News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्री शाहीले ६४ वर्षका बृद्धमाथि गरे यस्तो अपमान

सिखबर संवाददाता
६४४ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका हुन् ।

चलाउने २०५१ सालबाटै माओवादी पार्टीमा पूर्णकालिन भएका थिए । लामो समयसम्म जेल जीवन हुँदै पार्टीमा क्रियासिल लोकबहादुर माओवादी केन्द्रका एक प्रतिवद्ध कार्यकर्ता हुन् । उनी सुर्खेत जेल ब्रेकका कमाण्डरमध्येका एक हुन् । चलाउने आफ्ना केही व्यक्तिगत समस्या लिएर शाहीलाई भेट्न सुर्खेत पुगेका थिए ।

सुरुमा चिन्दिन भनेको र पछि कहिल्यै भेट्न नआउनु भन्दै गइहाल्न भनेपछि मध्यरात मुख्यमन्त्री शाहीको क्‍वाटरबाट निस्केको चलाउनेले गुनासो गरे ।

सिंहदरबारको दक्षिण गेटमा भित्र प्रवेश गर्ने पास कुरिरहेका चलाउनेले अनलाइन डबलीसँगको विस्तृत कुरा गरेका छन् । प्रस्तुत छ कुराकानीका मुख्य अंशः

तपाईँको घर कहाँ हो ?

मेरो घर डोल्पाको त्रिपुरा सुन्दुरी नगरपालिका वडा नम्बर ६ हो ।

कहिलेदेखि पार्टीमा लाग्नु भएको हो ?

म जनयुद्धको पूर्व तयारी २०५१ सालबाटै पार्टीको पूर्णकालिन भएर लागेको हुँ । अहिलेसम्म पार्टीमै छु । केही समय जेल बसे ।

जेल कहिले पर्नुभयो ?

पार्टीको कामको क्रममा २०५४ चैत्र ३१ गते जाजरकोट हुँदै डोल्पा जाँदै गर्दा रुकुमबाट गिरफ्तारीमा परें । तीन वर्ष जाजरकोट हिरासत बसेँ । २०५७ पुस १३ गते मुद्दा जितेपछि रिहाई लगत्तै फेरि अर्को मुद्दा लगाएर प्रहरीले डोल्पा पठायो । डोल्पामा ४५ दिन हिरासत राखेपछि प्रहरीले २०५७ फागुन १ गते सुर्खेत कारागार पठायो । पछि सुर्खेत जेल ब्रेक गरेर निस्कियौं ।

जेल ब्रेक गरेको भन्‍नुभयो, त्यो क्षण कस्तो थियो ?

त्यति बेलाका कुरा गरेपछि अहिले विश्वास गर्दैनन् । कति संघर्ष गरेर नस्कियौं त्यो नेताहरुले समेत विश्‍वास गर्न छोडे । जेलभित्र धेरै साथीहरु थियौँ । जेललाई पनि एउटा युद्धको मोर्चाको रुपमा लिएका थियौँ । तर, भित्र बस्नुभन्दा बाहिर निस्केर पार्टी र आन्दोलनलाई फाइदा हुने भएकोले सबै साथीहरुले जेल ब्रेक गरेर जनयुद्धमा सहभागी हुने अठोटका साथ सुरुङ खन्यौँ । २०५८ माघ २ गते ३० जना साथीहरु सँगै निस्कियौँ । खुला संसारमा निस्केर पार्टीको सम्पर्कमा पुग्दा निकै खुशीको महशुस भएको थियो ।

त्यसपछि के गर्नुभयो ?

बाहिर निस्केको चार दिनपछि जाजरकोटको थालामा पार्टीसँग सम्पर्क भयो । फेरि जनयुद्धमा सक्रिय भएर लागेँ । पार्टीको आवश्यकताअनुसार डोल्पामै गएँ । जिल्ला सदस्यहुँदै राज्य समिति सदस्य भएर विभिन्न जिम्मेवारी पूरा गरेँ । शान्ति प्रक्रियापछि नेताहरु शहरतिर लागे तर हामीले जिल्ला छोडेनौं ।

काठमाडौँ किन आउनु भएको हो ?

म विरामी पनि छु । जेलमा पाएको यातनाले अहिले सताइरहेको छ । त्योसँगै म अहिले एक्लै छु । तीनओटा छोरी थिइन् सबैले विवाह गरिसकेका छन् । श्रीमती पनि बिति सकिन् । मेरो साहरा कोही छैन । मैले घरजग्गा सबै पार्टीकरण गरेको थिएँ । अहिले मलाई बस्ने खाने समस्या भयो । नेताहरुले केही व्यवस्था गर्दिन्छन् कि भनेर आएको हुँ ।

कुन नेतासँग भेट्नु भयो ?

भेट्न त प्रचण्डसँगै भेट्न भनेर आएको हुँ । पहिलो कुरा त नेतालाई भेट्नै गारो । भेटेपछि कुरा नसुन्ने रहेछन् । पार्टी कार्यालयमा जाजरकोटका सांसद कालिबहादुर मल्लको सहयोगमा बादल कमरेडसँग भेट भयो । उहाँले उतै प्रदेशमा कुरा गरिदिएिको छु उतै जानुस् भन्नुभयो । कोसँग भेट्न भनेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्ने भन्नुभयो । फागुन ४ गते म सरासर सुर्खेत गएँ । मुख्यमन्त्री शाहीलाई ६ गते भेट्न गएँ । दिनभरी कुराउनु भयो । राति १० बजे भेट भयो ।

के भन्नुभयो मुख्यमन्त्रीले ?

के भन्‍नु नी । मैले आफ्नो परिचय दिएँ, समस्या राख्दै गर्दा तपाईँ काँग्रेस–एमालेको की, को हो म चिन्दिन भन्नुभयो । मैले बादल र मल्लले पठाएको भनेपछि मुख्यमन्त्री कमरेडले मल्ल कमरेडलाई तुरुन्त फोन गर्नुभयो । सायद मेरै विषयमा हुनुपर्छ, फोनमै झगडा भयो । त्यतिबेला रातको साढे १० बजेको थियो । अबदेखि मलाई भेट्न नआउनु भन्दै झपारेर जानुस् भन्नुभयो ।

त्यसपछि …?

रुँन मन लाग्यो । म ६४ वर्षको बुढो त्यसमा पनि विरामी, राति जान भनेपछि मलाई निकै दुःख लाग्यो । बाहिर हेर्छु मध्यरात, बसौं भने जान भनिसकेको छ, वरपर हेरेँ भव्य र सुविधा सम्पन्‍न घरमा बस्‍नु भएको रहेछ । मलाई एक रात ठाउँ नहुने त थिएन नै । तर, जान भनिसकेको कारण निस्कनुको मसँग विकल्प नै थिएन । तर बाहिर कता जाने, के गर्ने ? मसँग जवाफ थिएन । आफैले बनाएको नेताले त्यसो भनिसके, बस्नुभन्दा सडकमा बसौंला भनेर म निस्किएँ ।

उहाँसँग बस्ने अरु साथीहरु पनि कति निष्ठुरी हुन् । राति भइसकेको छ, यतै बस्नुहोस् समेत कसैले भनेनन् । खुला आकाशमुनी भोकै रात बिताए । जनमुक्ति सेनाको कमाण्डर भएकोले कार्यकर्ताको दुःख बुझेका होलान् सोँचेको थिए तर मेरो बुझाइ गलत रहेछ । उहाँसँग मुख्यमन्त्री गुण रहेनछ । पार्टीले के हेरेर बनायो होला ? यही प्रश्‍नले मलाई रातभरी सतायो ।

त्यसपछि के गर्नुभयो ?

भोलीपल्ट आफ्नो दुःख कसैलाई सुनाईन । फेरि काठमाडौँ आएँ । हो, मेरो कोही छैन । जे भएपनि यही पार्टी हो, यिनै नेता हुन् । प्रचण्डसँग भेट भइहाल्छ की भनेर फेरि काठमाडौँ आएँ ।

भयो त भेट ?

प्रचण्डसँग त कहाँ भेट हुनु । डोल्पाको सांसद सत्या पहाडीसँग भेट भयो । उहाँले उपचारको लागि केही पहल गरौंला भन्नु भएको छ । उहाँ जिल्लाकै नेता हो । हेरौं, केही गर्नुहन्छ की ? एकले अर्कालाई देखाउँदै उम्किने तरिका जस्तो लाग्‍यो नेताहरुको । अरुको कतै जाने ठाउँ होला तर मेरो त सबै पार्टी नै हो ।

बिरामी पनि भन्नुभएको थियो, के समस्या छ ?

त्यही जेल बसेको बेला दिएको यातना होला । नसाको समस्या छ, ढाड पनि निकै दुख्छ । पूरै शरीर कतिखेर चल्नै छोड्छ ।

कतै जाँच गरानुभयो ?

साँझ विहान खाने कुरा छैन । कसरी जाँच गराउनु । गराएको छैन । त्यसैको लागि प्रचण्डलाई भेट्न आएको हुँ ।

Nonstopkhabar

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...