News Portal

रेडियो सुन्नुहोस्

जे सोचेर लडेका थियौ ,त्यो सबै पुरा भएन: युवा नेता नवराज अधिकारी

२४ भदाै २०७७
१०७३ पटक
२४ भदाै २०७७

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) प्युठानका एक कमाण्डर, धेरै फौजी आक्रमणमा सहभागि माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी अहिले नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोसन) संग हिजोको युद्धकालिन अनुभूतिको सहित सहकर्मी अर्जुन जि.सीले कुराकानी गर्नुभएको छ। नवराज अधिकारी संग गरिएको संक्षिप्त कुराकानी:-

यहाँलाई हार्दिक स्वागत छ ?

धन्यवाद

तपाई जनयुद्धमा कसरी होमिनुभयो?

म परिवर्तनको लागि माओबादी युद्धमा,वास्तविक गरिब जनताको निम्ति केहि प्राप्तिका लागि स्कुल समय देखि नै २०४२ सालमा विद्यार्थी आन्दोलनमा अनेरास्वबियु १० औं मा प्रवेश गरें। त्यति बेला देखि नै मैले गरिब जनताको परिवर्तन माओवादी आन्दोलनबाट सम्भव छ भनि माओबादी जनयुद्धमा लागेको हुँ।

तपाई बाध्यताले लाग्नु भएको कि रहरले ?

मलाई त्यस्तो बाध्यता केहि थिएन। घर परिवारको भन्दा पनि रोल्पा लिवाङमा जन्म घर भएको मेरो आमाको परिवार नेपाली कांग्रेस संग सम्बन्धित थियो। मलाई अरुले लाग्नुपर्ने ,बेरोजगार ,अशिक्षा तथा त्यस्तो अभाव केहि थिएन। गरिब नागरिकको जीवन परिवर्तन माओबादीले नै गर्छ भन्ने लागेर नै आफ्नो इच्छाले माओबादी आन्दोलनमा लागेको हुँ।

जोखिम पुर्ण अवस्था थियो त्यो बेला जनयुद्धमा लाग्दा केहि समस्याहरु आएनन् ?

त्यति बेला मृत्यु र मुक्ति भन्ने कुरा सामान्य जस्तो लाग्थ्यो। आन्दोलनमा लाग्दा त्यतिबेला मृत्यु भन्ने कुरा स्वभाविक थियो। अरुले के भन्थे थाहा भएन मलाई चै सामान्य लाग्थ्यो। अहिलेका पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य ,बिद्रोह पक्षबाट सहिद हुनुभएका शकंर दलार्मी र म एउटै विद्यार्थी संगठनमा थियौं। हाल नेकपा प्युठानका जिल्ला सचिव कृष्ण अधिकारी प्रकाशले दाङमा पढ्नुहुन्थ्यो। हामी सवै बिद्यार्थी आन्दोलनमा थियौं। नयाँगाउँमा हामी विद्यार्थी आन्दोलनको राष्टिय सम्मेलन पछि जिल्ला सम्मेलन हुँदै गर्दा हामी संग विद्यार्थी संगठनमा लागेका धेरै साथीहरु भूमिगत हुनुभयो। साथीहरु भूमिगत हुँदै जाँदा मैले पनि के सोचे भने थुप्रै साथीहरुले देश र जनताको लागि रगत बगाउनु भएको छ। यतिबेला म घरमा बसेर ब्यक्तिगत स्वार्थका लागि मात्र समय खर्च गरेर हुँदैन। देश र जनताको लागि पनि केहि गर्नुपर्दछ। र केहि परिर्वतन हामीले प्राप्त गर्नुपर्दछ भन्ने लागेर म यस आन्दोलनमा लागे। समस्या त थुप्रै आए तर सामना गर्दै अगाडि बढियो।

तपाई विद्यार्थी हुनुहुन्थ्यो ,प्यूठान जिल्लाबाट माओबादी आन्दोलनमा लाग्ने पहिलो पंक्तिको ब्यक्ति भन्छन् नि हो ?

