News Portal

रेडियो सुन्नुहोस्

तीज हिँजो जस्तो छैन 

दिपा घर्ति पौडेल/सुजाता थापा क्षेत्री२०७८ भाद्र २२
१३५२ पटक
२०७८ भाद्र २२

तीज पर्व

 

-दीपा घर्ति पौडेल

तीज पर्वको धार्मिक, सांस्कृतिक,सामाजिक तथा पारस्पारिक महत्व रहेको रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नानगरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज,विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ ।

धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूणर् हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।

तीजको धार्मिक महत्वसंगै सामाजिक महत्व पनि उत्तिकै छ । नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ । जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । बिवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख-दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । बिवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । यस्तो सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ ।

यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ । यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ ।

मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।
तीजमा गीत-संगीतको विशेष महत्व रहन्छ ।

महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।चुल्हो-चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् ।

अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो । तर यसपटक कोरोना महामारीका कारण खासै जमघट नाचँगान भएका छैनन् ।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो ।

इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।

हिमालयपुत्री पार्वतीबाट सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मन-बचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ ।

चाहे बिवाहित हुन् वा अविवाहित सम्पूणर् नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान-अञ्जानमा भए-गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाई छ । यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूणर् पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ ।

पारीवारीक सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ ।

जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन । पहिले तीजको बेला बिभिन्न मन्दिर खेल मैदानमा भेला भएर वर्षौ देखि टुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ । अहिलेको समाज परिर्वतनशिल छ ।

समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ ।

अहिले तीजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तीज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र पाँचतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।

झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न जान थालेको छ । तिज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेको पुराना पुस्ताको चिन्ता छ । तिजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ ।

तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् । तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ । महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो-मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्छन् ।

तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ । तीज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ । तीज संस्कार र संस्कृतिले पूणर् बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व ।

निर्जल वा निराहार व्रत बस्ने प्रचलन छ तीजको । तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ । कठोर व्रतले शरीर अनुसार हानी पनि गर्छ अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंममा प्रत्युत्पादक हुन्छ । तीज तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको बन्न सकोस । यो कोरोना महामारीको संक्रमणबाट बच्दै ,यसबाट बच्न सक्ने उपाय तथा सावधानीका उपायहरु अवलम्बन गर्दै यस बर्षको तीज पर्व मनाऔ हरितालिका तीज पर्वको पावन अवसरमा सबैलाई सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभ कामना !

 

भड्किलो बन्दै तीज पर्व

-सुजाता थापा क्षेत्री

सनातन हिन्दूधर्म मान्ने नारीहरूको एउटा महत्वपूणर् चाड हो तिज । तिज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने गरिन्छ । श्रावण महिना लागेपछि भगवान शिवको व्रत बसी आराधना गरिनुका साथै तिज गितमा नाचगान मनोरञ्जन गर्ने गरिन्छ । तिजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको पाइन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज हिन्दु धर्मका नेपाली महिलाहरूले हर्षोल्लासका साथ मनाउने गर्दछन ।

यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका केहिँ प्रान्तमा पनि मनाइने गरिन्छ । पार्वतीले भगवान शिवजी स्वामी पाऊँ भनी भाद्र शुक्ल पक्षको तृतियाका दिन कठोर तथा निर्जला व्रत बसी भगवान शिवजी स्वामी प्राप्त गरेको विश्वासमा तिज पर्व मनाइन्छ । यस दिनमा नेपाली हिन्दु विवाहित नारीहरुले आफ्नो पतिको दीर्घायुको कामना, परिवारको प्रगतिको मनोकामना लागि व्रत बस्छन् । अविवाहिताले सुयोग्य एवं शिव जस्तो पति प्राप्तिको कामना सहित व्रत बस्ने गर्दछन् ।

