News Portal

रेडियो सुन्नुहोस्

‘गोबर र फाेहाेर मिसिएको पानी खानुपर्छ, छोइन्छ भनेर कलमा भर्न दिँदैनन् ’

रोहित महतो१० भाद्र २०७८ प्यूठान
१०९६ पटक
१० भाद्र २०७८ प्यूठान

गएको जेठ महिनादेखि घर पानीमा डुबेको छ। लगातारको वर्षाले घरभित्र भएभरको अन्नपात गलिसक्यो। लत्ताकपडा पनि पानीमै सडेर बर्बाद भयो। खानेपानीका लागि घरअगाडि गाडिएको चापाकल पनि डुबेको छ।

डुबेकै कलबाट आउने गोबर र हिलोसहित निस्किने फोहोर पानी खान बाध्य छन् महोत्तरीको सम्सी गाउँपालिका–५ की जयकुमारी मल्लिक र उनको ९ जनाको परिवार।

बर्सेनि घर डुबानमा पर्ने समुदायको उनी एक्लो परिवार हुन्। घरविहीन बनेका उनीहरू झन्डै चार महिनादेखि त्रिपाल झुन्ड्याएर घर अगाडिको नालामाथि दुइटा खाट राखेर जीवनयापन गरिरहेका छन्। छेउमा पक्की सडकमै स्थानीयले भैंसी बाँध्छन्। गोबर उछिट्टिएर उनीहरूको खाटसम्मै पुग्छ र गन्ध पनि उत्तिकै।

छोराहरू विकोश, अशेश्वर, सुनिल र उनीहरूका पत्नी तथा छोरा पनि त्यही त्रिपालमुनि बस्छन्। आफू र श्रीमान नारायण मल्लिक छेउमै रहेको मन्दिरमा र छोराले दाइको घरमा रात बिताउने जयकुमारीले बताइन्।

१३ दिनअघि वर्षायाममै त्रिपालमुनि पानीको फोहोरमै भिजेर जेठी बुहारी रंजु मल्लिक सुत्केरी भएकी थिइन्। त्यही खाटमा किनेर ल्याएको अन्नपात, दाउरा, लत्ताकपडा र मसलासहितका सामान पनि राखेका छन्।

दिनहुँ वर्षा भइरहेकाले ढाकी, नाङ्लो पनि खाटमै बसेर बुन्नु परेको छ। वर्षा हुँदा त्रिपाल चुहिन्छ, बाहिरबाट पानीको फोहोरा आउँछ। तै पनि १३ दिने शिशुसहित उनीहरूलाई त्यहीँ बस्नुपर्ने बाध्यता छ।

‘नालाको फोहोर र जमेको पानी गनाउँछ। लामखुट्टेले टोक्छ। सर्पको पनि त्यत्तिकै बिगबिगी छ। त्रिपाल पुरानो भएर चुहिएको छ,’ जयकुमारीले पीडा सुनाइन, ‘वर्षा हुँदासम्म खाना पकाउन सक्दैनौं। भोकै बस्नुपर्छ। गोबर, हिलो मिसिएको फोहोर पानी खानुपर्छ। अरूले डोम जातले छोइन्छ भनेर पानी भर्न दिँदैन।’

खानै नसकिने फोहोर पानी कलबाट निस्केपछि घर छेउमै रहेको निजी विद्यालयको कलमा पानी लिन जाँदा करिब १० दिनअघि हप्काएर पठाइदिएको जयकुमारीका माइलो छोरा सुनिलले पीडा पोखे।

‘तिमीहरूले छोयौ भने कल छुइन्छ, चुपचाप यहाँबाट तुरून्तै गइहाल। आइन्दा भुलेर पनि यहाँबाट पानी नलिनु भनेर गाली गर्दै विनित झा सरले फर्काइदिनुभयो,’ उनले भने।

डोम जातकै भएका कारण आफूहरूले पानी भर्न नदिएको स्थानीयले समेत स्वीकार गर्छन्।

‘सबैको आँगनमा चापाकल छ। यिनीहरू हाम्रो घर पस्दा घिन लाग्छ। कसरी भित्र पस्न दिनु। समस्या छ भने नेताले, सरकारले हेर्नुपर्छ नि,’ साह थरकी स्थानीय एक महिलाले भनिन्।

डोम जात भनेर पुस्तौदेखि हेपाइ सहँदै आएकाले सहेर बस्ने बानी परेको उनले बताइन्।

‘हामीले बुनेको ढाकी, नाङलो सबैलाई चल्ने, यिनीहरूको देउतालाई पनि चल्ने तर अरू छुँदा नचल्ने। कस्तो समाज हो यो। हामीलाई उपल्लो जातले त भए नै अरू दलितले पनि घृणा गर्छन् तर सुन्ने र सहने बानी परिसकेको छ। नभए बाँच्नै मुस्किल पर्छ,’ उनले गुनासो पोखिन्।

ढाकी, नाङलो बेचेर जसोतसो पेट पालेको बताउँदै उनले अन्यत्र बसाइ सर्न पैसा नरहेको जयकुमारीले सुनाइन्। स्थानीय रामजानकी मन्दिरको नाममा रहेको जग्गामा उनीहरू खरको छाप्रो भएको घर ठड्याएर बसिरहेका छन्।

यस्तो पीडा भोग्नु परेको यो पहिलो वर्ष होइन। पोहोर साल पनि यस्तै पीडा झेल्नु परेको जयकुमारीले बताइन्। भोट माग्न आएका नेताहरूलाई बस्ने व्यवस्था गरिदिन भनेर कयौं पटक हार–गुहार लगाउँदासमेत कसैले पीडा नबुझदिएको उनले बताइन्।

‘वडाध्यक्षदेखि कति नेताहरूलाई खानेपानी र बस्ने उपाय गरिदिन आग्रह ग¥यौं तर कसैले सुनेनन्। दुःख पर्दा कसैले सुनिदिँदैन। अब भोट माग्न आयो भने झाडुले जवाफ दिन्छु,’ उनले आक्रोश पोखिन्।

दुई वर्षदेखि उनीहरूको पीडा आफूले समेत देख्दै आएको वडाध्यक्ष पन्नु राय यादवले बताए। समस्या समाधानका लागि भने आफूलाई एक पटक पनि नभनेको उनले दाबी गरे।

‘उनीहरूलाई पोहोर साल स्कुलमा बस्न भनेको थिएँ। यसपालि फेरि स्कुलमा बस्ने व्यवस्था मिलाइदिन्छु,’ उनले भने, ‘स्थानीयले पानी भर्न दिँदैन भने घर छेउमै रहेको सरकारी स्कुलको कलबाट भर्दा भैगो नि। अरू के–कसो समस्या छ उसको घरमा गएर बुझ्छु।’

 

 

सेतोपाटी।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...