News Portal

रेडियो सुन्नुहोस्

डिभी परेर अमेरिका त पुगें तर…..

देवराज भण्डारी२०७८ पुष १८, प्यूठान
२११ पटक
२०७८ पुष १८, प्यूठान

केही वर्षदेखिको मलगायत मेरो परिवारको अमेरिका जाने सपना भने २०७८ सालमा डिभी चिठीमार्फत् पूरा भयो।

वैधानिक बाटो भएर वा जल तथा स्थलमार्ग भएर आएका, आउँदै गरेका र आउने सोच बनाइरहेका नेपालमा सायद कमै युवायुवती होलान्।

यो सपना नभएको नेपालीको कुनै परिवार छैन भन्दा फरक नपर्ला किनभने अमेरिका नेपाललगायत अल्पविकसित वा विकासोउन्मुख राष्ट्रका नागरिकको सपना अनि स्वर्ग हो।

मैले त कतिपल्टको सपनापश्चात् विपना भोग्दै छु तीन महिनाको अवधिमा अमेरिका। झन् मेरो उमेर सेरोफेरोका बेरोजगार युवायुवतीको अमेरिकी सपनाको त कुरै छाडौं।

नेपालमा उच्च ओहोदामा पदासिन व्यक्ति, डाक्टर, इन्जिनियर सबैले प्रत्येक वर्ष डिभी भरेकै हुन्छन् कारण अमेरिकी सपनाले आकर्षण गरेरै होला सायद, अमेरिका आउने सपना बोक्नेहरूको लेखाजोखा नै छैन।

मभन्दा कयौं दशक बिताएका पनि हुनुहुन्छ मेरो संसर्गमा उहाँहरूको भोगाइ र मेरो करिब तीन महिनाको अनुभवले धेरै व्यक्ति तथा पात्रहरूको अनि स्वअनुभवले यो आलेखमार्फत् विचार र भोगाइ पोख्न मन लाग्यो। यहाँ ग्यास स्टेसन (पेट्रोल पम्प), ससाना होटल, रेस्टुरेन्ट, किराना स्टोरहरूबाहेक नयाँ व्यक्तिले अन्य अलि सजिला क्षेत्रमा काम पाउनु फलामको चिउरा चपाउन जत्तिकै कठिन छ।

सुरूमा अंग्रेजी भाषामा समस्या अनि काला जाति, गोरा जाति र स्पेनिसहरूको भाषा फरक फरक छ।

पढाइ र व्यवहारमा अंग्रेजी भाषा फरक–फरक छ। अनि हामीले ४/५ घण्टाभन्दा धेरै काममा लगातार खटेर सायद कमैले गरेका हौंला।

यहाँ आएर न्यूनतम ८ देखि १५/१६ घण्टासम्म उभिएर काम गर्नुपर्दा शरीर छट्पटाहट र थकानले चक्कर लाग्लाझैं हुन्छ।
सम्झँदा मेरै नेपाल ठिक भन्नुको विकल्प हुँदैन।

काम नगर्नु जीवनै चल्दैन र हामीले काम गरेवापत पाउने उही प्रत्येक घण्टाको हिसाबले केही डलरमात्रै हो।

मेरो विचार केहीलाई हावादारी लाग्ला तर यो यथार्थ हो, भोगाइ हो। नेपालमै हुँदाखाँदाको, जागिर र व्यवसाय छाडेर हिँडेको म अहिलेसम्म कुनै कुराको लय वा मेसो पाउन सकेको छैन। दुख्खै भनेर त डेढ घण्टा उभिएर गर्नुपर्ने कामबाहेक अरू केही छैन तर पनि के के न हराएजस्तो विराए जस्तो……. । खानपान मिल्दैन समय मिल्दैन।

नेपाल र म अहिले रहेको अमेरिकाको स्टेटको समय करिब ११ घण्टा फरक छ।

नेपालबाट साथी तथा आफन्तले म्यासेज र कल गर्दा कत्तिको त जवाफ फर्काउन सक्छु कत्तिको सक्दिनँ।

समयमा रिप्लाई दिन नसकेको साथीले अर्को म्यासेज लेख्छ ‘के हो आजभोलि त हाम्रो रिप्लाई नै दिन्नस् …..तँ, टिपटिप डलर टिप्न गएको होस टिप हामीलाई नबिर्सेस’।

मैले मन्द मुस्कानसँगै म दोधार भएँ, के जवाफ फर्काम भनेर! साथीको यो जवाफ र म अमेरिका आउनुभन्दा अघिदेखि आफन्तहरूबाट एक दर्जन बढी त आइफोन अर्डर भैसकेका छन्, अरू हुँदै छन्।

नेपालमा जे जस्तो भए पनि अमेरिकामा आएर दैनिकी वा नयाँ जीवन शून्य लेवलबाटै सुरू गर्नुपर्ने हुन्छ।

शून्यबाट सुरू गरेर नम्बरतिर कहिले उक्लने हो र उक्लँदासम्ममा केही वर्ष लाग्न सक्ला! यहाँ आएपश्चात् नेपाली अनुभवअनुसार काम विरलै पाइएला अमेरिकाको वातावरणमा घुलमिल हुन केही वर्ष लाग्छ नै।

बस्ने घर, कोठा वा अपार्टमेन्टको भाडा, सवारी साधनको खर्च उसको बीमा, आफ्नो स्वास्थ्य बीमा जीवन बीमा, खाद्यान्न, लुगाफाटोको जोहो गर्दा महिनाभरि दैनिक ८ घण्टा कामबाट आएको डलरले भ्याउन मुस्किल पर्छ।

उता नेपालमा यहाँको डलर र नेपाली मुद्रा कन्भर्ट गर्न सुरू गरिसकेका हुन्छन् घरपरिवार र आफन्तीले, जो स्वभाविक पनि हो।
कमाउन आएकाले कमाउन त प¥यो नि ! तर माथिका यावत यथार्थको हेक्का नै हुँदैन कसैलाई।

यहाँ आफूलाई महिना धकेल्न गाह्रो परेको हुन्छ। भन्नुको तात्पर्य यहाँ पहिलो प्राथमिकता भनेको काम र पैसा हो।

पैसा टन्न कमाएर बचाउन सके स्वर्ग, होइन भने यो जस्तो दलदल अरू के होला ?

सारमा भन्नुपर्दा अमेरिकामा गरेको जस्तो दुःख र खर्चिने समय नेपालमै गर्न सक्यौं भने यहाँभन्दा कम हुँदैन भन्ने यथार्थको अनुभूति यी तीन महिनामै बुझें।

हरेकलाई कमाउनै पर्नेछ यहाँ, बिहानदेखि बेलुकीसम्म घडीको सुइँ हेर्दै काम गर्नुपर्ने अवस्था र परिवारका सदस्यहरूले काम गर्ने फरक–फरक समयतालिका कारण एउटै परिवारका सदस्यको भेटघाट भनौं या श्रीमान श्रीमतीबीच पनि महिनौं नजिकिन नपाउने अवस्था छ।

यसले गर्दा हाम्रो धर्म संस्कृति, रितिरिवाज, समाज मात्रै होइन पारिवारिक वातावरणमा पर्न सक्ने समस्या र परिसकेका उदाहरण केही देखी–भोगिसकें।

नेपाललगायतका अन्य देशका उच्च पदस्थ, सामान्य र गन्यमान्यहरू ग्रिनकार्डको लोभमा जे पनि गर्ने र पाएर वा भागेर (अवैधानिक) आएका भन्ने समाचार नसुनेका होइनौं र नौलो कुरा पनि होइन। तर तिनीहरूले अमेरिका आएर के पाए के गुमाए? भन्ने कुराको कमै चर्चा होला।

सामान्य नागरिक आएर त देशलाई केही फरक नपर्ला तर क्षमतावान दक्ष जनशक्ति तथा डाक्टर, पाइलट, इन्जिनियर, आइटी अफिसरहरूमा समेत ग्रिनकार्डको लालच बढ्नाले देशलाई पक्कै पनि घाटा हुनेछ।

यी र यस्ता यावत कुरा लेख्दै गर्दा नेपालमा पैसाको अभावमा केही भोग्नुपरेका समस्याको बारेमा सम्झिँदा त संसारमा सबभन्दा ठूलो पैसा नै लाग्थ्यो तर पैसामात्रै ठूलो रहेनछ। समय ठूलो रहेछ भन्ने महसुस गर्ने पाठ सिकायो अमेरिकाले।

कहीँकतै कसैको पूजाआजामा साथीभाइ जमघट हौंला, रमाइलो गरौंला छैन। सार्वजनिक स्थलमा कुनै भेला वा मेला महोत्सव जाउँला छैन। गाउँघरका मेलापातमा झैं पर्मा गरौंला छैन।

सिँचाइका कुलानालामा झाराखारा जाउँला छैन। गाउँ समाजमा कति आत्मीयता हुन्थ्यो त्यो त यहाँ पटक्कै छैन।

त्यसकारण हामी त्यो परिवेशबाट हुर्केका, समयसँग मात्रै पैसा साट्ने परिवेशमा कसरी सन्तुष्टि हुन सकिँदो रहेछ र ? त्यसैले त यतिबेला हरपल अति प्रिय लागिरहन्छन्, हिजो म हुर्केको जर्जरका तर निकै आत्मीय दिनहरू।

हिजो खाडीबाट देशप्रतिको प्रेमभाव देखाएर फेसबुकमा लेख्नेहरू देख्दा सोच्थें, देशमा केही गर्न नसकेर प्रदेश जाने अनि देशभक्ति देखाउने। तर म गलत रहेछु, आज आफैं भोगरहेछु, देशबाहिर हुँदा देशको माया कति हुँदो रहेछ…।

 

setopati

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी