News Portal

रेडियो सुन्नुहोस्

टिनको छाना क्रार्यक्रम गरिबहरूको हितमा छ विष्णुकुमार गिरी अध्यक्ष गौमुखी गाउँपालिका,प्यूठान

जायश्वर जैसीप्युठान,३० पुस
१८५७ पटक
प्युठान,३० पुस

स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब डेढ वर्ष भई सकेको अवस्था छ । डेढ वर्षको यस अवधिमा विभिन्न स्थानीय तहहरूले विभिन्न प्रकारका कार्यहरू सम्पन्न गरेका छन् । यसै सिलसिलामा गौमुखी गाउँपालिका प्यूठानमा केके भई कार्यहरू हुँदै छन् भन्ने विषयमा पत्रकार जायश्वर जैसीले गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीसँग गरेको कुराकानीको सार संक्षेप यस प्रकार छ ।
१. स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि डेढ वर्ष भई सकेको छ, यस अवधिमा गाउँपालिकाले केके कार्य गरिरहेको छ ? बताइ दिनुहोस् न ।
हामी निर्वाचन भएर आएको झण्डै डेढ वर्ष भई सक्यो र यस अवधिमा वडाहरूमा सडक को स्तरलाई अलिकति सुधार गर्ने काम गरेका छौँ । विद्यालयहरूको सुधारको लागि यो वर्ष शिक्षकको तलबको व्यवस्थापनलाई पनि पहल थालेका छौँ । स्वास्थ्यमा पनि हाम्रो लागानी राम्रै छ । विद्यालयहरूमा भौतिक सुधारको लागि पनि केही भवन निर्माण गर्ने कार्य गरेका छौँ । गाउँपालिकाभित्र विद्युतीकरणको समस्या थियो । गाउँपालिकाको गत वर्षको १ करोडभन्दा बेसी रकम खर्च गर्दै ग्रामीण क्षेत्रहरूमा विद्युतीकरणको कार्य भइरहेको छ । सानातिना खानेपानी, सिंचाई लगायतका कार्य अगाडि बढाइएको छ र यो वर्ष १६३३ खरको छाना भएका घरधुरीलाई टिनको छाना लगाउने कार्यक्रम अन्तर्गत ५ करोड २८ लाख रकम विनियोजन गरी कार्य गरिरहेका छौँ । मुख्य गरी गत वर्ष र यो वर्ष भएका कार्यक्रम यिनै हुन् ।
२. पालिकाका योजनाहरू बनाउँदा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी बनाउनु भएको छ कि अन्य कुनै तरिकाले बनाउनु भएको छ ?
गत वर्ष हामीले त्यो कार्य गर्न सकेनौँ । यो वर्ष त्यो प्रयास थाल्ने छौँ । केही छोटा योजना अल्पकालीन र दीर्घकालसम्म सञ्चालन हुने योजनालाई दीर्घकालीनको रूपमा प्रपोज गर्दै छौँ । १÷२ महिनामा यो काम हुन्छ ।
३. गत वर्ष तपाईँहरूले पालिकाका सबै कार्यक्रम उपभोक्ता समितिमार्फत् गर्नु भएकोमा यो वर्ष टेण्डरमार्फत् गर्न खोज्नु भएको रहेछ, किन यस्तो गर्नु प¥यो ?
यसमा दुईवटा कुरा छन् । एउटा समुदायले वनर्सिप लिने सन्दर्भमा उपभोक्ता समितिले काम गर्दा त्यसलाई अपनत्व महसुस हुन्थ्यो भने यो वर्ष साना योजनाहरू पनि टेण्डरमा लैजाँदा उनीहरूले योजनाको वनर्सिप लिन अफ्ठ्यारो महसुस गरेका छौँ । गाउँसभाबाट १० लाखभन्दा माथिका योजनाहरूलाई मात्रै टेण्डरमा लैजाने भनेको पछि केही प्राविधिक सर सल्लाह हुँदा पनि गत वर्ष धेरै भुक्तान भइ सकेका योजनाहरू केही सैद्दान्तिक बेरुजु र केही अशुल गर्नु पर्ने बेरुजु देखिएको कारणले गर्दाखेरी यो वर्ष सबै योजनाहरू जस्तै सिंचाई, खानेपानी र सानातिना केही योजनाहरू उपभोक्तामार्फत् गरेका छौँ भने धेरैजसो योजनाहरू टेण्डरमा लगेका छौँ । टेण्डर भएर पनि काम सुरु भएको छ । यसले संस्थागत हिसाबले त केही हदसम्म फाइदा देखिन्छ । समुलायले ग्रहण गर्ने सन्दर्भमा समस्या जस्तो देखिएको छ । यसको नतिजा कस्तो आउँछ, मूल्याङ्कनको चरणमा छौँ ।
४. यो आर्थिक वर्षको बजेटको अधिकांश रकम टिनको छाना लगाउनको लागि वितरण गर्नु भएको छ, यो वितरणमुखी कार्यक्रम भयो, जनतालाई उत्पादनसँग जोड्ने कार्यमा पालिकाले ध्यान दिएन भन्ने आलोचना सुनिन्छ नि ?
