

२०८२ चैत्र १६ गतेनेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन् । भोलि चैत १७ गते मंगलबारबाट १९ गते सम्म महासंघको काठमाडौंमा १३ औँ महाधिवेशन तथा २६ औं वार्षिक साधारणसभा हुँदैछ ।
प्यूठानको बिजुवारमा जन्मिएका श्रेष्ठ विगत २२ वर्षदेखि निरन्तर निर्माण व्यवसायको क्षेत्रमा क्रियाशील छन् । २०३६ साल पुस १० गते जन्मिएका श्रेष्ठ बुबा गोपालप्रसाद श्रेष्ठको प्रेरणाबाट यस क्षेत्रमा लागेको बताउँछन् । उनले स्वर्गद्धारी बहुमुखी क्याम्पस बिजुवार प्यूठानबाट अर्थशास्त्रमा स्नातक उत्र्तिण गरेका छन् । विभिन्न पेशा व्यवसायको अनुभव गर्दै निर्माण व्यवसायमा हात हालेपछि सफल भएको श्रेष्ठ बताउँछन् ।
आर्थिकोपार्जन गर्ने नयाँ नयाँ क्षेत्र र अर्थ व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने काममा उनी अब्बल मानिन्छन् । स्थानीय गैर सरकारी संस्था कालिका विकास केन्द्र नेपालमा उनी कोषाध्यक्ष पदमा रहेर काम गरेको उनको अनुभव छ । त्यही संस्थाले सञ्चालन गरेको डिएफआइडी अन्तर्गत आशा कार्यक्रमको समेत उनले लेखापाल भएर चार वर्षसम्म काम गरेका थिए । श्रेष्ठसंग प्यूठान उद्योग वाणिज्य संघको तीन वर्षसम्म कोषाध्यक्ष भएर समेत काम गरेको अनुभव छ ।
त्यस्तै उनी निर्माण व्यवसायी संघ प्यूठानको सचिव समेत भए । जिल्लामा निर्माणको क्षेत्रमा उत्कृष्ट काम गरेको अनुभवकै आधारमा उनले नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रमा पाइला अगाडी बढाएका हुन। महासंघको केन्द्रमा उनी २०७२ सालदेखि हालसम्म निरन्तर केन्द्रीय सदस्य पदमा क्रियाशील छन् । अघिल्लो १२ औं महाधिवेशनमा भने उनी आन्तरिक उपमहासचिव पदमा झिनो मतान्तरले पराजय भएपछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

उनले २०६० पुस १० गते आँशु निर्माण सेवा कम्पनी स्थापना गरेर हालसम्म निरन्तर सञ्चालन गरिरहेका छन् । जिल्लामा आँशु निर्माण सेवाले दर्जनौं संख्यामा पक्कीपुल सहित सडक, गाउँपालिका, नगरपालिकाका प्रशासनिक भवन निर्माण, विभिन्न स्वास्थ्यचौकीहरु लगायत काम सम्पन्न गरेको छ । साथै देशभरमै आँशु निर्माण सेवाले ख्याती कमाएको छ ।
आफुले जिम्मा लिएका कुनै पनि योजनाहरुको काम हालसम्म अलपत्र नपारेको श्रेष्ठ बताउँछन । बरु सरकारसंग सम्झौता गरेको योजनाको काम समय अगाडी नै सम्पन्न गरेर राज्यबाट बोनस समेत पाएका छन् ।
व्यवसायप्रतिको निरन्तरता र लगनशिलताकै कारण यसपटक आफुले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । ‘मैले अहिलेसम्म जति काम गरे सबै काम इमान्दारीता साथ गरे श्रेष्ठले भने,‘ यसैले नै फर्मलाई माथि उठाएको छ।’ निर्माण व्यवसायीका पीडा के हुन् ? खास भूगोलमा के समस्या छ ? त्यसलाई कसरी समाधान गर्ने भन्ने आफूसंग धेरै अनुभव रहेको श्रेष्ठले बताए ।
निर्माण व्यवसायी केन्द्रको पदाधिकारीमा निर्वाचित भए निर्माण व्यवसायीको हित र राष्ट्र« निर्माणमा योगदान दिने प्रतिक्रिया दिए । निर्माण व्यवसायी महासंघको निर्वाचनमा नेतृत्वका लागि आङ दोर्जी लामा र निकोलश पाण्डे दुई समुह भिड्दै छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।











