News Portal

रेडियो सुन्नुहोस्

ताप एक मनोबैज्ञानिक सामाजिक समस्या

सरद बिष्ट२०८० श्रावण ३०
४४६ पटक
२०८० श्रावण ३०
संसारका धेरैजसो मानब समुदायले भोगेको कोभिड–१९ महाब्याधिको चुनौति सम्भवत अहिले सम्मकै यो पुस्ताले भोगेको अति नै डरलाग्दो बिभत्स महामारी घटना थियो । बिश्वव्यापीकरणले एक बनाएको सिंगो विश्व फरक तरिकाले विभाजित हुन पुग्यो । जनगणतन्त्र चीनको हुबेई प्रान्तको औधोगिक नगरी वुहानमा पहिलोपल्ट देखापरेको कोभिड–१९ को महामारीले संसारको धेरैजसो राष्ट्रहरुलाई आक्रान्त बनायो । यो घातक डरलाग्दो कोरोनाको महामारीले वर्तमान बिश्वको एकल महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई पनि थङ्थिलो पारेर गयो ।
कोभिड–१९ को महामारी कहिले, कुन बिन्दुमा पुगेर जनधनको कति ठुलो नोक्सानी गरेर साम्य हुन्छ कसैले पनि भन्न सक्ने स्थिति ठ्याक्कै थिएन् । । कोरोना भाइरस विरुद्ध लगाउने कुनै प्रकारको प्रतिरोधी खोप महामारी चलिरहेको बेला तयार भएको थिएन् । साथै, यो महाव्याधीवाट पिडित बिरामीलाई दिन सकिने कुनै खास औषधी पनि थिएन् । यो स्थितिले सम्पुर्ण मानव जातिलाई नै निरिह बनाएको थियो  । विश्व नै लकडाउन भएको थियो । जमिनमा गुड्ने र आकाशमा उड्ने सबै सवारी ठप्प थिए । औधोगिक कलकारखानाहरु बन्द भएका थिए । शैक्षिक संस्थाहरु बन्द थिए । करोडौं मान्छेहरु बेरोजगार थिए । गरिबी, भोकमरी र नोवेल कोरोना भाईरसले मन, मष्तिस्कमा उथुल पुथुल पारेको थियो त्यतिबेला । हाम्रो देश नेपालको अर्थतन्त्र मात्रै हैन् बिश्व संसारको अर्थतन्त्र नै ध्वस्त र बर्बाद भएको कुरा सबैलाई सर्वबिदितै छ । मान्छेहरु  आ–आफ्नै पिर,व्यथा, चिन्ता र त्यतिबेलाका तापहरु एक आपसमा आदान प्रदान गर्दै मुस्किलले जीवन निर्वाह गरेका थिए  र त्यसको प्रभाव अहिलेसम्म पनि छ। त्यो प्रभाब भनेको नै ताप हो ।
साँच्चै, ताप भनेको के होला ? यहि प्रश्न आज जनसमुदायमा राख्न चाहन्छु । ताप भनेको कुनै वस्तुको तातोपना हो । सामान्यता तातो रहिरहनु नै तापको परिभाषा भन्ने बुझिन्छ । बिज्ञानको भाषामा ताप भन्नाले एक प्रकारको शक्तिको रुपमा बुझन सकिन्छ । अंगे्रजी भाषामा हिट (Heat) भन्ने हुन्छ । हिन्दी, तामिल,उर्दु,फ्रेन्च,बंगाली र चाईनिज भाषामा के के भन्छ त्यो त बढो हार्दिकताका साथ नम्र भएर सम्बन्धित बिषयको जानकार हुन जरुरी छ । तर, जे सुकै होस् मनमा ताप, पीर र चिन्ता नभएको मानव जाति सायद यो बिश्व व्रहमाण्डमा कहि कतै छैन होला । जन्मदेखि मृत्युसम्म सबैलाई आ–आफ्नै ताप, पीर, पीडा र चिन्ता छन् । त्यसैले ताप भनेको मेरो भाषामा पीर, चिन्ता, दुःख र शान्ति नहुनु , बारम्वार बिगतको तितो घटनालाई सम्झनामा ल्याईरहनु, एक्लै टोलाएर बस्न रुचाउनु, रातमा निद्रा दिनमा भोक र प्यास नलाग्नु, मन मष्तिष्क भारी अर्थात पीर हुनु पनि तापको ज्वलन्त उदाहरण हो ।