एउटा नितान्त गरिब मान्छेको भलाइका हिसाबले होर्दा योजना वितरणमुखी भए पनि कहिल्यै पनि आफ्नो घरको छाना न टिनले न ढुङ्गाले छाउन सक्ने कण्डिसनका मान्छेहरूका लागि त्यसले न्याय नै गरेको छ भन्ने लाग्छ । तर, अर्थशास्त्रको हिसाबले हेर्दा यो वितरणमुखी पनि देखिएको छ । यो वितरणमुखी देखिए पनि गरिब जनताको लागि यसले हित गरेको छ । जनताले पनि त्यो कुरा महसुस गरेका छन् तर यस्तो गर्दाखेरी हामीलाई तपाईँले भने जस्तो उत्पादनसँग जोड्ने कुरा अलि ओझेलमा पर्ने र हामीले बजेटको व्यवस्था उत्पादनको क्षेत्रमा साघुरो बनाउनु पर्ने वाध्यता यो वर्ष भयो । आगामी दिनमा यसलाई सन्तुलनमा ल्याउन प्रयत्न पक्कै हुन्छ । यो वर्ष गरिबलाई नै मध्यनजर गरेर यो कार्यक्रम ल्याएका छौँ । यो वितरणमुखी भयो भन्न खोज्नेहरूलाई सोझै वितरणमुखी जस्तो देखिए पनि यसले गरिबहरूका लागि न्याय नै गर्छ भन्ने लाग्छ ।
. आगामी वर्षहरूमा खरको छाना हुने वा नयाँ घर बनाउनेहरूलाई पनि टिन वितरणको व्यवस्था गर्नु हुन्छ कि हुँदैन ?
जनसङ्ख्या वृद्धिसँगै घरको पनि वृद्धि हुँदै आउँछ । प्रत्येक घरको मान्छे छुट्टिने, छोराहरू धेरै भएका छुट्टिएर खरको छाना बनाउने त हुन सक्लान् तर यो निरन्तर कार्यक्रमको रूपमा सञ्चालन हुँदैन । यो वर्ष जतिलाई लाभ दिन्छ त्यो भन्दा बेसी यसको आउटपुट अनि छुट्टिएर बढ्ने घरको छाना हेरिकन एकाध वर्षपछि त्यसको प्रभावको मूल्याङ्कन गरी पछाडी लामो समयसम्मको नेतृत्वले आँकलन गर्ला । हाम्रो निरन्तर टिन दिने कार्यक्रम हुँदैन ।
६. गौमुखी गाउँपालिकालाई उत्पादनसँग जोड्ने र खासगरी यो पालिकालाई आत्मनिर्भर बनाउने योजनारू तपाईँसँग के–के छन् ?
अब यो अफ्ठ्यारो कुरा छ । अघि नै तपाईँ हाम्रो कुराकानी हुँदै गर्दा नै भनी सकेँ उत्पादनका कार्यक्रम धेरै दिन सकिएको छैन । यो वर्ष युवा स्वरोजगार कोष भनेर ५० लाखको बजेट व्यवस्था गर्न लगाएको थिएँ । हाम्रो गाउँसभाले त्यो पास पनि गरेको थियो । त्यो रकमलाई पनि कटौती गरेर टिनको छानोमा बढी रकम लाग्ने भएकोले त्यो रकम टिनमा खर्च भएपछि २०–२५ लाख मात्रै त्यो रकमबाट युवाहरू जो व्यवसाय उन्मुख छन्, तिनीहरूलाई कृषि, भेटेनरी लगायत अन्य उत्पादनका विभिन्न ठाउँमा काम गर्नेहरूलाई कार्यविधि बनाएर यो वर्ष उत्पादनको क्षेत्रमा खर्च गर्ने कार्यक्रम छ । अहिले यो कार्यक्रम साँघुरो भए पनि आगामी वर्ष बढाएर जाने छौँ ।
७. खासगरी शिक्षाको क्षेत्रमा मात्रै भन्दा शिक्षाको गुणस्तर सुधारको लागि के योजना बनाउनु् भएको छ ?
शिक्षामा हाम्रो धेरै समस्या छ । शैक्षिक स्थिति अलिकति खस्कदै गएको र विद्यालयको स्तर पनि हिजोको भन्दा खस्कदै गएको महसुस भएको अवस्था छ । त्यसलाई सुधारको लागि शिक्षकहरूको क्षमता अभिवृद्धिमा कुरामा शिक्षकहरूसँग लगातार समन्वय गर्ने र जेहेन्दार विद्यार्थीको लागि प्रोत्साहन स्वरूप पुरस्कार दिने कार्यक्रम पनि गरेका छौँ । शिक्षकलाई पुरस्कृत गर्ने काम पनि गरेका छौँ र यो वर्ष पनि शिक्षामा काम गर्ने केही निश्चित विद्यालयहरूले राम्रो गरेको, नमूनायोग्य विद्यालयहरू एवम् शिक्षक र विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्य गरका छौँ भने विद्यालयमा प्रत्येक वर्ष निजी स्रोतबाट व्यवस्थापन गर्नु पर्ने जुन अफ्ठ्यारो छ, त्यो हटाउनको लागि थोरै सुरुवात प्रावि.निमावि.मावि तहमा शिक्षक तलबको पनि थोरै धेरै व्यवस्था गर्ने कार्यको सुरुवात गरेका छौँ । आगामी दिनमा यसको प्रभावकारिता हेरेर थप प्लान बनाउनेको निम्ति विभिन्न क्षेत्रसँग छलफल गर्ने योजनामा छौँ ।
८. स्वास्थ्य क्षेत्रमा के–के गर्नु भएको छ नि ?
स्वास्थ्य क्षेत्रको कुरा गर्दा केन्द्रबाट निरन्तर चल्ने कार्यक्रम गरी नै राखेका छौँ । हामीले गरेको छुट्टे कार्य भनेको गौमुखी गाउँपालिकामा स्वास्थ्य स्वयम् सेवीकाहरूलाई सेवा सहजताको लागि थप प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ । त्यस्तै विद्यालयहरूमा शिशोरीहरूको समस्यालाई ध्यानमा राखेर प्याड वितरण गर्ने गरेका छौँ ।
९. गौमुखी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ, पर्यटनको विषयलाई पालिकाले कसरी हेरेको छ ?
पर्यटनको सन्दर्भमा यो वर्ष बजेटको पनि प्रबन्ध गरेका थियौँ । ३ लाख रुपैँया गौमुखी मिडिया सम्मेलनको लागि भनेर छुट्टाएका छौँ । विभिन्न पर्यटकीय स्थलको लागि त्यसको संरक्षण, त्यसलाई रमरणीय स्थल बनाउनको लागि पूर्वाधारको क्षेत्रमा पनि बाटो बनाउने, त्यहाँ वरिपरि गौमुखी, रानीवन दह, अर्खाको तलाउ अन्य पुजाको तामाखानी भयो, यिनीहरूसँग जोडिने पूर्वाधारका काममा यो वर्ष सपोर्ट गरेका छौँ । जसल गर्दा हाम्रो आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सम्भावना छ । ओझेलमा परेका केही ठाउँ छन्, ती ठाउँहरूलाई लाइटमा ल्याउनको लागि हामीले केही पूर्वाधारको काम यो वर्ष सुरुवात गरेका छौँ । आगामी वर्षहरूमा त्यो कार्यक्रमले निरन्तरता पनि पाउँछ र गौमुखी मिडिया सम्मेलन जुन छ, त्यो विशेष कारणवस मंसिरमा हुन सकेन । यसलाई झण्डै फाल्गुण लाग्दा नलाग्दा यो कार्यक्रम गर्दै छौँ । यसले हाम्रो पर्यटनलाई राष्ट्रिय नेटवर्कसँग जोड्न कोशेढुङ्गा सावित हुने छ ।
१०. गौमुखी गाउँपालिकाका अधिकांश जनताहरू कृषि पेशामा आश्रीत छन्, कृषकहरूको जीवनस्तर उकास्नको लागि कृषि क्षेत्रमा के कस्ता योजनाहरू निर्माण गर्नुभएको छ ?
कृषि क्षेत्रसँग सम्बन्धित काम गर्नको निम्ति गत वर्ष हामीले माटो परीक्षणको काम गरेका छौँ । त्यसलाई आधार बनाएर कुन चिज कहाँ उत्पादन हुन्छ भनेर हामीले अध्ययन गर्दा यहाँको जुन परम्परागत खेती प्रणाली छ, त्यसलाई सुधार गर्नको लागि आगामी वर्ष मलाई लाग्छ कृषकलाई पनि सपोर्ट गर्ने र कृषिलाई आधुनिकीकरण गर्नको लागि आधुनिक यन्त्रहरू हाम्रो गाउँपालिकामा भित्राउने योजना बनाउँछौँ । मान्छेको मेन पावर जुन छ त्यसलाई सही परिचालन गर्ने योजना पनि हामी बनाउने छौँ । खेतबारी बाँझो भएका छन्, कहाँ के हुन्छ त्यो पत्ता लगाउने र यान्त्रिक प्रविधिबाट काम गर्ने वाताबरणको सिर्जना हामी गर्ने छौँ । कृषिलाई बढी उत्पादन गर्नको लागि कसरी सकिन्छ, त्यो हामीले प्लान बनाउछौँ, त्यसो भयो भने कृषकहरूले पनि निश्चित रूपमा लाभ लिएको महसुस गर्नु हुने छ । अझ भनौँ बिउ, मलदेखि लिएर सिंचाईको कुरा होला, बेमौसमी खेतीको कुरा होला, यी कुराहरूलाई अर्को वर्षदेखि सबैले देख्ने गरी आउँछन् ।
११. अध्यक्षमा तपाईँ निर्वाचित भइ सकेपछि यहाँको राजनैतिक दल, संघ–संस्था, बुद्धिजीविहरू लगायतको कत्तिको सहयोग प्राप्त गर्नु भएको छ ?
मैले आफूले पनि उहाँहरूसँग हाम्रो मुख्य–मुख्य कार्यक्रम हुँदाखेरी हामीले समन्वय गर्ने, सल्लाह र राय लिएर उहाँहरूलाई हाम्रो कार्यक्रमको विषयमा जानकारी पनि दिने गरेका छौँ । हामीले गरेका कार्यक्रमका बारेमा केही सकारात्मक केही नकारात्मक प्रतिकृया दिनु भएको छ र उहाँहरूको आलोचनालाई हामीले सम्पत्तीको रूपमा लिँदै हामीले समन्वय गर्ने गरेका छौँ । समन्वयको पाटोमा अझै हाम्रो केही कमी कमजोरी छ कि, त्यसलाई सुधारको निम्ति अझै प्रयत्नशील छु । यहाँका सामाजिक संघ–संस्थाहरू, यहाँका वुद्धिजीविहरू, राजनैतिक दलहरू, सामाजिक हिसाबले लाग्ने समुदाय छ, यहाँको भलाइका निम्ति अलिकति केही गर्न पाए हुन्थ्यो भन्ने जो समुदाय छ, त्यसले दिने इण्डिभिज्युल्ली राम्रा सल्लाहलाई पनि मैले कसरी हुन्छ, त्यसलाई ग्रहण गर्ने, सम्पत्तीको रूपमा लिने र त्यसलाई भोलिका योजनाहरूमा समावेश गरेर जाने अनि नयाँ खालका कुराहरू भए भने उहाँहरूले गरेका कुरालाई हामीले ग्रहण गर्दै अहिले अगाडि बढ्ने गरेका छौँ र भोलि पनि यो हुन्छ ।
१२. गाउँपालिकाका योजनाहरूको अनुगमन तथा नियन्त्रणको लागि कुनै संयन्त्र निर्माण गर्नु भएको छ ? त्यो कार्य कसरी अगाडि बढेको छ ?
अनुगमनको क्षेत्रमा गत वर्ष उपभोक्ता समितिमार्फत् हुँदाखेरी केही बेरुजुका कुरा पनि आएका छन् । यो वर्ष हामीले अनुगमन संयन्त्र पनि गत वर्ष जस्तै संविधानले कल्पना गरेको दायराबाट अगाडि बढेका छौँ । उपाध्यक्षको नेतृत्वमा एउटा अनुगमन संयन्त्र छ । त्यसमा मैले अभिभावकीय रूपमा अनुगमन गर्ने, केही राय सल्लाह दिने, केही योजनालाई ठोस रूपमा राम्रो बनाउनको निम्ति अझै प्रयत्नशील गराउनको लागि सबै संयन्त्रलाई हामीले प्रयोग गरेका छौँ । गत वर्ष हामीलाई प्राविधिकको समस्या थियो । यो वर्ष जनशक्ति केही हदसम्म व्यवस्थापन भएको छ । अस्थायी रूपमा करारमा भए पनि प्राविधिकहरू फुलफिल गरेर अगाडि बढेका छौँ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका काममा अनुगमनको काम पनि विस्तारै अगाडि बढाउछौँ । यो वर्ष अनुगमनको धेरै काम भएको छैन । अब हामी सुरुवात गर्दै छौँ ।
१३. कार्यक्रम तथा योजनाहरूलाई सम्पन्न गर्नको लागि जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल कस्तो रहेको छ ?
हाम्रोमा त्यति धेरै समस्या छैन । धेरै स्थानीय तहमा त्यो समस्या भएको हामीले सुनेका छौँ । यो देशको समस्या हो । अहिलेसम्म हामी र हाम्रा जन प्रतिनिधिहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने काम नै भएको छ । त्यस्तै कर्मचारीहरू पनि त्यति धेरी हाम्रो योजना अथवा कामप्रति लगाव नराखेको पाइएको छैन । ठिकै खालको समन्वयबाट अगाडि बढेका छौँ ।
१४. तपाईँ राजनैतिक व्यक्तित्वका हिसाबले नेपालको वर्तमान राजनीतिलाई कसरी विश्लेषण गर्नु भएको छ ?
अहिले देश संघीयताको मोडेलमा छ र त्यसको अभ्यासमा हामी छौँ । गाउँपालिका सरकारको तल्लो तहको एउटा एकाइ हो । त्यो अन्तर्गत अभ्यास गर्दाखेरी राजनैतिक स्थिति अलिकति तरल जस्तै छ । यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा हामी जस्तै तल पब्लिकको माझमा रहने जन प्रतिनिधिहरू, राजनीतिकर्मीहरू संघीयतालाई सही ढङ्गले प्रयोगका लागि हामी नै संघीयताको प्रतिनिधि पात्र हो । त्यसो हुनाले हामी जसो गर्छौँ, हामी जे प्रयत्न गर्छौँ, त्यो नै एउटा संघीयताको झल्को आउने हुनाले हामी आफैमा सामाजिक खालको, दूरदर्शी हुनु पर्ने, हामी आफै सबैको बीचमा समन्वयको भूमिका खेल्नु पर्ने र जनतालाई हामी राजनीतिकर्मीहरू भनौँ या त जनप्रतिनिधि भनौँ सबैले हाम्रो नेपालभित्र एउटा जुन मोडेलको अभ्यासमा छौँ, त्यसको अभ्यास गराउने ठाउँमा हामी भएकोले व्यवस्थापनमा अलिकति क्वीक डिसिजन गर्ने र पछि पछुताउनु पर्ने भन्दा विस्तारै सबैको राय सल्लाह लिएर अगाडि वढ्यौँ भने अहिलेको राजनैतिक अन्यौल्ता, तरलता अथवा देश संघीयतामा गइ सकेपछि कर्मचारीको व्यवस्थापन र राजनैतिक परिपाटीको कुरामा संविधानमा थप्न पर्ने केही कुरा होलान् ती सबैलाई व्यवस्थापन गर्दै अगाडि बढ्यो भने संघीयताले एउटा निश्चित आकार ग्रहण गर्छ र ५ वर्षको यो हाम्रो शेषनपछि संधीयताको फुल एक्सरसाइजमा हामी अगाडि बढ्छौँ जस्तो मलाई लाग्छ ।
१५. अहिले देशभर स्थानीय तहहरूले जनतालाई करको भारी बोकाएको समाचारहरू सुनिएका छन्, गौमुखी गाउँपालिकामा करको अबस्था के छ ?
जनतालाई भारी हुने खालको कर हाम्रो पालिकामा लगाएका छैनौँ । तिरोमा हाम्रो प्रतिरोपनी एकाध रुपैयाँ गत वर्ष बढेको थियो । त्यसमा पनि साइज हेरिकन छ । पब्लिकलाई असर हुने खालको कुनै सिफारिस दस्तुर, तिरोको दस्तुर, त्यसपछि संस्थागत हिसाबले जस्तै शैक्षिक करहरू अन्य ठाउँका करहरू पनि हामीले पहिले जसरी चलेको थियो त्यसरी नै चलाएका छौँ । नयाँ भनेको ढुङ्गा, गिट्टी जुन सबैको साझा सम्पत्ती हो त्यसलाई करको दायरामा ल्याएका छौँ । यहाँ वनजन्य चिजहरूलाई पनि बाहिर पैठारी गर्दा कर लिन नमिल्ने भएको हुनाले अहिले वन सम्बन्धी ऐन पनि संशोधनको पनि कुरा छ, अब हामी बिस्तारै स्थायी रूपमा रहेका सम्पत्ती हुन् तिनलाई एउटा सिस्टममा ल्याउनको लागि अनिवार्य हाम्रो गाउँपालिकाको सम्पत्ती हो, त्यो सम्पत्तीको आयस्रोत हामीसँग आउनुपर्छ भन्ने पैरवी गरेका छौँ । जनतालाई भारी हुने खालको कर लगाएका छैनौँ । कतिपय मानिसले टिनको छानो लाउँदै गर्दा प्रत्यक वर्ष झण्डै हजार बाह्र सय रुपैँया कर अशुली गर्छ भन्ने कतिपय अफवाह छ । त्यो निराधार हल्ला हो, कपोल्कल्पित कुरा हुन् । टिनको छानो र ढुङ्गाको छानो भएकालाई जुन पुरानो दस्तुर थियो त्यसलाई आबद्ध गर्र्दै जाने छौँ । करको हिसाबले यहाँ खानीको उत्खनन्, यहाँ नयाँ–नयाँ सम्भावना भोलि पर्यटनको क्षेत्रमा विकास हुँदै गर्दा पर्यटनबाट आउने करहरू, मनोरञ्जन करहरू आउन बाँकी नै छ । त्यसको लागि अलिकति कर लाग्छ, त्यसले पब्लिकलाई खासै असर गर्दैन ।
१६. अन्त्यमा मैले सोध्न छुटाएको र तपाईँले भन्न छुटाए केही छ भने बताइ दिनुहोस् न ?
मिडिया क्षेत्रमा हामी अलि पछि छौँ । कतिपय हाम्रो काम गतिविधिको विषयमा मनिटरिङको पाटो पनि मिडियाले, सञ्चारकर्मीहरूले र आम नागरिकहरूले हामीलाई दिन पर्ने फिडव्याकहरू अझै बाँकी छन् जस्तो लाग्छ । यसमा तपाईँहरूले पनि कतिपय कमी कमजोरी छन् भने त्यसलाई सुझावको रूपमा दिने काम अझै पातलो भए जस्तो मैले महसुस गरेको छु । त्यस्तै अन्य क्षेत्रमा तपाईँहरूको सहयोग, सदासयता पब्लिकको जुन खालको समर्थन छ, त्यसले काम गर्ने हौसला दिएको छ । यही अनुसार हामी अगाडि बढ्यौँ भने र गर्न पर्ने कामहरूमा पनि तपाईँहरुको फिडव्याक आयो, नागरिकहरूले पनि फिडव्याक दिनुभयो भने हामीलाई चल्नको लागि सहज हुने छ भन्ने आशा राख्न चाहन्छु । हामी सिकाइको क्रममा पनि छौँ । सिकाइको क्रममा कतिपय कमी कमजोरी भयो भने पनि आम नागरिक र तपाईँहरूले औल्याउने अधिकार छ । त्यसलाई हामी खुला सम्पत्तीको रूपमा लिने छौँ । खास अहिले भन्न पर्ने कुरा समावेश भएका छन् जस्तो लाग्छ । धन्यवाद !

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी