श्रावण चौथो शनिवार(२४ गते) विहानै हरि भण्डारी र म कोठावाट मर्निङवाक निस्कियौँ। प्राय हाम्रो मर्निङवाक वतासेडाडा वा झिमरुक नदिको किनारामा हुन्थ्यो तर, त्यो दिन भने त्यसो भएन। हामि विजुवार टारी हुदै ईन्द्रेडाडा पुग्यौँ। फर्किएर विजुवार अस्पत्तालमा रहेको फार्मेसिमा पुग्यौँ। कारण थियो चुजाका विरामीको औषधी किनेर अर्घाखाची जाने गाडिमा पठाईदिनुपर्ने।
तर, परिस्थिती फरक वन्यो। अस्पत्ताल नजिकैको यौटा होटलवाहिर एकजना महिला फोनमा रोईरहेकी थिईन। “सुस्मिताका दुईवटै खुट्टा भाचिएका छन् रे। यहाँ हुदैन भन्छन। यो त कुहिएर मर्ने भई।” मैले औषधी लिदैगर्दा हरिजी महिलासंग कुरा गर्दै हुनुहुन्थ्यो। उनि रहेछिन नौवहिनी ८ निवासी मुसी विक। ९ वर्षिय नातिनी सुस्मिता विक लाई घरनजिकैको सिर्से भन्ने ठाँउमा माटो खन्ने क्रममा ढिस्कोले च्यापेर घाईते भएपछी उपचारको लागी जिल्ला अस्पत्ताल ल्याएकी। जिल्ला अस्पत्ताल प्यूठानले दुवै खुट्टा भाचिएको र अप्रेसन गर्नुपर्ने कारण सुस्मितालाई रिफर गरेपछी घरमा गोरु वेचेको ५ हजार कुरेर वसिरहेकी। यौटै पहिरोमा च्यापिएकी छिमेकी महिलालाई तत्कालै एम्वुलेन्समार्फत वुटवल पुर्याएपनी उनिसंग रातभर छटपटीनुवाहेक कुनै विकल्प रहेन। न कसैसंग भनसुन गर्ने हिम्मत छ। न कुनै वोर्ड हेरेर ठाँउ चिन्ने उपाए। न सरसापट गरेर उपचार गर्नसक्ने अवस्था।
तत्कालै हामी जिल्ला अस्पताल प्यूठानमा कार्यरत एमडिजिपी डा. सुनिल सुनारसंग अप्रेसन थिएटरमै पुगेर सल्लाह गर्यौँ। अप्रेसन गरेर खुट्टामा प्लेट राख्नुको विकल्प नरहेको वताएपछी वुटवल पठाउनैपर्ने भयो। सवै वुझदा र फोन घुमाउदा दिउसो १ वजिसकेको थियो। त्यतिञ्जेल सुस्मिताका वुवापनी विजुवार आईपुग्नुभयो। उहाँहरुसंग गोरु वेचेको र सरसापट गरेको गरि जम्मा ७ हजार रुपैयाँ मात्र थियो। तर, दुवै खुट्टा भाँचिएकी नातिनिको उपचार गर्नुको विकल्प थिएन। त्यसमाथी आफै वुटवलका अस्पत्तालमा पुगेर उपचार गराउन सक्ने अवस्था पनि थिएन।
विकल्प खोज्यौँ कुरुवा र सहयोगी मनहरुको। हरिजीले भोलि कुनै समस्या हुन नदिने वचनसहित कालिका वोर्डिङमा पढाउने लुप्लुङकै वासु विकलाई जति समय लागेपनी उपचारको लागी कुरुवाको रुपमा सहयोग गर्न भन्नुभयो। अनि खोज्न थाल्यौँ सहयोगी हातहरु सामाजिक सञ्जाल र फोनहरुवाट। थुुप्रै कमेन्ट, फोन र म्यासेजहरुमध्य यौटा महत्वपुर्ण म्यासेज र त्यसपछीको फोनकल थियो जस्ले सुस्मिताको उपचार गर्नुपर्ने हाम्रो जिम्मेवारी र परिवारको वाध्यतामा सारथी वन्यो।
प्यूठानको नाैवहिनी गाँउपालीका वर्डा न ६ स्ठायी ठेगाना भइ वुटवल वस्दै आउनुभएका समाजसेवी भरत के सी को हरिजीसग सम्पर्क भयो। उहाले प्रादेशिक अस्पत्तालमा सहुलियतमा उपचारको कुरा चलाउदै हुनुहुन्थ्यो। तर पुर्ण रुपमा निशुल्क उपचारको आवश्यकता थियो। त्यतिकैमा वुटवलमै रहनुभएका अन्नपुर्णपोष्ट तथा वुटवल टुडेकर्मी पत्रकार केशर रोका हामिसंगको फोनवार्तापछी तत्कालै घाईतेलाई भेटन अस्पत्ताल पुग्नुभयो। लुम्विनी सिटी अस्पत्ताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलका व्यवस्थापक प्यूठानकै झिमरुक गाँउपालीका निवासी वसन्त जि.सी.संग घटना, उनिहरुको पारिवारिक अवस्थाको विषयमा छलफल भएपछी वसन्त जि.सी.ले उनको उपचार लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली.मा गर्न व्यवस्था मिलाउनु भयो। लुम्विनी सिटीले २ लाख ५० हजार पर्ने उपचारखर्च पुर्ण रुपमा व्यहोरेको छ। हृदयदेखी धन्यवाद भन्नैपर्दछ लुम्विनी सिटी अस्पत्ताल, त्यहाँका व्यवस्थापक वसन्त जिसी र केशर रोकाजिलाई।
यो घटनाले केहि अनुत्तरीत प्र्रश्नहरु उव्जाएको छ मेरो मनमा। गरिवहरु धनिहरुको तुलनामा उपचार गरेर वाँच्न नपाउने हुन ? स्वस्थ्य हुदा र श्रम गर्दा जिवनभर राज्यको ईमानदार नागरिकको जिम्मेवारी निर्वाह गरेको गरिवसंग संकट, विपदमा र अभावहरुमा राज्यसंग जिवन रक्षाको भरोसा गर्ने अधिकार हुदैन? समाजवादउन्मुख राष्टका सवै नागरिकहरुलाई स्वास्थ्यसमस्या भएपछी वाँच्ने अधिकार सुनिस्चितताका लागी समान अवसर हुने व्यवस्था हुन सक्दैन? आदी आदी…..
(प्रकाशितः २०७७ भाद्र १ गते शनिवार)