


भारतमा पन्ध्र वर्ष भन्दा बढि समय बिताई नेपाल फर्केर दालमोट उद्योग खोलेको यहाँका एक व्यवसायीले राम्रो कमाई गरिहेका छन् । उनले खोलेको उद्योगले परिवारलाई मात्र रोजगार दिएको छैन, अन्यलाई समेत रोजगारी दिएको छ ।
मल्लरानी गाउँपालिका ४ खलंगा सारिवाङका ४५ वर्षिय गोविन्द रावत ११ वर्ष देखि यहि पेसा मै रमाइरहेका छन् । उनी सिप सिकेर नेपाल आएपछि नेपालमै दालमोट उद्योग खोल्ने र भारत नजाने निधो गरेका थिए । रावत परिवारको आर्थिक स्रोतको मुख्य पेसा नै हिजोआज नमकिन, दालमोट बनाउने र विक्री गर्ने बनेको छ । गोविन्दले बजरंगी नमकिन भण्डार नामक उद्योग सञ्चालनमा ल्याएको पनि एक दशक भन्दा बढि भयो । उनले भारतबाट ल्याएको पैसाले नेपालमा आएर दालमोट उद्योग खोलेका थिए ।
१ लाख २५ हजारमा लगानी गरी सुरु गरेको दालमोट उद्योग २० लाखमा विस्तार भएको गोविन्द बताउँछन । “दालमोट बोकेर सुरु–सुरुमा एक÷दुई वर्ष मार्केटिङको लागि ब्पैदल हिँड्दै मच्छी, बाहानेसम्म पुगेँ,’ उनले भने,‘बजार बनाउन निकै गाह्रो थियो ।’ अहिले बजरंगी दालमोठको माग प्यूठान देखि दाङसम्म राम्रो रहेको उनले बताए । दालमोट विद्यालय सञ्चालन भएको समयमा दिनमा ढाइ क्वीन्टलसम्म बिक्री हुने गरेको उनले बताए । मंसिर देखी चैतसम्म दालमोठको माग निकै कम भए पनि बैशाख देखि कार्तिक सम्म दालमोट बजारमा पुर्याउन भ्याइ नभ्याइ हुने उनले बताए ।
रावतले घरेलु तथा साना उद्योग कार्यालय खलंगा मार्फत प्यूठान, सल्यान, रुकुम लगायत धेरै ठाउँमा दालमोट तथा नमकिन बनाउने तालिम समेत दिएको बताए । घरेलु कार्यालय मार्फत दालमोट तथा नमकिन सुकाउने ड्राइ मेसिन अनुदान स्वरुप पाएका छन् । यसैगरी करीव ४ वर्ष अघि दालमोट तथा नमकिन प्याकिङ मेसिन पनि सोही कार्यालयमार्फत पाएको बताए । उनको यस उद्योगबाट दालमोट तथा नमकिनका विभिन्न परिकार र बादाम पेस्ट्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेका छन् । स्थानीय तहबाट भने कुनै पनि अनुदान नपाएको उनले गुनासो गरे ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

