News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस भित्र गुट उपगुट

राधा खनाल१६ भदौ २०७८ काठमाडौं
७८३ पटक
१६ भदौ २०७८ काठमाडौं

१४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन्। महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन्।

१३औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट गरी ३ गुट सक्रिय थियो। तर, १४औं महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि र डा. शेखर कोइराला नेतृत्वको गुट थपिएका छन्। योसँगै कांग्रेसमा ५ गुट सक्रिय देखिएका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालनमा भन्दा महाधिवेशनमा बढी केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ। हाल उनी सातै प्रदेशका आफ्ना गुटका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन्। देउवा गुटमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सदस्य चित्रलेखा यादव, सदस्य बालकृष्ण खाँण, सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सक्रिय छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना निकटका कार्यकर्तासँग दैनिक छलफलमा व्यस्त छन्। पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षीसमेत रहेका छन्। यस गुटमा डा.शशांक कोइराला, सदस्य डा. मिनेन्द्र रिजाल, सदस्य अर्जुन नरसिंह केसी, सदस्य प्रकाशमान सिंह, डा. रामशरण महत, कोषाध्यक्ष सितादेवी यादवलगायत सक्रिय छन्।

१३औं महाधिवेशनसम्म निकै सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट पनि १४ औं महाधिवेशन नजिकिँदै गर्दा सक्रिय भएको छ। उनको गुटमा सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेन प्रधान, धना खतिवडालगायत सक्रिय छन्।

त्यस्तै, विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो छुट्टै गुट निर्माण गरी महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन्। उनले सम्पर्क कार्यालय खोलेर प्रचार प्रसारसमेत सुरु गरिसकेका छन्। यद्यपि, निधि भने छुट्टै गुट भन्न रुचाउँदैनन्। ‘मेरो उम्मेदवारी गुटगत राजनीतिभन्दा माथि छ, निधि भन्छन, ‘गुट भन्न मिल्दैन। मेरो उम्मेदवारी आओस् भन्ने सबै गुटका साथीहरूको आग्रह हो।’ महाधिवेशन प्रतिनिधि चयनपछि नेताहरू आफ्नो पक्षमा खुल्ने निधि बताउँछन्।

महाधिवेशन नजिकिँदै जाँदा कोइराला परिवारको अर्को गुट पनि सक्रिय भएको छ। जसको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन्। यस गुटमा चन्द्र भण्डारी, बद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाईंलगायत सक्रिय छन्। कांग्रेसमा गुटको राजनीति अभिन्न अंग जस्तै भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। ‘अन्तर्राष्ट्रिय रूपमै हेर्दा पनि गुटको राजनीति छरपस्ट देखिन्छ। शर्मा भन्छन, ‘यसलाई सामान्य मानिन्छ। कांग्रेस पार्टी पनि त्यसबाट मुक्त छैन।’ कांग्रेसमा ५ वटा गुट सक्रिय रहे पनि महाधिवेशनको समीकरणमा भने कतिपय गुट भत्किने र एक–अर्कामा विलय हुने अवस्था छ। गुटसँगै कांग्रेसमा अन्तर्घातको शृङ्खला पनि पुरानै हो।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले गुटका कारण सक्षम मान्छे पछि पर्ने गरेको बताउँछन्। उता देउवा गुटमा निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको आकांक्षा देखाएपछि देउवाको विकल्पको खोजी भएको देखिएको छैन। पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन्। त्यसैले अहिले कांग्रेसमा देउवा र पौडेलको विकल्पको खोजी भएको चर्चा हुन थालेको छ।

त्यस्तै, कांग्रेसमा हाल देउवा, निधि, पौडेल, सिंह, शशांक, शेखर कोइराला, सुुजाता कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ सभापतिका आकांक्षी देखिएका छन्। महाधिवेशनमा पहिलो चरणको चुनावमा आधा दर्जन उम्मेदवार हुन सक्ने कांग्रेस नेताहरूकै विश्वास छ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। त्यसैले पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ।

पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो नभएको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन्। तेस्रो धार मानिएका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिव हुमागाईंको बलियो साथ रहँदै आएको थियो। चौधरी र हुमागाईं भने क्याम्प छाडेर देउवा गुटमा प्रवेश गरेका छन्।

 

 

 

अन्नपुर्णबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...