मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ नेपाल सरकारले कार्तिक २५ देखि मंसीर ९ गते सम्म देशैभर जनगणना कार्य संचालन गरेको थियो र यो कार्य संम्पन्न समेत भएको छ । विगतका जनगणनाहरुमा शिक्षकहरुलाई गणना गर्न खटाइको हुन्थ्योे तर २०७८ सालको जनगणना भने तथ्याङ्क विभागले अनलाईन दरखस्त मार्फत गणकहरु छनोट गरी गाउँगाउँमा गणकहरु खटाएको थियो । कुनै पनि रोजगारीमा संलग्न नभएका युवाहरुलाई जिम्मेवारी सुम्पिने निर्णय गर्नु तथ्याङ्क विभागले गरेको एकदमै नौलो र स्वागत योग्य कदम पनि थियोे । यो कार्यमा गणकको भुमिकामा सहभागि हुने अवसर मैले पनि प्राप्त गरेको थिएँ ।
राष्ट्रिय जनगणना २०७८ सफल पार्न घर दैलो गर्दै गर्दाे गाउँका नारीकहरुको कार्य, जिवनशैली, रहनसहन, भेषभुसा, लवाईखुवाई, र व्यवहारीकतालाई नजिकैसँग बुझ्ने अवसर पाईयो, राजनीतिको बिग्रिँदो परिस्थितिको बावजुत पनि उत्तरदाताले देखाउनु भएको माया र सद्भाव गज्जबको थियो नै । उत्तरदाताका केही गुनासाहरुले मन खिन्न बनायो त कतै तुरुक्क आँसु झार्ने खालका पनि भेटिए भने केही गुनासाले अचम्मित पनि बनायो । घर दैलो गर्दा वास्तविक नेपालको वास्तविक अनुहार चिन्ने अवसर समेत पाइयो । म खटिएको केहि ठाउँमा बसोबास गर्ने २० प्रतिशत भन्दा बढी उत्तरदाताहरु अशिक्षित हुनु हुँदो रहेछ, हामीले पढेको साक्षरता प्रतिशत भन्दा यती कम साक्षरता पाउँदा असाध्यै दुःख पनि लाग्यो ।
विहान ६ बजे देखि बेलुका ७ /८ बजे सम्म घरघरमा र घर पर्किए पछि फाईल मिलाउँदा रातको १२ बज्थ्यो । १५ दिनको सरकारी रोजगारीले मन त खुसीनै थियो तर केहि समय काम पाउँदा मलाई सांच्चै खुसी लागेको थियो तर १५ दिन पछि के गर्ने भन्ने कुरा मेरो मनमा त खेलिनै रहन्थ्यो र अझै पनि कुनै काम पाउछु कि भन्ने आसमा बसिरहेको छु । दैनिक तिनै प्रश्न सोधेकाेले रमाइला जवाफहरु त आउथेँनै तर केहि त गुनासो सहितका दयालाग्दा जवाफ आउदा मन उदास समेत हुन्थ्यो । शिक्षित भनौदाहरु र समाजका केहि अगुवा भनौदाहरुले आफ्ना नगरीकहरुले के गरिरहेका छन भन्ने पनि पत्ता नलगाउने गाउँका रोदन आवाजहरुले मन दुखि त हुन्थ्यो नै । नागरिहरुको सरकार प्रतिको गुनासोले साच्चै सरकारले के गरेको छ र नागरिकका लागि भन्ने कुरा पनि दुइमत नै छैन । भौतिक कुराहरुको विकास त गाउँमा केहि भएको छ तर मानिसको चेतना स्तर उकास्न सरकारले केहि प्रतिशत पनि काम गर्न सकेको छैन ।
मेरो गणना मेरो सहभागिता त भनियो तर बुझेकै मान्छेहरू जस्तै स्थानीय जनप्रतिनिधिहरुबाटै हामीले त्यो सहभागिता पाएनौं । यदि उहाँहरू(स्थानीय जनप्रतिनिधिहरु)ले जनगणना बारे गाउँमा राम्रो प्रचार गरेर घरमा कम्तीमा एक जनालाई बस्न आग्रह गरिदिएको भए हामी गणकहरुलाई गणना गर्न केही सहज हुन्थ्यो तर अफसोच उहाँहरूले त्यस्तो गर्नु भएन जस्को कारण घरदैलो गर्दै जाँदा धेरै जसो उत्तरदाता घरमा भेटिनु भएन अनि ३/४ घण्टा पर्खेर पनि परिवारमा कोही नआउँदा र उत्तरदाताको मेलापातमै गएर पनि काम सम्पन्न गरियो । गाउँमा बसोबास गर्ने धेरै जसो वालबालिका, महिला तथा वृद्धवृद्धाहरु छन । युवाहरु नेपाल छाडि भारत तथा तेस्रो मुलुकमा नगएको घर कुनै छैन । एक छाक खानका लागि अरुको काम गरेका ति परिवारहरु ठुला भनौदाहरुबाट हेपीएका आवाज धेरै छन । युवा जति भारत तथा तेस्रो मुलुकमा छन । रोजगार छैन बाच्न परिहाल्यो भन्दै सानै उमेरमा भारतमा जानु पर्ने बाध्यताले जरा गाढेको छ ।
