साँघुरो सडक, साँघुरो कोठाको बसाई, मानिसहरुको भिडभाड उत्तीकै देखिन्छ, उनको पसलमा । प्यूठान नगरपालिका ४ बिजुवार स्थित हस्पिटल लाईनको गल्लीको एक साँघुरो कोठामा जुत्ता चप्पल सिलाउदै गरेका हिमाल भन्छन,‘जुत्ता चप्पल सिलाई हाम्रो पुर्ख्याैली पेशा हो, काम गर्न किन लाज मान्नु ।’ आज भोली उनी जुत्ता चप्पल सिलाउनमा निकै व्यस्त देखिन्छन् ।
प्यूठान नगरपालिका ४ बिजुवार स्थित खमाल्दीका हिमाल नेपालीले विगत ४ वर्ष देखि जुत्ता चप्पल सिलाउदै आएका छन् । बिजुवार हस्पिटल लाईन जाने बाटोको गल्लीको साँघुरो कोठामा दैनिक रुपमा उनले जुत्ता चप्पल सिलाउँदै आएका छन् । ४० वर्ष पुगेका हिमालले जुत्ता चप्पल सिलाएर र बिक्री गरेर सिजनको समयमा दैनिक १६/१७ हजारसम्म कमाइ हुने बताउँछन् । उनले बिजुवारमा हिमाल शु–सेन्टर चलाउदै आएका छन् । सिलाउने पसलको मासिक १० हजार भाडा तिर्दै आएका छन् ।
आजभोली हिन्दु नेपाली महिलाहरुको महान पर्व तिज नजिकिनाले पनि जुत्ता चप्पल सिलाउन आउने महिलाहरु बढी हुने गरेको उनी बताउँछन् । अन्य समयमा पनि जुत्ता चप्पल सिलाएर दैनिक ३ हजार सम्म कमाइ हुने उनले बताए । ‘बाबु, बाजेले गर्दै आएको पुर्ख्याैली पेशालाई जीवन्त राख्नका लागि यो पेशा थालेका हुँ,’ उनले भने । करिब १२ वर्ष विदेशमा जीवन बिताएका हिमालले अर्काको देशमा काम गर्न साह्रै गाह्रो हुने अनुभव सुनाए । ‘काम गर्न लाजमान्नु हुँदैन,’ उनले भने, ‘अर्काको देशमा पसिना चुहाउनु भन्दा आफ्नै देशमा केही काम गरि परिवारसगैँ बस्न यो पेशामा लागेको हुँ ।’ उनको परिवारमा श्रीमती, आमा, बुवा र एक छोरा र छोरी छन् । भिडभाडको समयमा श्रीमतीले सिलाउने काममा सहयोग गर्दै आएकी छिन् ।