News Portal

रेडियो सुन्नुहोस्

विजयनगर झरेको सदरमुकाम यसरी फर्किएको थियो खलंगा

गिरुप्रसाद भण्डारी७ असोज, प्यूठान
८१६ पटक
७ असोज, प्यूठान

सदरमुकाम सार्ने विषयमा भएको विवादमा ऐतिहासिक जित प्राप्त गरेपछि तत्कालीन रातामाटाको नाम विजयनगर राखिएको थियो । त्यसैले हालको विजयनगर ०१० सालको सन्दर्भसँग जोडिन्छ ।

त्यसताका स्थानीयबीच जिल्ला सदरमुकाम सार्न चर्को आन्दोलन भयो । सदरमुकाम सारिएपछि रातामाटाको नाम विजयनगरमा परिणत भएको थियो ।

तर, भौतिक अवस्था र राजनीतिक प्रतिनिधित्वका हिसाबले विजयनगरले अझैसम्म न्याय पाउन सकेको छैन । सधैं हारेको नियति भोग्दै आएको छ । सदरमुकाम सार्दा जिल्लाका तत्कालीन अगुवाहरू १५ दिनसम्म खलंगामै डेरा जमाई आमरण अनशनसम्म बसेका थिए । त्यसपछि मात्रै खलंगाबाट सदरमुकाम बेसींस्थित रातामाटामा सार्न सम्भव भएको थियो । सदरमुकाम सारेको खुसियाली स्वरूप विजयनगर नामकरण गरिएको थियो ।

मोहनविक्रम सिंह, सिद्धिमान जीसी, हेमराज पण्डित, अनिरुद्ध शर्मा, षडानन्द सुवेदी, प्रेमबहादुर केसीलगायत खलंगाबाट सदरमुकाम रातमाटामा सार्न अनशन बसेका थिए । खलंगा सदरमुकाम पायक नपरेको दाबी गर्दै उनीहरू आमरण अनशनमा बसेका थिए । तर, रोल्पासहितको प्यूठान जिल्लाको सदरमुकाम लामो समय विजयनगरमा टिकेन । त्यसबेला रोल्पा प्यूठानमै थियो । पछि अलग जिल्ला बनाएर रोल्पा नामकरण गरिएको हो ।

हाल प्यूठान नगरपालिका ३ स्थित मुक्ति मावि रहेको क्षेत्रमा प्रशासन चलाउन गौंडा, अदालत, मालपोत, हुलाकलगायत सरकारी कार्यालय स्थापना गरिएको थियो । छोटो समयका लागि यतैबाट सदरमुकामका गतिविधि सञ्चालन गरियो । त्यतिबेला विजयनगरका बासिन्दाले साँच्चिकै विजयको अनुभूति गरेको स्थानीय वृद्धहरू सुनाउँछन् ।

त्यसअघि ००७ सालको क्रान्तिमा मुक्ति योद्धाले विद्रोही क्याम्प यसै ठाउँमा बनाएका थिए । ती योद्धाले त्यसबेला खलंगामा रहेको राणाशाही प्रशासनमा कब्जा जमाएका थिए । त्यसबेलाका बुद्धिजीवी, अगुवा, राजनीतिकर्मी, सामाजिक सुधारकले रातामाटालाई उपयुक्त ठाउँका रूपमा लिएका थिए ।

‘०१० मंसिरमा रातामाटामा हामी कम्युनिस्टले पहिलो पटक शिविर सञ्चालन गरेका थियौं,’ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भने, ‘प्यूठानमा कम्युनिस्ट गतिविधि वृद्धि हुनुमा त्यही शिविरको योगदान छ । पछि हामीले जिल्लामा कम्युनिस्ट पार्टीको स्थापना गर्‍यौं ।’ जिल्लाका १ सय ५० युवालाई एकैसाथ भर्ना गरेर माक्र्सवादी सैद्धान्तिक पठनपाठन कार्य सुरु गरेको उनले बताए । शिविर चलाउन पाल्पाबाट कमलराज रेग्मी, प्रेम भट्टराईलगायत कम्युनिस्ट नेतालाई प्रशिक्षकका रूपमा बोलाइएको थियो ।

‘चर्को ब्याजको अन्त्य गर, धनीको कब्जाबाट गरिबलाई मुक्त गर’ जस्ता आर्थिक एवं सामाजिक सुधारका नारा लगाउँदै कम्युनिस्टका पक्षमा प्रदर्शन गरिएको सिंहले बताए । उनका अनुसार शिविरमा सहभागीले अन्याय र अत्याचारको जाल तोडांै भन्दै बिहानीपख परेड खेल्थे ।

शिविरपछि जिल्लामा सुधारका कामको सुरुवात गरिएको थियो । गाउँघरमा प्रगतिशील अध्ययन मञ्च गठन गरेर त्यसैको आयोजनामा धेरै ठाउँमा शिविर चलाइएको थियो । सधैं विद्रोही राजनीतिमा विश्वास राख्दै सत्तामा जान नचाहने सिंहले ऐतिहासिक विजयनगर क्षेत्र यतिबेला भने पछि परेको सुन्दा दु:ख लागेको प्रतिक्रिया दिए ।

‘बहुदलपछि पनि जिल्लामा हुने हरेक गतिविधि रातामाटा केन्द्रबाटै भए,’ प्यूठान नगरपालिका ४ टारीका ८८ वर्षीय लोकबहादुर भण्डारीले भने, ‘तर, अझै रातामाटा पछि परेको छ । गरिबी बढेको छ । पछौटेपन छ ।’ रातामाटाबाट सदरमुकाम सारिएपछि नजिकको जुम्रीखोलाबाट पर्याप्त मात्रामा पानी ल्याइयो ।

स्थानीय नौकुलाको पानी झारेर उतिबेला पानीमिल, विद्युत् निकाल्ने, झिमरुक फाँटमा धान, गहुँ लगाउने, पाखो बारीमा तोरी लगाउने, पाल्पाबाट दूधालु जर्सी गाई ल्याएर पाल्ने, रातामाटाका कुमालहरूलाई सुगम क्षेत्रमा जग्गा दिएर त्यहाँ सरकारी कार्यालय, हवाई मैदान निर्माण गर्नेलगायत नयाँ योजनाको चर्चा सुरु भएको सुनेको उनले बताए । त्यसैबेला भालुबाङ–प्यूठान मोटरबाटोको निर्माण सुरु भएको थियो ।

‘सदरमुकाम सार्ने क्रम चलिरहेका बेला तत्कालीन बडाहाकिम प्रतिमान बोहराको सरुवा भयो,’ भण्डारीले भने, ‘ती बडाहाकिम निकै सहयोगी थिए ।’ त्यसपछि मनमोहन मिश्र बडाहाकिम भए । स्थानीयले प्रतिमान नै चाहिन्छन् भनेर नाराबाजी गरे । डेढ वर्षपछि सदरमुकाम पुन: खलंगामै फिर्ता लगियो ।

त्यसयतादेखि विजयनगरले पराजयको पीडा भोग्दै छ । ‘पञ्चायतकालमा पनि विजयनगरको विकास भएन,’ भण्डारीले भने, ‘नाम मात्रको विजयनगर भो ।’ ०१० सालपछि अर्को पटक जिल्ला पञ्चायतले सदरमुकाम रातामाटामा सार्ने निर्णय गरे पनि कार्यान्वयन नभएको भण्डारीले बताए । ०४६ सालको आन्दोलनपछि बहुदल हुँदै हाल गणतन्त्रमा समेत विजयनगर ठगिएको भण्डारी बताउँछन् ।

गणतन्त्र आएर नयाँ संरचना बन्दा पनि विजयनगरवासी ठगिनुपरेको प्यूठान नगरपालिका ३ का वडाध्यक्ष प्रेम हमालले बताए । ‘साबिकको जिल्ला सदरमुकाम विजयनगर अहिले वडामा खुम्चिएको छ,’ उनले भने, ‘वडाअनुसार बजेटको बाँडफाँट गर्दा विजयनगरलाई मर्का परेको छ ।’ थोरै बजेट पर्दा विकास निर्माणको पूर्वाधारमा विजयनगर पछाडि परेको उनको बुझाइ छ ।

‘नाम सुन्दा र भौगोलिक धरातल हेर्दा सबैले समृद्ध नगर होला भन्ठान्छन्,’ उनले भने, ‘तर, विजयनगर जहिल्यै पछि परेको छ ।’ विजयनगरका कैयौं बस्तीमा खानेपानी, सडक, बिजुलीसमेत पुगेको छैन । ‘पूर्वजहरूले जुन उद्देश्यले विजयनगर नाम राखेर अगाडि बढ्न खोजे,’ उनले भने, ‘त्यो सपना सात दशकसम्म पनि अधुरै छ ।’ जिल्लाको मध्य भागमा रहेको र जिल्लावासी सबैलाई पायक पर्ने स्थानका रूपमा विजयनगर भए पनि सदरमुकाम सारिएपछि यसको रौनक हराएको छ । मुक्ति उच्चमाविका पूर्वप्रधानाध्यापक टंकबहादुर खड्काका अनुसार अब नयाँ पिँढीले नयाँ ढंगले ऐतिहासिक ठाउँ विजयनगरको विकास गर्न लाग्नुपर्छ ।

विजयनगरका कुमाल गाउँ, सेपुङ, सेपुओखरबोट, घुरचौने, मान्द्रेचौर, सुरुखाललगायत दर्जनौं बस्ती निकै आकर्षक भएर पनि पछि परेका छन् । नगरपालिका घोषणा भए पनि यहाँ न्यूनतम पूर्वाधार बनाउन सकिएको छैन । कुमालगाउँ हँुदै माझकोटको ढुंगेठाँटीबाट दाखाक्वाडीसम्म खानेपानीको पाइप विस्तार भएको छ । तर, कुमालगाउँमा एउटा पनि धारा छैन । यहाँका झन्डै एक सय घरपरिवार एउटा सामूहिक धाराको पानीमा निर्भर हुनु परेको छ । ‘कति फरक छ जितेको त्यो विजयनगर र अहिलेको यो विजयनगरमा ?’ एक स्थानीय वृद्धले भने, ‘सायद समयको कुरा भनेको यही हो ।’

मुक्ति सेनाको तलबले स्कुल
तत्कालीन मुक्ति सेनाका सिपाहीले आफ्नो तलब दिएर ञ्चालनमा ल्याएको मुक्ति मिडिल स्कुल नै अहिलेको मुक्ति उच्चमावि हो । ०११ सालमा विद्यालयले माविको मान्यता पाएको थियो । यो विद्यालय जिल्लाकै पुरानो हो ।

मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, नवराज सुवेदी, वीरबहादुर सिंह, टंकबहादुर विष्ट, डा. रुद्रकुमार श्रेष्ठ, चुमानसिंह बस्नेत, देवीराम शर्मालगायत राजनीतिज्ञदेखि प्रशासकसम्मले यसै विद्यालयमा अध्ययन गरेका थिए । स्थानीयले गुनासो गरे, ‘नेता/प्रशासकको स्तर त वृद्धि भयो तर विद्यालयको स्तर भने दिनप्रतिदिन खस्कँदो छ ।’ विद्यालयको स्तर वृद्धि र गाउँको विकासमा नेताहरूले खासै ध्यान नदिएको उनीहरूले बताए ।

‘यसै विद्यालयमा अध्ययन गरेर धेरै नेता भए,’ मुक्ति विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश कार्कीले भने, ‘तर, विद्यालयको विकासमा भने नेताहरूको ध्यान पुगेन ।’ जिल्लाको जेठो विद्यालय भएर पनि पछि परेको देख्दा दु:ख लागेको उनले बताए । प्रतिमान/निमा स्मृति प्रतिष्ठान भैरहवाको पहलमा भारत सरकारको सहयोगमा विज्ञान संकायको भवन निर्माण भएपछि भने विद्यालयले थोरै भए पनि राहत महसुस गरेको छ ।

श्रोतः कान्तिपुर दैनिकको अनलाईन संकरणको https://www.kantipurdaily.com/pradesh-5/2018/09/22/153759327714045856.html लिंकवाट

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी