![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add-1.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2021/09/Pyuthan-jhuleni-566x400.jpg)
प्यूठान जिल्लालाई ‘कम्युनिस्टको उद्गम जिल्ला’का रुपमा बुझ्ने गरिन्छ । यहाँबाट सुरु भएको कम्युनिस्ट राजनीति रोल्पा, रुकुम हुँदै अन्य स्थानसम्म फैलियो । प्यूठानबाट पहिलोपटक गठन गरिएको कम्युनिस्ट पार्टीकै एउटा रुपले २०५२ सालमा पुग्दा रोल्पाबाट ‘माओवादी जनयुद्ध’ ग्रहण गर्यो । त्यसको प्रभाव प्यूठानमा समेत पर्यो ।
त्यसबीचमा कम्युनिस्टको राजनीति विभिन्न चिरा–चिरामा विभाजित भएका छन् तर, पनि जनमतको आधारमा प्यूठान कम्युनिस्टकै गढ मानिन्छ । पहिलो सिंगो एउटा कम्युनिस्ट पार्टीबाट हाल प्यूठानमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा मसाल, नेकपा क्रान्क्रिकारी (बैद्ध समुह), नेकपा माओबादी (बिप्लब समुह), नेकपा माले, नेकपा (एकिकृत समाजबादी) पार्टी क्रियाशिल छन् ।
प्यूठानलाई धेरै कम्युनिस्ट नेता जन्माउने जिल्लाको रुपमा हेरिन्छ । कम्युनिस्ट कार्यकर्ता र नेता उत्पादन गर्ने क्रममा ७७ जिल्ला मध्ये प्यूठानलाई पहिलो नम्बरमा लिन सकिन्छ । साविकको राप्ती अञ्चलकै पुरानो, गतिशील र जेठो कम्युनिस्ट आन्दोलन समेत प्यूठानको रहेको कम्युनिस्ट नेताहरु दावी गर्छन् । यहाँको कम्युनिस्ट राजनीतिमा हुर्के–बढेका नेताहरुको देशमै सशक्त उपस्थिति छ । मोहनविक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम, लिलामणि पोखरेल, मणि थापा, सूर्य थापा, नवराज सुबेदी, कृष्णध्वज कड्का, हरी रिजाल लगायतका नेता प्यूठानीनै हुन् । उनीहरु अझैपनि कम्युनिस्ट राजनीतिमा क्रियाशील र सक्रिय छन् ।
प्यूठान कम्युनिस्ट नेता जन्माउने जिल्ला मात्र नभएर सधंै कम्युनिस्टको गढ जस्तै बन्यो । २०१५ सालको आम निर्वाचन बाहेक बहुदलीय व्यवस्थापछि हरेक निर्वाचनको मतको आधारमा कम्युनिस्ट पार्टी प्यूठानमा पहिलो नम्बरमै पर्छ । पछिल्लो निर्वाचन २०७४ को समानुपातिक मत परिणाम हेर्दा कम्युनिस्ट पार्टीको मत अन्य पार्टीको तुलनामा धेरै अन्तरले अडाडि छ ।
मत परिणाम अनुसार नेकपा एमालेले २४ हजार ७ सय ६३, मसालको चुनाबी मोर्चा राजमोले १५ हजार ४ सय ४७ र नेकपा एकीकृत (माओबादी केन्द्र) ले १४ हजार ८२ मत पाएको थियो । नेपाली काँग्रेसले २२ हजार ८ सय ४६ मत ल्याएको थियो । साना मक्यूनिस्ट इतरका शक्तीको मत धेरै न्यून छ ।
संगठित रुपमा कम्युनिस्ट पार्टी, जनमत बनाउने काम प्यूठानमा मोहनविक्रम सिंहले गरेका थिए । उनैकै अगुवाइमा प्यूठानमा कम्युनिस्ट जनमत फैलाए पनि । सुरुमा काँग्रेस पार्टीको सदस्य रहेका मोहनविक्रमले पछि कम्युनिस्ट राजनीतिमा लागेको बताउँछन् । पहिले आर्य समाज, त्यसपछि नेपाली कांग्रेस र मातृकाप्रसाद कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी हुँदै मोहनविक्रम सिंह कम्युनिस्ट संगठनमा लागेका थिए । सिंह २००९ सालमा जुद्धोदय हाइस्कूलका विद्यार्थी थिए ।
