News Portal

रेडियो सुन्नुहोस्

बडादशैं, पारिवारिक पुनर्मिलन र सामाजिक सन्देश

सरद बिष्ट२०८० कात्तिक १
२८४ पटक
२०८० कात्तिक १

प्यूठान, हिन्दु नेपालीहरुको महान चाडपर्वहरु मध्ये बिजया दशमी एउटा महान एवम् महत्वपुर्ण पर्व हो । यो महान चाड दशैका विभिन्न नामहरु छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दशै भनेर नामाकरण गरेको पाईन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन भएता पनि यसपाली वि.स.२०८० सालको दशैं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक ७ गते मंगलबारका दिन विहान १०ः३७ बजे देबी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजे टिका ग्रहणको साइत दिइएको समितिले जनाएको छ । हामीलाई पनि के कुरा थाहा छ भने गत साउन महिनामा अधिकमास परेको कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैं सुरु हुँदैछ । कात्र्तिक पहिलो साता बडादशैंको मुख्य दिन अर्थात विजयादशमी परेको छ । कात्र्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व–२०८० यो बर्षको लागि समाप्त हुनेछ ।  जेहोस दशैं नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड, महान उत्सव र पारिवारिक पुनर्मिलनको चाड पनि हो ।

हिन्दु धर्म शास्त्र अनुसार त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गरेर रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । भगवान श्री रामले दशैका दिनमा रावणमाथि विजयी हाँसिल गरेको भएर दशैलाई बडादशैं एवम् बिजया दशमीको नामले पनि चिनिन्छ । विशेषत दशैंलाई असत्य माथि सत्यको जीत भएको दिनको रुपमा पनि सम्झना गर्ने गरिन्छ ।

सामान्यता बिजया दशमी भगवान श्रीरामको विजयको रुपमा मनाइयोस् वा दुर्गा पूजाको रुपमा, दुबैको रुपमा मनाउँदा यो शक्ति–पूजाको पर्व हो । हर्ष, खुशी र उमङ्ग  तथा विजयको पर्व हो । त्यसैले दशंैले आफ्नो छुटै गरिमा र पहिचान बनाएको छ । प्राचिन कालमा राजाहरुले यो दिन विजयको प्रार्थना गरेर रथ–यात्राको लागि प्रार्थना गर्दथे । उक्त दिनमा ठाउँ–ठाउँमा मेलाहरु लाग्थ्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ र रावणको विशाल पुतला बनाएर जलाइन्छ ।

हिन्दु नेपालीहरुको सबैभन्दा ठुलो चाड भनेको नै दशैं हो । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पुर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्री र दशौं दिनलाई दशमी वा वडादशैं भनिन्छ । यो तिथीमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, बिजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैका प्रमुख तिथिहरु हुन् ।

बडादशैंको  पर्वमा शहर वजारमा मालश्री धुन बजाएर र गीत गाएर पनि रमाईलो गर्ने गरिन्छ । देश बिदेश तथा टाढा–टाढा भएका आफन्त र साथीभाईसँग घेटभाट हुने वातावरण यसै समयमा सुरु हुन्छ । दशैमा दक्षिणा, टिका, जमरा,नयाँ कपडा, पिङ, मिठा–मिठा खानाका परिकार र मान्यजनको आर्शिवादले भरिपुर्ण हुन्छ । त्यसैले अरु चाड भन्दा दशैंलाई विशेष महत्वका साथ हेर्ने र मनाउने गरिन्छ ।

वास्तवमा, दशैं दश दिन मनाउने भएकोले पनि यो हिन्दुहरुको महान पर्वलाई दशै भनेको हुनुपर्छ । दशैमा नवदुर्गाको नौ वटा रुप शैलीपुत्री, व्रहृ्माचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पुजा तथा आरधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रुपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक–एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथी र श्रीरामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनवाट रातो टिका र पहेलो जमरा लगाउने गरिन्छ ।

नेपालमा वर्षको दुई पटक दशैं मनाउँदै आइरहेका छौं । नेपाली समाजमा परम्परागत रुपमा मनाइने दशैंका दुई पक्षहरु छन् । आश्विन शुक्ल पक्षमा मनाइने दशैंलाई बडादशै भनिन्छ भने चैत्र शुक्ल पक्षमा मनाइने दशैलाई सानो दशैं अथवा चैते दशै भनेर भनिन्छ ।  बडा दशैको अघिल्लो दिनहरुमा कोटघर गई पशुहरुको बली दिई पुजा आजा गर्ने चलन छ । जसलाई पञ्चपल भनिन्छ । हाम्रो प्यूठानमा अष्टमीका दिन भिंगृकोट, सारीकोट र बेल्बासमा धुमधामकासाथ सराय नाच नाच्ने र कोटघरमा पुजाआजा गर्ने गरिन्छ । संस्कृत शब्द दशमीबाट प्राकुत हुँदै नेपाली भाषामा आएको तत्भब शब्द हो–दशैं । संस्कृतिविद् पुण्यरत्न वज्राचार्यका अनुसार दशैं किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दश दिन धुमधामका साथ मनाउने भएकोले दशै भनिएको हो । अर्थात यो चाड मनाउने बेलामा गर्नुपर्ने दश संयम हो । यही संयम नै दशैं भएको हुनुपर्छ भन्ने धारणा राख्नु हुन्छ । दशैं कहिलेदेखि आरम्भ भयो भन्ने बिषयमा ठ्याक्कै एक मत छैन् । पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशंै मनाउने चलन थियो भन्ने कुरा बिभिन्न इतिहास तथा ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।

दशैंका महत्वपुर्ण दिनहरुः

घटस्थापना

प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ ।क्रमशः दशमीका दिन प्रातः कालमा मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । उक्त दिन घट अर्थात कलशको स्थापना गरी देवीदेवतालाई घर–घरमा निमन्त्रणा गरिन्छ । घटस्थापनाको दिन बिहानै नदी, खोला वा तलाउमा गएर चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशै घर र सबैको आ–आफ्ना घरको पुजा कोठामा सुर्यको प्रकाश नपर्ने गरि अध्यारो कोठामा जौ र मकैका गेडा पनि उमार्ने चलन छ । जसलाई हामी जमरा भन्छौ । माता भगवतीलाई मन पर्ने वनस्पति पनि जमरा नै हो । जमरा औषधीमय जडीबुटकिो लागि प्रयोग गरिन्छ ।

महासप्तमी (फूलपाती)

नवरात्रीको सातौं दिनलाई फूलपाती भनिन्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको बाला, अनार अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पालुवाहरु दशैं घरमा  भित्राउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरु घरमा भित्राउदा औषधीको काम गर्ने र विभिन्न रोगका किटाणु तथा जिवाणुहरु नास भएर जान्छन भन्ने शास्त्रीय मान्यता छ । फूलपातीका दिन काठमाण्डौंको टुँडिखेलमा सेनाको बढाई भएपछि फूलपाति स्वरुप दारिम, केरा, धान, हलेदो,कचु, बेल,अशोक र जयन्ती गरी नौ प्रकारका पातहरुलाई पूजा गरि दुर्गापूजा गरेको स्थानमा राखिन्छ । यसै दिन गोरखा दरबारको दशैं घरवाट ल्याइएको फूलपाती काठमाण्डौंको जमलमा ल्याई नेपाली सेनाले परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राउछन् ।

महाष्टमी

नबरात्रकिो आठौ दिनलाई महाष्टमी भनिन्छ । महाष्टमीमा महाकाली भद्रकालीको विशेष पुजा–आजा गरिन्छ । देबी भागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन रहिआएको छ । पुजापश्यात मानिसहरु नवदुर्गा र आ–आपना कुलदेवताहरुलाई पूजी बोका,कुखुरा, हाँस, पाडाको बलि दिन्छन् । शाकाहारीले भने नरिवल, कुभिण्डो, केरा आदि फल अर्पण गर्छन् ।

महानवमी

नवरात्रीको नवौं दिन महानवमीमा बिशेष गरी महालक्ष्मी देबीको पूजा–आजा गरिन्छ । यसै दिन हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई बिश्वकर्माको पूजा गर्ने प्रचलन छ । यस दिन अरु पूजाको साथै दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गर्ने गरिन्छ ।

विजया दशमी

नबरात्रीको दशौ दिनलाई विजयादशमी भनिन्छ । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजयी प्राप्त गरेकोले यस दिनलाई विजया दशमी भनिएको हो भन्ने भनाई छ । यस दिन आफूभन्दा ठूला र मान्यजनका हातवाट टिका, जमरा र दक्षिणा ग्रहण गरिन्छ । धर्मशास्त्र अनुसार जौलाई समृद्धिको प्रतिक मानिन्छ । दशैको वेला हामीहरु सु–ख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै टिका लगाउनको लागि आफन्त छिमेक हुँदै मामाघर र ससुरालीसम्म पुग्ने गर्दछौं । सामान्यताः दशैंको टिका लगाउने चलन एक दिन रहेतापनि कतैकतै कोजाग्रत पुर्णिमासम्म टिका लगाउने प्रचलन छ ।

टिका लगाउदा पुरुषहरुलाई दिइने आर्शिवाद यस्तो छ–

“आयू द्रोणसुते श्रीयो खशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुषे गतिश्व पवने मानञ्च दुर्योधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्व नारायणे ।।”

टिका लगाउदा महिलाहरुलाई दिइने आर्शिवाद यस्तो छ–

“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।”

वास्तवमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहिबाट दशैको सुरुवात भो । बडादशै सनातन परम्परा, संस्कार–संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ । यो सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक र व्यवहार बिज्ञानसँग पनि निकट रहेको छ ।

दशै पुर्खाको धरोहर हो र दशै हाम्रो संस्कृति पनि हो । यो चाड पुर्खौदेखि चल्दै आएको छ । हामीलाई एक अर्कामा अनुशासित राख्न, सामाजिक मर्यादा सिकाउन, सामाजिक सदाचारको जिवन यापन गर्नको लागि चाडपर्वको उल्लेखनिय भूमिका हुन्छ । दशै जस्तो महान चाडको पनि केहि कमजोरीहरु नभएका होइनन् । सबैको क्षमता र हैसियत समान नभएकोले पनि सबैको घरमा दशैं सोचे जस्तो हुदैन् । गरिवहरुको घरमा चाडवाडहरु पिडा बनेर आउछन् । एक जोर नयाँ कपडा र मिठो गुलियो खान नपाउदा गरिबलाई के को दशै ? त्यसैले दशैमा धेरै तडक भडक देखाउनु राम्रो पक्ष होइन् । घाँटी हेरेर हाड निल्नुपर्दछ । आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन जान्नु पर्दछ । दशैका नराम्रा पक्षहरुलाई हटाउदै चाडपर्वको संरक्षणमा लाग्नु आजको अनिवार्य आबश्यकता हो । संस्कृतिलाई कहिल्य पनि मास्नु हुदैन । संस्कृति हराए सबैको बिनाश हुन्छ । चाडपर्व र संस्कृतिमा हाम्रो मौलिक जिवन बाँचेको छ ।

सदाको बर्ष झै यस बर्ष पनि वडादशैं हामी सबैको घर–आँगनमा आइसकेको छ  । तर, बिगतको दुई बर्ष कोरोना कालको दशै बढो नमिठो भएर गयो । पोहोर सालको दशैं पनि हिले दशैं भयो । बिहानैदेखि साँझसम्म बर्षात हुँदा मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्न पाएनन् । यसपाली आम नेपालीहरुको महान चाड बिजया दशमी उल्लासमय तरिकाले भित्रिएको छ । घर–घरमा, गाँउ–टोलमा दशैको बेग्लै रौनक छ । मानिसहरु यसपालीको दशै के कसरी मनाउने भन्नेवारे तयारी गर्दैछन् । परदेशमा रहेका आफन्तहरु पनि जहाज तथा रेल चढेर घर फर्कदै छन् । दिदी बहिनीहरु घर पोत्न रातो माटो तथा सेतो कमेरो लिन सर–सल्लाह हुदैछ । गाँउघरमा दाजुभाईहरु लठारे तथा चर्के पिङ्ग हाल्दै छन् । जेहोस् चाडपर्वले हाम्रो मुल्य र मान्यताको एउटा इतिहास बोकेको हुनुपर्दछ । चाडपर्वको नाममा फजुल खर्च गर्नृ हुदैन् । ऋणका भार र बोझ बोक्ने गरी कुनै चाडपर्व मनाउनु हुदैन् ।

हुनतः पछिल्लो समयमा हाम्रा चाडपर्व कुन तिथि र मितिमा मनाउनु पर्छ भन्ने कुराको जानकारी हुँदाहुदै पनि चाडपर्वको नाममा केहि बिकृतिहरु भित्रिएको कुरा सबैलाई सर्बबिदितै छ । जस्तो कि तीज आउन एक महिना पहिलेदेखि दर खाने बाहानामा होटल तथा रेष्टुरेन्टमा गएर रक्सी तथा अन्य पेय पर्दाथहरु खाएर रमाइलो गरेका तस्वीरहरु सामाजिक संजालमा छरपष्ट भएका छन् । त्यसैगरीे दशैमा पनि दशै सुरु नहुदै  दुई महिना पहिले शुभकामना आदान प्रदान गर्ने नाममा बिभिन्न संघसस्था तथा बिद्यालयहरुले रातो टिका तथा पहेलो जमराहरु लगाएर सामाजिक संजालमा फोटाहरु पोष्ट गरेका छन् । यसो गर्नु भनेको चाडपर्व र संस्कृतिको अपहेलना गर्नु हो । सोहृ श्राद्ध चलिरहेको वेला र प्रिति बिसर्जन गर्ने दिनमा रातो टिका हिन्दु शास्त्रमा राम्रो मानिदैने । हामीले चाडपर्वलाई रमाईलो गराउने वाहानामा बिकृति फैलाउनु हुदैन् । चापर्वको आफ्नै मौलिक इतिहास र जीवन्त कथा छ । हरेक चाडपर्वलाई सामाजिक सद्भाव सँग जोड्नु पर्दछ ।चाडपर्वको नाममा गलत सामाजिक सन्देश प्रवाह गर्नु हुदैन् ।हरेक चाडपर्व पारिवारिक पुनर्मिलन तथा भेटघाटसँग नै सम्बन्धित छन् ।सबैलाई हिन्दु नेपालीहरुको महान चाडवडादशैं २०८० को शुभकामना ! सबैको जीवन सुखमय रहोस् ।।

लेखकः लोक चेतना एकेडेमी बिद्यालयको माध्यमिक तहमा सामाजिक बिषयका शिक्षक हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...