हामी त्यतिबेला केहि साथीहरु थियौं। त्यतिबेला सुरुमा भूमिगत हुनेमा बासु घिमिरे, माधव शर्मा र म प्युठानबाट सुरुमा भूमिगत भएका थियौं। संविधान सभाको सदस्य भएका नारायण प्रसाद अधिकारीले त्यतिबेला ढुंगेगढी पारीको जस्पुर स्कुलमा पढाउनु हुन्थ्यो। त्यतिबेला उहाँ भूमिगत हुनुभएको थिएन। हामी नै अगाडि भूमिगत भएका थियौं।

त्यसो भए तपाई भूमिगत हुने पहिलो चरणको पहिलो कार्यकर्ता हो ?पहिले प्युठानबाट कोहि भएको थिएन ?

हजुर , पहिलो नै हो। त्यतिबेला जिल्लाबाट कोहि पनि भूमिगत भएको थिएन। हामी त्यतिबेला गाउँहरुमा जाँदा गाउँलेहरुले तपाईको घर रोल्पाको घोडागाउँ ,गजुल हो भन्दै प्रश्न गर्ने गर्थे।

तपाई आन्दोलनमा गई सकेपछि पहिलो पटक कुनै कार्वाहिमा संलग्न हुनुभयो?

हामीले पहिलो एक्सन तिराम कै कृषि विकास बैंक कब्जा गर्ने काम गर्यौं। म सहित त्यसमा केहि साथीहरु सहभागि भएका थियौं। अरु केहि साथीहरु प्राविधिक कारणले गर्दा बाटोमा दुर्घटनामा पर्नुभयो। दुर्घटना पछि केहि साथीहरु उपचारमा जानुभयो। हामी कृषि विकास बैंकको एक्सनमा पुग्यौं। कसैको मृत्यु भएन तर केहि साथीहरु घाइते हुनुभयो।

बैंक कब्जा भयो कि असफल हुनुभयो ?

हामी कृषि विकास बैंकका सबै कागजात लिन सफल भएका थियौ। त्यस पछि हामीले कागजातहरु लिएर गयौ र त्यहाँका किसानहरुले कृषि विकास बैंकबाट लिएको ऋण मिनाह पनि गर्यौ।

जनयुद्धका बेला अरु ठूला ठूला भिडन्त तथा आक्रमणहरु भए त्यसमा तपाई सहभागि हुनुभए होला , तपाईलाई कुन चाँही घटना बढी सम्झन मन लाग्छ?

हामीले भिगृको कृषि विकास बैंकमा हतियार कब्जा गरेका थियौ। जीवनमा मलाई ठुला कुरा के लाग्छ भने जहाँबाट मैले हरियार लिएर आए। जो सुरक्षाका लागि बस्नुभएको थियो। उहाँकै घरमा गएर केहि खानेकुरा खायौं। उहाँ बंैक सुरक्षा गार्डको श्रीमति हुनुहुन्थ्यो। उहाँले बाबुहरुले केहि खानुहुन्छ कि भन्नुभयो मैले ठट्टा गर्दै हामी पैसा दिन्छौं पानी महि जे दिनुस् भने। उहाँले होइन बाबु पैसा दिनुपर्दैन। तपाईहरु देश र जनताको निम्ति लडेको मान्छे। मैले दहि नै खुवाउँछु भनेर दहि खान दिनुभयो। जसको श्रीमानको हातबाट हरियार खोजेर ल्याएका थियौं। उसैको श्रीमतिले दहि खुवाएर पठाउनुभयो। त्यो घटना मलाई अति नै अविस्मरणीय लाग्छ।

तपाईहरु कति जना जानुभएको थियो ? कसरी सुरक्षित भाग्नुभयो ?

हामी तिन जना गएका थियौं। एक जना पाण्डवराज शर्मा हुनुहुन्थ्यो। उहाँ भिगृमै बस्नुभयो। हामी २ जना बिजय र म गएर हरियार खोजेर भागेका थियौं। बिजय त्यतिबेला बंगलाचुलीको बिग्रेड भिसी हुनुहुन्थ्यो। हामी संग त्यति बेलाको कमाण्डर बासुदेव घिमिरे पावेल हुनुहुन्थ्यो। उहाँ हामी संग जानुभएको थिएन। त्यहि बेला हामीले कुनै तालिम प्रशिक्षण पनि लिएका थिएनौं। हाम्रो आत्म विश्वास र साहसले हामीले जवरजस्ती हतियार खोसेर ल्याएका थियौं। हामी त्यहाँबाट हतियार लिएर भाग्दा अलि माथि गाउँमा एउटा प्रहरीको टोली तास खेलेर बसिरहेको थियो। त्यो टोली पनि हामीलाई देखेर भाग्यो। हामीले उनीहरुलाई तपाईहरु डराउनु पर्दैन। तपाईहरु संग हाम्रो कुनै दुश्मनी छैन। नभाग्नुस् हाम्रो आवश्यकता हतियार थियो। हामी हतियार लिन आएका हौं भन्यौं। उनीहरु संग हतियार थिएन। हामीलाई एक डाँडाबाट अर्को डाँडामा जानुपर्ने थियो। कहिले पनि हतियार नबोकेको हामी कसैले देख्यो भने किन कहाँबाट लिएको भन्ने प्रश्न गर्ने कुरा स्वभाविकै थियो। समस्याहरु थुप्पै थिए। त्यहि पनि हामी हाम्रो योजनामा सहज तरिकाले सफल भएका थियौं।

पछिल्लो चरणमा अरु थुप्रै लडाईहरु भए , तपाई कहाँ कहाँ जानुभयो ?

म धेरै ठाउँमा गए। रुकमको तस्केरा प्रहरी चौकी आक्रमण गर्दै डि.एस्.पि ठुले राईको घटनामा पनि सहभागि भए।

त्यतिबेला डिएसपि ठूले राईको घटना चर्चा निकै थियो बास्तविक के थियो ?

त्यतिबेला हामी कार्यालय ग्रुपमा थियौं। अहिलेका उपराष्टपति नन्द बहादुर पुन पनि हामी संग हुनुहुन्थ्यो। हामीले सामान्य ढंगले चौकी आक्रमण गरेका थियौं। प्रहरी भन्दा पनि हाम्रो संख्या अत्यधिक थियो। प्रहरी कम भएपछि ठुले राईले आत्मसमर्पण गर्नुभयो। डिउटीमा रहेका प्रहरी माथि एक्सन लिईसकेपछि सवैले आत्म समर्पण गरे। त्यसपछि ठूले राईलाई लिएर रुकुम रोल्पा हुँदै दाङ ल्याएका थियौं। उहाँ हामी संग १० दिन बस्नुभएको थियो। अन्त्यमा उहाँलाई केहि समस्या वा इच्छा छ कि भनेर सोध्यौं। त्यतिबेला उहाँले मेरा लागि महत्वपुर्ण भनेको ससुरालीले दिएको सिको फाइप घडि असाध्यै मन पर्छ। तर अहिले त्यो म संग छैन। भनेपछि हामीले कब्जा गरेको सिको फाइप घडि रोल्पाबाट साथीहरु संग मगाएर उहाँलाई दिएका थियौं र काठमाण्डौं पठायौं। त्यतिबेला उहाँले माओबादी आन्दोलनको बारेमा जसरी बाहिर चर्चा हुन्थ्यो। त्यस्तो रहेनछ। आन्दोलनमा यस्तो हुन्छ भन्ने सोचेको थिएन। सोचे भन्दा धेरै फरक रहेछ भनेर सकारात्मक प्रतिक्रिया दिनुभयो।

डिएसपिको नेतृत्वमा त त्यहाँ धेरै नै प्रहरी हुुनुपर्ने किन कम रहेछन् ?

तत्कालिन अवस्थामा विद्रोहि र राज्य पक्ष हुँदा अलि बढि जोखिम र खतरा जहाँ हुन्छ। त्यहाँ डिएसपि वा सवै फोर्सहरु केन्द्रित गर्ने राज्यको निति थियो। त्यहाँ जोखिम भएकै कारण डिएसपिको कमाण्ड भएको हो। त्यो प्रहरी चौकी नै थियो।

जनयुद्धको सुरुवात कालिन घटनापछि नेपाली सेना संग भएको लडाईहरुमा तपाई कहाँ कहाँ जानुभयो ?

म दाङको घोराहि प्रहरी चौकी कब्जामा पनि कार्यालय ग्रुपमा रहेर महत्वपुर्ण भूमिका खेले। यतिबेला म कृष्ण बहादुर महरा , बर्षमान पुन , नन्द किशोर पुन रहेको कार्यालय ग्रुपमै थिए। दाङको कार्वाहि सहज ढंगमा नै मैले पहल गरेको थिए। मेरो नातागोताको सम्बन्धका कारण घोराहि सैनिक ब्यारेकमा भलिबल खेल्ने योजनामा हामी सबै सर्वे गर्न पुग्यौं। सर्वे गरेर फर्किएको तिन दिनपछि रजेना भन्दा माथि विशाल पोष्ट थियो। त्यहि बसेर सम्पुर्ण योजना बनायौं। त्यसपछि चारैतिरबाट घेरा हालि कब्जा गर्यौं। घोराहिको आर्मी ब्यारेक कब्जा गर्न त्यति कठिन भएन।

नातागोताको सम्बन्धले गर्दा सर्वे गर्न गए भन्नुभयो राज्यपक्षले ब्यारेकमा माओवादी पसेको पत्तो नपाउने कमजोर संयन्त्र रहेछ भन्न सकिन्छ त ?

संयन्त्र कमजोर नै भन्नुपर्छ। त्यतिबेला मैले माओबादी आन्दोलनको साथसाथै आपुर्तिको काम पनि गर्थे। त्यसको लागि म त्यतिबेला पनि चिनको गोन्जाव जान्थे। विश्व ब्यापार संगठनको सदस्य पनि थिए। अझै अग्रवालको काठमाण्डौंको न्यूरोडमा होलसेल ब्यापार थियो। म त्यसमा पार्टनरसिप थिए। शहर बस्दा मैले आपुर्तिको काम गर्थे । गाउँमा बस्दा सेनाको काम गर्थे । त्यो गर्दा म जहिले पनि शहर जाँदा कुनै डराउने हिचकिचाउने अबस्था थिएन। मलाई अचम्मको अनुभुति के छ भने मैले त्यतिबेला २२ जना सहयोद्धालाई लिएर भारतको गोखपुरबाट टे«न चढेर हाजिपुर पुगे। कमाण्डर बासु घिमिरेको भाई माधव घिमिरे (सित्तल) पनि संगै आपुर्तिमै काम गर्नुहुन्थ्यो। भारतमा पुगेर त्यहाँको पुलिस संग सामान्य भनसुन गरेर गोलि बारुत लगाएतका सामान आउँदा समेत कसैले पत्तो पाएन। खतरा मोलेर काम गर्नुहुन्थ्यो है ? त्यतिबेला भारतमा त्यस्तो खासै समस्या थिएन। नेपालको पुलिसले पनि नडराई बोल्ने मान्छे संग त्यस्तो प्रमाण खोज्दैनथ्यो। भारतको पुलिस त झन थोरै थोरै घुसमा पनि चल्थ्यो।

चर्चित खाराको लडाईमा जानु भयो कि भएन ?

मैले खाराको लडाईमा जिल्लाकै नेतृत्व गरेर जाने अवसर प्राप्त गरेको थिए। म संगै केहि साथीहरु खारा सफलता पुर्वक पुगेका थियौ। त्यहाँ विद्रोहि पक्षबाट ठूलै क्षति भयो। राज्यपक्षबाट हाम्रो कमाण्डर त्यहाँ खिम बहादुर थापा (सुनिल)लाई मारियो। अहिले उहाँको संझनामा सुनिल स्मृति गाउँपालिका भनेर नाम पनि राखिएको छ। पश्चिबाट आउने कमाण्डमा तत्कालिन डेपुटी कमाण्डर जनार्दन शर्मा (प्रभाकर)ले नेतृत्व गरेर हाम्रो सेना आएको थियो। त्यहाँ केहि समस्या भैसकेपछि स्वयम सेवक पनि लड्नुपर्छ भनेर फेरि अर्को दिन पनि हतियारका साथ तयार भएका थियौं। खाउँला बजारबाट गस्तीमा आएको नेपाल आर्मीको टोली संग हाम्रो जम्का भेट भयो। त्यतिबेला हामी यताबाट जाँदै थियौं। सल्यान र रुकुमको सिमानामा हाम्रो भिडन्त भयो। उनीहरु आन्तरिक रुपमा तयारी गर्न सफल भएका थिए। हाम्रो योजना अनुसार काम भएन। बाहिर सेनाले हारे भन्ने आएता पनि त्यस्तो होइन। खारा ब्यारेक अग्लो ठाउँमा भएको र गस्तिमा आएको सेना संग लड्नुपर्यो हामी तलबाट माथि जानुपर्ने थियो। जनमुक्ती सेनाको असक्षताको कारण भन्दा पनि भूगोलले गर्दा हामीलाई साथ दिएन। माथिबाट आर्मीले हान्यो। जनमुक्ति सेनाले यहाँ हार ब्यहोर्न पर्यो।

क्षति धेरै भयो भन्ने थियो खास कुरा के हो ?

लडाईमा जाँदा जित्ने र हार्ने कुरा स्वभाविक हो। त्यतिबेला बिद्रोहिले जितेको भए राज्यको क्षति कम भयो भनेर प्रचार गरिन्थ्यो। विद्रोहिले हारेको भएर धेरै मरे भनेर प्रचार गरियो। त्यतिबेला गोयबल्स शैलीमा प्रचार हुने गर्थ्यो क्षतिको हिसावमा भन्दा त्यति धेरै क्षति भएको होइन जित्न मात्र नसकिएको हो।

हतियार जाम भए भन्ने पनि थियो नी ?

हतियार जाम भएको होइन, हामी भालुबाङको लडाई त्यसपछि गर्यौं। त्यतिबेला हाम्रो हतियार जाम भन्दा पनि ८१ को रेन्ज जुन कायम गरेका थियौं। त्यो प्रहार जसरी हुनुपर्थ्यो। सहि ठाउँमा प्रहार नहुनुको कारणले बढी क्षति भएको हो। असक्षम भएर भन्ने पनि आयो तर त्यसो होइन ८१ चलाउन न त हाम्रो माण्डवी गाउँपालिका वडा नं. २ का अग्नी बाबा हुनुहुन्छ। ८१ चलाउँदा भारतीय आन्दोलनमा दक्ष प्राविधिक प्रशिक्षक नै उहाँ हो। रातिको समय भयो। रेन्ज नमिलेका कारणले हो असक्षम भन्ने होइन।

भालुबाङको लडाई पनि असफल भयो भन्ने थियो नि ?

भालुबाङको लडाईमा हामी गाडिमै चढेर गई सर्वे गरेका थियौं। क्यामेरामा कैद गरेर नै योजना बनाएको हो। खाराको भन्दा भालुबाङको लडाई केहि फरक थियो। खाराको लडाईमा हामी आर्मी संग लडेका थियौं भने भालुवाङ हामी सशस्त्र प्रहरीको बेस क्याम्प आक्रमण गर्ने योजनामा थियौं। प्युठान र दाङ गरि दुई रेन्जबाट हाम्रो शक्ति केन्द्रित थियो। बलियो रुपमा शक्ति केन्द्रित गर्ने योजना हुँदा हुँदै पनि त्यसै दिन राज्यपक्षबाट नेपाली सेनाको टोली आएर बास बसेको रहेछ। त्यो हामीलाई पत्तो भएन। राप्ती नदिको किनारमा अहिले पुल भएको ठाउँमा भएको बेस क्याम्पमा हामीले बिजय प्राप्त गर्यौं। र हतियार कब्जा गर्न सफल भयौं। त्यसपछि सशस्त्रको बेश क्याम्प आक्रमण गर्न गएका थियौं। त्यहाँ केहि क्षति भयो र पनि सफलता प्राप्त गर्न सकेनौं।

त्यतिबेला निकै जोखिम मोलेर लड्नुभयो अहिले केहि सफलता प्राप्त गरे जस्तो लाग्छ ?