त्यहाँ उनी विद्यार्थी युनियनको अध्यक्ष समेत भए । त्यहीं हुँदा विदेशी हस्तक्षेप विरोधी आन्दोलन थालेका कारणले उनलाई जेल हालिएको थियो । प्यूठानमा कम्युनिस्ट पार्टी बलियो बनाउन २०१० पुस–फागुनमा मोहनविक्रम र अर्का कम्युनिस्ट नेता खगुलाल गुरुङले प्यूठानस्थित रातामाटा स्कुलमा कम्युनिस्ट प्रशिक्षण शिविर चलाएका थिए ।
त्यसबेला प्युठान र रोल्पा एउटै जिल्ला थियो । सिह र गुरुङले करिब डेढ सय जनालाई भेला गराएर पहिलो पटक कम्युनिस्ट पार्टीको प्रशीक्षण चलाएका थिए । त्यही भेलाबाट ७ जना सम्मिलित नेपाल कम्युनिस्ट पार्टी प्यूठान गठन गरियो । संस्थापक ७ मध्ये मोहनविक्रम सिंह र आफू मात्र जीवित रहेको १०४ वर्षीय खगुलाल गुरुङ बताउँछन् ।
‘२०१० साल पुसमा प्यूठानमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संगठन समिति गठन गरेका थियौ,’ गुरुङले भने, ‘मोहनविक्रम सिंहलाई सचिव बनायौ ।’ कम्युनिस्ट पार्टीको गठनपश्चात् प्यूठानमा नयाँ खालको हलचल र जागरण चलेको गुरुङको दाबी छ । कम्युनिष्ट पार्टीले एकदमै नयाँ ढंगले राजनीतिक जागरण चलायो । शोषणविरोधी संघर्षको थालनी गरेको गुरुङ बताउँछन् ।
२०११ सालमा मोहनविक्रम सिंहलाई राजा त्रिभुवनले आफ्नो सल्लाहकार सभा सदस्यमा मनोनीत गरे । तर उनले स्वीकारेनन् । राजाले उनलाई सल्लाहाकार बनाएर कम्युनिस्ट गतिविधि रोक्न प्रत्यक्ष थालेका थिए । सिंहले कम्युनिस्टको गतिविधि नछाड्ने उद्देश्यले राजाको आग्रह स्वीकार गरेनन् । त्यतिखेर देशका विभिन्न भागमा किसान संघर्षको सुरुआत चलिसकेको थियो । त्यसबेला एक प्रकारको लहर देखिएको थियो । प्यूठानको नारीकोटमा २०११ फागुनमा किसान आन्दोलन सुरू भयो ।
राटामाटामा चलाइएको जनता प्रशिक्षण शिविरको पहिलो अभ्यास नारिकोटबाट गरिएको सिहले बताए । ‘जनताले हामीलाई धेरै साथ दिएका थिए’, खगुलालले भने, ‘तत्कालीन व्यवस्थालाई हाम्रो काम राम्रो लागेन ।’ किसान आन्दोलनमा साहुहरुको कोदोको भकारी फोरेर गरिबलाई बाड्ने गरेको गुरुङले बताए । त्यसैबेला जग्गा नभएकालाई जग्गा दिइयो । घर नहुनेलाई घरबास । साथ सहयोग नहुनेलाई साथ दिइयो । नारीकोटको किसान आन्दोलनका दौरानमा मोहनविक्रम सिंहसहित ६ जना नेताहरुलाइ गिरफ्तार गरिएको उनले बताए । करीब १ सय जना नेता कार्यकर्ताले भूमिगत रूपमा संघर्ष चलाएको गुरुङले बताए । पक्राउ परेका व्यक्तिहरूमाथि राजद्रोहको मुद्दा लाग्यो । पक्राउपछि उनीहरु थप खारिएर नेतृत्वमा पुगे ।
२०१५ सालको चुनावमा प्यूठानका तीनवटा क्षेत्र मध्ये मोहनविक्रम सिंह, खगुलाल गुरूङ र श्यामबहादुर गोदार थापालाई उम्मेदवार बनाइएको थियो । यो बेला रोल्पा प्यूठान एउटै जिल्लाभित्र पर्थे । तर, तीनवटै क्षेत्रमा नेपाली कांग्रेसले जित्यो । यो बेलासम्म प्यूठानमा कांग्रेस बलियो थियो । निर्वाचनमा पराजित भएपछि मोहनविक्रमको शक्ति छिन्नभिन्न भयो । कार्यकर्ताहरु तितरवितर भए । उनी बनारसमा पुगेर त्यहाँ भएका शिक्षित प्यूठानीहरुलाई संगठित गर्नतिर लागे ।
‘उतिबेला उपल्लो कक्षा पढ्न सबै जना भारतको बनारसमा जानुपथ्र्यो,’ गुरुङले भने, ‘मोहनजी बनारसबाट फर्केपछि प्यूठानमा बाल कम्युनिस्ट पार्टी पनि गठन गर्यौं । हामी फेरि राजनीतिमा लाग्यौं । हाम्रो संगठन त्यसपछि राम्रो हुँदै गयो ।’ त्यसबेला गठन गरिएको १३ सदस्यीय बाल कम्युनिस्ट पार्टीको सचिव खेमराज पण्डित थिए । उनी पछि पार्टी छोडेर पंच्यातमा लागेका थिए । बनासरमा पढेर बाल कम्युनिस्ट पार्टीमा आवद्ध भएकाहरु बसै पढलेख गरेका युवा नै थिए ।
बाहुन समेत कम्युनिस्ट पार्टीमा लागेको खबरपछि प्युठानमा खुबै चर्चा भएको थियो । यहि अभियानमा पण्डितहरुले हलो पनि जोतेका थिए । मोहनविक्रम क्षेत्री जातिका हुन् । प्युठानबाट बाहुन र क्षेत्रीले सुरु गरेको कम्युनिस्ट राजनीतिमा पछि रोल्पा र रुकुमका मगरहरुको बाक्लो सहभागिता रह्यो । उनीहरुले नै प्यूठान र रोल्पाका गाउँगाउँमा कम्यनिस्ट पार्टी फैलाउन सहयोग मिलेको गुरुङको भनाइ छ । कम्युनिस्ट पार्टी विभाजित नहुँदासम्मको अवधिमा प्यूठानमा नेपाल कम्युनिस्ट पार्टीको मूल नेतृत्व सर्वप्रथम मोहनविक्रम सिंहले नै गरे ।
पटक–पटक विभिजन
२०२५ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलन भयो । वामदेव गौतम रूपन्देहीबाट सम्मेलनमा सहभागी भई राष्ट्रिय परिषद् सदस्यमा छानिए । तेस्रो सम्मेलनको असर प्यूठानसम्म पुगिछाड्यो । यस अघिसम्म मोहनविक्रमकै नेतृत्व थियो । प्यूठान जिल्ला कमिटीका एक सदस्य वीरबहादुर सिंह भने पुष्पलाल समूहको पक्षमा उभिए । अरूले पुष्पलालको विरोध गरे ।
यसरी प्यूठानमा पनि मोहनविक्रम र पुष्पलालको पक्षमा दुईथरी समूहको अस्तित्व देखा पर्यो । यसको प्रभाव मुख्यत: लुङ भेगमा केन्द्रित थियो । मोहनविक्रम सिंह, मनमोहन अधिकारी आदिको पहलमा गठित केन्द्रीय न्यूक्लियसको असर पनि प्यूठानसम्म पुग्यो । केन्द्रीय न्यूक्लियसमा प्यूठानबाट मोहनविक्रम सिंह र खिमानसिंह गुरूङ रहे ।
२०३१ सालमा भएको चौथो महाधिवेशनको अगुवाई स्वयम् मोहनविक्रमले गरेका थिए । विद्यार्थी आन्दोलनमा त्यतिखेर प्यूठानका खड्गबहादुर जिसी र गिरीबहादुर केसी निकै सक्रिय थिए । तर पञ्चायतको दमनसँगै प्यूठानका कैयौं कार्यकर्ताहरू आन्दोलन छोडेर पञ्च्यातमा प्रवेश गर्न पुगेको खगुलालले सुनाए । ‘खेमराज पण्डित, सिद्धिमान जीसी, खड्गबहादुर जीसी, गिरिबहादुर केसी, जगतबहादुर जीसी र राममणि पोखरेलगायतका थुप्रै व्यक्तिहरू पञ्च्यातमा समाबेश भएका थिए’ गुरुङले भने, ‘तैपनि हामीले पार्टी बचाएर राख्यौं निकै मुस्किलका साथ ।’
२०४२ मा नेकपा (मशाल) विभाजित भई नेकपा (मशाल) र नेकपा (मसाल) बने । त्यसबेला विचार उस्तै भएपनि मोटो र पातलो स (श र स) गरी समूहगत विभाजन भयो । ‘विभाजन अघि बाल कम्युनिस्ट पार्टीमा रहेका सबै एक ढिक्का भएर पार्टी संगठनमा लागेका थियौ’, गुरुङले भने, ‘पार्टीले खटाएर रोल्पाको थबाङमा संगठन बिस्तारमा लागेका थियौ ।’ थबाङमा पहिलोपटक कम्युनिस्ट बनाउन मोहनविक्रम सिंहका साथै मोहन गिरी लगायत पुगेका थिए ।’ त्यसबेला कम्युनिस्ट बनाउन ज्यान फालेर लाग्ने चलन थियो ।
शिक्षक बनेर जिल्ला भित्र र बाहिर संगठन बिस्तारमा लाग्दा धेरै हण्डर खाएको कम्युनिस्ट बनाउन रोल्पाको थबाङमा पुगेका गिरीले बताए । टेकुलाल गिरी, दिपक केसी, विद्याधर थापा, गोरखबहादुर केसी लगायतलाई पार्टी संगठन विस्तार गर्न शिक्षक बनाइएको थियो । उनीहरु प्युठानदेखि रोल्पा र रुकुमसम्म पुगे ।
२०४६ मा बहुदलीय व्यवस्थाको स्थापना भएपछि राजनीतिक पार्टीहरूको सक्रियता बढ्यो । बल्ल त्यसपछिको अवस्था बेग्लै भयो । २०४७ साल पुसमा तत्कालीन माले र माक्र्सवादीको बीचमा एकता भई नेकपा (एमाले) बन्यो । २०४८ को चुनाव नेकपा (मसाल) ले बहिष्कार गर्यो । २०४९ सालमा भएको स्थानीय चुनावमा भने मसालले अखिल नेपाल किसान संघको नाममा भाग लियो ।
तत्कालीन ३६ गाविससहित जिविस सभापति र उपसभापति दुबै पद मसालले जित्यो । रोल्पामा पनि सभापति लगायतका थुपै्र मशाल निकट जनप्रतिनिधि विजयी भए । रोल्पालाई मुख्य आधार क्षेत्र बनाएको मशालले भित्रभित्रै ‘जनयुद्ध’ को सुरुआत गर्त ‘ग्रामीण वर्गसंघर्ष’ को सुरुआत गरिरहेकै थियो ।
मोहनविक्रम सिंह नेतृत्व त्यागेकाहरुले मोहन वैद्य, रामबहादुर थापा, बर्मन बुढा लगायतको नेतृत्वमा रोल्पा र रुकुमका मगर समुदाय बीच घनिभूत माओवादी विचार फैलाउन अग्रसर थिए । २०५१ मा भएको जिल्ला विकास समितिको चुनावमा प्युठान, रोल्पा र रुकुम गरी खासगरी रापती क्षेत्रमा एमाले र मसालको बीचमा चुनावी तालमेल भइको थियो । त्यसैले अधिकांश जिल्लामा दुवैले संयुक्त प्यानल बनाई जित हासिल समेत गरे ।
२०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै पार्टीबीच अधिकांश स्थानमा चुनावी तालमेल भयो । तत्कालीन कांग्रेस र राप्रपासँग तालमेल थियो । २०५२ साल फागुन १ गतेदेखि ‘जनयुद्ध’ थालेको तत्कालीन माओवादीले चुनाव बहिस्कार गर्यो । रोल्पा र रुकुमका प्राय: सबै स्थानीय तहमाथि माअोवादी बहिस्कारको बाक्लो प्रभाव पर्यो ।
