नेवार समुदायको परम्परागत भैरव नाच प्यूठानमा प्रदर्शन गरिएको छ ।
लायन्स क्लब अफ प्यूठानको आयोजना र प्यूठान नगरपालिका वडा नम्बर ३ र ४ को सहयोगमा लातेबाज भैरव समाज भुमिकास्थान नगरपालिका–८ अर्घाखाँची को टोलीले नेवारी समुदायमा प्रचलित भैरव नाच प्रदर्शन गरेको हो ।
श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म रातीको समयमा नाचिने भैरव नाच मङ्गलवार प्यूठान नगरपालिका–३ जुम्री बसपार्कमा प्रदर्शन गरिएको लायन्सका सल्लाहकार अर्जुन कुमार कक्षपतिले जानकारी दिए । प्यूठानमा नेवारी समुदायको बाक्लो बस्ती भए पनि यो नाच नाचिँदैन । ‘नेवारी समुदायमा प्रचलित नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धनका लागि प्यूठानमा भैरव नाचको आयोजना गरेका हौँ’, कक्षपतिले भने ।
भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाच रहेको लातेबाज भैरव समाजका संयोजक राज कुमार श्रेष्ठले बताए । सात ताल (पटक) सम्म नाचिने भैरव नाचको एउटा ताल सामान्यतया २० मिनेटको हुन्छ । बिचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ । श्वेत भैरव र रक्त भैरव सहायक हुन्छन् भने साथमा डङ्किनी हुन्छ । तीन ओटै भैरव आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौँरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने श्रेष्ठले बताए । भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यवादनमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ ।
यसमा मुख्य गरी मृदङ्ग, झ्याली, झुर्मा, कर्नाल, बाँसुरी, सनही बाजा वाद्यवादन प्रयोग गरिन्छ । भैरव नाचलाई रोचक बनाउन लौरा नाच, बच्छे नाच, घोडा नाच, चरानाच, लाहुरे लाहुरेनी नाच, लाटा लाटी नाच नाचिन्छ । पछिल्लो समय प्यूठानको खलङ्गा, अर्घाखाँची, गुल्मी, रुपन्देहीमा भैरव नाच प्रदर्शनका लागि पुग्ने गरेको समेत श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेवार समुदाय भएका स्थानहरूमा आमन्त्रण गर्ने र प्रदर्शनका लागि लातेबाज भैरव समाज पुग्ने गरेको छ । मल्लरानी गाउँपालिका–४ को आयोजनामा प्यूठानको खलङ्गामा असोज १६ गते जिल्लामा पहिलो पटक प्रदर्शन गरिएको थियो । भैरव नाच लुम्बिनीका अर्घाखाँची, पाल्पा, गुल्मी क्षेत्रमा लोकप्रिय छ ।