News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्रीसम्म पुग्यो विष्णु माझीको रहस्य

सिखबर संवाददातापुस २०, २०७५
१९६३ पटक
पुस २०, २०७५

 

बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है ! अहिले काम गर्न सकिँदैन ।’

यस्तै, वातावरणबीच होचो कद, कालो मास्क लगाएकी र पछ्यौरीले शिर छोपेकी एक महिला सरासर स्टुडियो पस्छिन् । तुरुन्तै भित्रबाट ढोकाको चुकुल लाग्छ । मध्याह्नको सवा ११ बजेको समय, त्यसको २० मिनेटपछि ती युवती उही शैलीमा स्टुडियोबाट बाहिरिन्छिन् अनि नजिकै रहेको ट्याक्सीमा फुत्त छिर्छिन् र उक्त ट्याक्सी आफ्नो बाटो लाग्छ । यसरी भित्र छिर्ने र केही समयमै त्यसैगरी बाहिरिने महिला अरू कोही होइनन्, उनी हुन्— मिस्ट्री क्विन अर्थात् लोकप्रिय गायिका विष्णु माझी ।

सार्वजनिक स्थानमा अनुहार नदेखाउने, कसैसँग परिचय नगर्ने र झन्डै भूमिगत रूपमा काम गर्ने यही शैलीले नेपाली संगीत बजारमा उनलाई मिस्ट्री क्विन बनाएको छ । सामाजिक सञ्जाल, युट्युब तथा इन्टरनेटमा अहिलेसम्म उनको एउटै मात्र तस्बिर फेला पर्छ । यद्यपि उनले त्यही घुम्टोभित्रबाटै स्वरको जादु चलाइरहेकी छिन् । उनी लाखौं श्रोताको ढुकढुकीसँग जोडिएकी छिन्, युट्युबमा उनले गाएका गीतले करोडौं भ्युज बटुलेका छन् । गुपचुप जीवनका बीच घन्किने मधुर स्वरको जादुले लोकगीतको दुनियाँमा उनी सुपरस्टारका रूपमा स्थापित छिन् ।

न प्रशंसकसँग भेट, न मिडियामा अन्तर्वार्ता !

विष्णु माझीले गुमनाम रूपमा गीत गाउन थालेको एक दशकभन्दा बढी भैसकेको छ । अन्य कलाकारजस्तो प्रशंसकहरूसँग नजिकबाट साक्षात्कार गर्ने, उनीहरूका कुरा सुन्ने, उनीहरूसँग भेटघाट गर्ने, तस्बिर खिच्ने काम यी गायिकाबाट हुँदैन । गोप्य रूपमा अन्य कुनै नामबाट चलाएको भए थाहा भएन, तर आधिकारिक रूपमा उनको न फेसबुक छ न अन्य कुनै सामाजिक सञ्जाल । विष्णु माझीसँग कुनै काम परे उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग सम्पर्क गर्नुपर्छ । सीधै विष्णु माझीसँग कसैले सम्पर्क गर्न सक्दैनन् । विष्णु माझी एक मात्र त्यस्ती गायिका हुन्, जो प्रशंसकहरूसँग कुनै सम्बन्ध–सम्पर्क राख्दिनन्, मिडियासँग बोल्दिनन् । प्रशंसकहरूले उनलाई भेट्ने धोको अहिलेसम्म पूरा हुन सकेको छैन । नेपालका दर्जनौं मिडियाले प्रयास गरे पनि विष्णु माझीले अहिलेसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएकी छैनन् ।

लुकेर गीत रेकर्ड, सुटुक्क घर

गायिका माझीको स्वभाव अचम्मको छ । उनी अरू गायक–गायिकाले जस्तो रेकर्डिङ स्टुडियो पसेर सिसा अगाडि गीत रेकर्ड गराउँदिनन् । उनी स्टुडियो पस्छिन्, पछ्यौराले सिसा छोप्न सम्भव भए सिसा छोपेर गीत गाउँछिन् । त्यो असम्भव भयो भने माइक अलिकति कुनामा लगेर गीत रेकर्ड गराउँछिन् । गीत रेकर्ड हुनासाथ सुटुक्क घर लाग्छिन् । गीत रेकर्ड गराएपछि उनीसँग उक्त गीतसँग सम्बन्धित कुनै पनि व्यक्तिले तस्बिर खिच्ने अथवा बोल्ने अवसर पाउँदैनन् । किनभने उनी काम सक्ने बित्तिकै आफ्नो बाटो तताइहाल्छिन् । नाम नखुलाउने सर्तमा एक गायक भन्छन्, ‘मैले केही समयअघि एउटा गीत रेकर्ड गराए । एउटा तस्बिर खिचौं भनेको सम्भव भएन । उहाँसँग पैसा बुझाउने बेलामा मात्र कुराकानी भयो, बाँकी केही कुरा गर्न पाइएन ।’

गुमनाम बसोबास 

विष्णु माझी स्याङ्जाको चापाकोटस्थित काली नदीको किनार खोरियाघाटमा जन्मिएकी हुन् । गायक भगवान भण्डारी, बद्री पंगेनी, एकनारायण भण्डारी, रूपक डोटेल, रामजी खाँड पनि स्याङ्जाकै हुन् । गायिका माझीको भूमिगत जस्तो जीवनका सम्बन्धमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । श्रीमान् सुन्दरमणिसमेत विष्णु माझीका विषयमा केही बोल्न मान्दैनन् । उनलाई विष्णु माझीका विषयमा बुझ्न गरेको सम्पर्क कैयन् पटक असफल भयो । एक दशकअघि बुटवलमा सम्पन्न महोत्सवमा विष्णुको जादुयी स्वर सुनेर विष्णुमणि अधिकारीले गायिका बनाउँछु भन्दै उनलाई रात्रिबस चढाएर काठमाडौं ल्याएका हुन् । त्यसपछि गायिका माझीको लोकप्रियता निरन्तर चुलिँदै गयो । उनको निकै माग भयो, तर सुन्दरमणिले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्दैछ कसैलाई थाहा छैन । अहिले उनीहरू काठमाडौंमै बस्छन् तर कहाँ ? कसैलाई थाहा छैन । विष्णु माझी निकट रहेका केहि संगीतकर्मीहरू भने उनीहरू नयाँबजारमा बस्दै आएको बताउँछन् ।

श्रीमान् सुन्दरमणिको हातमा विष्णुको रिमोट !

विष्णु माझीसँग सम्बन्धित अर्को रहस्यमय कुरा हो, उनले अहिलेसम्म स्टेज कार्यक्रममा भाग लिएकी छैनन् । माझीलाई लाखौं रुपैयाँ दिएर कन्सर्ट तथा विदेशका कार्यक्रममा सहभागी गराउन खोज्ने धेरै आयोजकको प्रयास असफल भएको छ । बुटवलमा लामो समयदेखि महोत्सव सञ्चालन गर्दै आएका एक उद्योगी भन्छन्, ‘उहाँलाई हामीले अघिल्लो वर्ष पनि प्रस्ताव गरेका थियौं तर असफल भएपछि हामीले अब चासो नदिने निर्णय गरेका छौं ।’ विष्णु माझीसम्म पुग्ने एउटा मात्र बाटो सुन्दरमणिले जे भन्छन् त्यही चल्छ । सुन्दरमणिले ओके भने भैहाल्यो, नो भने भएन । कसैले गीत रेकर्ड गराउनुपरे सुन्दरमणिलाई फोन गर्नुपर्छ । यदि फोन उठेन भने म्यासेज पठाउनुपर्छ ।

प्रधानमन्त्रीसम्म पुग्यो विष्णुको रहस्य

विष्णु माझीसम्बन्धी रहस्यलाई लिएर गायक तथा संगीतकारबादल घिमिरे पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासमक्ष सम्म पुगेका थिए । उनले प्रधानमन्त्री समक्ष विष्णुका सबै कुरा सुनाए । घिमिरेका कुरा सुनेपछि कोइरालाले विष्णु माझीका बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन पहल गर्ने आश्वासन दिएका थिए । त्यही बेला २०७२ मा भूकम्प गयो जसले गर्दा यो कुरा बीचमै रोकिएको घिमिरेको दाबी छ ।

स्टुडियो सञ्चालकहरू बोल्न मान्दैनन्

हामीले केही समयअघि विष्णु माझीका गीत रेकर्ड भैरहने स्टुडियोका सञ्चालकहरूसँग कुराकानी गर्न खोज्यौं तर उनीहरूले विष्णु माझीका सम्बन्धमा केही बोल्न मानेनन् । बागबजार नजिकैको एक स्टुडियो सञ्चालक भन्छन्, ‘विष्णु माझी अरू कलाकारजस्तो हुनुहुन्न, उहाँका बारेमा आवश्यकभन्दा बढी बोल्यौं भने भोलि देखिनै उहाँ हाम्रो स्टुडियो आउनुहुन्न ।’ एक अर्का स्टुडियो सञ्चालक हात जोड्दै भन्छन्, ‘विष्णु माझीअनुसार चल्न सकिएन भने उहाँको गीत रेकर्ड गराउन पाइँदैन, उहाँका बारेमा हामीले केही भन्यौं भने पछि उहाँले हाम्रो स्टुडियोमा गीत रेकर्ड गराउनुहुनेछैन । त्यसैले यस विषयमा तपाईंले जे सक्नुहुन्छ आफैं खोज्नुस् है !’ विष्णु माझीका गीत निरन्तर रेकर्ड गराउने उनी मात्र होइन, यी गायिकासँग नजिक रहेका कसैले पनि उनका बारेमा केही बताउन चाहँदैनन् ।

सुन्दरमणिमाथि आरोप 

विष्णु माझी यतिबेला भूमिगत जीवन बिताइरहेकी छिन् । कतिपय संगीतकर्मी भने उनलाई सुन्दरमणिले भूमिगत गराएको आरोप लगाउँछन् तर यो कुराको सत्य–तथ्य भने बाहिरिएको छैन । हामीसँग सम्पर्कमा रहेका उनकै छिमेकी पनि विष्णुको प्रतिभामाथि सुन्दरमणिले राज गरिरहेको बताउँछन् । विष्णु माझी सांगीतिक क्षेत्रमा होमिए यता उनले करिब ४ करोड रुपैयाँ गीत गाएरै कमाएको अनुमान गरिन्छ । विष्णु माझी एकताका एकै दिनमा १२ वटाभन्दा बढी गीत रेकर्ड गराउँथिन् । जतिबेला उनको रेट ६ हजार थियो । यो विषयमा यथार्थ बुझ्न हामीले करिब ५० पटकभन्दा बढी सुन्दरमणिलाई फोन सम्पर्क र १० वटाभन्दा बढी म्यासेज पठायौं तर उनले हामीले गरेको कल तथा म्यासेजमा कुनै प्रतिक्रिया जनाएनन् ।

समर्थकको आग्रह 

युट्युबमा विष्णु माझीका सयौं गीत छन् । युट्युबको कमेन्टमा आउने अधिकांश श्रोता भन्छन्, ‘यति गहकिलो स्वरकी धनी गायिकाको अन्तर्वार्ता किन आउन सकेन ? किन उनी गुमनाम छिन् ?’ म्युजिक नेपालले अपलोड गरेको विष्णु माझी हिट्स सङ कलेक्सनमा मिहाङ राई लेख्छन्, ‘नेपाली सङ्गीतकै ठूलो गहना विष्णु माझी किन गुमनाम अवस्थामा छिन् ? त्यो सुन्दर कि के अधिकारी भन्ने बाहुनले साँच्चै बेपत्ता पारेकै हो त ? मिडियामा ल्याउनुपर्‍यो ।’ अर्काे कमेन्ट ईपहाङको, ‘मिडियाकर्मी ज्यू जदौ नमस्ते † विष्णु दि कहाँ– कस्तो अवस्थामा हुनुहुन्छ ? कृपया उहाँको वास्तविक तस्बिर देखाइदिन अनुरोध छ ।’ युट्युबमा विष्णुका गीत सुन्ने दर्जनौंले उनका बारेमा असाध्यै सोधी खोजी गरेका छन्, तर यी गायिका अहिलेसम्म बाहिर आउन मानेकी छैनन् । किन उनी बाहिरी दुनियाँको सम्पर्कमा छैनन् ? यस विषयमा कसैले केही भन्दैनन्, तर धेरैले यी गायिकालाई उनका श्रीमान् सुन्दरमणि अधिकारीको दबाबले सम्पर्कविहीन बनाएको बताउँछन् । माझी निकट एक गायिका भन्छिन्, ‘हामीले धेरै प्रयास गर्‍यौं रहस्य पत्ता लगाउन, तर सकिएन ।’

माइतीको आर्थिक अवस्था नाजुक 

गायक तथा संगीतकार बादल घिमिरे र गायिका विष्णु माझीको माइतीघर करिब १० मिनेटको फरकमा पर्छ । उनी एक वर्ष पहिले संगीतकार सुरेश अधिकारीलाई लिएर आफ्नो जन्मगाउँ पुगेका थिए । त्यहाँ उनीहरूको भेट विष्णु माझीका बुबा ताराबहादुर माझीसँग भयो । घिमिरेले भने– छोरीले गीत गाएरै करोडौं कमाइसकेकी छिन्, तर उनको बुबाको अवस्था निकै दयनीय थियो । उनीसँग औषधी खाने पैसासमेत थिएन । घिमिरेका अनुसार उनले विष्णु माझीलाई बाहिर ल्याउन धेरै पहल गरे । अर्को कुरा विष्णु माझी हिट भएपछि जब उनी सुन्दरमणिसँग लिभिङ टुगेदरमा छिन् भन्ने कुरा आयो, त्यतिबेला उनीहरू एउटा टिम बनाएर सुन्दरमणिलाई कि विवाह गर्नुस् कि छाडिदिनुस् भनेर दबाब दिन गएका थिए । त्यति बेला सुन्दरमणिले खासै चासो नदिएको घिमिरे बताउँछन् ।
कान्तिपुर दैनिक बाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...