गाउँका ति सोझा मान्छेहरुलाई जनगणना के हो भन्ने के थाहा । उनिहरुलाई हामी पुग्दा के लिएर आउनु भयो के दिनुहुन्छ । यो भनेर हामीलाई के हुन्छ ? जस्ता प्रस्नहरु हरेक घरबाट सुन्न पाइयो । साक्षर भएको को हाम्रो देशमा पढ्न लेख्न नजान्ने हरु भन्दा जान्नेहरुबाट जनगणनाको बारेमा नबुझे जस्तो गर्ने शिक्षीत भनौदाहरु पनि यहि समाजमा भेटिए । नत उनिहरु अरुलाई सहयोग गर्न चाहान्छन नत उनिहरु अरुका कुरा सुन्छन ।
गणनाको समयाअवधिभर उत्तरदाताहरुबाट आएका केहि गुनासा तथा प्रश्नहरु
मेरो वुहारी/ श्रीमती / छोरा / छोरीलाई यस्तै जागिर बुझ्देऊ ल ! खुलेको बेला हामिलाई किन खबर नगरेको ?, दैनिक ४/५ हजार आउला हैन ? चुनावको लागि भोट माग्न आको होला हैन ?, गणना गरेर हामिले के पाउछौ ?, अस्ति भर्खर एक जनाले ढोकामा लेखेर सबै गनेर गयौ फेरि किन ? हाम्रो सम्पती बुझेर सरकारले कर लगाउन खोजेको होला हैन ? वृद्धा भत्ता लिनलाई हैरान बनाए घरघरमा पुर्याउने व्यबस्था गरिदिनु ल ? वृद्धा भत्ता दिन यसै गरि कर्मचारी खटाए हुदैन ? गाउको बाटो बनाउन समयमा काम नगर्ने सरकारले गणना चै समयमै सक्नै पर्नी किन नि ?, राजनितिले छोरा छोरीले राम्रो संग पढ्न पाको छैनन् ?, उपभोक्ता समिति कमाउने समिति जस्ता भए ? गुणस्तरीय रासायनिक मल खै ? पल्लोवडामा बीउ बिजन दियो रे हामीलाई दिएको खै ? . गाउमा एउटा सुबिधा सम्पन्न स्वास्थ्य सस्था खै ? चुनावमा मात्र लेख्ने अरुवेला कुन दुलोमा बसेको छ सरकार ? हरेक कुरामा राजनीति छ जस्ले राजनीति गर्छ उसैका छोराछोरीलाई जागिर हामीहरुको दिन कहिले आउछ ? हामीलाई एउटा सितामोट दिने हैन लेखेर के लुतो लाउँछाै ? हामीले भोट दिंदैनौ अव ? चुनाव कहिले हो ? जस्ता प्रश्नहरु र गुनासाहरु धेरै थिए । यि त प्रतिनिधि मात्र थिए ।
सांच्चि हाम्रो देशको राजनीति अस्थीरताले जरा गाढेको हुनाले जनताका गुनासा धेरै छन । सरकारले गरिब तथा निमुखा जनताहरुका लागि कुनै काम नगरेको आभास दिलाउँछ । समाज रुपान्तणका लागि सरकारले नेपालको जनशक्ति संचालन गरि उद्योग तथा कलाकारखाना खोले विदेशिन बाध्य युवाहरुलाई नेपालमै केहि रोजगार दिन सके विकास हुन समय लाग्ने थिएन । शैक्षिक योग्यताको प्रमाण पत्र मात्र भएर के काम निवन्ध र जिवनी हाम्रो बुवाहरुले पढे फेरी त्यही निवन्ध र जिवनी पढेर प्रमाण पत्रको खोस्टोलाई लेमिनेसन गरि सुरक्षीत राख्नु बाहेक युवाको काम अरु छैन । नत हाम्रो देशमा शिक्षा निति ठिक छ नत युवाहरु परिचालन गर्ने योजना सरकारको छ । केहि नभएपछि भारत तथा तेस्रो मुलुकमा जाने बाहेक विकल्प अरु छैन । नेता ज्यू राजनिती गर्ने भए जनताका पिडा बुझेर राजनिति गर । अनि गाउँका जनताको जीवन स्तर बनाउने निति बनाई चुनाव लड । जनताको जिवन स्तर उचाईमा पुर्याउ नत्र भने म जस्ता बेरोजगार युवाहरु विदेश गएर पसिना बगाउनु बाहेक अरुविकल्प हुने छैन । कि त काम देउ सरकार, कि त बाटो देखाईदेउ ।
धन्यवाद ।