यहि तापै तापका समायोजन र बिशेष संरचनामा निर्माण भएको सिंगो शरीरलाई निश्चित सुहाउँदो तापक्रममा राख्न पनि साहृै गाह्रो बनायो । २१ औं शताव्दीको बिज्ञान, प्रविधि र सुचनाको महान युगमा मानव आधारभूत आवश्यकताको सजिलै हल गर्न नसक्दा मानसपटलमा चिन्ता पर्दाेरहेछ । तापलाई कसरी महसुस गर्ने, कसरी बहसमा राख्ने र कसरी नियन्त्रण गर्न सिक्ने भन्ने सम्बन्धमा स्वयम् व्यक्ति वा पात्र नै परिचित हुनुपर्ने भएकोले तापको व्यापक अर्थलाई सिधा र सोझो भाषामा बुझ्न त्यत्ति सजिलो भएन् । यसलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणहरु पनि अलग अलग र फरक फरक भागमा विभाजित भए ।
कहिलेकाही मनमा खुलदुली खेल्ने गर्दछ । तापको उत्पत्ति, विकास र सृजना कसरी भयो होला ? यो दुनियाँमा कुनै ताप, आपत र विपत नभएको भए सिंगो मानव जीवनको परीकल्पना कसरी गर्न सकिन्थ्यो होला ? यी मेरा मनका गम्भिर प्रश्न र जिज्ञासाहरु मात्र हुन । यहि तापको बरेमा सुनाउन एउटा सानो कबिताको रचना भयो ।
खुशी छैन यो मन आफनो किन होला रातभरि ?
सधैँ हुन्छ ताप र पीर किन होला रातभरि?
बरु यहाँ कुकुुर रुन्छ सडकमा व्यथासँगै,
मौन हुन्छन् सधैँ यी जन किन होला रातभरि ?
रगतको रातो यौटै, ढुकढुकीको तातो एउटै,
तर फरक–फरक जीवन किन होला रातभरि ?
यो लेखेर म आफै ट्वाल्ल परे र गम्भिर भएर साँेचे । हुन त सबैले एक छाक बिहान–साँझ खाएकै छन् । फाट्या र पुराना भएपनि सिंगो शरीरलाई कपडाले ढाकेकै छन् । दुःख–सुःख, आपत–बिपत जे भएपनि हाँसी खुशी यो पृथ्वीमा जीवनको गुजारा चलाएका छौ । कसैको पनि मंगल, बुध, शुक्र, र वृहस्पति ग्रहमा बसोवास छैन । सुर्यवाट नजिकैको ग्रहमा पनि बढी तापकै कारणले मानव बस्ती राख्न सकेको छैन् । जेहोस ताप भनेको ताप नै हो । कति ताप्पिने ? र, कति तताउने ? भन्ने विषयमा नै यो निर्भर गर्दो रहेछ । फेरि कसलाई के कति ताप परेको छ भनेर लेखाजोखा र नापतौल गर्न पनि नसुहाउने । तपाईलाई के ताप प्यो र भनि सोध्दा उल्टै झम्टी खानु पर्ने र आफै अपमानित हुनुपर्ने यो तापलाई आज चिरफार गर्ने जमर्को गरेको छु । तापको बारेमा सवाल चलाउँदा कसैको भित्रदेखि चित्त दुख्न सक्ला । कसैले रिसको भाव राखी वदला लिन सक्ला । कसैलाई फेरि हाँसेर खुव घत लाग्न सक्ला र यो व्यङ्गकारलाई स्यावासी मिल्ला भन्दै आशै आशको परिधिमा यो लेखकले ब्यङ्ग्य निवन्ध कोर्दै छ ।
सर्ब प्रथमतः आज म बिभिन्न तापहरु मध्ये व्यक्तिगत तापको बारेमा व्याख्या, बिश्लेषण र चर्चा गर्न चाहन्छु । व्यक्तिगत ताप भन्नाले व्यक्ति स्वयम्लाई पर्ने आघात, पीर र वेदनाको सिंगो कुण्ठो नै व्यक्तिगत तापको रुपमा बुझ्न सकिन्छ । जीवनलाई सोचेजस्तो गतिमा पुराउन नसक्नु पनि व्यक्तिगत चिन्ता अर्थात ताप हो । मानौं, एउटा डकर्मीले घर बनाउन पाएन भने, भरीया दाईले दिनभर आफ्नो भारी बोक्न पाएन भने, एउटा कुशल शिक्षकले विद्यार्थीलाई पढाउन पाएन भने, एउटा किसानी दाईले असार–श्रावणको महिनामा खेतमा धान रोप्न पाएन भने, इन्जिनियरले बनाएको नयाँ पुल उद्घाटन नहुँदै भत्कियो भने त्यो जस्तो ठुलो ताप जीवनमा अरु केहि हुँदैन ।
त्यसैगरी घरायसी तापलाई पनि ठुलै समस्याको रुपमा लिन सकिन्छ । जब घरपरिवारमा अशिक्षित सदस्य संख्या बढ्दै जान्छ तब प्रत्येक परिवारका सदस्यहरुको वेग्ला वेग्लै ताप र यसका नकारात्मक रुपहरु पनि देखापर्दै जान्छन । भनिन्छ,–“गोरु बुढो भयो भने ढिक खोज्छ, मान्छे बुढो भयो भने निहुँ खोज्छ” भनेझै बुढो भयो त तापैतापको कथा र व्यथा सुरुवात भयो । बुढेसकालको ताप पनि मृत्युसँग सम्बन्धित भएकोले बुढाबुढीको गुनासो बेग्लै प्रकारको छ । छोरा बुहारीले हेरेनन् । ना–नातिनाहरुले पनि सहयोग गरेनन् । तड्कभडकको जमानामा बुहारीको फेसन देख्दा सासु ससुरालाई खपी नसक्नु हुन्छ । धेरै दाई भाई भएको घरमा भाई–भाईको घरझगडा र ईष्या हुन्छ । नन्दले माइतबाट घरतर्फ सामान ओसार्दा भाउजुलाई पर्नसम्म ताप पर्छ । “उजेली पुजेली दिन गुमाई जुनेली रातमा बिस्कुन सुकाई”, “तै रानी मै रानी कस्ले भर्छ पानी” जस्ता उखानहरु प्रख्यात छन् । बुहारीहरु भएको घरमा आडाआड छ । “विवाह नहुदासम्म आकाशको तारा झारिदिउला विवाह भएपछि वङ्गारा झारिदिउला” भन्ने उखान कसलाई के थाहा ? पञ्चैबाजा ठोकेर टन्न दाइजो भित्राएको श्रीमतीको श्रीमान जड्याह पर्दा कस्तो ताप पर्ला ? कुरा गरेर साध्य छैन् । प्रत्येक साँझ जाड–रक्सी घिचेर घरमा हो–हल्ला गर्दा त्यो श्रीमतीलाई खान,बस्न र सुत्न सुःखै छैन् । बाबु र आमालाई छोराछोरीको ताप औधी हुन्छ ।  विवाह नहुदाँ विवाह भएन भन्ने ताप,विवाह भयो छोराछोरी भएनन् भन्ने ताप, छोराछोरी भए ना–नातिना कहिले होलान भन्ने यो जैविक जीवनको चक्र तापैतापको परिधिमा अल्झिरहेको छ । व्यक्तिगत जीवनमा देखापर्ने रोगहरुको व्यथा पनि उस्तै छ । ग्याष्टिक,जण्डिस,सुगर, उच्च रक्तचाप, टाइफाइड, अल्सर, कोलेस्ट्रोल, युरिक यसिड जस्ता रोगहरु एकैचोटी उर्लेर आउँदा जिन्दगीले हरेस खान्छ । डाक्टरका औषधीहरु देख्दा वाक्क लाग्छ । आफूलाई असाध्यै मन पर्ने खानाहरुमा डाक्टरले वर्षौ दिनसम्म नखानु भनेर रोक लगाउदा आँखावाट आँसु झर्छ होला । जीन्दगीमा चालिसौं बसन्त काटेपछि देखापर्ने तापहरु अझ अबिष्मरणीय हुन्छन् होला ।
हामी सामुदायिक तापलाई पनि समाजकै कलंकको रुपमा हेर्न सक्छौं । वेरोजगार, अशिक्षा, जनसंख्या वृद्धि तथा रुढीवादी परम्परामा पूर्ण बिश्वासको कारणले समाजलाई रुपान्तरण र परिवर्तन गर्न साहृै गाहृो पर्दोरहेछ । नेपाली समाज विभिन्न जातजाति,भाषाभाषी, धर्म र संस्कृतिको समायोजन हो । अधिकांश मानिसहरु चेतना र शिक्षाको अभावले वेचैनको जीवन निर्वाह गरेका छन् । घर–घरमा बसेर चुरोटका खिल्लीहरु उडाएका छन् ।नशा तानेर अमूल्य जीवनको मूल्य चुकाईरहेका छन् । नजिकैको भट्टी पसलमा देश बनाउने युवाहरुको भिडभाड देख्दा चिन्ता लागेर आउछ । तापैतापको लहलहैमा सबैको जीवन बर्बाद भएको छ ।
त्गसैगरी सरकारी विद्यालय, बोर्डिङ्ग, क्याम्पसदेखि बिश्वविद्यालयसम्म पनि आ–आफ्नै ताप र पश्चातापहरु छन् ।श्रम, सीप, क्षमता, मेहनत र योग्यता अनुसारको तलव नपाउनु शिक्षकको आफ्नै तापहरु छन्  ।हेडमास्टरका पनि आफ्नै अनौठा तापहरु छन् ।विद्यार्थी भर्ना,परीक्षा प्रणाली, नतिजाको घोषणा, शिक्षकहरुको राजनितिक संगठन, अभिभावकहरुको कचकच, विद्यालयमा चेन अफ कमाण्ड विग्रिनु पनि हेडसरका टाउको दुखाईका बिषय हुन् । स्वास्थ्य क्षेत्रका समस्याहरु र व्यथिति पनि कम छैनन्, हाम्रो नेपालमा । एउटा डाक्टरलाई विरामी अप्रेसन गर्न पर्याे भने भगवान भरोसा हुन्छ । केहि कारणले विरामी मरिहाल्यो भने डाक्टरलाई पिट्ने, अस्पताल तोड्फोड गर्ने, सडकमा टायर बाल्ने, आन्दोलन गर्ने र भएको रिसभरि प्रहरीमाथि खन्निने प्रवृति एउटा परम्परा झै बिकास भएको छ ।
कर्मचारीले नयाँ वर्षमा नयाँ तलव बृद्धि होला भनेर आशा राख्नु पनि बेकार छ । थोरै तलबले परिवार पाल्न गाहृो छ ।जिन्दगीका सपनाहरु कहिल्यै पुरा भएनन् । सधैभरि पीडा र दुःख संगाली रुदै हिड्नु परेको छ, मानिसहरुलाई । मान्छेलाई त्यही पिर न हो । पिरको भारी बिसाउने ठाँउहरु भेटिएनन् भने जिन्दगीले हरेस मात्र होईन चरेस पनि खाँदो रहेछ ।
क्याम्पस र विश्वविद्यालयमा हजारौ विद्यार्थीको भबिष्य अन्योलमा छ । कसैकसैले नेपालका  बिश्वविद्यालयहरु वेरोजगारको भर्ती केन्द्र भनेर तिखो वाण हान्न समेत भ्याएका छन्  । तर, स्थिति नाजुक नै छ । उच्च शिक्षा अध्ययन पश्चात भनेजस्तो जागिर नेपालमा नपाएर सर्टिफिकेटलाई थोत्रो झोलामा थन्काएर, बुढा बा–आमा, श्रीमती र केटाकेटीहरुलाई सम्झाई वुझाई घरमा बसालेर बा–आमाको हातवाट राता टिका निधारमा लगाई आर्शिवाद थाप्दा लाखांै परिवारका आँशु झरेका छन् । घर, ईष्टमित्र, छिमेक र सिंगो देशलाई चटक्कै छाडेर दिनका दिन हजारौंको संख्यामा आकाशमा उडेर बिदेश जाँदा केहि खुशी भएतापनि गाँउ घरको यादले निकै नै सताउँदो रहेछ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” त्यसै भनिएको रहेनछ् ।
आजको देश, बिदेश र सिंगो बिश्व बहृमाण्डमा मानब समुदायको वाक्लो वस्ती छ । त्यही आ–आफ्ना वस्तीहरुका आ–आफ्नै ताप, पिर, चिन्ता र कुण्ठाहरु छन् ।कतै बिकास भएन भन्ने चिन्ता छ कतै बिकासको कारणले बिनास भयो भन्ने चिन्ता पनि छ । बिचित्र छ, संसारको लिला । मलाई लाग्छ, सकरात्मक सोचको बिकस गर्ने नै हो भने ताप प्रगतिको खुड्किलो हो । जबसम्म मान्छेलाई ताप पर्दैन  नि तवसम्म उसले अगाडी बढ्ने चेष्टा नै गर्दैन् । तापले केहि कुरा सिकाउँछ । संर्घषको बाटोमा अग्रसर गराउँछ । फेरि, जीवनमा तापै नपर्ने भईदिएको भए हाम्रो जिवन कसरी सफल र सार्थक हुन्थ्यो होला र ? त्यही तापको महत्वपूर्ण योगदानले अव्राहम लिङ्कन अमेरिकाको १६ औं राष्ट्रपति वने । जर्मनको उल्म भन्ने ठाउँमा पिता हरमन आइन्स्टाइन र माता पाउलिन आइन्स्टाइनको कोखवाट जन्मिएका अल्वर्ट आइन्स्टाइनलाई एउटा गणित शिक्षकले तिमीले सात जुनिसम्म पनि गणित सिक्न सक्दैनौ भन्दा ठूलो ताप परेको थियो होला । त्यही तापको चिन्तन र जिज्ञासाले E=mc2 को आविष्कार हुन पुग्यो ।सर आइज्याक न्युटनलाई स्याउ तलतिर किन खस्यो भन्ने तापले महान बैज्ञानिक रुपमा संसारमा चिनायो । क्रिस्टोफोर कोलम्बसलाई अमेरिका पत्ता लगाउने अवसर प्रदान गर्याे । सिद्धार्थ गौतम बुद्धले शान्ति र अहिंसाको खोजीमा दरवार त्यागे । घरपरिवारकै तापले गर्दा झमक घिमिरेले आफ्नो हातहरु नभएपनि खुट्टाको सहायताले अक्षर लेख्ने दृढ संकल्प गरिन । फलस्वरुप जीवन काडाँ कि फूल ? भन्ने उपन्यासले मदन पुरुस्कार प्राप्त गर्यो । दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध सङ्घर्ष गर्ने अठोट गरेका विश्वमा सबभन्दा बढी जेलजीवन बिताउने व्यक्ति र जन निर्वाचित प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलालाई दुई–दुई वटा श्रीमती एवेलिन र विन्नीसँग पारपाचुके गर्नुपर्दा कति ठुलो ताप पर्यो होला ?
रुसका प्रथम अन्तरिक्ष यात्री युरी गागरिनलाई अन्तरिक्षतर्फका पहिलो यात्रा सफल भएन भने के गर्ने होला भन्ने तापले सतायो होला । रेडियम पत्ता लगाउने दुई लोग्ने स्वास्नीलाई सन् १९०३ मा दुबैलाई नोवेल पुरुस्कार प्राप्त भएको थियो । तिनै श्रीमान श्रीमती मेरी क्युरी र पियरे क्युरी मध्ये पियरेको मृत्यु हँुदा मेरी क्युरीलाई दुई छोरी इरेन र इभेलालाई हुर्काउन, पढाउन र वैज्ञानिक कर्ममा लगाउन कति हम्मे हम्मे पर्यो होला ? रविन्द्रनाथ टैगोर, भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा, विलियम सेक्सपियर जस्ता महान साहित्यकारहरु साहित्यकै तापमा आफनो जीवन समर्पण गरे । जेहोस यो विशाल पृथ्वीमा तापको निश्चित मात्रा सबैलाई आवश्यकता पर्दछ । तापको न्यानो माया विना हामी वाँच्न सक्दैनौं । घरमा चुलो बाल्न, खाना पकाउन देखि लिएर रेल रकेट र अन्तरिक्षको उडान भर्नको लागि पनि तापको ठूलो महत्व रहन्छ । एउटा पोथी कुखुरालाई पनि अण्डा कोरल्न तापको आवश्यकता अपरिहार्य हुन्छ । ६० वर्षे बुढाबुढीलाई मध्ये पुषको जाडोमा तापकै बढी आवश्यकता पर्दछ ।  तापको अर्थ र परिभाषालाई साँघुरो घेरामा राखेर हेर्न सकिदैन् । यस्को अर्थ व्यापक र बिशिष्ट प्रकारको छ ।
घरदेखि परदेशसम्म देखा परेका अन्तराष्ट्रिय स्तरका घटनाहरुले विश्वसम्ुादायलाई पार्नुसम्म ताप पारेको छ । बिश्वका बिभिन्न देशमा अशान्ति, हिंसा, गरिवी, वेरोजगार, भष्ट्राचार, महिला हिंसा र प्राकृतिक प्रकोप र महामारी जस्ता घटनाहरुले लाखौं मान्छेको ज्यान गईसकेको छ भने करोडौंको घरबार बिचल्ली भएको छ । विश्वमा धनी र विकसित राष्ट्रहरु विज्ञान र प्रविधिको कुरा गर्दा हाम्रो देश नेपालमा झाडा पखालाले १० जनाको मृत्य भन्ने खबर आउँछ, बैतडीमा छाउगोठ गएकी १६ बर्षिय किशोरीलाई सर्पले डस्दा घटनास्थलमा मृत्यु, ताप्लेजुङमा खाद्यान्न पुगेन, डोल्पामा नुन नपुग्दा मानिसहरु चिन्तित समस्याहरु देशका राष्ट्रिय खबरहरु बन्छन् । यो देशको बर्तमान राजनितिक अवस्था हो ।यति सानो देशमा पनि मान्छेले अनेकौ नचाहिने उश्रृङ्खल घटना गर्दा चिन्ता लाग्छ । जताततैको व्यतिथि डामाडोल छ । बनेको र सुध्रिएको अवस्था कहिकतै छैन । स्वास्थ्य चौकीमा विरामी लगेर गयो डाक्टर छैन् । पासपोर्ट वनाउन प्रशासन कार्यालयमा गयो हाकिम छैन । जरुरत कामको लागि विदेशमा रहेको छोरालाई फोन गर्न खोज्यो मोवाईलमा नेटवर्क छैन । छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्यो पढाईको गुणस्तर राम्रो छैन् । स्कुले विद्यार्थी बलात्कृत भइन् न्याय माग्न जिल्ला अदालततिर धायो न्यायधिसले महिनौ दिनसम्म तारिख लाइदिन्छ ।त्यसैले हामी सबै मानवजाती तापैतापको भुमरीमा छौं । तापकौ जंजिरले हामीलाई बेस्सरी बाँधेको छ ।
अन्त्यमा, सिंगो विश्वव्रहमाण्ड, सुर्य, तारा र सिंगो सौर्य परिवारलाई बचाउनु छ । बिश्व मानव समुदायलाई विश्वबन्धुत्वको भावनामा जिवन्त दिनु छ । सबै हामी एकैचोटी तात्तिने, आत्तिने र मात्तिने काम गर्नु हँुदैन् । दुई विश्वयुद्ध र एक कोरोना युद्धले महान गतिलो सन्देश दिइसकेका छन् । ठुला राष्ट्रहरु–“सुइच द बटन फिनिस द ओरल्ड” भन्छन ।हामी अब सचेत हुनुपर्दछ । मान्छे तात्तियो भने विश्व विनास हुन्छ । हामी हाँसेर,नाचेर खुशीसँग बाँचेर विश्वलाई रङ्गीन बनाउनु छ । त्यसैले तापलाई बुझौँ र यसको आवश्यकतालाई महसुुस गरौं । दीर्घ र स्वस्थ जीवनको लागि मनका सबै तापहरु हटाउनैपर्छ । विगतका तीता अनुभव र यादहरु विर्सनुपर्छ । टन्न खाएर जिङरीङ्ग मोटाउन पर्छ ।आफन्त र इष्टमित्रसँग खित्का छोडेर हाँस्न जान्नुपर्दछ । “जो हाँस्यो उही धेरै बाँच्यो” भन्ने उखानलाई मनन गर्नुपर्दछ । जीन्दगीमा दुःख पाए, रोगले सतायो, गरीव भए, वेरोजगार भए, श्रीमती पोइल गई, श्रीमानले छोड्यो, खडेरी परेर खेतीपाती राम्रो भएन, देशमा शुशासन कहिल्यै भएन, भष्ट्राचारले सिमा नाघ्यो, देशको प्रतिब्यक्ति ऋण सत्तरी हजार नाघ्नै थाल्यो भनेर वढ्ता चिन्ता र ताप गर्नु भनेको समय बर्बाद र नष्ट गर्नु रहेछ  ।त्यसैले एउटा नीति शास्त्रमा उल्लेख गरेको कुरा लेख्न मन लाग्यो –
सर्बे भवन्तु सुखिन
सर्वे सन्तु निरामया
सर्वे भदाणि पश्यन्तु
मा कश्चित दुख भाग्भवेत ।।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि...