News Portal

रेडियो सुन्नुहोस्

एसएसबीले तुइनबाट तर्नेहरुको नुन–तेल समेत खोस्छन्

‘गाउँमा सुविधा छैन, आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन’

मनोज बडू१९ साउन २०७८ दार्चुला
१११० पटक
१९ साउन २०७८ दार्चुला

महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई भारतीय सशस्त्र सीमा बलले बराबर सास्ती दिन्छन् ।

 

गत फागुनमा दार्चुलाको व्यास गाउँपालिका ४ मडगाउँमुनि महाकाली नदीमाथि लगाइएको तुइन तरेर भारतबाट फर्कँदै स्थानीय युवक । फाइल तस्बिर : मनोज बडू/कान्तिपुर‘हाम्रा लागि तुइन तर्नु बाध्यता छ,’ व्यास गाउँपालिका–३ का जयसिह कुँवर भन्छन्, ‘गाउँमा सुविधा छैन । आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन । धेरै कुरामा भारतमा निर्भर भएकाले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार र कुटपिट सहनुपरेको छ ।’ वारिपारि गर्ने नेपालीलाई भारतीय सुरक्षाकर्मीले बेलाबेलामा दुःख दिने गरेको उनले बताए ।

दार्चुलाको उत्तरपश्चिमी क्षेत्र व्यास गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तु किनमेलदेखि उपचार, मजदुरी र जिल्ला सदरमुकामसम्म पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्छ । एसएसबीले कहिलेकाहीँ त त्यत्तिकै निहुँ खोजेर कुटपिट गर्ने गरेको व्यासका बासिन्दा बताउँछन् । सीमा क्षेत्रमा आउने गस्तीबाट नेपालीले सधैं दुःख पाइरहेका हुन्छन् । मान्छे तरेको देख्दादेख्दै तुइन फुकालिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाले स्थानीय स्तब्ध छन् ।

 

भारतीय बजार तवाघाट र धारचुलाबाट घरायसी सामान खरिद गरेर ल्याउँदा एसएसबीका जवानले दुर्व्यवहार गर्छन् । ‘कहिलेकाहीँ चिनी, दाल किनेर ल्याउँदा पनि गालीगलौज र कुटपिट गर्छन्,’ कुँवरले भने, ‘बोल्न नसक्नेलाई त झनै दुःख दिने गरेका छन् ।’

 

गत वर्ष व्यास–२ मालघाटकै धनसिंह धामीको करिब ६० हजार बराबरको सामान एसएसबीले फिर्ता दिएन । ‘सामान तारिराखेको अवस्थामा बीच तुइनबाट फर्काएर माथि लगेको थियो । त्यसपछि उनको सामान कहाँ गयो, पत्तै भएन । एक महिनासम्म धनसिंहले सामान छुट्याउन कोसिस गरे पनि पाएनन्,’ स्थानीय धरमसिंह धामीले भने, ‘गाउँलेको नुन–तेल पनि समात्छन् । कुनै बेला व्यापारीको सामान भने तुइनमा आउन दिन्छन् ।’ दुर्व्यवहार घटना पटक–पटक हुँदै आउनु सामान्य जस्तै भएको धामीको भनाइ छ । काठमाडौं वा मुलुकका अन्य भागमा सीमासम्बन्धी कुनै बहस वा छलफल हुन थाले यहाँ सुरक्षाकर्मीबाट झनै दुःख पाइने गरेको स्थानीय बताउँछन् ।

 

महाकालीमा तुइनबाट वारिपारि गर्नेहरू खलंगाभन्दा माथिल्लो क्षेत्रका बासिन्दा छन् । व्यास–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ । तर पैदल दूरी धेरै पर्ने हुँदा जोखिम मोलेर स्थानीय तुइनबाटै वारिपारि गर्छन् । धौलाकोटभन्दा माथिल्लो भेगका बासिन्दा सबैजसो छिटोका लागि तुइनबाट भारतीय बाटो प्रयोग गरेर खलंगा आउजाउ गर्छन् । सुन्सेराबाट खलंगा पुग्न ९/१० घण्टा लाग्छ । तुइनबाट भारत हुँदै गए तीन घण्टामै पुगिन्छ । तुइनबाट महाकाली तरे गाडीमा चढेर खलंगा पुग्न छिटो हुने भएकाले भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको व्यास–५ का हरकसिंह धामीले बताए ।

 

व्यास–४ का कमलापति भट्टका अनुसार तुइन पहिलेदेखि महाकालीमा लगाइन्थ्यो । पहिले घाँसको डोरी बनाएर तुइन लगाउँथे, अहिले ग्याबिन तारको लगाउँछन् । अहिले केही ठाउँमा तुइनमा डिब्बा राखेर तर्दा पहिलेका तुलनामा सजिलो पनि भएको छ । तुइन सदरमुकाम छिटो पुग्न मात्र नभएर भारतमा रोजगरी गर्न आउजाउ गर्नेहरूले प्रयोग गरेका छन् । तर यस्ता तुइन कुन बेला एसएसबीले पारिबाट फुकालेर महाकालीमा खसाल्छन् भन्ने टुंगो हुँदैन । त्यसैले वारिपारि गर्नेहरूलाई तुइनबाट नदीमा खस्नेभन्दा पनि आफू वारपार गरिरहेका बेला एसएसबीले लट्ठा फुकाल्लान् भन्ने डर हुन्छ ।

 

गत शुक्रबार एसएसबीले तुइन फुकालिदिएपछि महाकालीमा खसेर बेपत्ता ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । व्यास–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले उक्त घटनाबाट स्थानीयमा त्रास रहेको बताए । उनले भने, ‘जयसिंहका आफन्तले भारतकै पागला प्रहरी चौकीमा तुइन काट्ने एसएसबीविरुद्ध निवेदन दिएका छन् । तुइन काट्ने दुवै जना एसएसबीका सुरक्षाकर्मीलाई अन्यत्रै पठाइएको जानकारी पाएको छु ।’

 

व्यास गाउँपालिकाका तर्फबाट प्रवक्ता धीरन बुढाथोकीले धारणा सार्वजनिक गर्दै नदी तरिरहेकै बेला तुइन काटेर सीमामा निर्दोष व्यक्तिको हत्या गरिनु अन्तर्राष्ट्रिय फौजदारी अपराध भएको बताए । भारतमाथिको निर्भरता घटाउन दार्चुला–टिंकर सडक निर्माण कार्य र ठेक्का भइसकेको मलघट्टे र मालघाट झोलुंगे पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न गाउँपालिकाले माग गरेको छ । यसैबीच शुक्रबार बेपत्ता जयसिंहको पत्ता नलागेकाले मृत्यु भएको ठान्दै आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

कान्तिपुर दैनिकबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...