News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा करोडौँका पक्किपुल बन्दाबन्दै अलपत्र

शशिधर भण्डारी२०८१ असोज ५
२ पटक
२०८१ असोज ५

जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पक्किपुल निर्माण व्यवसायीको लापरबाहीले गर्दा वर्षौँदेखि अलपत्र परेका छन् ।

सर्वसाधारणका लागि नदीले दिएको सास्ती हटाउन निर्माण थालिएका पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीले सास्ती बेहोर्न परेको छ । स्वर्गद्वारी नगरपालिका ५ सारी, स्वर्गद्वारी ३ जलुके र ऐरावती ५ झिबाङमा निर्माणाधीन पक्किपुल निर्माण व्यवसायीका कारण बेवारिसे बनेका हुन् ।

नियामक निकायको नियमित अनुगमन र निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेका छैनन् । बजेट परेर पनि समयमै पुल निर्माण सम्पन्न नहुँदा सास्ती भइरहेको स्थानीयको गुनासो छ ।

रोल्पाको सुनिल स्मृति–२ खुङ्ग्री देखि स्वर्गद्वारी नगरपालिका–५ सारी जोड्ने माडी नदिको पुल, स्वर्गद्वारी नगरपालिका–३ देखि ७ नल्सी जोड्ने माडी नदीको पुल र ऐरावती गाउँपालिका–५ झिवाङ देखि ढुइवाङ जोड्ने झिमरुक नदीमा पुलका केही भौतिक पूर्वाधार निर्माण गरेर अलपत्र अवस्थामा छाडिएको छ । यी पुलहरु  २०७४ अघि निर्माण थालिएका हुन् ।

सडक डिभिजन कार्यालय प्युठानका अनुसार जलुके र नल्सी जोड्ने पक्की पुल ७५ प्रतिशत र अन्य दुई पुलको ३६ प्रतिशत भौतिक संरचना निर्माण गरिएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय जस्पुरका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले बताए ।‘ठेक्का पर्दा दिएका डिजाइन परिवर्तन गर्न खोज्ने, सामग्री तथा ढुवानी समस्या देखाएर काम रोकिएको पाइएको छ’ कार्कीले भने,‘निर्माण व्यवसायीको ढिलासुस्ती नै प्रमुख कारक हो ।’

जिल्लाका पुलहरूको निर्माणमा भौतिक प्रगति भन्दा बढी भुक्तानी समेत गरिएको पाइएको छ । जिल्लामा निर्माण सामाग्रीको अभाव, निर्माण व्यवसायीको ढिलासुस्ती, आवश्यक मात्रामा बजेट विनियोजन नहुनु, जटिल प्रकृतिका कार्यहरूमा दुर्गम क्षेत्रमा निर्माण सामग्रीहरू उपलब्धता नहुनु र ढुवानीमा समेत जटिलता र डिजाइन रिभ्यु र स्वीकृतले समय लाग्ने समस्या देखिँदै आएको  कार्यालयको भनाइ छ ।

जलुके–नल्सी पुल ७५ प्रतिशत काम सकिएको छ । सडक डिभिजन कार्यालयका अनुसार भुक्तानी भने ७६ प्रतिशत भएको छ  । ३ वर्षमा निर्माण सक्ने लक्ष्यसहित २०७३ वैशाख ६ मा  मृत सञ्जीवनी लोहनी एन्ड ब्रदर्श चितवनले  ८ करोड ७१ लाख ६३ हजार रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो । यो पुल निर्माणको लागि पटक ÷पटक म्याद थपिएको छ । अन्तिम म्याद २०८१ असोज ३० सम्म छ । त्यो अवधि एक महिना छ । ‘काम सकिन कम्तीमा ८ महिना लाग्छ’ कार्कीले भने ।

२०७४ असार ९ गते सम्झौता भई काम सुरु गरिएको माडी नदी माथिको सारी–खुङग्री पुल डिजाइन मै समस्या देखिएको भन्दै निर्माण व्यवसायीले काम रोकेका छन् । यो पुल निर्माण गर्ने निर्माण व्यवसायी सम्पर्कमा नभएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.ली . काठमाण्डौले १२ करोड १० लाख ५ हजारमा सम्झौता गरी काम सुरु गरेको थियो । १५ हजार जनसङ्ख्या लाभान्वित हुने पुल पटक पटक म्याद थप बाहेक थप प्रगति हुन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार पुलको सम्झौता अवधि २०८२ माघ १० सम्म रहेको छ । पुलको डिजाइनमा समस्या देखिएपछि पुनः विचारका लागि सडक विभागमा पठाइएकोमा अस्वीकृत भएपछि निर्माण व्यवसायीले काम सुरु नगरेको कार्यालयले जनाएको छ । काम सुरु भइहाल्यो भने निर्माण सम्पन्न गर्न १८ महिना लाग्ने कार्यालयको भनाइ छ ।

यस्तै झिवाङ–ढुइवाङ–रस्पुरकोट जोड्ने झिमरुक नदी माथिको पुलको सपना–जयबागेश्वरी माता जे.भि. नेपालगन्जले निर्माण थालेको हो । २०७४ पौष १४ मा १२ करोड २४ लाख ५९ हजारमा सम्झौता गरी काम सुरु गरिएको पुलको ७ वर्षमा ३६ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यसको पनि डिजाइनमा समस्या देखिएको भनिएको छ । डिजाइन स्टिमेट परिवर्तन गर्नका लागि सडक विभागमा पठाइएकोमा स्वीकृत भएपछि पनि निर्माण व्यवसायीले निर्माण थालनी नगरेको कार्यालयको भनाइ छ । पुलको सम्झौता अवधि समेत सकिएको छ ।

सडक डिभिजन कार्यालयले २०८० असार ३० गते ठेक्काको अवधि सकिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताएको छ । निर्माण व्यवसायीको लापरबाही रहेको इन्जिनियर कार्की बताउँछन्  । जिल्लामा पुल अलपत्र हुँदा नागरिक, राजनीतिक तवरबाट सम्बन्धित कार्यालय, प्रदेश सरकार, सङ्घ सरकारका जिम्मेवार व्यक्तिहरूसँग ध्यानाकर्षण गर्ने  काम स्थानीयले गरिरहेका छन् । जिल्लाका नेता र सम्बन्धित कार्यालय लगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको स्वर्गद्वारी नगरपालिका–७ का  टेक प्रसाद भट्टराईले बताए । ‘लामो समय हराएको निर्माण कम्पनी जेठमा आएर काम जलुकेका काम सुरु गरेको थियो, भट्टराईले भने,‘ बर्खामा रोकिएको काम कहिले थाल्ने हो अत्तोपत्तो छैन ।’ यहाँ निर्माण व्यवसायीले सामाग्री उठाउँदा स्थानीयले अवरोध समेत गरेका थिए । बर्खा सकिए लगत्तै आउने आश्वासन पछि मात्रै सामाग्री उठाउन दिइएकोमा अझै निर्माण व्यवसायी सम्पर्कमा नआएको भट्टराईले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्युठानमा करोडौँका पक्किपुल बन्दाबन्दै अलपत्र

जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पक्किपुल निर्माण व्यवसायीको लापरबाहीले गर्दा वर्षौँदेखि अलपत्र परेका छन् । सर्वसाधारणका...

करोडौँका चिस्यान केन्द्र अलपत्र, किसान मारमा

प्रदेश सरकारको लागत साझेदारीमा करोडौँ खर्चेर निर्माण गरिएका प्युठानका चिस्यान केन्द्र(कोल्ड स्टोर)प्रयोग विहीन भएका छन्...

१४ गतेसम्म एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन  संयुक्त...

गोरखा मिडियामा रवि लामिछानेले बुझ्थे मासिक ६ लाखभन्दा बढी तलब

गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट मासिक ६ लाख २० हजार...

झाँक्रीलक्षित माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै नहिँडनु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएर सार्वजनिक असन्तोष पोख्दै हिडनेलाइ...