकारिक फेसबुक पेजमा राखेर सहयोगको अपिल गरियो। हाम्रो समाचारलाई देखेर लुम्बीनी सिटी अस्पताल बुटवलले सबै उपचार फ्रि गर्ने घोषणा गर्यो। हामीलाई निकै खुसी लाग्यो। केहि दाताहरुको सहयोगमा एम्बुलेन्स खर्च पनि जुट्यो। सुस्मिताको बुटवलमा उपचार हुँदै थियो।

बुटवलमा दुवै खुट्टाको अप्रेसन गरि फर्किएकी सुस्मितालाई उनको घर फोप्लीमै स्टेचरमा बोकेर घर सम्म पुर्याउँदै पत्रकार हरि भण्डारी ।

त्यस्तै मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी १५ बर्षिय शकंर परियारको बिचल्लीको खबर चुजाँका समाजसेवी पोम बहादुर सार्कीले बताउनुभयो। यो श्रावण २६ गतेको कुरा हो। सोहि दिन नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष ईमान सिंह भारतीले मलाई फोन गरि शकंर परियार अत्यन्तै गरिब भएको भन्दै केहि पहल गर्न अनुरोध गर्नुभयो। उनको बिषयमा २ जनाबाट जानकारी पाएपछि श्रावण २७ म जिल्ला अस्पताल बिजुवार पुगे। उनलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो। उनको बिषयमा मैले आधारभुत जानकारी इमान सिंह भारती सरबाट थाहा पाए पनि बिरामी शकंरसंग संगै आएका उनका दाई सागर परियारलाई पनि उनको अवस्था बारे बुझे । उनी भारतमा सामान्य जागिर गर्ने युवक रहेछन्। भाईको बुटवलमा उपचार गरेर एक लाख पचास हजार खर्च गरिसकेको बताउने सागरलाई जिल्ला अस्पताल बिजुवारले पहिले एक पटक फर्काईसकेको रहेछ। बुटवलमा उपचार सम्भव भएन। जिल्ला अस्पताल बिजुवारमा पनि सम्भव भएन। भएभरिको पैसा सकियो। निरास भएर घर फर्किसकेका सागरले भाईले अचानक बान्ता गरेपछि फेरि घरबाट राति ११ बजे जिल्ला अस्पताल बिजुवार ल्याएका थिए। अस्पताल लैजाउन पैसा छैन्। नलैजाउँ भाईलाई घर राख्नै सकिदैन। बान्ता गरिरहन्छ। भाईको अवस्था देखेर ६० बर्षिय आमा रुनुहुन्छ। बुवाको पहिले नै निधन भएको हो। घरमा भएका भैसी बाख्रा बेचेर उपचार गरेका सागरले भाईको अबस्था नाजुक देखेर केहि कम हुन्छ कि भनी पहिले नै बाहिर जानुस् भनेको अस्पताल बिजुवारमा ल्याएको बताए। उनको त्यो बेदना मैले सुने। लकडाउनको समय छ । बुटवलसम्म उपचार सम्भव छैन्। भाई शकंरले मलाई बचाउनुस् दाई भनेर रुन्छ। सुस्मिताको बुटवलमा उपचार भैरहेकै थियो। कति जनालाई गर्न सकिन्छ भन्ने पनि मनमा लागिरहेको थियो। एम्बुलेन्सको रकम पनि नतिरेको, गाउँको एक जना दाईको गाडीमा आएको उसलाई पनि रकम नतिरेको र आफुसंग पाँच सय रुपैयाँ नभएको बताउँदा मेरो मन अन्यन्तै दुखि भयो। सोचे यो कलिलो भाईलाई बचाउँनुपर्छ। २७ गते दिउँसोको १ बजेको थियो। शकंर र सागरले खाना खाने पैसा समेत नहुँदा खाना खाएका रहेनछन्। उनलाई नजिकको होटलमा मैले पैसा