प्यूठान — प्यूठान नगरपालिका–२, ३ र ४ को सिमानास्थित जुम्री खोला बगरमा धमाधम घर निर्माण भइरहेका छन् । खोलाको बहाव परिवर्तन हुने गरी घर बनाउन थालेपछि बस्ती जोखिममा परेको छ ।
निजी जमिन भन्दै स्थानीयवासीले प्लटिङ गर्नेलाई जग्गा बिक्री गरेपछि संरचना निर्माण हुन थालेका हुन् । निर्माणसंहितामा बगरमा भवन बनाउन नहुने मापदण्ड छ । त्यसविपरीत जुम्री बगरमा दर्जनौं घर बनेका छन् ।
पाँच–सात वर्षपहिलेदेखि जोखिमयुक्त क्षेत्रमा धमाधम घर निर्माण भइरहँदासमेत स्थानीय प्रशासन र नगरपालिका मूकदर्शक बनेका छन् । जुम्रीस्थित पक्की पुल क्षेत्रको तल्लो भागका २० घर जोखिममा रहेको स्थानीय कल्पना परियारले बताइन् । खोला किनारमा गरिएको प्लटिङमा घडेरी किनेर घर बनाएकामा अहिले पछुतो लागेको उनले सुनाइन् । ‘जुम्री पक्की पुलको तल्लो भाग क्षेत्रमा निकै जोखिम छ,’ उनले भनिन्, ‘अहिलेसम्म कतैबाट पनि रोकथामका लागि पहल भएको छैन ।’ प्लटिङ गरेकाहरूले घडेरी बिक्री गरेपछि हराउँछन् । स्थानीय सरकारले पनि नियन्त्रण नगर्दा बस्ती जोखिममा परेको उनले बताइन् ।
स्थानीय तहले विपद् प्रतिकार्ययोजना बनाएर यस्ता जोखिमयुक्त स्थानमा भौतिक संरचना निर्माण गर्न रोक लगाउनुपर्ने जिल्लामा विपद् व्यवस्थापनमा काम गर्दै आएका स्रोत व्यक्ति सञ्जय रिजालले बताए । ‘विपद् व्यवस्थापनको दृष्टिकोणले जोखिम रहेको जुम्री क्षेत्रमा धमाधम घर निर्माण भएका छन्,’ उनले भने, ‘यसमा स्थानीयसरकारको ध्यान पुग्नुपर्छ ।’
स्थानीय सरकारले बस्ती कहाँ बसाल्ने, खेती कहाँ गर्ने र उद्योग सञ्चालन गर्ने स्थान पहिचान गर्नुपर्नेमा छाडा छोडेका कारण अव्यवस्थित प्लटिङ र बसोबास भइरहेको रिजालले बताए । ‘विगतमा खोला बग्ने बहावमा घर ठडिइरहेका छन्,’ उनले भने, ‘खोलाको किनारबाट टाढा निर्माण गर्नुपर्नेमा बगरमा घर बन्न थालेपछि विपद् निम्तिने खतरा छ ।’ ०७३ साउन ११ गते आएको बाढीले धेरै घरमा नोक्सान पुर्याएको रिजालले बताए ।
स्थानीय सरकारले जोखिमयुक्त स्थानमा भौतिक संरचना निर्माण भए रोक्न पहल लिनुपर्ने प्रमख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । वर्तमान ऐन–कानुन मिचेर जोखिमयुक्त स्थानमा भौतिक संरचना निर्माण भएको सम्बन्धमा स्थानीय प्रशासनले चाँडै निर्णय लिने उनले बताए ।
जुम्री खोलामा आउने बाढीको निकाससमेत अवरुद्ध हुने गरी संरचना निर्माण भइरहेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले स्विकारे । अहिले नियन्त्रण नगरे ठूलो जनधनको क्षति हुने उनले बताए । ‘स्थानीय सरकारले रोक्न खोज्दाखोज्दै धेरै घर निर्माण भएका छन्,’ उनले भने, ‘यस्तो कार्य सबै लागेर रोक्नुपर्छ ।’
०४४ मा नापी नक्सा हुँदा खोलाको भाग सानो राखिएको थियो । धेरै क्षेत्रफल भएको क्षेत्रमा १८ मिटर र साँघुरो भएको स्थानमा ४ मिटर चौडासम्म नापी नक्सामा खोला रहेको छ । हाल जुम्रीको पक्की पुलभन्दा माथि खयरघारीसम्म खोलाको भागलाई सडक मानेर वरिपरि घर निर्माण भएको जिल्ला नापी कार्यालय प्यूठानका सूचना अधिकारी भोजराज भुसालले बताए ।
पक्की पुलभन्दा तल्लो क्षेत्रमा खोला आफ्नै भागमा बगेको उनले सुनाए । पहिले जुम्री खोलामा बाढी आउँदा न्यूनतम ५० मिटर चौडा बगर बनाउने गरेर बग्ने गरेको प्यूठान नगरपालिका–४, टारीका ८४ वर्षीय लोकबहादुर भण्डारीले बताए । ‘बगरको पुर्जा बोकेर आफ्नो जमिन भन्दै बिक्री गरिरहेका छन्,’ भण्डारीले भने, ‘खोलो बार्ह वर्षमा फर्कन्छ भन्छन् । पहिलेकै स्थानमा खोलो फर्के जुम्री बजार बच्दैन ।’
श्रोतः https://www.kantipurdaily.com/pradesh-5/2019/04/08/15546961252711394.html?fbclid=IwAR2JINanUL3kcMUeW6Yo4lM7H1lwkSOqDBGSHq900pXRSP5B_y6hxIBipTg