News Portal

रेडियो सुन्नुहोस्

डिलेश्वर प्रा.वि.मा ‘खाजा क्रान्ति’

‘भेलामा खाजा बोकेर आउने निर्णय भयो । निर्णय साधारण थियो, परिणाम असाधारण आयो ।’

सृजना सेन/प्यूठान
१३१० पटक

विद्यार्थीले विद्यालयका लागि झण्डै ८ घण्टा दैनिक समय दिन्छ । उसले के खाजा खान्छ होला ?

विद्यार्थीले दिउँसो खाजा खाने, खाजा बोकेर विद्यालय जाने चलन सुरु भएको धेरै दशक भएको छैन । अतितमा विद्यालयमा खाजा लैजाने चलन नै थिएन । तर, यो चलन देशव्यापी भइसकेको छ । यसलाई सामान्य चलन मात्र भन्न मिल्दैन, यो त आवश्यकताको पहिचान हो । दिनभरी भोकै बसेर पढ्न कहाँ सकिन्छ ? त्यसैले दिउँसो खाजा खान अत्यावश्यक हुन्छ ।

यस्तो आवश्यकता समेत पूरा भएको थिएन प्यूठान नगरपालिका सारिवांग स्थित, डिलेश्वरी प्रा.वि. का लागि । यो खाजा क्रान्ति शहरी क्षेत्रका विद्यालयका लागि साधारण विषय होला तर ग्रामीण क्षेत्रको विद्यालयका लागि महत्वपूर्ण छ ।

विद्यार्थी दिउँसो पढाई छाडेर घर भाग्थे । कारण पहिचान गरियो, – भोक लागेर । विद्यार्थी भोकाए, पढेर बस्न सकेनन । त्यसैले छुट्टि हुनु अगावै घरतिर भागे । चार वर्ष अघि विद्यालयले एउटा साधारण निर्णय लियो । विद्यार्थीले खाजा बोकेर आउने । अभिभावक भेला बोलाइयो । भेलामा खाजा बोकेर आउने निर्णय भयो । निर्णय साधारण थियो, परिणाम असाधारण आयो ।

अभिभावकले सन्तानलाई खाजा बोकाएर विद्यालय पठाउन थाले । कसैकसैले ल्याउँदैनथे । किनभने खाजा पठाउन न अभिभावक अभ्यस्त थिए, न खाजा लिएर आउन विद्यार्थी नै अभ्यस्त थिए । तर, केही समयमै सबैलाई बानी पर्याे । दिउँसो विद्यालयमै खाजा खान थाले विद्यार्थी । त्यसपछि पढाई बीचमै छाडेर घरतिर जाने प्रवृत्तिमा ठूलो सुधार आयो ।

विद्यार्थीले खाजा त ल्याउँथे तर विद्यालयको कम्पाउण्ड वरिपरि चाउचाउ र बिस्कुटका खोल पनि प्रशस्त देखिन थाले । घरबाट खाजा ल्याउनुको उद्देश्य विद्यार्थी भोकै नबसुन भन्ने थियो, रोगी बन्ने भन्ने थिएन । ‘खाजा ल्याउने चलन स्थापित गरेको सुरुवातमै बिस्कुट चाउचाउ लगायतका ‘जंक फुड’ नियन्त्रण गरिएन भने पछि समस्या हुने लाग्यो’ ,प्रधानाध्यापक बाल खड्काले भने, ‘बिस्कुट चाउचाउ लगायतका जंक फुड पूर्ण रुपमा निषेध थालियो ।’

घरमा जे छ, जे पाकेको छ, त्यही खाजा ल्याउन विद्यालयले आग्रह गर्याे । फलफुल, रोटि, तरकारी, भुटेका मकै भटमास जे छ त्यही ल्याउनु भनेपछि सुधार आएको प्रधानाध्यापक खड्काले बताए ।

सेभ द चिल्ड्रेन र कालिका विकास केन्द्र नेपालले विद्यार्थीलाई खाजा ल्याउन ‘टिफिन बक्स’ उपलव्ध गरायो । शिशु कक्षामा भर्ना हुने विद्यार्थीलाई सुरुमै टिफिन बक्स उपलब्ध गराइन्छ ।

खाजा क्रान्तिले पढाईमा पनि सुधार गरेको छ । नियमित कक्षामा बस्ने, पोषण युक्त खाना खाने बानी विद्यार्थीमा परेको छ । विद्यालयमा मात्र होइन, घरमा पनि विद्यार्थीले जंक फुट खान बन्द गरेको अभिभावक बताउँछन् ।

विद्यालयले हरेक विहानको प्रार्थनामा प्रत्येक कक्षाका विधार्थीले अघिल्लो दिनको क्रियाकलाप बारे जानकारी गराउँछन । हरेक कक्षाका विधार्थीले हरेक प्रत्येक दिनको प्रार्थनामा एकएक वटा स्वास्थ्य सन्देश समेत सुनाउँछन ।

७५ जना विद्यार्थी भएको डिलेश्वरी प्रावि जिल्लाकै उत्कृष्ट विद्यालय ठहरिएको छ ।

जिल्लाभर अभियान चलाउनुपर्ने
कालिका विकास केन्द्र र सेभ द चिल्द्रेनले हालसम्म साविकको २२ गाविसको १५४ विद्यालयमा टिफिन बक्स वितरण गरेको स्वास्थ्य अधिकृत अनिता श्रेष्ठले बताइन ।
दिवा खाजाको महत्व बुझाउदै यसै विषयमा ती स्थानमा पुगेर यस विषयमा छलफल समेत गर्ने गरेको उनले जानकारी दिइन । श्रेष्ठका अनुसार जिल्लाको छ ओटा विद्यालयमा आगामी बर्ष टिफिन बक्स वितरण गर्ने कार्यक्रम रहेको छ ।

‘जंक फुडले सुरुमा पेट दुख्ने अरु खाजा खान मन नगर्ने समस्या देखापर्ने हुन्छ ।’ जिल्ला अस्पताल प्यूठानका प्रमुख डा. अच्यूत कार्कीले भने, ‘पसलमा पाइने चाउचाउ विस्कुटमा भिटामिनको साटो केमिकल हुने हुँदा फरक फरक खालको समस्या देखा पर्छ ।’

पुड्के हुने, घरको ताजा खानाहरु खान मन नगर्ने, शारिरिक विकासमा समेत समस्या देखिन सक्ने उनको भनाई छ । सकेसम्म बालबालिका लाई जंक फुडबाट टाढा राख्नु पर्ने उनको सुझाव छ ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयले समेत यसै बिषयमा जिल्ला भर सचेतना मुलक कार्यक्रम गरेको थियो । यो कार्यक्रम स्थानीय सरकारले गर्दै आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शिव पण्डितले बताए । उनका अनुसार स्वास्थ्य सम्वन्धि कार्यक्रमले विद्यालयमा सकरात्मक प्रभाव परेको छ ।

– सौजन्य: बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...