

२०८१ कार्तिक १२धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको रुपमा विकास गर्न लागिएको लुप्लुङ्गस्थित कुल घर र अन्य संरचना निर्माणका लागि हालसम्म ३० लाख रुपैयाँ सहयोग संकलन भएको निर्माण समितिका अध्यक्ष मधुसुदन भण्डारीले बताए । धनञ्जय ऋषिका सन्तान भनिने धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पुरानै कुलघर रहेको ठाउँमा भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०८१/०८२ मा १७ लाख रुपैयाँको ठेक्का लगाएर उक्त संग्रहालय भवनको काम सुरु गरिएको थियो।
८.९ वर्गफिट आकारमा पौराणिक कला कौशलता झल्किने गरी घरको निर्माण भईरहेको छ । बुट्टा काटिएका ढोका र आँखी झ्याल राखिएको उक्त भवनको चारपाखे छानो डिजाईन गरिएको छ । भवनको ८० प्रतिशत काम सकिएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार भवनसंग जोडिएका मन्दिर र अन्य संरचनाहरु पनि पूननिर्माण भईरहेका छन् । समितिमार्फत अहिलेसम्म करिब ४० लाख रुपैयाँ खर्च भईसकेको छ ।
उक्त संग्रहालय भण्डारीहरुको कुलपुजासंग जोडिएको छ । जुम्ला .जिल्लाका सिंजा गाउँबाट दैलेखको रिजा हुँदै लुप्लुङ्ग आएपछि रिजालहरु भण्डारी भएको मानिन्छ । तत्कालित बाईसे–चौविसे राज्य अन्तरगत भित्रीकोट दरवारमा भण्डारीसंग जोडिएको विभिन्न प्रसंगपछि तत्कालित राजाले उपाधिस्वरुप भण्डारी थर राखिदिएको किंवदन्ती रहेको छ ।
धनञ्जय गोत्रका उनीहरुले शताब्दी अगाडिदेखि पुजाआजामा प्रयोग गर्दै आएका ऐतिहासिक सामाग्रीहरु संग्रहालयमा रहेका छन् । धनञ्जय ऋषिका मुर्तिहरु, खम्बा, भोकर, भार, झ्याली, चवर लगायत सयौँ वर्ष अगाडीदेखिका सामाग्रीहरु छन् । ति सामाग्रीहरुलाई सुरक्षित राख्नको लागि संग्रहालय निर्माण गर्न लागिएको भण्डारी समाजका सल्लाहकार शोभाराम भण्डारीले बताए ।
पाँच वर्षपछि लुप्लुङको देवाली हुँदै
५ वर्षको अन्तरमा हुने लुप्लुङ्गको देवाली यसवर्ष हुने भएको छ। जिल्लाको ठूलो अन्तरगत लुप्लुङ्गको देवालीलाई मानिन्छ । मंसिरको ११ र १२ गते देवालीको तिथि परेको छ । यसअघि ५ वर्षअघि देवाली भएको थियो। कुलघर संगै देवालीलाई लक्षित गरेर कुलमन्दिर समेत पुननिर्माण थालिएको छ । ऐतिहासिक संरचना र सम्पदा नविग्रने गरी पुनर्निमाण भईरहेको निर्माण समितिले जनाएको छ। लुप्लुङको देवालीमा १० हजार बढी बोकाको बली दिइन्छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।