त्यसबेलाको निर्वाचन मसाल, एमाले, कांग्रेस र राप्रपाका उम्मेदवारले डराईडराई निर्वाचनमा भाग लिए । माओवादीको गतिविधि बाक्लो हुँदै गएकाले ती जनप्रतिनिधिले त्यस अवधिमा आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न पाएनन् ।
यसै बीचमा २०५६ सालमा सरकारले आम निर्वाचन गरायो । त्यसअवधिसम्म प्युठानमा सिंह नेतृत्वको मसालको बाक्लो प्रभाव कायमै रह्यो भने रोल्पा–रुकुममा माओवादी गतिविधिले निस्पक्ष र निर्भय निर्वाचनमाथि गहिरो प्रभाव पारिसकेको थियो । प्युठानका दुवै क्षेत्रमा मसालका उम्मेदवार बिजयी भए ।
विस २०४८ सालको निर्वाचनमा मसालले निर्वाचन बहिस्कार बाहेक हरेक पटकको निर्वाचनमा कम्युनिस्ट पार्टीले बिजय हासिल गर्दै आएका छन् । २०६४ को निर्बाचनमा माओबादीले र २०७० को निर्माचनमा एमालेले प्यूठानका दुबै सिटमा बिजय भए । भने रोल्पामा माओवादी उम्मेदवार बिजय भए । २०७४ को निर्वाचनमा प्यूठानबाट संघमा राजमोका तर्फबाट सिंह पत्नीले निर्वाचन भइन । भने प्रदेशमा एमाले र माओबादी केन्द्र उम्मेदवार बिजजय भए । यो निर्वाचन एमाले, राजमो र माओबादी केन्द्र एउटै मोर्चा बनाएर निर्वाचनमा होमीएका थिए ।
नारा गुलिया
प्यूठानबाट सुरु भएको कम्युनिस्ट आन्दोलन मार्फत अघि सारेको नारा गरीबी हटाउने र समानता ल्याउने थियो । तर ती सबै उद्देश्य नारामै सीमित देखिएका छन् । कम्युनिस्टहरुले गरिब–दु:खीको हित र पक्षमा आफूलाई समर्पित गर्दै आएको कम्युनिस्ट नेताहरु दावी गर्छन् । मोहनविक्रमले आफ्नै बुवा खिमविक्रमका विरुद्ध धावा बोलेका थिए । बुवाले गरेका कैयौँ तमसुक च्यात्ने, जलाउने र असामीहरूलाई ऋणमुक्त बनाउने काम गरे ।
‘कम्युनिस्टमा लाग्नु भनेको बुबाको शोषणविरुद्ध लाग्नु जस्तै भयो । म त्यहीं गर्न उत्रिएँ ।’ अधियाँ र मोहियानी हकको अधिकार व्यवहारमा लागू गराउन कम्युनिस्टहरुले महत्त्वपूर्ण अगुवाइ गरेका थिए । साथै साउनमा भित्र्याउन काटेको धानबाटै पालुवा हुर्काएर नयाँ रोपाइँ नगरी प्युठानको गेजबाङको फाँटमा पुन: धान फलाउने काम समेत कम्युनिस्टकै अगुवाइमा भयो । बिजुवार, बाग्दुला क्षेत्रमा तोरी खेती गरेपछि गहँु लगाउने कामको सुरुवात पनि आफूहरुले गरेको सिंहले दावी गरे ।
पञ्च्यातले कांगेसलाई दवायो
नेपाली कांग्रेसका पूर्व पार्टी सभापति शालिकराम पण्डित यो कुरा स्विकार गर्दैनन् । उनले २०१७ सालसम्म बलियो रहेको काग्रेसलाई राजा महेन्द्रले कु गरेपछि देश निकालामा पर्दा कम्युनिस्टले संगठन विस्तार गर्न मौका पाएको बताए । ‘त्यसबेलाको सत्ता काँग्रेसविरोधी थियो,’ पण्डितले भने, ‘काँग्रेसका नेतालाई विभिन्न मुद्दा लगाएर जेल हालियो । कतिलाई देश निकाला गरियो ।’ २०१७ सालपछि प्यूठानमा कम्युनिस्टहरुले शिक्षक मार्फत् राजनीति गरेर संगठन बलियो बनाएको पण्डितको बुझाइ छ ।
