


२०८३ कार्तिक १३प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ‘विजयपथ कप–२०८३’ को शुक्रबार उद्घाटन गरिएको छ।
प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले बलको रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
प्यूठान नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगरप्रमुख योगीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालको विशेष आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहमा मन्तव्य राख्दै नगरप्रमुख विष्णुबहादुर योगीले खेलकुदले युवाको प्रतिभा पहिचान, अनुशासन र आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण हुनेमा जोड दिनुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले खेलकुद प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै पालिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा राख्नुभयो।
प्यूठान नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विकास केसीले खेलकुदको विकासका लागि स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले खेलकुद प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो।
कार्यक्रममा पत्रकार प्रकाश वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार हरिप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
प्रतियोगितामा १० समूहको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख रुपैयाँ, द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ तथा दुईवटा सान्त्वना टोलीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै अन्तरपालिका बीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












