


२०८३ कार्तिक २२नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपाले आफ्नो पार्टीको संगठन विस्तार, सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित शनिबार अभियानको उद्घाटन गरिएको हो ।
झिमरुक गाउँपालिका–५ मच्छीस्थित पार्टीको गाउँपालिका कमिटी कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै महतरा क्षेत्रीले जागरण अभियानको सुरुवात आफैंबाट गर्नुपर्ने बताए ।
‘यो अभियानमा हामीले सबैभन्दा पहिले आफैंलाई जागृत बनाउनुपर्छ,’ उनले भने, ‘जनताको घरदैलोमा पुगेर आफ्ना गल्ती र कमजोरीको आत्मसमीक्षा गर्ने, सच्चिने र संगठनलाई बलियो बनाउँदै अघि बढ्ने बेला आएको छ ।’
अभियानका क्रममा विभिन्न वडा तथा पालिकास्तरीय भेला आयोजना गर्ने, पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्ने तथा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइने गाउँपालिका कमिटीले जनाएको छ ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिलन एमसी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य श्रीकृष्ण रिजाल, लुम्बिनी प्रदेश कमिटी सदस्य तुलस बस्नेत, बसन्तराज पोख्रेललगायत वडा तथा पालिका कमिटीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीका संयोजक झकबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम पुनले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