ब्यक्तिगत रुपमा भन्नुपर्दा त्यतिबेला हामीले देश र जनताको मुक्तिको लागि लडेका थियौ। लडाई लड्दा हामीलाई कुनै निरासा कुण्ठा केहि पनि थिएन। अहिले पनि मान्छेहरुले राजनिति भनेको फोहोरी खेल हो भन्ने गर्दछन्। तर चेतना के हो भन्ने आचरणले विचारको निर्धारण गर्छ भन्ने विश्वास छ। आचरण ,विचार र ब्यवहारमा हामी स्पष्ट थियौं। हामी कसैको लहलहैमा लागेर आन्दोलनमा लागेका थिएनौं। त्यतिबेला पनि थुप्रै साथीहरुले ज्यान गुमाउनुभयो। साथीहरुले हामी सहिद भयौ तर तपाईहरुले सहितको रगत खेर जान नदिनुहोला भन्नुहुन्थ्यो। त्यसैलाई आत्मसाथ गरि लडियो तर अहिलेको अबस्थामा आउँदा धेरै मिडिया ,संघसंस्था वा प्रोफाइड गर्ने ब्यक्तिहरुले उहिले त्यसरी लड्नु भयो अहिले घरमा बस्नुहुन्छ किन ? भन्दै प्रश्न गर्ने गर्दछन्। मलाई के लाग्छ भने अहिलेको परिर्वतन हामीहरु लडेरै भएको हो । यो परिवर्तनको श्रेय माओबादी आन्दोलनलाई नै जान्छ। बर्तमान समयमा केहि ब्यक्तिहरुको ब्यक्तिगत स्वार्थका कारण राजनितिक धरापमा छ। मलाई यहि आन्दोलनका कारण यहाँ सम्म आईपुगेका हौं भन्ने लाग्छ।

हिजो तपाईले गरेको त्याग र बलिदानले सार्थकता पायो भन्ने लाग्छ ?

सोचे जति त सार्थकता पाउन सकेन तर भएन भन्न मिल्दैन। नेपाली इतिहासमा पृथ्वीनारायण शाहले गोर्खाबाट दौड्दै लिगलिगकोटबाट राज्य कब्जा गर्दा पनि एक्लैले गरेर सम्भव थिएन। सबैले साथ दिएर यहाँ सम्म आएको हो। राजतन्त्रको अन्त्य , गणतन्त्रको स्थापना गरि यहाँ सम्म आउँदा केहि विवादित कुराहरु भएता पनि सोचे जति उपलब्धी हासिल गर्न नसकेता पनि २०५२ साल देखि माओबादी आन्दोलन नभएको भए अहिलेको परिवर्तन सम्भव थिएन भन्नेमा म विश्वस्त छु। यहि नै हाम्रा लागि सार्थकता हो।

अधुरा तपाईहरुको विचार लक्ष्य भावी दिनमा पुरा होलान् त ?के लाग्छ ?

आन्दोलन भनेको सोचेर बुझेर गर्ने चिज होइन, आन्दोलनको गति एउटा अवस्थामा एक थरिबाट प्राप्त हुन्छ भने अर्को तिर अर्केथरीबाट प्राप्त हुन्छ। अहिले नेपालको सन्दर्भमा बन्दुक बोकेर वा राज्य सत्तालाई कब्जा गर्ने अवस्था पनि छैन्। जनताको निम्ति सहि ढंगले परिस्कृत गरेर नेतृत्वले सहि ढंगले सोच्यो भने यहि ब्यवस्थामा परिवर्तन सम्भव छ भन्ने कुरामा मलाई विश्वास छ।

समय दिनुभएकोमा धन्यवाद

मलाई पनि विचार राख्ने मौका दिनुभएकोमा धन्यवाद

साभार: लिस्ने जनसञ्चार साप्ताहिक

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी