


२०८३ कार्तिक १०प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गणतान्त्रिक खेलमैदानमा कार्तिक १३ देखि १५ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन १२ गते दिउँसो ४ बजेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख र कप, द्वितीय हुनेले रु. ५० हजार र कप तथा सेमिफाइनलमा पुगेका दुई टिमले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट स्पाइकर, ब्लकर, लिब्रो र सर्भरलाई जनही रु. १ हजारसहित ट्रफि प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. २ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टिममा १ जना व्यवस्थापक सहित ९ जना खेलाडी हुनुपर्नेछ। खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्ने र सम्बन्धित पालिकाको परिचय खुल्ने कागजात पेस गर्नुपर्ने नियम राखिएको छ। खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन हुनेछ।
खेलकुदको विकास तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष सुमनराज श्रेष्ठले बताए।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