यसैगरी तिजको अघिल्लो दिन दर खाने चलन रहि आएको छ । दर खाने दिन तिजको व्रत बस्ने नारीहरूले दर पकाएर खाने चलन छ । आफूले जानेका मिठा-मिठा परिकार बनाउने, फलफुल खाने र राति सम्म तिज गितमा नाचगान गर्ने प्रचलन छ । यस्ता तिज गितमा सुख दुखका भावनाहरु समेटिन्छ । तिजी लयमा गितका माध्यमबाट दुख सुख साटासाट गर्ने, मनका खुसी तथा पिडाहरु माइतमा सुनाउने पनि गरीन्छ । वर्ष भरीका दुखहरु साटासाट गर्दा मन हलुङ्गो हुन्छ भन्ने चलन छ । समय फेरीएसँगै बिगतमा तिज मनाउने प्रचलन र अहिले मनाउने चलनमा भने भिन्नता आएको छ ।

पहिले पहिले तिजको बेला बिभिन्न मन्दीर, चउर, सार्वजनिक स्थानमा भेला भएर वर्षभरीका वेदनाहरु सुनाउने गरीन्थ्यो । त्यसैगरी विवाह भएर कर्मघर गएदेखि भोगेका पिडाहरु साथी संगिनीहरुसँग सुनाइन्छ । पुराना पुस्ताले बेदनाले भरिएका गीतहरु गाएर मनाउने चलन थियो । साथै अत्याचार ज्यादतीलाई पनि गित मार्फत भण्डाफोर गर्ने संस्कृति तिजले बोकेको छ ।

आजभोलि तिज मनाउने शैली भने भड्किलो र खर्चिलो बनेको छ । तिज पर्व सम्पन्न वर्गको लागि उनीहरुको औकात प्रदर्शन गर्ने अवसर जस्तै भएको छ । विभिन्न तारिकाबाट चडकभडक प्रदर्शन गरी एक आपसमा भौतिक वस्तुहरुको प्रतिपर्धामा उत्रिन थालिएको छ । यसबाट विपन्न वर्गका महिलाहरुमा दोहोरो पिडा थपिएको छ । हुने खानेहरुले होटल र पाटी प्यालेसमा साउण्ड सिस्टम बजाएर नाँच्न थालेका छन् । महँगा कपडा र सुनका गरगहना प्रदर्शन गर्ने चलन पनि बढेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले पनि यिनीहरुको भड्किले देखासिकी गर्दै ऋण काढेरै भएपनि कपडा र गर-गहना किनेर मनाउने गर्दछन् । महँगा कपडा र गर-गरहनाहरु लगाउने प्रतिष्पर्धाले गरीवी परिवारको लागि चाड पर्व नभई दशा बन्ने गरेको छ ।

तिजी शैली फेरिएसँगै तिज गितमा पनि मौलिकता हराउन थालेको छ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा निकालिने गितमा नेपाली संस्कृति भन्दा फरक शैलीबाट तोड मोड गर्दै र्याप शैलीमा तिजको मर्मभन्दा फरक बनाएर गाउन थालिएको छ । आजभोली तिज गितमा छाडा शैली र शब्द मिसाएर गित गाउँदा कतिपय कलाकारहरु विवादमा समेत आएका छन् । तिजको मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने चलन हो ।

नयाँ पुस्ताले बजारमा निकालेका यस्ता उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका गित निकाल्नु राम्रो पक्ष होइन । समाज परिवर्तनशिल रहेपनि आधुनिकताको नाममा वर्षभरीको एक दिन मनाउने चाडमा विकृति भित्रिएको छ । किनकि नेपाली चाडपर्वले आफ्नै महत्व र शैली बोकेको हुन्छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा दिनु र चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व घट्दै जाने जाने हुन्छ ।

चाड मनाउने नाउँमा महिनौअघिबाट दर खाने प्रचलन पनि बढेको छ । यो तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको अर्को पाटो हो । तिज पर्वमा देखासिकी र प्रतिस्पर्धाले जरो गाड्न थालेको छ । चाडपर्व धर्म संस्कृति जोगाउनु भन्दा पनि पछिल्लो पुस्तामा देखासिखी गर्ने प्रचलनले पुराना पुस्ता चिन्तित छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि...