News Portal

रेडियो सुन्नुहोस्

स्तनपान : दिगो विकासको आधार

विशाल सुवेदी१७ साउन २०७८ प्यूठान
३८४ पटक
१७ साउन २०७८ प्यूठान

बच्चा जन्मनु प्राकृतिक प्रक्रिया हो। स्वस्थ तथा सुन्दर शिशुलाई जन्म दिनु हरेक आमाको चाहना हुन्छ। नवजात शिशुको आगमन हरेक दम्पती तथा परिवारको लागि खुसीको क्षण मानिन्छ। उक्त खुसियाली दिगो कायम राख्न बच्चाको खानपान तथा आहारमा पनि ध्यान दिनु अति आवश्यक हुन्छ।

आमाको दूध बच्चाको लागि एक मात्र सर्वोत्तम आहार हो। यो शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण हुन्छ। धेरैजसो समुदायमा स्तनपानको महत्वको पूर्ण जानकारी नभए तापनि प्राकृतिक खानाको रुपमा स्तनपान गराइन्छ।

बदलिँदो सामाजिक परिवेश तथा सहरीकरणको बढ्दो प्रभाव र आमाको दूधको सट्टा पाइने अन्य खानेकुराको कारणबाट सहरी समुदायका बच्चाहरुलाई प्रायजसो सट्टा खानेकुराहरु खुवाउने प्रचलन बढ्दै गएको पाइन्छ। स्तनपान नगराउनाले बच्चालाई रोग लाग्ने र मृत्युदर बढ्ने मात्र नभई, बच्चाको शारीरिक र मानसिक वृद्धि विकासलाई पनि प्रतिकुल प्रभाव पारिहेको हुन्छ। बच्चालाई दूध तथा अन्य खाना खुवाउने खर्च पनि बढ्न जान्छ।

अझै पनि हाम्रो देशमा कुपोषणको समस्याका साथै नवशिशु, शिशु र बालमृत्युदर उच्च छ। झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी रोग लागेर वर्षेनी धेरै बालबालिकाको मृत्यु हुने गर्छ। आमाको दूध खुवाउनाले मात्र पनि धेरै बालबालिकालाई झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी रोगको कारण हुने अकाल मृत्युबाट जोगाउन सकिन्छ। विभिन्न अध्ययन/अनुसन्धानले स्तनपान गराउने बच्चामा स्तनपान नगराउने बच्चा भन्दा कैयौ गुणा बढी रोग प्रतिरोधात्मक क्षमता हुन्छ भन्ने देखाएका छन्।

बच्चाको मानसिक तथा शारीरिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण पेोष्टिक तत्वहरु आमाको दूधमा पर्याप्त हुने हुँदा शिशु जन्मने बित्तिकै जति सक्दो छिटो स्तनपान गराउन उचित हुन्छ। यदि सकिएन भने जन्मिएको एक घण्टाभित्र सुरु गरिसक्नु पर्छ, यो भन्दा ढिला गर्नु हुँदैन।

रोगसँग लड्ने क्षमता वृद्धि गर्ने आमाको पहिलो बाक्लो बिगौती दूध बच्चालाई अनिवार्य खुवाउनुपर्छ। नवजात शिशुलाई जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ। ६ महिनासम्म बच्चालाई खोप र आवश्यक परेको बेला औषधि बाहेक अन्य कुनै खानेकुरा तथा झोल पदार्थहरु खुवाउनु हुँदैन र आवश्यक पनि पर्दैन। स्तनपान २४ घण्टामा बच्चाले खोजेको जुनसुकै बेला (दिन वा रात) एक पटकमा कम्तीमा १५ मिनेट नघट्ने गरी पालैपालो दुवै स्तनबाट गराउनुपर्छ। शिशु ६ महिना पुगेपछि स्तनपानको साथसाथै अन्य पुरक आहार खुवाउन थाल्नुपर्छ। पुरक आहारका साथै शिशुलाई २ वर्षसम्म स्तनपान गराउनुपर्छ। सामान्य बिरामी पर्दा पनि स्तनपान गराउन छाड्नु पर्दैन।

स्तनपान गराउन आमाले पोषिलो खानेकुरा तथा झोल पदार्थ गेडागुडीको रस, माछा, मासु प्रशस्त मात्रामा खानुपर्छ।आमाले जति पोषिलो खाना खायो त्यति धेरै दूध आउँछ भन्ने कुरा मनन गर्नुपर्छ। स्तनपान गराउने आमाले खानेकुरा बार्नु पर्दैन तर धूमपान, मदिरापान तथा सूर्तिजन्य वस्तुहरुको उपभोग कहिल्यै गर्नु हुँदैन। स्तनपान सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था, स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न सकिन्छ

बच्चालाई स्तनपान गराउँदा आमाको सही आसन र बच्चाको राम्रो स्तन सम्पर्क हुनु जरुरी छ। आमाको खानपानको कारण आमाको दूध कम र बढी मात्रामा आउने हुन सक्छ तथा स्तनको आकार बनावटले दूध उत्पादनमा कुनै असर पार्दैन बरु जति धेरै स्तनपान गरायो त्यति धेरै मात्रामा दूध उत्पादन हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि ४१ प्रतिशत आमाले मात्र जन्मेदेखि 6 महिनाको उमेरसम्म पूर्ण स्तनपान गराउने गरेको तथ्यांक छ। नेपालमा पछिल्लो नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनेहरु ५५ प्रतिशत र जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने महिला ६६ प्रतिशत रहेको पाइएको छ।

स्तनपान गराउँदा हुने फाइदा
बच्चालाई हुने फाइदा 

•    स्तनपान प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो।
•    बच्चा निरोगी वा स्वस्थ रहन्छ।
•    वार्षिक दसौं लाख बालबालिकालाई मृत्युबाट रोक्छ।
•    रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ साथै संक्रमणबाट बचाउँछ।
•    बच्चाको शरीरको तापक्रम सन्तुलन राख्न मदत गर्छ।
•    बौद्धिक क्षमता वृद्धि गर्न मद्दत पुर्‍याउँछ।
•    आमा र बच्चाबीच भावनात्मक सम्बन्ध विकास हुन्छ।
•    बच्चाले आफू सुरक्षित भएको महसुस गर्छ।
•    बच्चालाई आँखा, कान तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ।

आमालाई हुने फाइदा
•    जन्मान्तर कायम राख्न मद्दत पुर्‍याउँछ।
•    आमाको स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ।
•    सुत्केरीपश्चात् हुने रक्तश्रावमा कमी ल्याउँछ।
•    स्तनपान गर्दा निस्कने हर्मोनले आमाको तनाव कम गरी शिशु स्याहार गर्न सघाउ पुर्‍याउँछ।
•    आर्थिक भारमा कमी महसुस गराउँछ।

समाजलाई हुने फाइदा
•    जन्मान्तर घटाई जनसंख्या वृद्धिदरमा कमी ल्याउँछ।
•    आमाको दूध खुवाउनाले अन्य खाना तथा आहार किन्न लाग्ने खर्च बचाउन सहयोग पुर्‍याउँछ।
•    राष्ट्रका लागि बौद्धिक तथा स्वस्थ र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याई मुलुककै अर्थतन्त्र बलियो गराउँछ।

स्तनपानले बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन तथा शिशु तथा बालमृत्युदरलाई कम गर्नुका साथसाथै दक्ष र स्वस्थ जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ भन्ने कुरालाई आत्मसात गर्दै सन् १९९२ देखि नेपाल सहित विश्वभरि अगस्त १ देखि ७ सम्म स्तनपान सप्ताहको रुपमा मनाउने गरिएको छ। जसअनुरुप यस वर्ष पनि मुलुकका तीनै तहका सरकार तथा मातहतका निकायमार्फत देशैभर स्तनपानको महत्व सम्बन्धी जनचेतना जगाउनको लागि अगस्ट १ देखि ७ तारिखसम्म अर्थात् श्रावण १७ देखि २३ गतेसम्म ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मुल नाराका साथ स्तनपानको महत्व झल्किने विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताहका कार्यक्रमहरु सञ्चालन गरिएका छन्।

पछिल्लो समय विभिन्न सार्वजनिक स्थल तथा कार्यालयहरुमा बाल अधिकारको संरक्षण र स्तनपान प्रवर्धनका लागि स्तनपान छुट्टै कक्ष स्थापना स्थापना गरिँदै आएको देख्न सकिन्छ। र, पनि अझै स्तनपानका सवालमा समुदायमा विविध गलत धारणा व्याप्त रहेको पाइन्छ। तीनै तहको सरकारबाट अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गराउने कार्यमा कुनै कसुर बाँकी नराखी स्वास्थ्य क्षेत्रको संस्थागत सुधार, क्षमता, सीप र परामर्शमा अभिवृद्धि गराउँदै जाने, विद्यमान स्वास्थ्य सेवा तथा कार्यक्रमको समान वितरण र उपभोगमा बढ्वा हुने खालका रणनीति तर्जुमा गर्ने, विद्यालय शिक्षादेखि नै प्रजनन तथा बालस्वास्थ्यका विभिन्न सैद्धान्तिक तथा व्यावहारिक आयामहरूको अद्यापन गराउने, औपचारिक तथा अनौपचारिक मन्चहरुमा स्तनपान प्रवर्धनका लागि पैरवी गर्ने, अन्तर क्षेत्र साझेदारी र निजी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरुसँग आवश्यक सहकार्य र समन्वय गर्ने, सुत्केरी अवस्थामा महिला कर्मचारीहरुका लागि रहेको बिदाको विद्यमान प्रावधानलाई परिमार्जन गरी कम्तीमा 6 महिना बिदा हुने व्यवस्था सुनिश्चित गर्ने, विभिन्न माध्यमबाट सूचना प्रवाहको व्यवस्था गरी सुसूचित गराउने कार्यहरुका साथै स्तनपानको संरक्षण र सम्बर्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री/वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ को प्रावधानहरुलाई कडाइका साथ उचित कार्यान्वयनमा ल्याउन जरुरी छ।

स्तनपानको माध्यमबाट कम लगानीमा उचित तबरले बालबालिकाको वृद्धि विकास गर्न सके व्यक्ति, परिवार र राष्ट्रकै लागि आर्थिक समृद्धिमा टेवा पुग्ने छ। स्तनपान, दिगो विकासको लक्ष्य प्राप्तिको एक प्रमुख आधार हो, एक लागत प्रभावकारी विधि हो। यसलाई केवल सप्ताह तथा दिवसको रुपमा मात्र मनाउने नगरी दैनिक व्यवहारमा ल्याउन जरुरी छ।

(लेखक स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हुनुहुन्छ ।)

 

-स्वास्थ्य खबरबाट

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी