नेपाल–भारत सीमा नाका जमुनाहनगर, कृष्णनगर, महेन्द्र नगर हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दशैँ खर्च जुटाउन भारत जान लागेका हुन । असारे रोपाइँ सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली भारत तर्फ जाँदै गरेको दृश्य बसहरुमा देखिन्छ ।
वर्षमा ६ महिना नेपाल र ६ महिना भारतमै बिाताउँनेहरु प्यूठानमा ग्रामिण क्षेत्रका धेरै छन् । गाउँमा रोजगारी नभएकाहरुको भारत नगई आफ्नो दैनिकी चलाउन सक्दैनन् । परिवार पाल्न भारत जानैपर्ने बाध्यता उनीहरुलाई छ । जुनै व्यवस्था आए पनि गाउँका स्थानीयको अवस्था बदलिएको छैन् । खेतीपातीका बेला स्वदेश र अन्य बेला झोला बोकी भारत नपसी उनीहरुलाई सुख छैन् । गाउँमा काम गर्ने वातावरण नहुँदा भारत जानुपर्ने बाध्यता उनीहरुलाई छ । गाउँमा काम छैन । गरेको कामको पनि उचित पारिश्रमिक पाउँदैनन् । लोकतन्त्र आएको वर्षाँै भएपनि गरिबलाई हेर्ने सरकार गाउँमा बस्नेहरुले कहिल्यै देख्न पाएका छैनन् । सरकारले समेत यस्ता विषयमा चासो नदिँदा वर्षौंँदेखि भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य छन् उनीहरु।
घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो र? तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ उनीहरुलाई । नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि वर्षैपिच्छे धैरै नेपालीलाई भारत जानुपरेको हो । अहिले स्याउ टिप्ने सिजन भएकाले सिमला जानेहरूको संख्या पनि धेरै छ ।