News Portal

रेडियो सुन्नुहोस्

तीज, नारीहरुको व्रत र सामाजिक सन्देश

सरद बिष्ट२०८९ भाद्र ११, प्यूठान
२४०८ पटक
२०८९ भाद्र ११, प्यूठान

चाड पर्वले प्राय गरेर हाम्रो जीवनलाई जीवन्त बनाउने गर्दछन् । सदा झैँ यस वर्ष पनि हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीज यहि भाद्र महिनाको १४ गते नयाँ नयाँ उमङ्ग र हर्सौल्लासका साथ हामी सबैको घर आँगनमा प्रवेश गर्दैछ । सामान्यता तीज हिन्दु नेपाली नारीहरुले मात्र मनाउने एउटा महत्वपूर्ण महान चाड भएकोले यसको आफ्नै किसिमको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइन्छ अर्थात यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमीसम्म चारदिन मनाइन्छ । तीजमा भगवान शिवको पुजा आराधाना गरिनुको साथसाथै नाँचगान रमनोरञ्जन समेत हुने गर्दछ ।

यो पर्व मुख्य रुपमा नेपालभर मनाईन्छ । आज विश्वव्यापीकरणले गर्दा छिमेकी देश भारत लगाएत सन्सारभर छरिएर बसेका नेपाली दिदीबहिनीहरुले पनि आफू रहेको ठाँउहरुमा धुमधामसँग तीज पर्व मनाएका तस्वीर तथा भिडियोहरु विभिन्न सञ्चार माध्यमका मिडिया तथा अन्य सामाजिक संजालहरुमा आएको हुन्छ । तीज कसरी सुरु भयो ?, तिज किन मनाइन्छ ? तिजको धार्मित तथा साँस्कृतिक महत्व के छ ? भन्ने कुरामा जिज्ञासा राख्नु यो स्वभाविक प्रकृया मात्र हैन । कुनै पनि चाडपर्वको पृष्ठभूमि बुझ्नु र आमनागरिकलाई यो विषयमा बुझाउनु समयको माग र आवश्यकता भईसकेको छ । यो तीज पर्व मनाउनु पनि यस भित्र एउटा जिवन्त कथा छ । भगवान शिवकी अर्धाङ्खेनी हिमालय पुत्री पार्वती भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउदै आएका छन् । यो चाडमा माइतीले छोरी चेलीलाई घरमा बोलाएर मीठा मीठा परिकारहरु बनाएर खुवाउने तथा मनका भावना एवम् दुःख सुःख साटासाट गरी एउटै ठाँउमा खाने बस्ने चलन छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुःख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो पोतेले शान्ति र आनन्द प्रदान गर्दछ भने रातो टिका सौभाग्यको प्रतिक हो । तीजमा प्रयोग हुने विभिन्न गर–गहनाले महिलाहरुको पहिचान देखाएको छ ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफनो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगलगएर शिवजीको ठुलो तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको झण्डै १०० वर्ष पूरा भई सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरि पानी पनि नपिईकन निकै कठोर एवम् निराहार व्रत बसेको देख्दा शिवजी आफै प्रकट भई “चिताएको कुरो पुगोस्” भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । सामान्यतया असार र श्रावण महिनामा खेतीपाती रोपिसकेपछि केहि फुर्सदको समय निकालेर प्राय नेपाली चेलीबेटीहरु जमघट भई मनाउने पर्वको नाम तिजहो । हुनतः तीज यही बेला र यहि मिति देखि सुरु भएको भन्ने ठ्याक्कै थाहा नभए पनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि मान्दै आएको कुरा इतिहासमा उल्लेख गरिएको छ ।

तीजमा महिलाहरु बिहानै नदी तथा खोलाहरुमा गई स्नान गरी निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहेको छ । बिबाह गरेका महिलाहरुले आफ्नो जीवनकोे आयु भन्दा पनि श्रीमानको लामो दिर्घायुको कामना गर्दछन् । श्रीमानको लामो दिर्घायु भएमा आफूलाई बिधुवा हुन नपर्ने र श्रीमान् सँग दुःख–सुःख गरेर बाँकी जीवनयापन गर्न सहज हुने धार्मिक मान्यता छ । त्यसैगरि बिबाह नभएका महिला दिदीबहिनीहरुले तीजको दिन व्रत बसेर सुयोग्य वर पाऊँ भनी प्राथना गर्दछन् । हिजो आज तिज नजिकिदै गर्दा मानिसहरुको गाँउ, टोल, बजार र शहरमा तिजको रौनक र चहलपहल बढ्दै गएको छ । केटाकेटीहरु नयाँ कपडा किन्ने, महिला दिदीबहिनीहरु नयाँ साडी, बुलाउज, लेहेङ्गा, र गर–गहनाहरु किन्ने काम भईरहेको छ । कपडा किन्ने र सिलाउने ठाँउमा घुईचो छ । सुन चाँदी गरगहना पसलमा अत्यधिक भिडभाड छ । जे होस् महिला दिदीबहिनीहरुमा सम्बन्ध सुधार गर्ने, यसलाई प्रगाढ गर्ने तथा सम्बन्धमा भएका मन मुटावहरुलाई प्रेममा बदल्ने पर्व हो तीज । तीजलाई हामीले परम्परगत मुल्य मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका नारीहरुले तीजलाई व्यवस्थित बनाउदै लानुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र ज्यादै असभ्य बनाउनु हुदैन् । कमसेकम दाजुभाई तथा दिदीबहिनीहरु सँग बसेर मनाउन सक्ने पर्वको रुपमा विकास गर्नु पर्दछ । हुनतः समय अनुसार तीज फरक हँदै गएको छ । पहिले नेपाली नारीहरु आत्मनिर्भर तथा स्वावलम्वी नभएको हुँदा एकदिन भए पनि मीठो–मसिनो खान माइतीघर जानु पर्दथ्यो । माइती घरमा बा–आमाले पकाएको दर खाएर खुशी भई नाँचगान गर्ने प्रचलन थियो । तर, अहिले दर खाने नाममा धेरै विकृति पनि भएको छ । प्राय गरेर शहरमा तीज आउन पन्ध्र दिन अघि देखि नै विभिन्न होटलहरुमा कार्यक्रम गरेर दर खाएर नाँचगान गरेको पाईन्छ । यो तीज पर्वको सुन्दर पक्ष होइन् ।

तीज पर्वको सामाजिक सन्देशलाई अहिलेको परिवेशमा महत्वपुर्ण विषयको रुपमा हेरिएको छ । बास्तवमा भन्ने हो भने तीजलाई राम्रो साँस्कृतिक पर्वको रुपमा विकास गर्नुपर्ने समय आएको छ । अरुको देखासिकी गरेर, ऋण धन गरेर चाडपर्व मनाउनु हुदैन् । गहना प्रर्दशन गर्ने, महङ्गा कपडाहरु प्रर्दशन गर्ने, दर खाने नाममा रक्सी तथा मदिरा सेवन गर्ने हो भने चाडपर्वको अस्थित्व रहन सक्दैन् । हाम्रो संस्कृतिलाई बचाई राख्नको लागि हामी सबै नर नारीहरु नै सचेत हुनुपर्दछ । गाँउघरमा तीजको दिन खेलिने चर्के पिङ, रोटे पिङ र लठारे पिङहरु विस्तारै लोप हुँदै गएका छन् । युवा पुस्ताहरु यस्को संरक्षणमा लाग्नु पर्दछ । व्यापक आधुनिकीकरणको नाममा पुराना तीज विशेष मौलिक गीतहरु बिर्सन हुदैन् । संस्कृतिलाई अस्वभाविक ढङ्गले अगाडी बढायौँ भने कालान्तरमा दुःख हुन्छ । त्यसैले चाडपर्बलाई बिगार्ने, अपवित्र बनाउने भन्दा पनि राम्रो बनाउदै लानु पर्दछ । अन्त्यमा, नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

सरद लोक चेतना एकेडेमी विद्यालयको माध्यमिकतहमा सामाजिक/अंगेजी विषयका शिक्षक हुनुहुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...