तिर्ने सर्तमा खाना खान भनेर म डाक्टरसंग परामर्शमा लागे। डा. सुनिल सुनारलाई भेटे उहाँले पहिले पनि आफैले हेर्नुभएको रहेछ। उहाँले मैले पहिले नै हाइयर सेन्टरमा जान भनेको हुँ त भन्नुभयो। डाक्टर सुनिल सुनारलाई मैले उहाँहरुसंग पैसा नै रहेनछ , केहि उपाय गर्नुपर्यो भनेर आग्रह गरे। हजुरले १ दिन राख्दिनुपर्यो भने। डाक्टर सुनारले जतिबेला पनि केहि हुन सक्छ यहाँ सम्भव नै छैन भन्नुभयो। मैले यो भाईलाई पैसा नभएर कसरी मर्न दिने डाक्टर साव मैले हाम्रो मिडियामा न्युज लेख्छु। केहि पैसा जम्मा भयो भने बचाउँन सकिन्छ कि, नत्र ऊ मर्छ।


यो भनेपछि डा. सुनिल निकै सिरियस हुनुभयो। २० हजार जति खर्चमा पाल्पा हुन सक्छ कि भनेर पाल्पा आफु भन्दा सिनियर डाक्टरसंग उसको समस्याको बिषयमा जानकारी गराउँनुभयो। करिब ३० मिनेट सम्म भएको कुरा अनुसार पाल्पा पनि नहुन सक्ने निचोड उहाँहरुले निकाल्नुभयो। अन्तिममा मैले डाक्टर साव मर्न नदिउ तपाईले १ दिन राख्नुस् म केहि कोसिस गर्छु भने। उहाँले तपाईको कुरालाई मैले माने केहि गर्नुस त भन्नुभयो। डाक्टर सुनिलले निकै प्रयास गर्नुभयो तर उपाय लागेन बिकल्प पैसा जुटाउने बाहेक रहेन। त्यसको लागि जति सक्दो छिटो न्युज बाहिर ल्याउने र सहयोगी मनको प्रतिक्षा गर्ने थियो। सोहि अनुसार मैले हाम्रो टिममा सल्लाह गरे। पत्रकार महासंघ प्रदेश नं. ५ को उपाध्यक्ष तथा यसै लिस्ने जनसञ्चार साप्ताहिकको प्रधान सम्पादक दीपा पौडेल, हरि भण्डारी, बोम बहादुर परियार र नोमराज शर्मासंग सल्लाह गरेर सबैले न्युज लेखियो। दीपा जीले स्वास्थ्यखबरमा पनि उसको बिषयमा समाचार प्रकाशन गर्नुभयो। लिस्ने जनसञ्चारको फेसबुक पेज ,सिखबर डट कम अनलाइनमा समाचार आयो। हाम्रो अनलाईनबाट अन्य मिडियाहरुले समेत साभार गरेर न्युज लेख्नुभयो। शकंरको छिमेकी वडा मल्लरानी २ नम्बरका समाजसेवी यम बहादुर के.सीले फोन गरेर हामी छिमेकी वडाको बिषयमा थाहा पायौं अभियान संचालन तत्कालै सुरु गरि भोली सम्म पचास हजार दिन्छौं अरु हजुरहरुको जिम्मा भन्नुभयो। न्युज राखेको १ घण्टा पनि नबित्दै पचास हजार आउने भएपछि मैले अरु पैसा जुट्ने आशा गरे। जिल्ला अस्पताल बिजुवारका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पन्थी सरलाई शकंरको बारेमा जानकारी गराए। उहाँले न्युज हेरिसकेको बताउनुभयो। उहाँलाई हामी पैसा जुटाउँछौं यसलाई काठ्माण्डौं सम्म जाने एम्बुलेन्स बनाईदिनु पर्यो भने। उहाँ पहिले कहाँबाट म्यानेज गर्ने भन्नुभयो। मैले के तपाई हाम्रो अगाडि मर्न दिउ त सर,नत्र कसरी सकिन्छ मिलाउ सर भनेपछि अस्पतालले संचालन गर्ने एम्बुलेन्समा निःशुल्क पठाउने व्यवस्था उहाँले मिलाउनु भयो । म संग भएको पाँच हजार पनि दिएर उसलाई काठ्माण्डौं पठाउने निर्णय हामीले गर्र्याै। एम्बुलेन्समा पाँच हजार सहित पठाइयो। न्युजले ब्यापकता पाएको थियो। सुरुमा वीर अस्पतालमा लैजाने भनेपनि काठ्माण्डौं नपुग्दै योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्द राज पोख्रेलसंग मेरो कुरा भयो। उहाँले टिचिङमा लैजान आग्रह गर्नुभयो। सोहि अनुरुप टिचिङमा शकंरलाई लैजाने काम भयो। काठ्माण्डौंमा रहनुभएका मेरा आत्मीय साथी गिरेन्द्र नेपालीलाई मैले फोन गरे। उहाँहरुलाई चन्दा उठाएर पठाएका छौं। आवश्यक पैसा पठाउँछौं, जुट्दै छ। तपाईले सहयोग गर्नुपर्यो। उहाँले मैले गर्न सक्ने सबै गर्छु भनेर टिचिङ जानुभयो। अस्पतालमा उसको बिषयमा न्युज देखाउने देखि लिएर सबै जानकारी गराएर भर्ना गर्नुभयो। डाक्टर गोबिन्द राज पोखरेलले पनि भनेको बताउनुभयो। शकंरलाई काठ्माण्डौं पठाएर उनीहरु नपुग्दै बुटवलबाट सुस्मितालाई अस्पतालले डिस्चार्ज गर्यो र राति ९ बजे जुम्री एम्बुलेन्सले लियो। हाम्रो टिमका हरि भण्डारीले शकंरको बिषयमा ख्याल गर्न हामीलाई आग्रह गर्दै घरै सम्म पुर्याउन जानुभयो।
हामीलाई निकै प्रेसर थियो। दुईवटा बिरामीलाई कसरी पैसा जुटाएर बचाउँने । सुस्मिताको समस्या सकिएर फर्किएकै दिन शंकर परियार काठ्माण्डौं पुगे। टिचिङमा शकंरको अप्रेसन निःशुल्क हुनेभयो। शकंरलाई आमासयमा गम्भिर किसिमको समस्या देखिएको थियो। डाक्टरहरुका अनुसार उनलाई पेटभित्रको आमाशयको संक्रमण -Necrotising poncreatitis with pseudocyst भएको रहेछ । यो निकै गम्भिर किसिमको रोग रहेछ। उनको निःशूल्क अप्रेसन हुने भएपछि धेरै पैसा नलाग्ने अनुमान हामीले गरेका थियौं। धर्मावतिबाट एउटा संस्था र अन्य केहि ब्यक्तिहरुको सहयोगमा उनको उपचारको लागि करिब एक लाख पाँच हजार जति रकम जुटेको थियो। त्यहि रकम मैले पठाए। दिनमा ४ देखि ८ हजार सम्म औषधी लागे पनि यहि पैसाले उसलाई पुग्ने भयो।
शकंरको उपचार टिचिङमा हुँदै थियो। सुस्मिता घरमा आराम गरिरहेकी थिईन। यहि भाद्र ११ गते डाक्टर सुनिल सुनारले पत्रकार बोम बहादुर परियारलाई फोन गर्नुभयो। हामी पत्रिकाको अफिस मै थियौं। उहाँले एक जना बालक पैसा नभएर उपचार हुन नसक्दा अचेत अवस्थामा छ आउनुपर्यो। नोमराज सरको फोन लागेन भनेको बोम बहादुरले सुनाउनुभयो। मैले सोचे कसरी सम्भव होला र ? अनि बोम बहादुरले दाई केहि सकिन्छ कि जाउँ भनेर केहि काम भएको भन्दै बाहिर निस्कनुभयो। म बाइक लिएर अस्पताल गए। जिल्ला अस्पताल बिजुवारको अन्तरंग बिभागको २ नं. बेडमा बच्चा अचेत अवस्थामा पल्टिएको छ। हातबाट सलाईन दिएको छ। सास फेरिरहेको छ। म पुगेपछि यो बच्चाको आफन्त को हो भनेर सोधे। अनि बाहिरबाट एक जना बहिनी आउनुभयो। मैले उहाँलाई तपाईको को हो भन्दा भाई भन्नुभयो। को को आउनुभएको हो भनेर मैले फेरि प्रश्न गरे आमा आउनुभएको थियो, भएको पैसा पनि सकियो। आमा टेन्सनले राति देखि भाग्नुभयो। सम्पर्कमा हुनुहुन्न आउनु पनि भएको छैन्। म अचम्म परे जन्म दिने आमा पनि बच्चा छोडेर हिडेको छ। दीदीसंग एक रुपैयाँ पनि पैसा छैन्। मोवाइल नम्बर दिनु त भनेर सोधे मैले, तर नम्बरै थाहा रहेनछ। मैले मेरो नम्बरमा डायल गर्नु त भने डायल गर्ने पैसा पनि मोवाइलमा छैन। अचेत बालकलाई डाक्टरले दुई दिन देखि नै बाहिर लैजान भनेको आर्थिक अभाव भएर नलगेको रहेछ। मैले बाबुको नाम के हो भने थारुप थापामगर ,मसिनो स्वरमा भनेकी थिईन थारुप थापामगर मैले तपाईको नाम के हो नि भनेर सोधे लक्ष्मी थापामगर नआत्तिनु तपाईको भाईलाई हामी उपचार गर्ने पैसा जुटाउँछौं। उनी रुन थालिन। दुई बर्षको भाई आमा पैसा नभएर टेन्सनले राति २ बजे देखि भाग्छिन्। कस्तो हुन्छ मन तपाई हामीले कल्पना गरौं त ? मेरो मन अति छियाछिया भयो। मैले डाक्टर सुनिल सुनारसंग थप जानकारी लिन फोन गरे। डाक्टर सुनार आउनुभयो। उहाँले तुरुन्तै बाहिर लैजानुपर्छ मैले २ दिन देखि लैजानुस भनेको छु। उहाँहरु संग पैसा छैन। प्रकाश फर्ममा मैले आफै औषधी किनेर भर्ना गरिदिएको हो। तपाईलाई फोन गरेको थिए लागेन बोम बहादुर परियारलाई फोन गरेर जानकारी गराएको थिए। लौन केहि उपाय निकाल्न सकिन्छ कि ?। सुनिल डाक्टरले भन्नुभयो।

जिल्ला अस्पताल विजुवारमा अचेत अबस्थामा दुई बर्षिय थारुप

कोरोनाको महामारी छ। अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएर आकस्मिक बाहेकका सेवा बन्द छन्। दुई वटा बिरामीको भर्खरै उपचार भैरहेको छ। माण्डवी गाउँपालिका वडा नं. १ का दुई बर्षिय थारुप थापामगर बेडमा पैसा नभएर पल्टिरहेका छन। उनकी दिदी लक्ष्मी थापामगरले अचेत भाईको मुख मसारेर खाना नखाई रुदै बसिरहेकी छन्। लाग्छ यस्तो गरिबीको पिडा कसैलाई नपरोस् तर आफ्नै अगाडि यस्तो अवस्था छ। मन नमिठो बनाउँदै कसरी बचाउने होला भनेर सोच्दै डाक्टरसावलाई न्यु ज लेख्छौं पैसा जुटाएपछि फोन गर्छु डाक्टर साव आफै औषधी किनेर सहयोग गर्नुभएको रहेछ धन्यवाद भने। किन कि कोरोनाको महामारी छ स्वास्थ्यकर्मीहरु संक्रमित छन्,उहाहरुँको आत्मबल पनि त बढाउनु छ। डाक्टर सुनिलले हस नोमराज सर यसलाई बचाउँ भन्नुभयो। मैले सुरुमा भिडियो सहितको न्युज प्रकाशन गर्ने सोचे र भिडियो खिच्न बोम बहादुर परियार भाईलाई बोलाए। मैले बच्चाको बिषयमा केहि कुराहरु जानकारी गराउँदै उनको दिदी संग कुराकानी गरेर सबैलाई सहयोगको लागि आग्रह गरे।अस्पतालबाट फर्किएर हाम्रो टिममा सल्लाह भयो। दीपा पौडेलले सबै बुझेर न्युज लेख्न सुरु गर्नुभयो। हरि भण्डारी पनि आउनुभयो। मैले माण्डवी गाउँपालिका निवासी पनि भएकोले समाजसेवी हरि बस्नेतलाई जानकारी गराएर पत्रिकाको अफिस बोलाए। उहाँले पनि सबै जानकारी पाउनुभयो। दीपा पौडेललको बाइलाइनमा सिखबर अनलाईनमा न्युज राखियो। दीपा जीले स्वास्थ्य खबरमा पनि राख्नुभयो। नोमराज शर्माले लिस्ने जनसञ्चारको फेसबुक पेज र आइडीमा राख्नुभयो। बोम बहादुरले आफ्नो मिठो युट्युव च्यानलमा राख्नुभयो। त्यस्तै मधुसुदन पोख्रेलले आफ्नो आवाज पोष्ट अनलाईनमा राख्नुभयो। १ घण्टा नबित्दै बुटवल सम्मको एम्बुलेन्सको ब्यवस्था भयो। माण्डवी गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक बसेर एम्बुलेन्स खर्च र बिस हजार नगद दिने घोषणा गर्यो। देश बिदेशबाट फोन आउन सुरु गर्यो बेलायतबाट, जापानबाट, कोरियाबाट, दुवै , भारत लगाएतका देशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीले सक्दो रकम सहयोग गर्ने घोषणा गर्नुभयो। हामीले हरि भण्डारीको फोन र मेरो फोन नम्बर दिएका थियौं। पाँच घण्टामा ८० हजार जति रकम संकलन हुने भयो । अर्को दिन बिहानै हामीले उनलाई बुटवल पठाउने निधो गरेर समाजसेवी हरि बस्नेतलाई लगेर जान आग्रह गरियो। पाँच कक्षा मात्र पढेकी दुई बर्षिय थारुपको दीदी लक्ष्मी थापामगरले बुटवलसम्म पुगेर भाईको उपचार गर्न सक्ने अवस्था देखिएन। उनी हामीलाई देख्ना साथ रुन्थिन। आमालाई खोज्नको लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख नरेन्द्र काकीलाई मैले खबर गरिसकेको थिए। प्रहरीले सबै यूनिटमा खबर गर्यो। उनको खोजी सुरु गरेको हामीले जानकारी पायौं। हरि बस्नेत सर जान तयार हुनुभयो। हामी बच्चालाई छिटो भन्दा छिटो बुटवल एन आई सि यु भएको अस्पतालमा पठाउने तयारीमा थियौं। हरि बस्नेत , बालकको दीदी र तिरामबाट बालकको सानाबा पनि जाने निधो गरि बिहानै जिल्ला अस्पताल बिजुवारमा म सहित हरि भण्डारी , हरि बस्नेत, बोम बहादुर परियार पुग्यौं । बालकको अवस्था अस्थिर नै थियो। एम्बुलेन्समा राखेर म संग भएको पच्चिस सय रुपैयाँ लक्ष्मीलाई दिएर पठाईयो। हरि बस्नेत सर हात हल्लाउँदै जानुभयो। निकै खुसी लागेको थियो। दुई वटा बिरामीको उपचार गर्न सफल भएका हामी तत्कालै अर्को बिरामीको पनि उपचार गर्न सक्ने अबस्था भएको थियो। हामीलाई निकै फोन आएको थियो। रकम एक लाख जति जुट्ने पक्का भयो। हरि बस्नेत पनि बुटवल पुग्नुभयो। सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल जानुभयो त्यहाँ कोरोनाका कारण जाँदा बित्तिकै सिल भएको खबर बस्नेत सरले बताउनुभयो। अनि मैले आम्दामा लैजान आग्रह गरे। त्यहाँ एन आई सि यु नभएकोले भैरहवा लैजानुपर्ने बताउनुभयो। अनि हरि जी भैरहवा मेडिकल कलेज जानुभयो। त्यहाँ पनि एकै दिन १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले भर्ना लिन मानेन्। म निकै तनावमा परे पहिले पैसा भएन पैसा जुटाईयो तर अस्पतालले भर्ना लिदैन। भैरहवाबाट फर्किदै गर्नुस मैले केहि उपाय खोज्छु भनेर हरि बस्नेत सरलाई फोन गरे। उहाँ बुटवल फर्किन लाग्नुभयो। मैले सुस्मिताको निशुल्क उपचार गरेको अस्पताल लुम्बीनी सिटी अस्पतालका ब्यवस्थापक बसन्त जि.सीलाई फोन गरे। उहाँले निकै राम्रो रेस्पोन्स गर्नुभयो। उहाँले बुटवल आएपछि सल्लाह गरौं भन्नुभयो। त्यहि वीचमा पहिले यस्तै विरामीको उपचार गर्न प्युठान अस्पताल रहँदा काम गर्नुभएका एम डि जि पि डा. समिर लामालाई फोन गरे। उहाँ चितवन हुनुहुन्थ्यो। उहाँले आम्दामा सिनियर डाक्टरलाई फोन गर्ने बताउनुभयो। उहाँले आम्दामा कार्यरत डाक्टर सन्तोष पोख्रेललाई फोन गरि आइसियुमा राखेर उपचार गर्ने त्यसपछि भेन्टिलेटरमा राख्ने अवस्था आएमा काठ्माण्डौं लैजान सकिने बताउनुभयो। हरि बस्नेतलाई मैले समिर डाक्टर साव संगको सल्लाह अनुरुप आम्दामा पुन लैजान आग्रह गरे। आम्दामा डा. सन्तोष पोख्रेलको सक्रियतामा भर्ना गरि दुई बर्षिय बालकको उपचार सुरु भयो। हामी संग कुरा गर्दा रोएर कुरा नगर्ने थारुपको दिदी लक्ष्मीले बुटवलमा डा. पोख्रेलसंग भाई ७ दिन अगाडि घरको सिँढीबाट लडेको बताईन्। बिजुवारमा डा. सुनिलले मेनिन्जाइटिस (दिमागको ज्वरो)को आशंका गर्नुभएको थियो। तर बुटवल जाँदा बच्चा लडेको र अचेत भएकोले टाउकाको सिटी स्क्यान गरियो। थारुपको उपचारको लागि पैसाको अभाव नहुने सहयोगी दाताहरुको भनाईबाट हामी ढुक्क थियौं। ४ दिन सम्म अचेत बालकको सिटी स्क्यान रिर्पोट निकै खराव आयो। उनको दायाँपट्टीको मस्तिष्क पुरै ड्यामेज भएको र सुनिएर अर्कोतर्फ पनि काम गर्न छोड्न लागेको। आम्दा अस्पतालले रिर्पोट राम्रो नआएपछि न्युरोसम्बन्धि बिशेषज्ञलाई देखाउन आग्रह गर्नुभयो। हामीले लुम्बिनी सिटी अस्पतालका न्यूरो सर्जन डाक्टर सुदिप राज सिंहलाई रिर्पोट पठाईयो। यो काम लुम्बीनी सिटी अस्पतालका ब्यवस्थापक बसन्त जि.सीले गर्नुभएको थियो। डाक्टर संग बसन्त जि.सीले कुरा गरेपछि उहाँले मलाई केहि नभनी डाक्टरसंग कुरा गर्न आग्रह गर्नुभयो। मैले डाक्टर सुदिप संग कुरा गरे। रिर्पोट अनुसार बच्चालाई कुनै पनि हालतमा बचाउन नसकिने र जहाँ लगेपनि केहि उपाय नभएको बताउनुभयो। म निकै निरास भए। उसलाई बचाउँनको लागि म सहित हाम्रो टिमले निकै मेहनत गरेको थियो। धेरै देशबाट सहयोग पनि आएको थियो। मैले चितवनमा रहनुभएका डाक्टर समिर , बिजुवार अस्पतालमा आफुले पैसा तिरेर उपचार गर्नुभएका डा. सुनिल, न्यूरो सर्जन डा. सुदिप र आम्दाका बरिष्ठ डा. सन्तोषलाई यो बिषयमा छलफल गर्न आग्रह गरे। उहाँहरुले रिर्पोट हेरेर छलफल गर्नुभयो। कुनै पनि उपाय नभएको उहाँहरुले निश्कर्ष निकाल्नुभयो। हामीलाई थाहा भयो कि बालक बाँच्दैन्।

२ बर्षिय थारुपको आम्दा हस्पिटल वुटवलमा सिटी स्क्यान हुँदै गर्दा

हाम्रो टिम निकै निरास पनि भयो। सहयोगी मनहरुको फोन आईरहेको थियो। उहाँहरुलाई के भन्ने हामी दोधारमा परेका थियौं। निश्कर्ष निकालियो कि अहिलेलाई रकम छ आवश्यक परेमा जानकारी गराउँछौं। उता भदौ १४ गते बिहानै टिचिङमा उपचार गराईरहेका शकंर परियारको दाई सागर परियारले फोन गर्नुभयो। हामीलाई डाक्टरले घर जान भन्नुभयो। हामी आज फर्किन्छौं दाई । मैले बधाई छ भन्दै शुभयात्रा राम्रो संग आउनु भने। यता वुटवल दुई बर्षिय थारुपको उपचार भैरहेको थियो। भदौ १४ गते दिउँसो २ बजे बच्चाको निधन भएको आम्दा अस्पतालले घोषणा गर्यो। निकै पिडादायी खबरले हामीलाई निकै दुःखी बनायो। हामीले न्युज हाम्रा मिडियामा राखियो।

सहयोगीदाताहरु पनि निरास हुनुभयो। उता शकंरको दाई सागरले जसरी नि भेट्ने कुरा गरेका थिए। एउटा बिरामी काठ्माण्डौंबाट निको भएर फर्किएर आउँदै छ अर्को बिरामीको निधन भयो। त्यो पनि एकै दिन। हामी टिम बाँडिएर म र हरि भण्डारी दुई बर्षीय थारुपको अन्तिम दाह संस्कारमा पुगियो। भने यता दीपा पौडेल ,बोम बहादुर र नोमराज शर्माले शंकरलाई भेटि निको भएर आएकोमा बधाई दिदै खुसी साटे। हामीले दाताहरुले दिएको रकम स्वर्गिय थारुपको आमा श्रीमान मितेको ९ महिना भएको , आर्थिक अभावले छोराको उपचार गर्न नसक्दा पिडाले मानसिक समस्या समेत भएकोले उनको उपचारको लागि दिने निधो त्यहि जानकारी दिएर विजुवार फर्कियौं। कस्तो संयोग हाम्रा लागि शंकर उपचार गरेर फर्किदा हामी खुसी भयौं तर थारुपको निधन भयो। हामी निकै दुखित भयौं। हाम्रा लागि यो दिन खुसी र पिडाको दिन भयो। हो भदौं १४ हाम्रा लागि अविष्मरणीय भयो। हाम्रो अभियानमा सहयोग गर्ने सहयोगी सबै प्रति हार्दिक नमन । जनपक्षिय पत्रकारिता गर्ने हामीले यस्ता कामहरु निरन्तर गरिरहने छौं। थारुप प्रति हार्दिक श्रद्धान्जली तथा शकंर प्रति हार्दिक बधाई एवंम स्वास्थ्यलाभको कामना।

साभार ः लिस्ने जनसञ्चार साप्ताहिकको अंक ७ मिति ः २०७७ भाद्र १६ गते मंगलबार प्रकाशित लेख ।
लेखक ः लिस्ने जनसञ्चार साप्ताहिकका कार्यकारी सम्पादक तथा सिखबर अनलाईनका सम्पादक हुनुहुन्छ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी