News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसमा उम्मेदवारी घोषणाको होड

पौडेल पक्षले बिहीबार एउटै टिम बनाउने प्रतिबद्धता सार्वजनिक गर्ने, देउवा पनि दबाबमा

झुलेनी नेटवर्क १७ साउन २०७८ प्यूठान
६३९ पटक
१७ साउन २०७८ प्यूठान

कांग्रेसको नेतृत्वमा दोहोरिन प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई एक जनामात्र उम्मदेवार अघि सार्न दबाब परेको छ । पार्टी र सत्ताको केन्द्रमा रहेका देउवालाई विभाजित भएर हराउन नसकिने निष्कर्षका साथ बुधबार बसेको पौडेल पक्षको बैठकमा सभापतिका लागि एकमात्रै उम्मेदवार बनाउन दबाब परेको हो ।

यो समूहमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य आकांक्षी छन् । उनीहरूमध्ये एक जनालाई साझा उम्मेदवार बनाउन पौडेल पक्षको बैठक केही दिनदेखि निरन्तर बसेको थियो । महाधिवेशनमा कसलाई उम्मेदवार बनाउने भन्नेमा समझदारी नजुटे पनि बिहीबार सभापतिसहित सबै पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता भने पौडेल पक्षले गर्ने भएको छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुनु एक दिनअघि देशभरका कार्यकर्तालाई सकारात्मक सन्देश दिन पौडेल पक्षले सभापतिसहित पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने प्रतिबद्धता सार्वजनिक गर्न लागेको हो । त्यसका लागि बिहीबार २ बजे पौडेल पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा बोलाइएको छ । नेता बलबहादुर केसीका अनुसार मुख्य चार आकांक्षीसहित टिमका सबै नेताहरूबीच सभापति र सम्पूर्ण पदाधिकारीमा एउटै टिम घोषणा गर्ने सैद्धान्तिक समझदारी जुटेको छ ।

‘सकभर व्यक्तिमै समझदारी जुटाएर घोषणा गर्न सकिन्छ कि भन्ने प्रयास थियो, त्यो ठाउँमा हामीहरू आइसकेका छैनौं,’ केसीले भने, ‘पार्टी र सत्ताको केन्द्रमा बसेका देउवालाई हराउन एक जनामात्रै उम्मेदवार बनाउनुपर्छ भन्नेमा सहमति भने बनेको छ ।’ उनले देशव्यापी सन्देश दिनका लागि पनि आफूहरूले एउटै टिम बनाउने सार्वजनिक प्रतिबद्धता गर्न लागेको बताए । शुक्रबारदेखि कांग्रेसको वडा तहको अधिवेशन सुरु हुँदै छ ।

केन्द्रीय महाधिवेशनका लागि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई महत्त्वपूर्ण मानिन्छ । वडा अधिवेशनबाट चुनिएका प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशनका मतदाता अर्थात् प्रतिनिधि चयन गर्ने भएकाले अहिले सम्पूर्ण नेताहरूको ध्यान त्यतैतिर छ । पौडल पक्षले शुक्रबारबाट सुरु हुने तल्ला तहका अधिवेशनमा आफ्ना कार्यकर्तालाई उत्साह दिनकै लागि सन्देश दिन लागेका हुन् ।

विभाजित मानसिकतामा अधिवेशन हुँदा देउवालाई लाभ पुग्न सक्ने बुझाइ पौडेलपक्षीय नेताहरूको छ । नेता केसीले एउटै टिम बनाउनका लागि पार्टी र सरकारबीचको साझेदारीका विषयमा छलफल चलिरहेको बताए । पार्टी चलाउनेले सरकारको नेतृत्वमा दाबी गर्न नपाउने र सरकारको नेतृत्वमा दाबी गर्नेले पार्टी नेतृत्वको दावा छाड्नुपर्ने तर्क आकांक्षीबीच चलेको छ ।

‘पार्टी र सरकारबीच पावर सेयरिङ गर्नुपर्छ, पावर सेयरिङ भने अर्को शेरबहादुरजीले जस्तै जो आए पनि पार्टी चलाउन सकिन्न,’ केसीले भने, ‘वैचारिक रूपमा हामी एउटै धरातालमा उभिएका छौं । व्यक्तिको विषय मात्रै मिल्न बाँकी छ । त्यो पनि हामी केही समयभित्रै मिलाउनेछौं ।’ पौडेल पक्ष एक हुने कि नहुने भन्ने विषय देउवाका लागि अझै बढी चासो छ । प्रधानमन्त्री भएपछि केही अनुकूल वातावरण बने पनि पौडेल पक्ष एक भएको खण्डमा प्रतिस्पर्धा गर्न देउवालाई कठिन हुनेछ । संस्थापन पक्षको महत्त्वपूर्ण पिलरका रूपमा रहेका उपसभापति विमलेन्द्र निधि अहिले देउवासँग छैनन् ।

उनले गत शुक्रबार सभापतिको उम्मेदवारी घोषणा गर्दै तयारीका लागि सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । ‘पौडेल पक्ष एक हुने र निधिजीको उम्मेदवारी रहने हो भने शेरबहादुर दाइका लागि धेरै जोखिम हुनेछ, त्यस्तो बेला उम्मेदवार हुने कि नहुने भन्नेमै सोच्नुपर्ने हुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘तर शेरबहादुर दाइलाई पौडेल पक्ष एक हुन्छ भन्नेमा पटक्कै विश्वास छैन ।’

सिटौला मौन

केही समयअघि पार्टी सभापतिमै प्रतिस्पर्धा गर्ने उद्घोष गरेका कृष्णप्रसाद सिटौला भने पछिल्लोपटक मौन बसेका छन् । उनले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि मात्रै आफ्नो रणनीति तय गर्ने बताउँदै आएका छन् । यसअघिको १३ औं महाधिवेशनमा तेस्रो धार खडा गर्दै उनले सभापतिमा उम्मेदवारी दिएका थिए ।

आफ्नो नेतृत्वमा महामन्त्रीका उम्मेदवार बनेका युवा नेता गगन थापा र केन्द्रीय सदस्य बनेका प्रदीप पौडेलले टिम छाड्ने संकेत गरेपछि सिटौला अन्योलमा परेका हुन् । ‘के गर्ने भन्नेबारेमा उहाँले देशभरका कार्यकर्ताको भावना बुझिराख्नुभएको छ । क्षेत्रीय अधिवेशनबाट आउने प्रतिनिधिलाई हेरेर उहाँले आफ्नोबारेको निर्णय गर्ने मनस्थिति बनाउनुभएको छ,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने ।

नेतृत्वमा श्रेष्ठ र गुरुङको दाबी

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र युवा नेता कल्याण गुरुङले पनि बुधबार सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठले बुधबार आफ्नै गृहजिल्लामा पुगेर सभापतिको उम्मेदवारी बन्ने सार्वजनिक घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार पनि आफ्नो क्षेत्रका ११ जिल्लाकै नेता तथा कार्यकर्ताहरूको भेला राखेर श्रेष्ठले उम्मेदवारी दिने निर्णय सुनाएका थिए । ‘शेरबहादुरजीले अब काँध फेर्ने बेला आएको छ, सरकार र पार्टी अब उहाँले चलाउन सक्नुहुन्न । सरकारलाई समय दिएर पार्टी सभापतिको जिम्मेवारीबाट अलग हुनुपर्छ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘शेरबहादुरजीको टिममा म नै वरिष्ठ नेता हुँ । मलाई उत्तराधिकारी बनाएर अघि बढ्दा हित हुन्छ । पोखराको भेला र गृहजिल्लाको कार्यक्रममा पनि मैले त्यही कुरा भनेको छु ।’

उनको उम्मेदवारीलाई लिएर देउवानिकट कतिपय नेताहरूले ‘बार्गेनिङ’ टुलको रूपमा व्याख्या गरेका छन् तर श्रेष्ठ त्यसलाई स्वीकार गर्न तयार छैनन् । ‘म उम्मेदवार बन्छु, बन्छु,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री भएको व्यक्ति प्रतिस्पर्धामा आउन हुन्न । भोलि चुनाव हारियो भने प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने परिस्थिति बन्छ ।

सर्वसम्मत बनेर हुने अवस्था भयो भने बेग्लै हो । त्यतिबेला पनि कार्यबाहक सभापति नदिई पार्टी चल्न सक्दैन । सर्वसम्मत हुने कुनै परिस्थिति छैन । चुनाव हुने निश्चित भइसकेपछि उहाँ लठ्न हुन्न । मलाई सहयोग गर्नुपर्छ ।’ नेविसंघका पूर्वअध्यक्ष गुरुङले पनि बुधबार सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी पार्टीभित्रका कुनै समूहतिर नजोडिएको बताएका छन् । गुरुङले युवाहरूको भावनाअनुसार आफूले उम्मेदवारी दिएको बताए ।

‘कसैले आँट नगरेसम्म पार्टीको नेतृत्व पुस्तान्तरण हुने कुरा सम्भव छैन । अरू कसैले आँट नगरेपछि मैले गरेको हुँ,’ उनले भने । संस्थापन पक्षबाट उपसभापति निधिको उम्मेदवारी घोषणाले नेतृत्व पुस्तान्तरणको सम्भावना बढाएको भन्दै गुरुङले युवा जनमत र आफ्नो सम्पर्कका मतदाताको संख्या उल्लेख्य रहेको दाबी गरे ।

 

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले...

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...