फापर खेती परम्परागत बाली अन्तर्गत पर्छ । यो मौसम लहलह फापर फुल्ने बेला हो । फापरबाट ढिडो, रोटि, फरौंला लगायतका स्वादिष्ट परिकार बनाइन्छ । पहिले पहिले मुरी फल्ने फापर अहिले मानो पनि फल्दैन । आधुनिकतासँगै परम्परागत रुपमा गरीने खेतीवाली छोड्दै जाँदा फापर खेती लोप हुन थालेको हो । फापर खोज्नेहरु, खानेहरु भेटिन्छन् तर बाली लगाउनेहरु भेटिदैनन् ।
पुर्खाहरु फापरको धेरै महत्व राखेर यसको खेति गर्ने गर्दथे । अहिलेका किसानहरु यसको खेति गर्न छोडेका छन् । बिउपल नै भेटाउन मुस्किल छ आजभोली । जिल्लाको लिघा, डामृ, खबाङ, स्याउलिबाङ, खुङ, नारीकोट अर्खा, रजबारा, धुबाङ, पकला लगायतका माथिल्लो पहाडि क्षेत्रमा प्रशस्तै फापर फल्ने ठाउँ हुन् । पहिले पहिले यी ठाउँहरुमा धेरै मात्रामा यसको खेति गर्दथे ।
अहिले यी ठाउँहमा यसको खेति गर्न छोडेका छन् । परम्परागत खेती भन्दा नगदेवालीबाट नाफा हुने भएकाले स्वास्थ्यका लागि पौष्टिक आहार मानिने खेती गर्न छोडिएको छ । माघे सक्तान्तिको दिन फापरको विशेष परिकार बनाएर खाने प्रचलन छ । तर गाउँघरमा फल्ने फापरको पिठो पाइदैन । बजारबाट आयातित फापरको प्रयोग बढेको छ । पहिले सबै ठाउँका बारिहरुमा देखिने फापर अहिले लोप हुन थालेको छ ।