त्यो गिरीजा काण्ड
२०४७ साल माघ २५ गते नेपाली काँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्यूठान आए । बिजयनगरको मुक्ति माविमा कार्यक्रम गरिएको थियो । गिरिजाको भाषण र त्यसको जवाफमा मसालको तर्फबाट गरिएको आक्रामक प्रतिक्रियाका कारण त्यसबेला राष्ट्रिय चर्चाको घटना बनेको थियो ।
कम्युनिस्टको गढ भत्काउने भन्ने उद्देश्यसाथ कोइराला यहाँ आएका थिए । उनले चर्को भाषण पनि गरे । तर त्यसैबेला मसालका कार्यकर्ताबाट प्रतिकार भयो । यो घटनासगै कोइराला काठमाडौं फर्केर आफ्नै पार्टीका तर्फबाट अन्तरिम गृहमन्त्री रहेका योगप्रसाद उपाध्यायको राजीनामासम्म मागे । पहिले कोइरालाको उपस्थितिमा नेपाली काँग्रेसले स्वर्गद्वारी क्याम्पसमा आमसभाको कार्यक्रम तय गरेको थियो । मसालको जिल्ला नेतृत्वले पनि उक्त दिन क्याम्पसमै आफ्नो कार्यक्रम गर्ने भन्यो । सर्वदलीय बैठकपछि काँग्रेसले रातामाटा हाइस्कूलमा र मसालले चितिखोलामा कार्यक्रम गर्ने सहमति भएको थियो
गिरिजाप्रसादले भाषणमा भन्दै थिए, ‘माले,मसाले र मण्डले एउटै हुन् ।’ त्यसबीचमै मसालको जुलुस करिब ५/७ हजारको संख्यामा रातमाटामा जम्मा भयो । गिरिजाको भाषणले ज्यादै उत्तेजित भएको भन्दै मसालका कार्यकर्ता जाइलागे । कोइरालासँगै दाङबाट खुमबहादुर खड्का, कुबेर शाहको नेतृत्वमा पचास–साठी जना लडाकु पनि आएका थिए ।
उनीहरूसँग खुकुरी, पेस्तोल र छुरी पनि छ भन्ने हल्लाले मसाल झन उत्तिजित थियो । ‘त्यतिखेर प्यूठानमा मसालको गतिविधि र सक्रियता ज्यादै बढी थियो,’ तत्कालीन कांग्रेस पार्टी सचिब पण्डितले भने, ‘त्यसकारण गिरिजाको भ्रमणका क्रममा के हुने होला ? भन्ने सन्त्रास उत्पन्न भएको थियो ।’
मसालका कायृकर्ताले कांग्रेसको कार्यक्रम भइरहेको ठाउँ घेरा हाले । स्कूलमाथिबाट ढुङ्गा प्रहार गरियो । प्रहरीले लाठी चार्ज र हवाई फायर गर्यो । ८/१० जना घाइते भए । मसाले प्यूठान भालुबाङ सडकमा ठूलाठूला ढुंगा राखेर सडक अवरुद्ध गरेको थियो । राति १२ बजे प्रहरी र काँग्रेस कार्यकर्ताले अवरुद्ध पारिएको बाटो खोले । रातिको दुई बजेमात्रै प्रहरीको सहयोगमा कोइराला दाङ पुग्न सफल भएका थिए ।
घटनामा संलग्न भएको आरोपमा मसालका हरि आचार्य, चेतनाथ योगीसमेत १७ जनामाथि प्रशासनले सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । पछि हरि आचार्य, चेतनाथ योगी समेतका ११ जनाले २०५४ साल फागुन ३ गते ‘आइन्दा यस्तो सार्वजनिक अपराध ठहर्ने काम गर्ने छैनौं भनी कागज गरेपछि मुक्त भए ।
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)