News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विगतभन्दा निकै धेरै बजेट व्यवस्थापन गरेका छौँ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ कार्तिक २८
२९ पटक
२०८१ कार्तिक २८

प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको सभापति भएर प्रतिवेदन बुझाएसँगै सरकारले उक्त प्रतिवेदनको कार्यान्वयन थालेको छ । छानबिन समितिको कार्य सम्पन्न पछि प्यूठान आउनुभएका सांसद थापासँग हरिप्रसाद भण्डारीले गर्नुभएको विशेष संवादको केही अंश प्रस्तुत गरेका छौँ ।

 

-जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएदेखि हरेक महिना आफ्ना मतदाता भेट्न प्यूठान आउनुभएको थियो तर, यस पटक करिब चार महिनापछि आउनुभयो  किन ?

प्रतिनिधि सभाले सहकारी संस्था बचत रकम दुरुपयोग  गरेको सम्बन्धमा संसदीय छानबिन विशेष समिति सर्व सहमतिमा गठन गर्‍यो । त्यसको सभापति मलाई चयन गर्‍यो । स्वाभाविक रूपमा एउटा राष्ट्रिय मुद्दामा प्यूठानको जनप्रतिनिधिले नेतृत्व गने र क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रतिनिधि सभाबाट प्राप्त भएको थियो । प्युठानबाट निर्वाचित हुने धेरै व्यक्तिहरू हुनुहुन्थ्यो तर, यो खालको जिम्मेवारी कसैले प्राप्त गरेको स्थिति थिएन । सबै पार्टीको तर्फबाट ७ सदस्यीय छानबिन समितिको थियो । सहकारीमा खर्बौँको बचत ठगी,अपचलन, हिनामिना गरिएको समस्या समाधान गर्ने गरी अध्ययन, सुझाव प्रस्तुत गर्ने र छानबिन गरी कारवाहिको सिफारिस गर्ने गरी जिम्मेवारी प्राप्त थियो । त्यही जिम्मेवारीका कारणले म जेठ २३ गते पछि यता भदौ ३१ गतेसम्म सिङ्गो रूपमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको काममा लगाउन पर्ने भयो । समय थोरै थियो हामीले ९९ दिन काम गयौँ र प्रतिनिधि सभाको बजेट अधिवेशनको अन्तिम दिन हामीले प्रतिनिधि सभामा प्रस्तुत गर्‍यौँ र अहिले त्यो कार्यान्वयनमा अगाडि बढेको छ । यो कुरा सबैलाई अवगत नै छ । म प्यूठानका केही ज्वलन्त विषयमा बोल्ने काम त्यति वेला पनि गरेँ । तर, बैठकमा हाजिर गरेर छानबिन समितिको काममा सक्रिय हुन्थेँ । दिउँसो मात्र काम गरेर पूरा भएको थिएन राति र बिहान ३ बजेसम्म बैठक गयौँ । प्यूठानको जनप्रतिनिधिका रूपमा, प्यूठानी जनताको म्यान्डेट र नासो सहित नै म राष्ट्रिय जिम्मेवारीमा सक्रिय रहेका कारण म चार महिना आउन ढिलो भयो ।

-अब यहाँले सहकारी विशेष समितिको सभापति भएर जुन स्तरको छानबिन छलफल चलाउनुभयो यसले राष्ट्रिय स्तरमा चर्चा प्राप्त गरेकै छ । यसमा प्यूठानको पनि एक हिसाबले शिर उच्च भएकै छ तर पछिल्लो समयमा यहाँले पेस गर्नु भएको यहाँको समितिले पेस गर्नु भएको प्रतिवेदनको  कार्यान्वयन स्वरूप पूर्व गृहमन्त्री र राष्ट्रिय«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछि सडकमा जुन दृश्य देखिएको छ यसलाई कुन रूपमा लिनु भएको छ ?

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रस्तुत भएपछि सरकारले असोज २ गतेको मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने निर्णय गर्‍यो ।  ६ गते छविलाल जोशी पक्राउ पर्नुभयो । उहाँ अनुसन्धानमा हुनुहुन्छ । सूर्य दर्शन सहकारी पोखरा र सुप्रिम सहकारी बुटवलको बचत हिनामिना उहाँलाई अनुसन्धान गर्ने बयान  लिने काम चलिरहेको छ । कार्तिक २ गते रवि लामिछाने पक्राउ पर्नु भएको छ ।  उहाँलाई  अहिले  सूर्य दर्शन सहकारीको बचत  दुरुपयोग सम्बन्धमा छानबिन गर्नै र अनुसन्धान  गर्नै काम भइराखेको  छ ।

हामीले खास गरी ४० वटा सकारीको ८७ अर्ब बचत दुरुपयोग गरिएको, हिनामिना गरिएको र जनताको बचत सङ्कटमा परेको  विषय  औँल्याउने क्रममा जिबि राईको नेक्ससमा रहेका ७ वटा सहकारीको ८ अर्ब   रकम हिनामिना  भएको विषयलाई छानबिनको क्रममा तथ्य सहित स्थापित गरेका छौँ  ।  जिबि  राईको सम्बन्ध रहेका ५ वटा सहकारीबाट ६५ करोड ५४  लाख रुपैयाँ गोरखा मिडिया  नेटवर्कमा पुगेको र त्यहाँ अपचलन गरिएको  भन्ने निष्कर्षमा समिति पुगेको छ । यसरी सहकारीको रकम कानुन बमोजिम  कम्पनीमा लगेर खर्च गर्न पाइन्न त्यो गैर कानुनी हुन्छ । गैर कानुनी श्रोतबाट प्राप्त रकम खर्च गर्ने काममा संलग्न रहेका कारणले गोर्खा मिडियाका १५ प्रतिशत शेयरका हिस्सेदार एक जना मालिक र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहित ४ जनाको नाम किटेर कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका थियौँ । त्यसमा जिबि राई फरार छन् । कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई पक्राउ परेर छानबिनमा हुनुहुन्छ । दोषी ठहर होइन छानबिनको क्रममा हो । प्रहरीले छानबिन गरेर सरकारी वकिलको कार्यालय अभियोजन गर्छ र अदालतमा मुद्दा अगाडि बढ्छ ।

-सर्व सहमतिमा प्रतिवेदन तयार पार्दासम्म रास्वपाको पनि प्रतिनिधित्व पनि थियो समितिमा । प्रतिवेदनले गोर्खा मिडियामा आएको रकम खर्च गर्ने जिम्मेवारीमा छानबिन र कारबाहीका लागि सिफारिस गरेको छ । तर, समितिको प्रतिवेदन संसद्मा पेस भएपछि क्लिन चिट पाएको दाबी गरिराख्नु भएको छ । यसको कारण के होला र ?

उहाँहरूले सोसल मिडियाको दुरुपयोग गरेर यसको गलत न्यारेसन बनाउन सकिन्छ, क्लिन चिटका रूपमा भेला देखी युटुवर प्रयोग गरेर न्यारेसन बनाउन सकिन्छ भन्नेमा हुनुहुन्थ्यो । तथ्य, प्रतिवेदन, अध्ययन, निष्कर्ष त्यस्तो थिएन । उहाँहरूले भदौ ३१ पछि असोज ८ सम्म त्यस्तो कोसिस गर्नुभयो । असोज ८ गते रवि लामिछाने फेसबुक लाइभमा आएर समितिको निष्कर्ष जे थियो त्यो ठाउँमा पुग्नुभएको छ । रकम ल्याउने काममा जिम्मेवार नभए पनि खर्च गर्नेमा जिम्मेवार रहेको र कानुन बमोजिम जबाफदेही हुने बताउनु भएको छ ।

-नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र लेखा समितिका संयोजक ऋषि केश पोख्रेल जोडिएको सहकारीहरूको अनुसन्धान भएन र रास्वपा सभापतिमाथि मात्र अनुसन्धान गरियो भन्ने छ नि ?

धनराज गुरुङको विषय के छ भने हामीले त्यहाँ नक्कली सम्बन्ध विच्छेद शीर्षकमा कारबाहीका लागि सिफारिस गरेका छौँ । रवि लामिछानेको अनुसन्धानको स्ट्याटस र धनराज गुरुङको अनुसन्धानको स्ट्याटस फरक हो । हामीले सम्बन्धित निकायलाई, त्यो भनेको सिआईविलाई प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेका छौँ त्यो अनुसन्धान अगाडि बढ्ला ।

धनराज गुरुङको श्रीमतीले सहकारीको १४ करोड ८१ लाख मितेरी सहकारीको बचत रकम हिनामिना गरेको, गुरुङले त्यसपछि सम्बन्ध विच्छेद गरेको, त्यो कागजात सहित हामीले ज्योति गुरुङ अमेरिका फरार रहेका सूचनाका आधारमा खोजी गरी ल्याउन र अनुसन्धान गर्न भनेका छौँ र सरकारले रेड कर्नर नोटिस पनि जारी गरेको छ ।

धनराज गुरुङले पनि त्यो भएपछि सहकारी सम्बन्ध विच्छेद गर्नुभयो, कागजातले त्यो देखाउँछ । सम्बन्ध विच्छेद गरेपछि पनि श्रीमतीको महलमा ज्योति गुरुङको नाम लेखेर सांसद भएपछि, मन्त्री भएपछि विवरण दिनुभएको छ । जमानी बसेर ऋण लिनुभएको छ । ९१ लाख २५ हजार ज्योति गुरुङ सहितको ऋण तिर्नुभएको छ । यी चिजहरू शङ्कास्पद छन् छानबिन गर्नु भनेका छौँ ।

ऋषि केश पोख्रेलको हकमा त कुनै विषय नै आएको छैन । नयाँ पत्रिकाले हामीले प्रतिवेदन बुझाउनु भन्दा ३ दिन अगाडि समाचार छापेको थियो । हाम्रो कार्यादेशमा त्यो विषय थिएन । प्रतिवेदन फाइनल गर्ने चरणमा थियोैँ । कुन पत्रिकाले के विषय लेख्यो हामीले नोटिसमा लिने विषय थिएन । हामीले सहकारीको विवरण सङ्कलन गर्न देशभर पत्राचार गरेका थियौँ त्यो वेला आएको होइन, कुनै गुनासो उजुरी पनि परेको होइन । उहाँ सहकारीको सञ्चालक सदस्य होइन श्रीमती सञ्चालक सदस्य हो ।

हामीलाई दिइएका २९ वटा सहकारीको अनुसूची १ र २ को जुन सङ्ख्या थियो त्यसमा यी सहकारीहरू थिएनन् । समितिले आफ्नो नोटिसमा आएका र सार्वजनिक विवादमा भएका सकेसम्म विवरण लिएर काम गरेको छ । टिओआरको स्पष्ट यौटा बुँदा गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको दुरुपयोगको सम्बन्धमा छानबिन गरेर संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने भन्ने विषय यी सहकारी हरूमा थिएन । राज्यका निकायहरूले छानबिन गर्न सक्छन् । कोही पनि कारवाहिको दायराबाट उन्मुक्त छैन । छविलाल जोशीलाई १ महिना अगाडि पक्राउ गरियो रवि लामिछानेलाई किन १ महिना पछाडि किन गरियो भन्नेजस्ता कुराको अर्थ छैन ।

-विकासमा प्यूठान निरन्तर पछाडि पर्‍यो भन्ने विश्लेषण छ । यसको कारणको रूपमा प्यूठानका सांसदहरूले विद्रोहको राजनीति गर्नुलाई मानिएको छ । निकै ठुलो गठबन्धनलाई पराजित गरेर तपाई निर्वाचित हुनुभयो । प्यूठानको विकासमा तपाई का प्राथमिकता के छन् ?

मैले निर्वाचन सँग सम्बन्धित आफ्ना प्रतिबद्धता यी विषयहरू अघि सारेको छु । म सबभन्दा बढी हाम्रो समर्थमा बनेको पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको सरकार सञ्चालित थियो । अर्थमन्त्री हाम्रो छिमेकी जिल्लाका सांसद वर्षमान पुन अनन्त हुनुहुन्थ्यो । मैले भेटेर पनि कुरा गरेको थिए । उहाँले मलाईचाहिँ  यो प्रक्रिया अघि बढाउने भन्नुभएको थियो तर बजेट हामीले दिएका सुझाव अनुसार आएन । त्यसपछि मैले संसदबाटै भनेको थिएँ–नेकपा एमालेका तर्फबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुन अनन्तले जुन बजेटमा खेलबाड गर्नु भयो । यो खेलबाडले सरकार धेरै अगाडि बढ्न सक्दैन भनेर पनि भनेको थिए तदनुरूप अघि बढेन ।

भालुवाङ्ग–प्यूठान मोटर बाटोलाई डवल लेनको बनाएर जानुपर्छ भनेर निर्वाचित भएदेखि नै त्यो शीर्षक प्रबन्ध गरेका छौँ । यद्यपि त्यसका लागि २० करोड बजेट प्रबन्ध गरेर बहुवर्षिय रूपमा अगाडि बढाउने हो भने त्यसमा धेरै खर्च लाग्दैन करिब ८४–८६ करोडमा त्यो सम्पन्न हुन्छ । अहिले बड्डाडा देखि देविस्थान सम्म विभिन्न मोडहरू काट्न करोडौँका काम भएका छन् । गर्जेनिमा पहिरो झरिरहेको छ तर, साँघुरो चट्टान काट्ने काम यही बिचमा भएको छ ।

यो सडक अन्तरगत जेमुनडाडा लगायतका ठाउँमा काम भएका छन् । अहिले पनि झन्डै ९ करोड र अघिल्लो वर्ष ८–साढे ८ करोड बजेट छुट्टाएका छौँ । तर, यसलाई यौटा ढाँचामा लैजाने र जिल्ला सदरमुकाम जोडने सडकलाई डवल लेनको बनाउने मुख्य प्राथमिकता हो ।  यो गर्न सकियो भने प्यूठानीले दीपावली गर्ने ठुलो महत्वको काम हुनेछ ।

दोस्रो, गोविन्दराज पोख्रेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा बजेट वक्तव्यमा समावेश गरिएको बाग्दुला भिमगिठे सडक, बजेट शीर्षकमा त भालुवाङ्ग, बाग्दुला, भिमगिठे सडक भनिएको छ । म जितेर गइसकेपछि त्यसका ५ जना आयोजना प्रमुखहरू बदलिएका छन् । सबैसँग छलफल भएको छ । कागजातको प्रक्रिया कुनै बाँकी छैन । निरन्तर धाइएको छ । तर, ८ महिना यता भारतीय एक्जिम बैङ्क जो डोनर हो उसले कुनै जवाफ दिएको छैन । यो योजनाको कारण हामी १२ वर्ष पछाडि पयौँ ।

७६÷७७ मा निर्वाचन क्षेत्र रणनीतिक सडक भन्ने कार्यक्रम अघि सार्‍यो सरकारले । माननीय दुर्गा पौडेलले खलङ्गा, मल्लरानी भएर गोखुंगा जोडने सडक छानेर सिफारिस गर्नुभयो । अहिले माथि पातिहाल्नाबाट बाढी आएर मरन्ठाना, भुस्वाङ खोला चुँदरी खोलामा जसरी बाढी आएको छ गलत योजना छनोटले समस्या भएको छ । त्यहाँ त्यो बजेट जरुरी थिएन २० करोडको योजनाले नै सडक बन्न सक्थ्यो । हाम्रा योजना छनोटमा मूर्खता, दुर्बुद्धि, पक्षपात देखा परे । अव भालुवाङ, बाग्दुला, भिमगिठे सडकको ठेक्का लगाउने भए ठेक्का लगाउन नत्र हात झिक भनेर अभियान सुरु गरेका छौँ । तिहार पछि अर्थमन्त्रीसंग, सम्बन्धित मन्त्री, सचिवहरू लगायतसँग छलफल गर्छु । लामो समय हामी पर्खिन सक्ने स्थितिमा छैनौँ ।

सौतामारे मच्छी हुँदै मदन भण्डारी राष्ट्रिय राजमार्ग, गोखुङ्गा, खरिबोट हुँदै बाग्दुला हुँदै मदन भण्डारी राजमार्गको कुरा छ यी ठेक्का लगाएका योजना सम्पन्न गर्ने ठेक्का नलागेका ठाउँमा ठेक्का लगाउने काम अगाडि बढाएका छौँ । बाग्दुला स्याउलिवाङ्ग सडकको ठेक्का लागेको छ र प्रदेशको महत्त्वपूर्ण योजनाका रूपमा अगाडि बढेको छ । अहिले बाहाने देखि स्याउलिवाङ्ग सम्मको काम अगाडि बढ्छ । जीवराज आश्रित–कृष्ण सेन इच्छुक सडकको निर्माण काम छिटो सम्पन्न गर्ने गरी अगाडि बढाउन भनेका छौँ । कति पक्की संरचना र पुलहरु बनिसकेका छन् ।

रजवारा बाग्दुङ जोडने बाटोमा १ करोड छुट्ट्याइएको छ । ठुलावेशी देखि स्याउलिवाङ जाने बाटोका लागि १ करोड १८ लाख बढी छुट्ट्याइएको छ । गुल्मीको होलवाङ देखि गलङछन, अर्खा, तामा खानि, कैया भएर लुङ्ग रिठाघाट जोडने बाटोका लागि १ करोड छुट्टाएका छौँ । बेलुवा देखि बाग्दुला सडक विस्तारका लागि १ करोड छुट्ट्याइएको छ । प्यूठान नगरपालिकाका मेयर सँग कुरा भइरहेको छ । तिहारपछि काम सम्पन्न गर्ने गरी अर्थ मन्त्रालयमा कुरा गरेर बजेट प्रबन्ध गर्न अघि बढ्ने भनेका छौँ । बेलुवा देखी खैरा पल्लो पुलको छेउबाट बाग्दुला पुग्ने नयाँ ट्र्याक खोल्न १ करोड ६२ लाख बजेट छुट्याएर ठेक्का लागेको छ । भित्रिकोट देखि झाक्रिस्थान सम्मको पर्यटकीय मार्गको लागि १ करोड ६२ लाख प्रबन्ध गरेका छौँ । टारी देखि ढुंगेठाटी भएर रोल्पा जोडने सडकमा २ खण्डमा गरेर २ करोड ६२ लाख बढी बजेट व्यवस्था गरिएको छ ।

बादिकोट मैदान भएर बासखोला जोडने र बौडा जोडने सडकको निम्ति २ करोड ६२ लाख व्यवस्था गरिएको छ । ढाड देखि बादिकोट भएर गुल्मी जोडने सडकका निम्ति १ करोड व्यवस्था गरिएको छ । मच्छिबाट ठुलावेशी जोडने, बतासेडाडाँबाट मच्छि जोडने, बाग्दुलाबाट मच्छि जोडने सडकका निम्ति बजेट व्यवस्था गरिएको छ । मरेङ र छेपाने जोडने त्यसलाई खरिबोट बाट नेपाने जोडने बाटोका लागि १ करोड व्यवस्था गरेका छौँ । पालुकाथान, नौघाट,पकला, हरियाटारी, जावुने भएर बरौला निस्कने बाटोमा १ करोड छुट्ट्याएका छौ । अमिली, मान्द्रे, जुडा हुँदै अर्घाखाँची जोडने बाटोमा १ करोड, बरौला, खैरा खलङ्गा जोडने बाटोमा १ करोड, चेरनेटा धाईरिचौर भएर वर्जिवाङ, सारी रोल्पा जोडने मोटर बाटोमा १ करोड छुट्टाएका छौँ । यस हिसाबले हामीले विगतमा भएका बजेट विनियोजन भन्दा निकै धेरै बजेट व्यवस्थापन भएको छ । धन्यवाद ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा यस वर्ष धान उत्पादन बढ्यो

यस वर्ष धान उत्पादन वृद्धि भएपछि प्यूठानका किसान खुसी भएका छन् । उचित समयमा भएको...

लामिछानेको बयान जारी, बयान सकेर पोखरा पठाइने

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार...

उपनिर्वाचन: ४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने

आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् । आयोगका...

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र...

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका...