

२०८३ जेठ ३ गतेकेही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति मिटर होला ? कहिले होला ? कुन–कुन स्थानमा सडक फराकिलो होला ? सडक विस्तार हुँदा हटाइएका पक्की संरचनाको क्षतिपुर्ति के होला? भन्ने जस्ता यी इत्यादी प्रश्नहरु स्थानीयवासीका मनमा उव्जिएका साझा प्रश्नहरु हुन् । सडक विस्तारका सन्दर्भमा विभिन्न तह र तप्काबाट आ–आफ्नै ढंगले दृष्टिकोणहरु पनि आएका छन् । बेलुवा– क्वाडी – बाग्दुला सडक बिस्तारका सन्दर्भमा प्यूठान नगरपालिकाले दुई पटक सरोकारवालाहरुको उपस्थितिमा जुम्रीमा वृहत अन्तरक्रिया गरी राय लिने काम गरेको छ । यो सँगै क्वाडी – बाग्दुला सडक खण्ड अन्तर्गत बेलुवा साँढेखोला खण्डमा सडकको केन्द्रविन्दुबाट दायाँ बायाँ दुवै तिर साढे सात,साढे सात मिटर बाटो हुने गरी बाटो बिस्तार गर्न थालिएको छ । क्वाडीदेखि बाग्दुला सडकमा हाललाई सडकको केन्द्रविन्दुबाट दायाँ बायाँ दुवै तिर साढे सात,साढे सात मिटर बाटो फराकिलो बनाउने योजना प्यूठान नगरपालिकाले अघि सारेको देखिन्छ । बेलुवाबाट बाटो बिस्तार गर्न सुरु गरेसंगै क्वाडीका अधिकांश सडकभित्र पर्ने पक्की संरचना घरधनीहरुले स्वतस्फुर्त रुपमा आफै भत्काएर बाटो बिस्तार गर्ने यो विकासको ऐतिहासिक अभियानमा साथ दिएका छन् । यो विषय उत्तिकै सकारात्मक पनि छ । बढ्दो जनघनत्व , सवारी चाप अनूसार बाटो बिस्तार समय सान्दर्भिक आवश्यक भएकाले क्वाडीका स्थानीयले यसलाई स्वतस्फुर्त रुपमा साथ दिएका छन् । यसले एकातिर क्वाडी देखि बाग्दुला सम्म सडक फराकिलो र व्यवस्थित हुँदा बढ्दो सवारी चाप संगै सर्वसाधारण सवैलाई सहजता हुने र अर्को तर्फ विकासको अनुभुति गर्न पाइने आम बुझाई पनि छ ।
सडक बिस्तार गर्न सुरु भएसंगै क्वाडीबाट स्थानीयले स्वतस्फुर्त संरचना हटाई विकासको अभियानमा साथ दिएका त छन् नै , तै पनि आज भोली प्यूठानको विशेष गरी सडक नजिक घर जग्गा भएका स्थानीयको मनमा माथी उल्लेख गरिए अनुसारका प्रश्नहरु उव्जनुका साथै एक खालको त्रास सृजना भएको देखिन्छ । यो त्रासलाई सवै पक्षको सहभागितामा सार्थक बहस गरी सवैलाई स्वीकार्य हुने खालको साझा निर्णय गरी साझा राय तय गरी व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पहिलो कुरा त अहिले साढे सात मिटर भित्र बाटो बिस्तार भएका तथा हुने स्थानमा घर बास बिहिन हुनेहरुको छुट्टै पीडा छ । अन्यत्र कतै पनि घर जग्गा नभएकाहरु बाटोले घर भत्काउदा घरबास बिहिन बन्न पुग्दछन् भने त्यस्ताका लागि आवश्यक सहयोग तथा व्यवस्थापनको योजना बन्नु पर्दछ । अर्को त्रास भनेको अहिले साढे सात मिटर भित्र रहेको पक्की घर भत्काएर अलि पछाडी सार्ने ,आगामी दिनमा १५ मिटर भित्र फेरी भत्काउन पर्ने हो की ? भन्ने त्रास र अर्को मदन भण्डारी राजमार्ग अन्तर्गतको सडकको क्षेत्राधिकार सम्बन्धी सूचनाको त्रास ।
यतिवेला प्यूठानका मुख्य सडकसंग जोडिएर पक्की संरचना बनाएका तथा मुख्य सडकमा जग्गा रहेका स्थानीयहरुमा बाटो बिस्तारको त्रास उत्पन्न भएको देखिन्छ ।
मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयले २०८३ वैशाख १४ मा च्यबम च्ष्नजत धबत र कभत दबअप सम्वन्धमा २०७५ जेठ ६ को मन्त्रीपरिषदको निर्णयलाई कोड गरी तम्घास‐सिमलटारी‐सौतामारे‐मच्छी ‐ बिजुवार‐ चकचके‐खुंग्री‐लिवांग‐घर्तिगाउँ‐बागमारे‐सल्यान सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरेको र सार्वजनिक सडक ऐन २०३१ को दफा ३ को खण्ड क) बमोजिम राजमार्ग कायम गरी राजमार्गको सिमा सम्वन्धमा सडकको केन्द्र देखी दायाँ वायाँ दुवैतिर एकतीस मिटरमा नबढाई सडक सिमा तोक्नेछ भन्ने व्यवस्था भएको व्यहोरा उल्लेख गरेको सुचना सार्वजनिक भए पछी प्यूठान लगायत छिमेकी जिल्ला समेत जोडिएका मदन भण्डारी राजमार्ग सडक पर्ने जिल्लाहरुका सडकमा घर जग्गा भएका वासिन्दाहरुमा फेरी एकखालको त्रास एवं अन्यौलता पैदा भएको देखिन्छ ।
राजमार्गको मापदण्ड अनुसार कार्यान्वयन हुने हो भने गुल्मी ,प्यूठान,रोल्पा ,सल्यान लगायतका जिल्लाहरुका मुख्य बजारहरु अव सडक दायाँ बायाँ ३१,३१ मिटर फराकिलो बनाउदा रहन्छन् त ? यी जिल्लाहरुको भुगोल अनुसार ६२ मिटर सडक आवश्यक हो त ? यदि कार्यान्वयन भए के होला ? सडक छेउँका जग्गा घर बाँकी रहन्छन् त ? सवै सिध्याएर हुने विकासको के अर्थ ? यी यावत् प्रश्नहरु यतिवेला स्थानीय जनमानसमा पैदा भएको छ ।
सडक सिमा सम्वन्धी विभिन्न जानकारी एवं सुचनाले सडक आसपासका जग्गा खरिद ,विक्री ,बैंकिङ्ग ऋण प्रयोजन ,संरचना निर्माण लगायतका कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पर्न थालेको अवस्था छ । के गर्ने के नगर्ने ?, सर्वसाधारणमा अन्यौलता पैदा भएको छ भने सडक संग जोडिएको जग्गा सडक सिमा भित्र पर्दछ की ? सवै सकिन्छ की ? भन्ने त्रास यतिवेला जनमानसमा सृजना भएको छ । स्थानीयमा सृजना भएको यो त्रासलाई निराकरण गर्न जिल्लाका सवै स्थानीय तह ,राजनैतिक दल ,जनप्रतिनिधि,नागरिक समाज,व्यवसायीक संघ,संस्था,सरकारी निकाय ,सरोकारवाला सवै बसेर व्यापक छलफलका साथ सार्थक बहस गरी राजमार्ग वा सडक के हो यसका लागि यहाँको भुगोल, आवश्यकता, जनघनत्व सवै पक्षको विश्लेषण गर्दै राजमार्ग बनाउन आवश्यक हो की होइन ? यदि आवश्यक हो भने स्थानीय जनताको कम क्षति हुने गरी गर्न सक्ने बैकल्पिक उपायहरु के – के हुन सक्दछन् ? यी यावत् विषयमा सवै पक्षको साझा निर्णयमा पुगेर सडकका सन्दर्भमा साझा धारणा तय गर्नु अहिलेको आवश्यकता हो ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।













